भारतको हैदरावादमा आयोजित शैक्षिक अभियन्ताहरूको एक भेलामा एक व्यक्तिले 'बसुधैव कुटुम्बकम्' बोलको गीत गाएर सबैको ध्यान खिचे। ती व्यक्तिले गीत गाउँदा कतिको आँखामा आँसु छचल्किरहेको थियो, कति भावविभोर भइरहेका थिए। मेरो जिउमा काँडा उम्रिरहेको थियो।
उनको गीत सकिएलगत्तै धेरै सहभागी भनिरहेका थिए, 'परमेश्वर भैया, फिर एक बार!'
उनको विनम्र व्यवहार र गायनबाट प्रभावित भएर र उनको जीवनप्रति जिज्ञासा जागेर म उनीसँग कुरा गर्न गएँ।
उनी करिब एक वर्षअगाडि मात्र जेलमुक्त भएका रहेछन्।
राजस्थानको उदयपुर केन्द्रीय कारागारस्थित 'जेल युनिभर्सिटी' का संगीत शिक्षक रहेछन्।
'जेल युनिभर्सिटी' भनेको सुन्नेबित्तिकै मलाई गलत शब्द सुनेँ कि जस्तो लाग्यो। सुनिश्चित गर्न फेरि सोधेँ। उनले भनेको 'जेल युनिभर्सिटी' नै रहेछ!
'जेल' शब्दले मनभित्र डर पैदा भएको थियो र कुराकानी गर्न म केही हिच्किचाएको थिएँ। मेरो मस्तिष्क जेलको भयानक तस्बिर मात्र थियो। तर उनले यस्तो सहज महसुस गराइदिए कि, म जिज्ञासु भएर उनको जीवनका पानाहरू पल्टाउँदै गएँ।
राजस्थानको जोधपुरमा जन्मिएका परमेश्वर व्यास सन् १९८३ मा चार्टर्ड एकाउन्टेन्सी सकेपछि सोही पेसामा संलग्न हुँदै आएका थिए। बाल्यकालदेखि शास्त्रीय संगीतमा रूचि भएका उनले १४ वर्षको उमेरमा तबला र हार्मोनियम बजाउन सिके।
अध्ययन र पेसागत संलग्नताका कारण उनले संगीतमा धेरै ध्यान दिन भने पाएनन्। आफ्नो कामको सिलसिलामा उनी देशका अधिकांश भाग घुमे। सन् २०१६ को सुरूआततिर मुम्बई पुगे।
मुम्बईमा हुँदा उनले दुबईस्थित आफ्ना एक 'क्लाइन्ट' लाई लगानी खोजिदिएका थिए। एक दिन मिडियामा सनसनीपूर्ण खबर छापियो। ती क्लाइन्टले लगानी गैरकानुनी कामका लागि प्रयोग गरेका रहेछन्। लगानी खोजिदिएका कारण प्रहरीको सोधखोजपछि अरू सहकर्मीसँगै सन् २०१६ नोभेम्बर महिनामा परमेश्वरलाई पनि पक्राउ गरियो।
सुरूमा उनलाई छट्पटी भएछ र छुट्नका लागि धेरै बल लाएछन्।
तर एक बिन्दुमा पुगेर उनलाई भएको अनुभूति सुनाउँदै उनले भने, 'एक चरणमा पुगेपछि मलाई लाग्यो, म दोषी हो कि होइन मेरो लागि महत्त्वपूर्ण थिएन। जे आउँछ, आउन दिनेछु।'
कारागारमा विगत १२ वर्षदेखि 'आर्ट अफ लिभिङ' की योग प्रशिक्षक इन्दिरा तलरेजाले पुरूष कैदीहरूलाई योग र 'माइन्ड-फूलनेस' सिकाइरहेकी थिइन्। उनी कैदीहरूका लागि थप गतिविधि र अन्तरक्रिया गर्न चाहन्थिन् ताकि जेलबाट बाहिर आएपछि उनीहरूले थप जीवन विकल्पहरू पाउन सकून्।
जेल सुपरिटेन्डेन्ट एसएस शेखावत आफूले हेर्ने कारागारमा परिवर्तन चाहन्थे। त्यसैले उनी र इन्दिरा भएर करिब बीस वर्षदेखि वैकल्पिक शिक्षाको अभ्यास सुरू गरिरहेका मनिष जैनलाई भेटे।
त्यसपछि एक परियोजनाका रूपमा सन् २०१८ अक्टोबरमा उदयपुर केन्द्रीय कारागारमा सुरू भयो 'जेल युनिभर्सिटी'।
यसका लागि उदयपुर केन्द्रीय कारागारसँग केही संस्थाले सहकार्य गरेका थिए — शिक्षान्तर, आर्ट अफ लिभिङ, इडिबल राइट्स फाउन्डेसन, नव गुरूकुल र गान्धी आश्रम-मुभ्ड बाइ लभ।
आफू रहेको कारागारमा जेल युनिभर्सिटी सुरू भएपछि परमेश्वरको जीवनले पनि नयाँ मोड लियो।
आफूसँगै बस्ने कैदीहरूसँगको कुराकानी सम्झिँदै परमेश्वरले मलाई सुनाए, 'धेरैमा जीवनप्रतिको आशा म देख्दिनँ थिएँ। कतिपयले नियतले नै अपराध गरेका थिए, कतिले भने आवेशमा आएर वा भवितव्यमा परेर अपराध गरेका थिए। कानुन अनुसारको सजाय त सबैले पाउनै पर्छ। तर प्रायः सबै कैदी समाज, परिवार, छिमेकीले बहिस्कार र घृणा गर्छन् भन्ने डरमा हुन्थे। रिहा भएपछि के गर्ने भन्ने अन्यौल र डरमा हुन्थे। कतिपय त जेलमुक्त भएर केही दिनमै फेरि केही अपराध गरेर फर्किन्थे।'
कारण पत्ता लाउँदा परमेश्वरले देखेछन् — कारण जेसुकै होस्, एकपटक जेल परेपछि धेरैलाई परिवार र समाजले स्वीकार नगर्ने रहेछ। मैले अपराधको सजाय काटेर आइसकेँ, अब सम्मानित जीवन बिताउन चाहन्छु र मलाई स्वीकार गर भन्दा पनि घृणा र बहिस्कार अनुभव गर्ने रहेछन्। जीवनयापनका लागि कुनै पेसा वा व्यवसायमा स-सम्मान फर्किने अवस्था नहुने रहेछ। अरूले घृणा र बहिस्कार गर्दा त्यस्तो अवस्थामा लड्न सक्ने आत्मबल र आत्मविश्वास नहुने रहेछ। रोजीरोटीका लागि फेरि अपराध गर्न पुग्ने रहेछन् र जेल फर्किने रहेछन्!
आफू वरिपरि दिनहुँ ठोक्किने कारागारका साथीहरूलाई सम्झिँदै परमेश्वरले सुनाए, 'सरकारको ध्यान कैदीहरूलाई सीप र काम सिकाउन थियो। तर त्यो अपुग थियो। भोलिको जीवनमा कुनै आशा नदेख्ने, जीवन नै छैन भनेर डरमा बाँचिरहेका निराश मानिसहरूसँग जति नै सीप भए पनि उनीहरूसँग समाजमा गएर फेरि स्थापित हुने आँट हुँदैन थियो। वास्तवमा उनीहरूको आत्मा नै मरेको थियो।'
धेरै कैदीहरूका कथा सुनेपछि जेल युनिभर्सिटीले निष्कर्ष निकाल्यो — अपराध गर्नेहरूलाई हाम्रो हृदय र दिमागबाट हटाउनबाहेक समाजले अरू प्रभावकारी तरिका फेला पारेको छैन। तर महात्मा गान्धी, नेल्सन मन्डेला, म्याल्कम एक्स र अन्य धेरै सामाजिक नेताहरूका लागि जेलमा बिताएको समय ठूलो शिक्षा, परिवर्तन र विकासको अवधि थियो। नियतले होस् वा आवेश वा भवितव्यमा परेर अपराध गर्नेहरूलाई, अपराधकै मनोवृत्तिमा छोडिदिने हो भने समाजले अपराधबाट छुट्कारा पाउने छैन। कुनै क्षणिक आवेश वा भवितव्यमा अपराध गर्नेहरू पनि जीवनपर्यन्त अपराधकै दुश्चक्रमा फसिरहने छन्।
अनि जेल युनिभर्सिटीका परिकल्पनाकारहरूले आफ्नो कार्य दिशा तयार गरे — जेललाई एक रोमाञ्चक सिकाइको ठाउँ बनाउने जहाँ कैदीहरूको गरिमा र करूणा पुनः स्थापित हुन सकोस्। कैदीहरूलाई 'हिल' हुन सहजीकरण गर्ने, भोलिको जीवनप्रति आशावादी बनाएर जीवनको सपना बुन्न सघाउने र समाजमा फर्किन आत्मबल र ऊर्जा प्रदान गर्ने, नयाँ करिअरबारे सोच्न लगाउने र उक्त करिअरका लागि आवश्यक सीप प्रदान गर्ने।
त्यसपछि जेल युनिभर्सिटीका सञ्चालकहरूले कैदीहरूलाई 'ठीक' गर्ने वा पूर्वनिर्धारित तालिम पाठ्यक्रममा 'फिट' गर्ने प्रयास गर्नुको सट्टा उनीहरूको प्रतिभा र रूचिका आधारमा सिकाइ कार्यक्रम सह-निर्माण गर्न थाले।
त्यस समय कारागारका १३ सय कैदीमध्ये १५० जना सिकाइ कार्यक्रममा सहभागी भए। अनि दैनिक ५ घन्टा विभिन्न सिकाइ कार्यशाला सञ्चालन हुन थाल्यो — अर्गानिक फार्मिङ, कम्प्युटर, फिल्म मेकिङ र संगीत।
यसका लागि कतिपय शिक्षकहरू कारागार बाहिरबाट आउँथे भने कतिपय कैदीहरू नै हुन्थे।
यसै क्रममा परमेश्वरले पनि संगीत सिकाउन सुरू गरे। परमेश्वर त आफू उमेरले पाका थिए, पेसा र व्यवसायमा अनुभवी थिए, आफूलाई उत्प्रेरित गर्न दिनहुँ ध्यान, योग गर्थे, पुस्तकहरू पढ्थे। तर उनीसँग संगीत सिक्न आउनेहरूमा कैदी जीवनले ल्याएको निराशा मात्र थियो। त्यसैले उनले गीतकै माध्यमबाट उनीहरूलाई उत्प्रेरित गर्न थाले।
आफूलाई समाजबाट फरक र तल्लो श्रेणीको ठान्ने कैदीहरूलाई लक्षित गरेर उनले 'बसुधैव कुटुम्बकम्' बोलको गीत आफैंले लेखेर कम्पोज गरे।
गीतको केही हरफ यस्तो थियो —
हम एक है, हम एक है
हम प्यारे है, और तुम्हारे है।
यो गीत उनले गाए, अरूलाई गाउन सिकाए। कारागार प्रशासनले पछि स्टुडिओ बनाइदियो र त्यहाँ रेकर्ड पनि गरे।
संगीतमा डुब्दै संगीत सिकाउँदै गर्दा उनलाई महसुस भयो — सबै म जस्तै त छन्। मलाई माया दिएका छन्। कतिपयले पकाएर मलाई खाना खुवाएका छन्। मसँगै गीतमा झुम्मिन्छन्। आशाको गीत गाउँछन्। उनीहरूले कुन अपराध गरेका थिए भन्नेसँग मलाई मतलब भएन, सबैले मप्रति करूणा देखाउँथे। त्यसपछि जेल एक परिवार जस्तो लाग्न थाल्यो। घरबाट टाढा भए पनि घरकै महसुस हुन थाल्यो।
उनीप्रति रूचि जाग्दै गएपछि मैले उनलाई सोधेँ, 'तपाईं सबभन्दा खुसी भएको क्षण कुन थियो?'
नोस्टाल्जियामा गएर उनले धेरै घटना सुनाए। एउटा घटना भने धेरैपटक दोहोर्याए।
संगीत सिक्ने सिकाउने क्रममा उनीहरूले धेरै कन्सर्ट पनि गरेछन्। प्रशासनले कारागारभित्र र बाहिर पनि कन्सर्टको आयोजना गरिदिएछ। केहीपटक कारागारबाहिर केही संगीत प्रतियोगितामा पनि उनीहरू सामेल भएछन्।
गरेका धेरै कन्सर्टमध्ये उनले पहिलो कन्सर्ट सम्झिए र सुनाए, 'एउटा कार्यक्रममा हामीले जेलभित्र गीत गाएर सबैलाई सुनाएका थियौं। गीत गाइसकेपछि पुलिसहरूले हामीलाई 'स्याबास' भने। त्यसपछि केही साथीहरू भावुक हुँदै रोए।'
आफूसँगै गीत गाउने साथीहरूले परमेश्वरलाई भनेछन्, 'यो हामीले जीवनमै पाएको पहिलो स्याबासी थियो!'
परिवार र समाजमा सधैं गाली खाने साथीहरूले पाएको प्रशंसाले झन् मेहनत र ऊर्जा बढेको उनले प्रत्यक्ष अनुभव गरे। प्रशासनले पर्याप्त संगीतका उपकरणहरू ल्याइदियो र उनीहरूले संगीत कम्पोजिसन र गायनमा उत्कृष्टता हासिल गर्दै गए।
गीत-संगीतको सीप र प्रतिभा प्रस्फुटनभन्दा पनि परमेश्वरले देखेको सबभन्दा महत्त्वपूर्ण उपलब्धि थियो — उनीहरू जेलबाट रिहा भएपछि समाजमा सकारात्मक छाप पार्न काम गर्ने सपना देख्न थालेका थिए। वर्तमानमा रमाएका उनीहरू भविष्यप्रति आशावादी र मानसिक रूपमा मजबुत थिए। समाज र परिवारले अस्वीकार गरे पनि सम्मानजनक जिन्दगी बिताएर समाजमा पुनः स्थापित हुने उनीहरूको अठोट थियो।
सन् २०२२ अप्रिलमा परमेश्वर रिहा भए। त्यसपछि उनले प्रशिक्षित गराएका कैदीहरूले नै अरूलाई संगीत सिकाउन थाले।
यो दौरान उनले सिकाएका धेरै कैदी रिहा भए। उनीहरू मिलेर 'नयाँ सबेरा' संगीत ब्यान्ड सञ्चालन गरेका छन्। उनीहरू परमेश्वरलाई 'गुरू' मान्छन्।
जेलबाट रिहा भएर बाहिर संगीत कर्ममा लागेका आफ्ना शिष्यहरू सम्झिँदै परमेश्वरले भने, 'जुनसुकै ठाउँमा कन्सर्ट गर्दा पनि उनीहरू सुरूमै हामी जेलबाट मुक्त भएर आएका हौं भन्छन्। यो जेल युनिभर्सिटीबाट उनीहरूले पाएको आत्मबल हो।'
जेलभित्र रचेको अर्को कुनै गीत सम्झिन आग्रह गर्दा परमेश्वरले एउटा गीत गुनगुनाएर मलाई सुनाए —
यह है जेल जेल जेल
कोई डन है कोई मौन है
कोई जानी की जान है
डन है कोई मौन है कोई जानी कोई जान है
तू कौन है मैं कौन हूँ
ये कौन है वो कौन है
अरे ये सब छोड्ना यार
वी आर अल वान
हम सब उसके बंदे
ये है जेल जेल…
म लगायत केही साथीहरूको बीचमा परमेश्वरले कवीरका श्लोकहरू गुनगुनाए, जगजित सिंह र किशोर कुमारका गजलहरू सुनाए।
हरेक गीत गाउँदा उनी जेललाई सम्झिन्थे। जेलभित्र मनाएका उत्सवहरू, कठिनाइलाई सिकाइमा परिवर्तन गरेका कथाहरू र जेलभित्र देखिएको आशा सुनाएर उनी मख्ख पर्थे। र, त्यसकै आधारमा गीत गुनगुनाउँथे।
एक सह-संस्थापक सँगको भेट
परमेश्वरसँगको भेटपछि मलाई 'जेल युनिभर्सिटी' बारे अझै खोतल्न मन लाग्यो। यही क्रममा संस्थापकमध्येका एक डिकेन पटेललाई मैले भेटेँ।
'विगतमा भारत र विश्वका विभिन्न ठाउँमा भएका प्रयासबाट हामीले सिकेका हौं,' प्रेरणाको स्रोत सुनाउँदै डिकेनले भने।
गुजरातको अहमदावादमा जन्मिएका डिकेन अध्ययनपछि बैंकिङ क्षेत्रमा कार्यरत थिए। तर त्यहाँको समग्र प्रणालीसँग उनको चित्त दुख्यो।
आफ्नो यात्रा सुनाउँदै उनले भने, 'व्यावसायिक जीवनमा हुँदा मैले विश्वविद्यालयबाट दीक्षित निर्दयी र क्रुर बौद्धिक भनिनेहरू भेटेँ, देखेँ। लोभले लोभ बढाउने रहेछ, जसरी हुन्छ पैसा कमाउने सोच आउने रहेछ। डिग्रीले सबैलाई विनम्रता, करूणा, माया नदिने रहेछ।'
त्यसबाट असन्तुष्ट भएर उनले आफू आबद्ध भएको बैंकिङ क्षेत्र छाडे। अनि 'गान्धी आश्रम-मुभ्ड बाइ लभ' सञ्चालन गर्न थाले। यो आश्रमबाट उनले हृदय र मस्तिष्क जोडिने अर्थात् करूणा र बौद्धिकता जोडिने कार्यक्रमहरू सञ्चालन गरे।
एक दिन उनलाई 'जेल युनिभर्सटी' मा सामेल हुने अनुरोध आयो।
त्यो क्षण सम्झिँदै उनले भने, 'जेल शब्द सुन्नेबित्तिकै नेगेटिभ इमोसन आउँछ। डर, अपराधी, ग्याङ फाइट, युद्ध जस्ता अवधारणाहरू मभित्र पनि आए। तर जेलमा रहेर काम गर्न पाउनु मेरा लागि एक आध्यात्मिक यात्रा पनि थियो र मैले सहर्ष अनुरोध स्वीकार गरेँ।'
मैले उनीसँग आफ्नो जिज्ञासा राखेँ, 'यो डिग्री दिने संस्था होइन र यसको स्वरूप पनि भइरहेका युनिभर्सिटी जस्तो देखिँदैन। तर नाम किन युनिभर्सिटी राख्नुभएको?'
डिकेनले केही बुँदाहरूमा आफ्नो कुरा राखे।
– धेरै कैदीहरू स्कुलबाट फेल भएका थिए। यसले गर्दा उनीहरू आफैंले आफैंलाई फेल र नराम्रो मान्छे मान्थे। उनीहरू मूलधारको शिक्षा प्रणालीबाट उत्प्रेरित थिएनन् र आफ्नो भविष्य सकारात्मक देखिरहेका थिएनन्।
– औपचारिक शैक्षिक संस्थाहरू र कारागारका कैदीबीच दूरी थियो। ती शैक्षिक संस्थाबाट कैदीहरूलाई सिकाउन सम्भव थिएन। मूलधारका विश्वविद्यालयहरूले यो संकट सम्बोधन गर्न कुनै गम्भीर प्रयास गरेका थिएनन्।
'त्यसैले जेललाई नयाँ किसिमको समग्र विश्वविद्यालयमा निर्माण गर्न सम्भव होला कि भनेर हामीले सोचेका थियौं,' उनले सुनाए।
मूलधारका औपचारिक विश्वविद्यालयभन्दा फरक जेल युनिभर्सिटीका केही विशेषताहरू उनले सुनाए।
– जेल युनिभर्सिटीमा कैदीहरूको औपचारिक शैक्षिक पृष्ठभूमिले फरक पार्दैन। कुनै सीप सिक्न उनीहरूसँग कक्षा दस वा १२ को प्रमाणपत्र हुनु आवश्यक छैन। उनीहरूसँग भएको अनुभव, रूचि र सिर्जनात्मकता नै पर्याप्त छ।
– जेल युनिभर्सिटी कैदीहरू 'असफल' हुन् भन्ने विश्वास गर्दैन।
– यो युनिभर्सिटीको केन्द्रमा सिकारू हुन्छन्। सिकारूले आफ्ना लागि सिकाइको डिजाइन आफैं गर्छन्।
– यो युनिभर्सिटीमा कोही शिक्षक र कोही विद्यार्थी भन्ने हुँदैनन्। आफूलाई आउने विषयमा कैदीहरू शिक्षक बन्छन् भने सिक्न चाहेको विषयमा सिकारू हुन्छन्।
आज जेलभित्र विभिन्न एकेडेमी सञ्चालन भइरहेका रहेछन्; म्युजिक एकेडेमी, आर्ट एकेडेमी, अर्गानिक फार्मिङ, फिल्म एन्ड फोटोग्राफी एकेडेमी, बार्बर एकेडेमी, वेबसाइट डिजाइनिङ एकेडेमी र कम्प्युटर एकेडेमी।
यी एकेडेमीमा कैदीहरू स्वस्फूर्त रूपमा आफ्नो रूचिअनुसार आउँछन्, सिक्छन् र सिकाउँछन्।
यी एकेडेमीहरू कैदीहरूसँग संवाद गरेर उनीहरूको रूचिअनुसार सुरू गरिएको डिकेनले बताए।
बार्बर एकेडेमी सुरू गर्नुको घटना सुनाउँदै उनले भने, 'एकपटक दुई कैदीहरूले पुरानो कैंची प्रयोग गरेर एउटा कुनामा कपाल काटिरहेको देख्यौं। दैनिक रूपमा कपाल, दाह्री, नङ काट्नु व्यक्तिको आत्मविश्वाससँग जोडिने विषय पनि रहेछ। अनि हामीले बार्बर एकेडेमी सुरू गर्यौं। नयाँ उपकरणहरू ल्याएर दियौं। उनीहरूले अरूको कपाल काटिदिए र अरूलाई पनि कपाल काट्न सिकाए।'
मेरा एक मित्र उद्गम खड्का दुई महिनाअगाडि डिकेनसँगै जेल युनिभर्सिटी अवलोकन गर्न पुगेका थिए। डिकेनप्रति कैदीहरूले गर्ने सम्मान र माया देखेर उद्गम चकित बनेका थिए।
'त्यो ठाउँ जेल जस्तो थिएन, एउटा जीवन्त आशाले भरिएको आश्रमजस्तो थियो। त्यस आश्रमका एक अभिभावक डिकेन थिए,' उद्गमले जेलको सेरोफेरो सम्झिँदै सुनाए।
फुंग परेको कारागारको एक सय वटा भित्तामा कोभिडका समयमा कैदीहरूले रङ लगाए। आफूलाई प्रेरणा दिने चित्रहरू कोरे। यसको संयोजन 'आर्ट एकेडेमी' का कैदीहरूले गरेका थिए।
कुराकानीका क्रममा डिकेनले धेरैपटक दोहोर्याए, 'प्रेम र करूणा शक्तिशाली उपकरण हुन्। हाम्रा कारागारहरूमा दण्ड मात्र होइन, कैदीहरूको सिकाइ र पुनः स्थापनालाई पनि प्राथमिकतामा राखिनुपर्छ। अनुसन्धान हेर्ने हो भने पनि दण्ड मात्र दिने देशभन्दा पुनः स्थापना प्राथमिकतामा राख्ने देशमा एकपटक रिहा भएको कैदी फेरि जेल फर्किने सम्भावना कम देखिन्छ।'
सुरूमा जेल पस्दा एक कैदीले डिकेनलाई भनेका थिए रे — हामी जिउँदाहरूको चिहानमा छौं!
आज, ६ वर्षपछि उनीहरूले अनेकौं सफलताका कथाहरू देखेका छन्।
केही उपलब्धि सुनाउँदै डिकेनले भने, 'ग्याङस्टर र बन्ने सपना देखेको एक युवक गितार सिकेर अचेल गीत गाउन थालेका छन्। अर्गानिक फार्मिङ सिकेका एक जनाले आफ्नो गाउँको फोहोर फाल्ने बाँझो खेतमा सयौं सुनाखरी र केरा रोपेर हरियाली बनाएका छन्।'
अपराधीलाई फेरि अपराध गर्ने बाटोभन्दा समुदायमा नेतृत्वको भूमिकामा फर्काउने जेल युनिभर्सिटीको काम सराहनीय छ।
परमेश्वर व्यास र डिकेन पटेलको सोच र कर्म देखेर म अचम्मित भएँ।
आफ्नो व्यवहारबाट उनीहरूले देखाए — मानिसले मानिसलाई कतिसम्म 'जज' नगरी प्रेम गर्न सक्छ, कतिसम्म करूणा देखाउन र सम्मान गर्न सक्छ।
अनि एउटा प्रश्न आफैंले आफैंलाई सोधिरहेको छु — यस्तै प्रेममा आधारित पूर्वाग्रहमुक्त सिकाइ हाम्रो कक्षा र समुदायमा कसरी सञ्चालन गर्न सकिएला?
ट्विटर- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)