पाकिस्तानमा बिहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचन मतपरिणाम लगभग आइसकेको छ।
अलजजिराका अनुसार कुल २६५ सिटमध्ये अब ९ सिटको मात्र परिणाम आउन बाँकी छ।
यो निर्वाचन हुँदै गर्दा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) पार्टीका अध्यक्ष समेत रहेका इमरान खान जेलमा छन्।
पिटिआईलाई पहिलेको चुनाव चिह्न नदिइएपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पाकिस्तानको राजनीति, निर्वाचन र त्यहाँ हुने कुनै पनि उतार-चढाव बुझ्न यसका केही अवस्थालाई बुझ्नुपर्ने हुन्छ।
पहिलो हो, यहाँको अर्थ-राजनीति।
धनाढ्य जमिनदार र उद्योगपतिको सानो समूहबाट शासित देश हो पाकिस्तान। मध्यम वर्गको अस्तित्व प्रस्ट रूपमा कमजोर देखिने पाकिस्तानका जनता कि त असाध्यै धनी छन्, कि असाध्यै गरिब।
राज्यका हरेक अंग र निकाय धनाढ्य भूमिपति वर्गको हित संरक्षण गर्ने उद्देश्यबाट निर्देशित छन्।
पाकिस्तानको भू-राजनीति पनि कम जटिल छैन।
मध्यपूर्व, दक्षिण एसिया र उत्तरको शक्तिशाली छिमेकी चीनबिच चेपिएको छ यो देश। यी तिनै क्षेत्रका उथलपुथलमा जानीनजानी पाकिस्तान मुछिएकै हुन्छ।
पाकिस्तानको तेस्रो जटिलता यहाँका चार प्रदेशहरूको विविधता र त्यसमा निहीत असमानता हो। सिन्ध, पञ्जाब, बलोचिस्तान र खेबर पख्तुन्ख्वा प्रदेशहरू भाषिक र सांस्कृतिक आधारमा मात्र पृथक छैनन् — तिनीहरूका आर्थिक-राजनीतिक र जनसांख्यिक हैसियत पनि फरक-फरक छन्। प्रशस्त विविधता र फरक अपेक्षाहरूबीच पाकिस्तान राष्ट्र निर्माणको बोझ पनि बोकिरहेकै छ।
पाकिस्तानलाई बुझ्न छुटाउनै नहुने अर्को अवस्था यसको औपनिवेशिक इतिहास र सन् १९४७ को भारतसँगको ‘पार्टीसन’ हो। बेलायतीले छोडेर गएका अपूरा मुद्दा मात्र नभएर उपनिवेशको नोकरशाही ढाँचाढर्रा, रंगभेदी सोच र विभेदकारी सामाजिक अवस्था पाकिस्तानका चरित्रसँग जोडिएका छन्। यसका अतिरिक्त भारतसँगको पृथकता पाकिस्तानको दुःखदायी यथार्थ र पहिचान दुबै हो।
पाकिस्तानको अर्को जटिल अवस्था राज्य र धर्मबीचको सम्बन्ध हो। अलग राष्ट्रका रूपमा स्थापना हुँदा पाकिस्तान उदारवादी र आधुनिक राष्ट्रका रूपमा अस्तित्व बनाउन उद्यत थियो। सन् १९७८ मा जिया-उल-हक सैनिक 'कू' बाट शासनसत्तामा स्थापित भएपछि उनले पाकिस्तानलाई इस्लामिक गणतन्त्र बनाउने अभियान चलाए। दस वर्षे उनको शासनकालमा सारिया कानुनले प्रधानता पायो। धर्मगुरूहरू समाज र राजनीतिमा हाबी भए। राज्यका सबै पद्धति र संरचनामा धर्मलाई आधार बनाइयो।
यी सबै अवस्थालाई निरन्तरता दिने र जटिल बनाउने अर्को अवस्था ‘संस्थापन’ भनेर चिनिने पाकिस्तानको सेना हो। सेना राजनीति, व्यापार, परराष्ट्र मामिला, धार्मिकता सबै क्षेत्रमा सशक्त रूपमा सक्रिय छ, र प्रश्न वा आलोचनाभन्दा माथि छ।
आजको पाकिस्तानमा गरिब र धनीबीच भीमकाय असमानता छ, चीनसँग लिएको भयंकर ठूलो ऋणको बोझ छ, अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको निर्भरता छ, धर्मका रक्षकहरूको प्रभाव छ र राष्ट्र निर्माणको चुनौती छ।
राजनीतिक रूपमा अस्थिर पाकिस्तानमा सन् २०१८ को आमचुनावका बेला एक नयाँ आशा र उत्साहको सञ्चार भयो।
इमरान खानले नेतृत्व गरेको पाकिस्तान तहेरिक-ए-इन्साफ (पिटिआई) ले ‘नयाँ पाकिस्तान’ बनाउने अभियान घोषणा गर्यो। गरिबी र महँगी घटाउने, कर प्रणाली सुधार गर्ने, अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको निर्भरता अन्त गर्ने, धार्मिक विद्यालयहरूलाई आधुनिकीकरण गर्ने र समग्र राजनीतिलाई गाँजेको भ्रष्टाचार र ‘सिफारिसवाद’ अन्त गर्ने इमरान खानको प्रतिबद्धतामा आमजनताले रूचि देखाए।
निर्वाचनमा बहुमत नपाए पनि अन्य दलसँगको सहमतिमा उनी सरकार बनाउन सफल भए र सहमतीय सरकारका प्रधानमन्त्री भए।
इमरान खान नयाँ ढंगको जनतामुखी राजनीति गर्ने लोकप्रिय नेताका रूपमा उदाए।
इमरान खानले ठम्याएका समस्या र उनका चुनावी प्रतिबद्धता सही भए पनि ती समस्याको समाधान त्यति सहज थिएन। यसका लागि सामाजिक-आर्थिक पुनर्संरचना आवश्यक थियो। इमरान खानले भूमिको असमानता अन्त गर्न, अर्थतन्त्रमा नीतिगत सुधारमार्फत रोजगारी सिर्जना गर्न, राज्यमा धर्मको प्रभाव कम गर्न र राजनीतिमा नागरिक सर्वोच्चता कायम गर्न आवश्यक पहलकदमी लिन सक्नुपर्थ्यो।
जुन देशमा चानचुन ४० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, कुल गार्हस्थ्य उत्पादनमा करको योगदान १० प्रतिशत छ र सेनाको बजेट वार्षिक बजेटको २० प्रतिशतभन्दा धेरै छ, त्यहाँका समस्या कति जटिल छन् भनेर सहजै अनुमान गर्न सकिन्छ।
चुनावी र्यालीमा भाषण गर्न जति सजिलो हुन्छ, राज्य वा अर्थतन्त्रको पुनर्संरचना त्यति सहज हुँदैन। यसका लागि ठूलो परिश्रम गर्न तयार हुनुपर्छ। आफ्ना नजिकका मानिस शत्रु बन्न सक्छन् र सत्ता धरापमा पर्न सक्छ।
नयाँ पाकिस्तान बनाउने नाराबाट चुनाव जितेका इमरान खान यसका लागि तयार भएनन्।
उनले पनि सजिलो बाटो नै रोजे।
सेनासँग राम्रो सम्बन्ध बनाए। नोकरशाहीकै कुरा सुने। धर्मगुरूहरूसँग असल सम्बन्ध बनाउनमा जोड दिए। भूमि वितरणमा विद्यमान असमानता अन्त गर्ने र आर्थिक संरचनामा सुधार गर्ने क्षेत्रमा कुनै काम भएनन्। अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको निर्भरता झन् बढ्यो। असमान र विभेदलाई बढावा दिने कर प्रणालीको नीतिगत परिवर्तन गर्ने प्रयासको थालनी समेत भएन। रोजगारी घटेन। महँगी झन् बढ्यो। नोकरशाहीमा भ्रष्टाचार रोकिएन। पिटिआईका कार्यकर्ताको बोलबाला भने गाउँदेखि सहरसम्म बढेर गयो जसका कारण आममानिस नै त्रसित हुनुपर्ने अवस्था आयो।
आफ्नो व्यक्तित्वसँग जोडिएको पेशावरी चप्पल र रेब्यान चस्मामा सजिएर राजनीतिक र्यालीमा अरू दल र नेतालाई गाली गर्न मै इमरान खानको समय बढी खर्च भयो। चुनावका बेलाका उदारवादी र सुधारवादी नारा बिर्सिएर उनी एकाएक धर्मको महत्त्वका बारेमा उपदेश दिन थाले। बलात्कारका घटनामा महिलालाई नै दोषी देखाउने खालको उनको टिप्पणी सार्वजनिक भयो। मदरसालाई आधुनिकीकरण गर्ने आफ्नो पुरानो प्रतिबद्धता बिर्सिएर उनले विद्यालयहरूमा अंग्रेजी भाषाको ठाउँमा उर्दू पढाइ गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्रीका रूपमा उनको भूमिका अरूलाई सल्लाह र निर्देशन दिनमै सीमित भयो। जनताले ठूलो भरोसा गरेका लोकप्रिय नेता इमरान खान सत्ताको खेलमा पुराना नेताभन्दा कम भएनन्।
प्रधानमन्त्रीका रूपमा उनको प्रदर्शन कमजोर रहिरहेकै बेला कोभिड महामारी सुरू भयो र त्यसको केही समयपछि युक्रेनमाथि रूसको आक्रमण। यसबाट अर्थतन्त्र झन् चेपुवामा पर्यो। महँगी र बेरोजगारीले आकाश छोयो। इमरानको कार्यशैली र क्षमतामाथि प्रश्न ओइरिन थाले।
शासकीय सुधार र अर्थतन्त्र बलियो बनाउन इमरान खान असफल भएको मौका उनका राजनीतिक प्रतिद्वन्द्वीले छोड्ने कुरा थिएन। उनलाई २०२२ को अप्रिल महिनामा सत्ताबाट हटाइयो र पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शेबाज शरीफ पाकिस्तानका प्रधानमन्त्री भए।
पाकिस्तानको राजनीति प्रतिस्पर्धा, दुश्मनी र बदलाको भावबाट निर्देशित छ। एउटा सत्तामा हुँदा उसको प्रतिद्वन्द्वी मारिनुपर्ने वा जेलमा बस्नुपर्ने अवस्था छ। जुल्फिकर अलि भुट्टो, जिया-उल-हक, बेनाजिर भुट्टो मारिए। जो ज्यान जोगाउन सफल थिए, उनीहरूलाई अनेकन मुद्दा मामिलामा फसाइयो।
यही परम्परा इमरान खान सत्तामा हुँदा पनि दोहोरियो।
पूर्व प्रधानमन्त्री नवाज शरीफले बेलायतमा निर्वासनमा बस्नुपर्यो।
अहिले इमरान खान र उनकी श्रीमती बुस्रा बिबी पाकिस्तानी जेलमा छन्। यहाँका अदालतले उनीहरूमाथि एकपछि अर्को गर्दै दुई दशकभन्दा बढीको जेल सजाय तोकेका छन्।
यसैबीच पाकिस्तानमा गत बिहीबार आम निर्वाचन सम्पन्न भएको छ। यसबेला म पाकिस्तानबाहिर छु — तर निर्वाचनको रमिता सञ्चारमाध्यममार्फत निरन्तर पछ्याइरहेको छु।
दुश्मनी र बदलाको भावबाट ग्रसित पाकिस्तानको राजनीतिमा अहिले सत्तामा रहेका राजनीतिक शक्तिहरूले पिटिआईका उमेदवारलाई पार्टीका रूपमा निर्वाचनमा भाग लिनबाट वञ्चित गरे। उनीहरूलाई क्रिकेट ब्याट चुनाव चिह्नबाट चुनाव लड्न दिएनन्।
यसका बाबजुद यो लेख लेख्दासम्म पिटिआई सबभन्दा बढी १०० सिट जित्न सफल भएको छ, र उसले समर्थन गरेका स्वतन्त्र उमेदवारको संख्या प्रतिनिधि सभामा सबभन्दा बढी हुने निश्चित जस्तै छ।
चुनावी नतिजा हेर्दा के भन्न सकिन्छ भने — पार्टीका प्रतिनिधिका रूपमा चुनाव लड्न पाएको र क्रिकेट ब्याटको चुनाव चिह्न पनि पाएको भए पिटिआईले कमसे कम सहज बहुमत प्राप्त गर्ने थियो।
बाहिरबाट हेर्दा पाकिस्तानको राजनीति सहज देखिए पनि आन्तरिक रूपमा यसका जटिलता असंख्य छन्। तर यी जटिलताको समाधान भाषण र चिप्ला कुरा होइनन्। नयाँ ढंगको राजनीति गर्ने प्रतिबद्धता देखाउनेले यी जटिलताका विभिन्न पाटाहरूलाई बुझ्न र संरचनागत सुधारका लागि प्रयत्न गर्न सक्नुपर्छ। जसमा इमरान खान असफल रहे।
भविष्यमा कसको नेतृत्वमा र कसरी सरकार बन्छ हेर्न बाँकी छ।
यद्यपि, एउटा कुरा भने प्रस्ट छ — पाकिस्तानका आममतदाताले सत्तामा जरो गाढेर बसेका पुराना पार्टीको विकल्प खोजेका छन्। इमरान खानलाई एकपटक फेरि मौका दिन चाहेका छन्।