केही महिनाअघि भारतका सम्मानित कवि र इतिहासकार कुमार विश्वासले 'लल्लन टप' टेलिभिजन शोमा सौरभ द्विवेदीसँग कुरा गर्दै भने — अहिले भारत अपूर्व संकटमा छ। यस्तो खराब समय चलिरहेका बेला धेरै ठूला अपेक्षा राख्नु हुँदैन, जीवित रहन सक्नु नै ठूलो कुरा हो।
कुमार विश्वासको यो टिप्पणी र भारतको प्रसंगमा अलिबेरमा फर्केर आउनेछु। अहिलेलाई एउटा पुस्तकको प्रसंग।
म यति बेला मार्टिन वोल्फले लेखेको किताब 'द क्राइसिस अफ डेमोक्र्याटिक क्यापिटलिजम' पढिरहेको छु।
उदारवाद, लोकतन्त्र र पुँजीवादका मूल चरित्र केलाउँदै वोल्फले पश्चिमा देशले विकास र प्रवर्द्धन गरेका आदर्श तथा मूल्यमान्यताले आज झेलिरहेको संकटको बृहत् चिरफार गरेका छन्।
वोल्फका मूल तर्क र तिनलाई पुष्टि गर्न उनले किताबमा प्रस्तुत गरेका विवरण निकै उम्दा छन् — किताब पढिसक्नु भएको भए तपाईंलाई पनि मन परेको हुनुपर्छ।
आफ्नो किताबको सुरूआतमा उनले उठाएको एउटा प्रसंग निकै घतलाग्दो छ।
उनी भन्छन् — हामी पेसिमिजम (Pessimism) लाई अगतिलो र हानिकारक सोचाइका रूपमा बुझ्छौं। पेसिमिजमले संकट ल्याउँछ भन्ने ठान्छन् मानिसहरू। कसैले भविष्यमा समस्या झन् गहिरिएर जाला भन्ने विचार राख्यो भने त्यसले अरूबाट आलोचना सहनुपर्छ।
तर लेखकको विचारमा पेसिमिजमप्रतिको यो नकारात्मक धारणा गलत छ। पेसिमिजम त्यस्तो चिन्तन हो जसले संकटलाई समयमै आकलन गर्न र त्यसबाट जोगिन सहयोग गर्छ। पेसिमिजम हानिकारक होइन, बरू मानव जीवनका लागि उपयोगी कुरा हो।
एउटा सानो 'डिस्क्लेमर' — यहाँ मैले अंग्रेजी शब्द पेसिमिजमका लागि अक्सर प्रयोग हुने नेपाली शब्द 'निराशावाद' प्रयोग गरेको छैन। किनकि मलाई नेपालीको निराशावादले अंग्रेजी पेसिमिजमको सही अर्थ बोक्छ जस्तो लाग्दैन। निराश हुनु र भविष्य आफूले अपेक्षा गरेभन्दा फरक बाटोमा अघि बढ्न सक्छ भनेर सचेत रहनु फरक कुरा हुन्।
पेसिमिजम किन महत्त्वपूर्ण छ भनेर व्याख्या गर्न वोल्फ आफ्ना बाबु र बाजेले दोस्रो विश्व युद्ध र शीत युद्ध कालमा भोगेका खराब परिस्थिति र त्यसबाट जोगिन उनीहरूले अपनाएका उपायको चर्चा गर्छन्।
उनी भन्छन् — मेरा बाजेले दोस्रो विश्व युद्ध सुरू हुनुअघि नै अशान्ति र विनाशको सम्भावना देखे र एउटा सानो पानीजहाजमा आफू, आफ्नो परिवार र नातागोताका इच्छुक मानिसहरू लिएर युरोपबाट बिदा भए। बाजेले पानीजहाज चढ्न बोलाएका ती मानिस, जो भविष्यप्रति आशावादी थिए र बाजेको कुरामा लागेनन्, एक-दुई छोडेर सबैको युद्धमा ज्यान गयो।
वोल्फको निचोड छ — मेरा बाजे र बाबुले 'सकारात्मक सोच' राखेर भविष्य राम्रो हुने आशा गर्दै बसिरहेका भए या त उनीहरू पनि युद्धमा मारिन्थे या बेहद कष्ट झेल्न बाध्य हुन्थे।
समय र संसार सधैं राम्रै हुँदै जान्छ भन्ने छैन। यसको विपरीत संकट संसारको नियति हो, शान्ति र स्थिरता दुर्लभ कुरा हुन्।
सबैलाई सहजै पाएको जस्तो लाग्ने शान्ति, स्थिरता, आपसी सदभाव आदिका प्रशस्त प्रयत्न र त्यागबाट हासिल भएका कुरा हुन् जसलाई जोगाइ राख्न सजिलो छैन। यो यथार्थ बुझेर सम्भावित संकटबारे सोच्नु र त्यसबाट जोगिन तयारी गर्नु बुद्धिमत्ता हो।
वोल्फले आज विश्वको अवस्था निकै खराब देखेका छन्।
किताबमा उनको मूल तर्क यस्तो छ — लोकतन्त्र वा उदारवाद मात्र नभएर सम्पूर्ण संसार यति बेला अभूतपूर्व संकटबाट गुज्रिरहेको छ। सयौं वर्षको त्याग संघर्षबाट हासिल आदर्शले काम गर्न छोडेका छन्। मानिसहरू उदास र दिग्भ्रमित छन्। समग्र संसारले झेलिरहेको यो संकटको अस्तित्व स्वीकार नगर्ने र यसको सामना गर्ने उपाय नखोज्ने हो भने मानिसको अस्तित्व नै मेटिन सक्ने खतरा आज छ।
निराश वा दुःखी हुने चाहना कसैको हुँदैन। म पनि चाहन्छु, सकेसम्म सबैका लागि संसार सुरक्षित र सुखद होस्। मानिसहरू हाँसीखुसी जीवन बिताउन सकुन्। समय र परिस्थिति निरन्तर सकारात्मक बाटोमा हिँडुन्।
सँगसँगै मलाई के लाग्छ भने, मेरो वा तपाईंको मनोकांक्षा विपरीत संसार थप असुरक्षित, असमान, जोखिमपूर्ण र कमजोर भइरहेको वा यस मार्गतर्फ उद्यत छ। त्यसैले म निराशावादी होइन। तर भविष्य गलत बाटोमा हिँडिरहेको छ भन्ने कुरामा सतर्क छु।
मेरो बुझाइमा आज संसारमा गहिरिँदै गएका संकटहरूमध्ये एउटा प्रमुख संकट भारत र त्यहाँको लोकतन्त्रको क्षयीकरण हो। भारतमा हुन गइरहेको लोक सभा निर्वाचनका सन्दर्भमा यो संकटलाई बुझ्न आवश्यक छ। यो लेख यही विषयमा केन्द्रित छ।
अब माथि सुरू गरेको कुमार विश्वासको प्रसंगमा फर्कौं।
आजभोलि ठूला मिडियामा प्रकाशित हुने स्तम्भदेखि अनौपचारिक जमघटका भलाकुसारीमा अक्सर चर्चा हुने एउटा प्रसंग हो — भारत र चीनको 'द्रूत गति' को विकास।
मानिसहरू भन्छन् — भारत र चीन दुबै निरन्तर उन्नतिको बाटोमा छन्। महाशक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा छन्। दिन दुईगुणा, रात चौगुणा शक्तिशाली बनिरहेका छन्।
भारतको प्रसंगमा अकाट्यजस्तो बुझाइ के छ भने, नरेन्द्र मोदीले भारतलाई समृद्ध पश्चिमा देशको दाँजोमा पुर्याउन लागिसकेका छन्।
चीनको प्रगतिका कुरा कुनै दिन गरौंला। अहिलेलाई भारतको समृद्धिलाई सांगोपांगो हेरौं।
भारतको कुल गार्हस्थ्य उत्पादनमा बढोत्तरी भएको तथ्यांकले देखाएका छन्। सन् २०१४ देखि २०२२ सम्म भारतको कुल गार्हस्थ्य उत्पादन वार्षिक ५.९ प्रतिशतले बढेको देखिएको छ। बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न भारत सफल छ। भौतिक पूर्वाधार र त्यसमा पनि विशेष गरी रेल र सडक यातायातमा तीव्र गतिमा राज्यको लगानी बढेको छ। सन् २०१५ मा १८.७ प्रतिशत रहेको चरम गरिबी सन् २०२१ मा १२ प्रतिशतमा आइपुगेको तथ्यांकले देखाएका छन्।
अब प्रश्न उठ्छ — के माथिका सूचकका आधारमा बलियो हुँदै गएको भनिएको भारत साँच्चिकै थप सबल र स्थिर हुँदै गएको हो त?
एउटा 'पेसिमिस्ट' का रूपमा मलाई लाग्छ — आज भारतको अवस्था धेरै मानिसहरूले बुझेको जस्तो सुखद र उत्साहजनक छैन। भारत भित्रभित्रै थप कमजोर, जोखिमपूर्ण र अस्थिर भइरहेको हुन सक्छ। नेपालले यसलाई समयमै बुझ्न आवश्यक छ।
एकपटक माथिका सूचकले नसमेटेका यथार्थ हेरौं।
भारतको बहुप्रचारित आर्थिक प्रगति र त्यसमा पनि विशेष गरी कुल गार्हस्थ्य उत्पादनमा भएको बढोत्तरी विगत केही वर्षको मात्र प्रगति होइन। त्यसमाथि, संसारको सबभन्दा ठूलो जनसंख्या भएको देशको अर्थतन्त्रको आकार र यसको वृद्धिको आयतन ठूलो हुनु अस्वाभाविक होइन। त्यसैले भारत ठूलो अर्थतन्त्र भएका देशहरूको सूचीमा निकै माथि देखिनु स्वाभाविक हो।
चरम गरिबी कम हुनुमा संरचनागत सुधारको नभइ कोभिडकालमा अपनाएका र हालसम्म जारी नगद र खाद्यान्न वितरणका विभिन्न कार्यक्रमको देन रहेको विज्ञहरूले बताएका छन्। त्यसैले यो उपलब्धि अस्थायी हुने सम्भावना छ।
भौतिक पूर्वाधारले प्राथमिकता पाउँदा र त्यसमा राज्यको लगानी बढ्दा अर्थ-व्यवस्थाका अन्य क्षेत्र चलायमान त हुन्छन् तर राज्यका मूलभूत प्राथमिकता (जस्तै, शिक्षा, स्वास्थ्य) ओझेलमा परेका हुन्छन्। पूर्वाधार र प्रविधिमा विश्वभर भएको परिवर्तनबाट स्वास्थ्य र शिक्षा क्षेत्रका मूल सूचक (जस्तै, साक्षरता प्रतिशत, बाल मृत्युदर आदि) मा विगत दुई-तीन दशकमा प्रायः सबै देशले केही न केही सकारात्मक उपलब्धि हात पारेका छन्। यो भारतको मात्र उपलब्धि होइन।
भारतले सन् २०१४ यता हासिल गरेको भनिएका उपलब्धि पनि उसले प्रचार गरेजस्तो अस्वाभाविक र नाटकीय छैनन्।
धार्मिक राष्ट्रवादप्रति झुकाव राख्ने भारतीय वा अन्य देशका मानिसहरूका लागि नरेन्द्र मोदी आशा र भरोसाका केन्द्र हुन्। निर्वाचनमा निरन्तर सफलता हासिल गर्ने मोदीको आधार पनि धार्मिक राष्ट्रवाद नै हो जसमाथि बहुसंख्यक हिन्दुहरूले भारतमा ठूलो भरोसा गरेका छन्। त्यसैले भारतमा मात्र नभएर र नेपालमा पनि मोदी आफ्नो काममा सफल र प्रभावकारी हुन सकुन् भन्ने अपेक्षा धेरैको छ।
बहुसंख्यक समूहको यस्तो आशा विपरीत विगत एक दशकमा भारतमा असमानता बढेको छ; अर्थतन्त्र निश्चित मानिसको अपारदर्शी नियन्त्रणमा पुगेको छ; राज्यका स्रोतसाधनको अपारदर्शी ढंगले व्यापारीकरण भएको छ। बढ्दो आर्थिक असमानता झल्काउने केही सूचक निकै डरलाग्दा छन्।
भारतको उत्पादनशील मानिने र शिक्षित जनसंख्याको ६० प्रतिशत बेरोजगार छ। शिक्षा र आधारभूत स्वास्थ्यमा सरकारको लगानी घट्दा मानव विकास सूचकांकमा भारत विकसित देशको त कुरै छोडौं, १३४ स्थानसहित विभिन्न गरिब देशहरूभन्दा पछाडि छ। राज्यका साधनस्रोत वितरणमा असमानता बढेकाले देशको ठूलो जनसंख्या अवसरबाट वञ्चित हुँदैछ र चरम गरिबीको चक्रमा धकेलिँदैछ।
भारतको आजको अवस्था बुझ्न एकपटक मार्टिन वोल्फको 'द क्राइसिस अफ डेमोक्र्याटिक क्यापिटलिजम' किताबतिरै फर्कौं।
वोल्फ भन्छन् — पुँजीवादको जगमा विकास भएको उदारवादी लोकतन्त्र बजार र राज्यबीचको 'नाजुक' आपसी निर्भरतामा टिकेको हुन्छ।
उनको विचारमा लोकतन्त्र त्यो बेलामा जीवन्त हुन्छ जब बजारले राज्यको बृहत् चरित्र निर्धारण गर्छ र राज्यले बजारका गतिविधिमाथि नियमसंगत नियन्त्रणमार्फत् स्रोतसाधनमा सबैको पहुँच सुनिश्चित गर्छ। जुन बेला राज्यको नियमन तथा नियन्त्रणको भूमिकामाथि बजार हाबी हुन्छ वा जब बजारमाथि राज्यको हस्तक्षेप बढ्छ, त्यस बेला लोकतन्त्र स्वतः कमजोर हुन्छ। आजको भारतमा बजार र राज्यका सीमा अस्पष्ट भएका छन्।
तर मलाई लाग्छ — भारतको आजको मूल समस्या गरिबी, असमानता वा बेरोजगारीमा मात्र सीमित छैन।
आजको भारतको मूल समस्या त्यहाँ विकसित विभाजनकारी, विभेदकारी र अतिवादी राजनीति हो जसले राजनीतिक फाइदाका लागि जनसंख्या विभाजित गरेको छ। घृणालाई संस्थागत गरेको छ। कठोर संघर्षबाट भारतले हासिल गरेका लोकतान्त्रिक विधि र संस्कारलाई एकएक गर्दै भत्काइदिएको छ। फरक विचार निषेधित भएका छन्। प्रश्नहरू निषेध मात्र गरिएको छैन, प्रश्नको सामना नै गर्नु नपरोस् भनेर मिडियालाई सरकारले घुमाउरो उपायबाट आफ्नो नियन्त्रणमा लिएको छ। विपक्षी र आलोचकलाई आतंकित बनाइएको छ। लोकतन्त्र, समावेशिता, उदारवाद, संयम र सहअस्तित्वका लागि संसारभर चिनिने देश आज यी सबै मान्यताहरूको उल्टो बाटोमा तीव्र गतिमा दौडिरहेको छ।
भारतको लोकतन्त्रले यति बेला झेलिरहेको संकट बुझ्न लोक सभा निर्वाचनको समयमा सरकारले विपक्षीहरूप्रति देखाएको रबैया पनि उपयोगी हुन सक्छ। विपक्षी सांसदलाई संसदबाट निलम्बन गर्नेदेखि विभिन्न आरोपमा मुद्दा चलाउने क्रम विगत केही महिनादेखि चलिरहेको थियो। चुनावको ठीकअघि विपक्षी दलका नेतालाई विभिन्न आरोपमा थुन्ने र उनीहरूका बैंक खाता निष्क्रिय बनाउने सरकारको कदमले भर्खरै निर्वाचन सम्पन्न गरेका मुलुक पाकिस्तान र रूसको तहमा पुगेको झल्को दिएका छन्।
उता नरेन्द्र मोदी भने चुनावी सभाहरूमा भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको र अब छिट्टै युरोप वा अमेरिकाजस्तो समृद्ध हुने सपना बेचिरहेका छन्।
कुल गार्हस्थ्य उत्पादनमा आएको वृद्धि स्वतः समृद्धिका प्रमाण होइनन्। न त विकसित हुनु भनेको अर्थतन्त्रको आकार ठूलो हुनु मात्र हो। विकास भनेको बृहत् राजनीतिक-सांस्कृतिक आयाम र अनुभवसँग जोडिने कुरा हो।
तर अविकसित वा विकासशील भनिने देशहरूमा युरोप वा अमेरिकाको जस्तो विकास गर्नुपर्छ भन्ने धारणा निकै लोकप्रिय हुन्छ। भारत यसको अपवाद होइन। सर्वसाधारण मानिसहरू सरकारले नै उत्पादन, प्रशोधन र विश्लेषण गरेर पस्किदिएको आर्थिक सूचकांकमा विश्वास गर्न र सन् २०४७ सम्ममा विकसित देशको नागरिक भइसक्ने सम्भावनामा विश्वास गरिरहेका छन्।
भारतका केही वरिष्ठ राजनीतिक टिप्पणीकारले भनेका छन् — सन् २०२४ को लोक सभा निर्वाचनमा दुई-तिहाई मतसहित भारतीय जनता पार्टी (भाजपा) निर्वाचित भए, यही निर्वाचन भारतको अन्तिम लोकतान्त्रिक निर्वाचन हुनेछ।
कुमार विश्वासले संकेत गरेको परिस्थिति यही हो। उनी लगायत सीमित संख्याका भारतीय बुद्धिजीवी, पत्रकार वा सर्वसाधारण निरन्तर भारतको हालत खराब हुँदै गएकोमा चिन्ता व्यक्त गरिरहेका छन्। भारतका विभिन्न सहरहरू जोड्न बनेका नयाँ र आधुनिक बाटाका तस्बिरहरूले छोपेको भारतको दुखद चित्र उनीहरू प्रस्तुत गर्छन्। तर उनीहरू अल्पमतमा छन् र सरकारको कठोर नियन्त्रण र निगरानीमा छन्।
अब एउटा फरक तर जोडिएको प्रसंगतिर लागौं।
भारतका विदेशमन्त्री जयशंकरले एक वर्षअघि एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए — युरोपले आफ्ना समस्या संसारका समस्या हुन् भन्ने मानसिकता त्याग्नुपर्छ। युरोपका समस्या संसारका सबै देशका समस्या होइनन्।
प्रसंग थियो, युक्रेनमाथि रूसी आक्रमणको। जयशंकर भारतले रूससँग व्यापार गर्न पाउनुपर्छ भन्ने पुष्टि गर्न उक्त तर्क गरिरहेका थिए।
पश्चिमविरोधी दक्षिणपन्थी सोच रूचाउने मानिसहरूका लागि भारतीय विदेशमन्त्रीको उक्त टिप्पणी स्वाभाविक रूपमा कर्णप्रीय थियो। त्यसैले उनी सामाजिक सञ्जालमा तत्काल भाइरल पनि भइहाले। तर अलि गहिरिएर सोच्ने हो भने भारतका विदेशमन्त्रीको उक्त टिप्पणी अन्तर्यमा भारतको आफ्नै चरित्र र स्वार्थ प्रतिकूल थियो।
आज हामी जुन युगमा जीवित छौं, त्यसमा कुनै एक ठाउँका समस्या त्यसका सीमामा मात्र रोकिन सम्भव छैन। युरोपले उत्सर्जन गर्ने हानिकारक ग्यासबारे अफ्रिकन महादेशका गरिब मुलुकले प्रश्न उठाउन पाउनुपर्छ। म्यानमारको क्रुर तानाशाही जुन्ताले निर्ममतापूर्वक सर्वसाधारण मारिरहेको कुरा रूसका मानिसहरूको चासो हुनुपर्छ। चीनले सैन्यशक्ति प्रयोगबाट बलजफ्ती भारतको भूमि अतिक्रमण गर्छ भने त्यो भारत मात्र होइन, संसारका सबै देशको चासो र चिन्ताको विषय हो। देश र विश्व मानिसले खडा गरेका संरचना हुन् जसको विशिष्ट चरित्र छ र त्यसका आधारभूत मूल्यमान्यता समान छन्। त्यसैले 'युरोपको समस्या युरोपियनकै टाउको दुखाइ' भन्ने जयशंकरको टिप्पणी 'नाइभ' र भारतजस्तो देशको विदेशमन्त्रीका लागि गैरजिम्मेवार हो।
जयशंकरको टिप्पणीबाट बुझिने अर्को कुरा के हो भने, भारत विश्वका अन्य स्थानका घटना वा परिस्थितिबारे चासो र सरोकार राख्ने भूमिकाप्रति उदासीन हुँदैछ। जनसंख्याका हिसाबले सबभन्दा ठूलो लोकतन्त्रका रूपमा चिनिने भारतको संसारमा विशिष्ट स्थान र परिचय छ। विगतमा भारतले संसारका उतारचढावमा सक्रियतापूर्वक चासो राखेको र विश्व शान्ति र स्थिरताका लागि सकारात्मक भूमिका खेलेको प्रशस्त उदाहरण छन्। युरोपका कुनै पनि देशमा हुने घटना वा त्यहाँ हुने राम्रा-नराम्रा कुरामा भारतको चासो स्वतः रहनुपर्छ। युरोपेली देशले गर्ने गलत र सही कामको मूल्यांकन भारतले गर्न सक्नुपर्छ र त्यसबारे आफ्नो मत विश्वमा राख्न सक्नुपर्छ।
नेपालले पनि भारतमा जे भइरहेको छ त्यसबारे चासो राख्नुपर्छ र चनाखो रहनुपर्छ।
यो लेखको उद्देश्य भारतको समग्रतामा आलोचना गर्ने होइन। भारत विशाल र सुन्दर भूमि हो। देश भनेको सरकार मात्र होइन। भारतको प्राकृतिक र सांस्कृतिक विविधता अनि यहाँको भूमिमा विकसित कला, संस्कृति, साहित्य र दर्शनको विशिष्ट महत्त्व छ।
त्यसमाथि भारत नेपालका लागि टेक्ने र समाउने सहारा दुबै हो। भारत जति स्थिर, शान्त र समृद्ध भयो, नेपाललाई त्यति नै लाभ छ।
यो लेखको उद्देश्य भारत कमजोर हुँदैछ भनेर ताली बजाउने वा खुसी मनाउने होइन। समृद्धिको बहानामा भारतलाई थप कमजोर बनाइँदैछ र यसबाट उत्पन्न हुने सम्भावित खतराबारे बेलैमा सचेत हुनुपर्छ भन्ने हो।
'क्लिसे' भए पनि दोहोर्याउनै पर्ने यथार्थ के हो भने, नेपाल र भारतबीचको सम्बन्ध गाढा र बहुआयामिक छ।
यो सम्बन्धलाई मिडियामा अक्सर चर्चा हुने दुई देशीय व्यापार वा अनपेक्षित राजनीतिक हस्तक्षेपका प्रसंगमा मात्र बुझ्नु हुँदैन। नेपाल र भारतका सिमाना खुला छन्। मुद्राका विनिमय दर निश्चित छ। इतिहासका अनुभव लगभग समान छन्। राजनीतिक संस्कृति उस्तै छ। नाचगान र ढाँचाढर्रा उस्तै छन्। भाषिक रूपले भारत नेपालसँग कता हो कता नजिक छ।
त्यसैले भारतमा जे 'पाक्छ' त्यसको गन्ध गुटुटु दौडिँदै नेपालसम्म आइपुग्छ। भारतमा हिंसा पाक्यो भने त्यसले नेपालमा हिंसा फैलाउँछ। अधिनायकवाद पाक्यो भने अधिनायकवादी चिन्तनले नेपालमा पनि प्रश्रय पाउँछ। भारतका प्राथमिकता गलत हुँदा नेपालले पनि आफ्नो बाटो बिराउँछ र सम्भवतः यो अवस्था हामी अहिले भोगिरहेकै छौं।
पक्की सडक र विमानस्थललाई समृद्धि ठान्ने र बहुसंख्यकको धर्म र संस्कृति संकटमा भएको देख्ने प्रवृत्ति सीमापार गरेर नेपाल भित्रिएका हुन सक्छन्। सीमा जोडिएको र खुला भएका नेपाल र भारतबीच राम्रा-नराम्रा कुरा रोक्न सम्भव छैन। त्यसैले भारतमा घटनाक्रम जसरी विकसित भइरहेका छन्, त्यसबारे नेपाल चनाखो रहनुपर्छ।
सन् २०२४ को लोक सभा निर्वाचनमा जिडिपी, बुलेट रेल र चिल्ला सडकवाला राष्ट्रवादले जनमत पाएको अवस्थामा नेपालका चुनौती बढेर जानेछन्।
चुनाव भारतको आन्तरिक विषय हो। संसारको सबभन्दा ठूलो लोकतन्त्रमा हुने चुनाव लोकतन्त्रमा विश्वास गर्नेहरूका लागि महान उत्सव हो। तर यसका सम्भावित परिणाम र तिनले पार्ने प्रभावबारे नेपाल चनाखो रहनुपर्छ।
मेरो पेसिमिस्टिक सोचाइ गलत होस्, यो आशा मेरो पनि हो।
तर यथार्थ के हो भने, संकटबाट बच्ने सबभन्दा राम्रो उपाय पूर्वतयारी हो। भारतमा तीव्र गतिमा आर्थिक विकास भइरहेको छ र नेपालले त्यसबाट फाइदा लुट्नुपर्छ भन्ने 'सिम्प्लिस्टिक' सकारात्मक सोचबाट बाहिर निस्केर त्यहाँको वास्तविकता बुझ्नु पूर्वतयारीको पहिलो कदम हुन सक्छ।
(सञ्जीव पोखरेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)