नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला केही दिनमा दुइटा विवादास्पद अभिव्यक्ति दिएका छन्।
उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै स्त्रीद्वेषी र गैरजिम्मेवार कुरा बोलेका छन्।
अघिल्लो साता उनले विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सुमना श्रेष्ठको नाम नलिइकन भनेका थिए, 'विदेशको को केटासँग बिहे गर्या छ रे! नेपाल घुम्न आएकी, मन्त्री पो भइन्!'
उनले यो कुरा कोठाभित्र भनेका थिए।
कोठे बैठकको भिडिओ बाहिरिएपछि त्यसबेलै उनको यो भनाइको विरोध भएको थियो। तर उनी रोकिएनन्। शनिबार सार्वजनिक रूपमै उनले त्यो भनाइ दोहोर्याए।
उनले एउटा कार्यक्रममा 'एउटा कथा' भन्दै दोहोर्याए, 'एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन्। के भयो, अनि ती आफ्नो माइती देशमा एकपल्ट गइन् अरे। माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तो-कस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छभन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे। मन्त्री भइन् अरे। कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ। पानी परेका बेला माछा खस्छ। माछा खस्यो भनेर...।'
शिक्षक नियुक्तिमा विद्यालय व्यवस्थापन समितिको हक कटौती हुने गरी शिक्षामन्त्रीले निर्देशिका ल्याउन लागेको भन्दै महासंघका पदाधिकारी अध्यक्ष ओलीलाई गुहार्न गएका थिए।
शिक्षामन्त्रीले गर्न लागेको काम ठिक हो बेठिक त्यो बुझ्नेतिर उनी गएनन्। त्यो निर्णयको 'मेरिट' मा पनि उनले टिप्पणी गरेनन्। उनले एकैपटक शिक्षामन्त्रीको निजी जिन्दगीबारे अशोभनीय टिप्पणी गरे।
श्रेष्ठले विदेशी पुरूषसँग बिहे गरेको भनेर सामाजिक सञ्जालमा उनलाई हियाउन खोज्ने धेरै छन्। तर कुनै अमुक मानिसले त्यस्तो टिप्पणी गर्नु र मुलुकमा दुईपटक प्रधानमन्त्री भएका एउटा ठूलो दलका अध्यक्षले त्यस्तो टिप्पणी गर्नुमा आकाश-पाताल फरक हुन्छ।
प्रमुख नेताहरूले गर्ने यस्तो स्त्रीद्वेषी टिप्पणीले अरूलाई पनि त्यसो भन्न हौस्याउँछ। त्यस्तो सोच राख्नेहरूलाई मैले त ठिकै सोचेको रहेछु भन्ने ठाउँ दिन्छ।
नेपाली समाजमा आम मानिसदेखि सार्वजनिक पदमा बसेका मानिस वा नेताहरूले सम्म किन यस्तो स्त्रीद्वेषी टिप्पणी गर्छन्?
आफूलाई सही लागेको काम गर्न नहिच्किचाउने, निर्धक्क आफ्ना विचार राख्ने, बोल्न नडराउने महिलाहरू कमजोर पुरूषहरूलाई मनपर्दैन। अनि त्यस्ता महिलामाथि उनीहरू कुनै न कुनै बहानामा टिप्पणी गर्छन्। उनीहरूको निजी जीवनमा प्रवेश गरेर टिप्पणी गर्छन्, जुन सभ्य समाजमा बर्जित कुरा हो।
सुमना श्रेष्ठले मन्त्रीका रूपमा गरेको काम वा निर्णयमा टिप्पणी गर्दा उनले स्वदेशी वा विदेशीसँग बिहे गरेको कुरा कसरी जोडिन्छ?
हामीकहाँ विदेशीसँग बिहे गरेका महिलालाई 'पराया' ठान्ने दुराग्रह छ। त्यसैमा टेकेर उसको राष्ट्रियतामाथि प्रत्यक्ष वा परोक्ष रूपमा प्रश्न उठाइन्छ।
ओलीले पनि गर्न खोजेको त्यही हो।
सुमनालाई विदेशीसँग बिहे गरेको भनेर टिप्पणी गरेपछि यो समाजले उनको राष्ट्रियतामा प्रश्न गर्ने भयो। उनलाई 'विदेशीसँग बिहे गरेकी' भनेर हियाउने भयो। 'कम नेपाली' मान्ने भयो। जबकी विदेशी महिलासँग बिहे गरेका पुरूषका हकमा त्यही प्रश्न उठ्दैन। उठाइँदैन।
बिहे गरेपछि महिला श्रीमानको घर जानुपर्छ भन्ने एउटा कालखण्डमा बसेको मान्यता हो। तर त्यो अकाट्य नियम र कानुन होइन। बिहेपछि कहाँ बस्ने, कुन देशमा बस्ने भन्ने कुरा व्यक्तिगत छनोटको विषय हो। त्यसैले विदेशीसँग बिहे गरेका महिलाले पतिको देश जानुपर्छ भन्ने छैन। आफ्नै देशमा बस्ने अधिकार महिलाले राख्छन्। अनि विदेशी पुरूष बिहे गरेर आफ्नै देशमा बस्ने महिला 'माइती' मा बसेकी होइनन्। आफ्नै देशमा बसेकी हुन्।
विदेशीसँग बिहे गरेका पुरूषको राष्ट्रियता जस्तो हुन्छ महिलाको पनि उस्तै हो। विदेशी महिलासँग बिहे गर्ने पुरूष 'कम नेपाली' हुन्न भने महिला कसरी 'कम नेपाली' हुन्छन्? विदेशी महिला बिहे गर्ने पुरूषको राष्ट्रियताबारे जुन नेताले प्रश्न उठाउँदैनन्, तिनैले विदेशी पुरूष बिहे गर्ने महिलामाथि किन घोचपेच गर्छन्?
केपी ओलीले कुनै दिन विदेशी महिला बिहे गरेको आधारमा स्वर्णिम वाग्लेलाई यसरी टिप्पणी गरेका छन्? शशांक कोइरालालाई गरेका छन्? पूर्व परराष्ट्रमन्त्री नारायण खड्कालाई गरे?
उनीहरूलाई 'विदेशी महिलासँग बिहे गरेको चेलो' भनेर केपी ओलीले गरेको टिप्पणी सुन्नुभएको छ?
केटासँग, केटीसँग, अन्य लिंगीसँग, फरक जात/धर्मको सँग, टाढाको सँग, नजिकको सँग बिहे गर्नु जस्तै सामान्य हो विदेशीसँग बिहे गर्नु। संविधान र कानुनले दिएको हक हो त्यो। एउटा नागरिकको स्वतन्त्र छनौटको विषय हो।
पुरूष र पुरूष नेताहरूमा निहित यही स्त्रीद्वेषका कारण हाम्रो संविधानमा पनि पुरूष र महिलाको नागरिकता सम्बन्धी हकमा विभेद गरिएको छ। पुरूषले बिहे गरेका विदेशी महिलालाई नागरिकता दिने व्यवस्था संविधानमा गरिएको छ। तर महिलाले बिहे गरेका विदेशी पुरूषलाई नागरिकता दिने व्यवस्था नै छैन।
नेपाली पुरूषले विदेशी महिलासँग बिहे गरी जन्माएको बच्चाले वंशजको नागरिकता पाउँछन्। ऊ राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति बन्न पाउँछ। तर एउटी नेपाली महिलाले विदेशी पुरूषसँग बिहे गरेर बच्चा जन्मियो भने, ऊ अंगिकृत नागरिक बन्छ र माथि उल्लेख भएका कुनै पनि पदमा पुग्न अयोग्य मानिन्छ।
यस्तो सरासर विभेदजन्य संवैधानिक/कानुनी व्यवस्था भएको 'विदेशीसँग बिहे गरेकी चेली' भनेर हेपाहा टिप्पणी गर्ने नेताहरूकै कारण हो।
महिलाको स्वतन्त्र पहिचानलाई नमान्ने चेतनाबाट ग्रसित समाज आजको दुनियाँमा पछौटे मानिन्छ। महिलालाई बिहेका आधारमा विभेद गर्नु, टिप्पणी गर्नु र चिन्नु पनि त्यस्तै समाजको चरित्र हो। दुर्भाग्यवस्, समकालीन नेताहरूमध्ये संसारबारे धेरै सूचना र ज्ञान भएका ओली पनि महिलाका हकमा त्यही स्त्रीद्वषी चेतनाको प्रतिनिधित्व गर्छन्। र, बारम्बार यस्तो अशोभनीय टिप्पणी गर्छन्।