यो लेख भारतको लोकसभा निर्वाचनको परिणामका विषयमा हो। तर यसमा म ‘भारतबाट नेपालले सिक्ने पाठ’ को कुरा गर्ने छैन। पाठहरू त्यति सपाट हुँदैनन्, न त विगत वा अरूबाट पाठ सिक्ने मानिसको चरित्र नै हो।
यो कुराको सुरूआत आफ्नै सानो अनुभवबाट गर्छु।
सन् २००८ को हिउँदमा म दिल्लीमा थिएँ। एक महिनाको दिल्ली बसाइको उद्देश्य भारतको संघीय प्रणालीको अध्ययन गर्ने थियो। यस क्रममा मलाई र अध्ययन समूहका अन्य सहभागीलाई भारतका विज्ञ र विभिन्न संस्थाका पदाधिकारीहरूसँग भेट्ने मौका मिल्यो।
एक महिना दिल्ली बस्दा भारतको खुलापन, त्यहाँका विज्ञहरूको तीक्ष्णता र दिल्ली सहरको भव्यताबाट मुग्ध भएको थिएँ। भारतका सरकारी अधिकारी, विद्वान अर्थशास्त्री, संविधानविद आदिसँग कुरा गर्दा यस्तो लाग्थ्यो — भारत प्रगतिको पथमा थियो। भारतको यो क्षमता र आत्मविश्वास लोभलाग्दो थियो।
त्यसपछि सन् २०१६ मा फेरि भारत गएँ। कामको सिलसिलामा यसपटकको यात्रामा दिल्ली हुँदै कोलकाता, भुवनेश्वर, कोइम्बतोर र चेन्नाईसम्म जानु थियो। यस क्रममा स्थानीय सहकर्मी साथीहरू र स्थानीय नागरिकसँग गफगाफ गर्ने अवसर मिल्यो।
त्यसपटकको यात्रा सक्दा भारतको अवस्थाबाट दिक्दार हुँदै फर्केँ। आठ वर्षअघि मैले छोडेर गएको भारत आनका तान बदलिइसकेको रहेछ। मानिसहरू सामान्य विषयमा पनि कुरा गर्न डराउन थालेका रहेछन्। निर्धक्कसँग आफूलाई अभिव्यक्त गर्ने प्रवृत्ति हराउँदै रहेछ। एक अर्काबीच नजानिँदो गरी अविश्वास र असुरक्षा पलाउन थालेछ। यतिसम्म कि, ठट्टा पनि संवदेनशील भइसकेको रहेछ।
गतिशीलता र खुलापनका लागि चिनिएको भारतमा सर्वसाधारण मानिस समाज र राजनीतिका विषयमा खुलेर कुरा गर्न डराउनु राम्रो संकेत थिएन।
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री चुनिएपछि भारतको राजनीति बदलिँदै छ भन्ने थाहा नभएको होइन। तर कुनै दलको सरकार वा कुनै प्रधानमन्त्रीको चरित्रका कारण समाज र मानिसको मानसिकतामा यति छोटो समयमा यस्तो गाढा प्रभाव पार्छन् भन्ने मलाई लागेको थिएन।
विषाक्त हिन्दु राष्ट्रवादको आडमा नरेन्द्र मोदी र अमित शाहले भारतका जनताले प्रशस्त दुःख गरेर स्थापित गरेका अमूल्य उपलब्धिमाथि एकमाथि अर्को गर्दै प्रहार गरे। धर्मका नाममा जनतालाई विभाजित गरे; विपन्न वर्ग र समुदायका सुविधा खोसे; गलत तथ्यांकका सहारामा आफ्नो क्षमताको झुटो प्रचार गरे; र यतिसम्म तल झरे कि, नरेन्द्र मोदीले त आफैंलाई भगवानको अवतार भएको दाबीसम्म गर्न भ्याए।
लोकसभा निर्वाचनको नतिजाबाट यो युग समाप्त हुने स्पष्ट संकेत देखिएको छ।
भाजपाले सबैभन्दा धेरै सिट त यसपटक पनि जितेको छ। उसको नेतृत्वको गठबन्धनले बहुमत पाएको अवश्य हो। मोदी फेरि प्रधानमन्त्री पनि बन्लान्। तर यसपटकको निर्वाचनमा भारतभर भाजपा र एनडिए गठबन्धनप्रति देखिएको उदासिनता मोदीको अन्तको सुरूआत हो।
यस निर्वाचनको परिणामसँगै अब मोदीले आफू नजिकका व्यापारीमार्फत् खरिद गरेका सञ्चारमाध्यम (गोदी मिडिया) को दबदबा कम हुने अपेक्षा गर्न सकिन्छ। अदालत वा भ्रष्टाचार छानबिन गर्ने राज्यका निकायको दुरूपयोग रोकिनेछ। सबैभन्दा ठूलो कुरा त, धर्मको लोभ देखाएर गरिब र विपन्न वर्गलाई बहिष्करणमा पार्न संविधान बदल्ने साहस अब मोदीले गर्ने छैनन्।
निर्वाचन परिणामले भारतमा मोदीवादको अन्त हुनेछ र उनीहरूले निर्माण गरेका भ्रमहरू एकपछि अर्को गर्दै उजागर हुँदै जाने आशा गर्न सकिन्छ।
मोदीले चलाखीपूर्ण तरिकाले स्थापित गरेको एउटा गलत भाष्य आफ्नो प्रधानमन्त्रीकालमा भारतमा अभूतपूर्व उन्नति भएको छ भन्ने हो। यो झुटप्रति मानिस सचेत हुँदैछन् भन्ने निर्वाचनको परिणामबाट देखिएको छ।
नरेन्द्र मोदीको सरकार र केही अति उत्साहित बोक्रे अर्थशास्त्रीले प्रस्तुत गर्ने भारतको आर्थिक विकासका तथ्यांक लोभलाग्दा थिए। तर ती तथ्यांकमा गहिरो समस्या थियो। तिनले भारतको समृद्धि देखाएका थिएनन्। यसको चर्चा मैले यसअघिका लेखमा गरेको छु।
जिडिपीको आकार, केही ठाउँमा बनेका चिल्ला सडक, फ्लाइओभर र आधुनिक सहरलाई समृद्धिको प्रमाण मान्नु गलत हो। समृद्धिको मापन आममानिसको क्षमताको विकास, सुरक्षा र आत्मविश्वासका आधारमा गरिनुपर्छ — सडक कति चिल्लो छ र बाटो कति छोटो भयो भन्नेबाट होइन। सडक, रेल, विमानस्थल आदि आवश्यक पूर्वाधार हुन् — ती आफैंमा सम्पन्नताका प्रतीक होइनन्।
यसपटकको निर्वाचनमा मोदी र उनको गठबन्धनले गुमाएको मत सिमेन्ट र अलकत्रालाई विकास मान्ने सोचप्रति मानिसको अविश्वासको परिणाम हो।
यसपटको निर्वाचन परिणामले भारतलाई ‘हिन्दु पाकिस्तान’ हुनबाट पनि जोगाएको छ।
हिन्दु धर्म मान्ने जनसंख्याको विशाल बहुमत भए पनि भारत सेकुलर राष्ट्रका रूपमा स्थापित भएको हो। सेकुलरिजम स्वाधीनताको आन्दोलनपछि भारतले प्रशस्त सोचविचार गरेर अपनाएको प्रबन्ध थियो। यसले भारतलाई विविधताको संरक्षण गर्न, अल्पसंख्यकलाई सुरक्षित तथा सम्मानित महसुस गराउन र उदार राष्ट्रका रूपमा संसारमा चिनिन सहयोग गर्यो। भारतको संविधानको मूल चरित्रमध्ये एक रहेको सेकुलरिजमलाई अटल बिहारी बाजपेयी लगायत विगतका भाजपाका नेताहरूले समेत सम्मान र प्रशंसा गरेका थिए।
मोदी, अमित शाह र योगी आदित्यनाथको ध्येय यसलाई उल्टाउनमा थियो। उनीहरू आफ्नो राजनीतिक स्वार्थका लागि देशलाई हिन्दु धर्मसँग जोड्न चाहन्थे। भारतलाई अखण्ड हिन्दु राष्ट्र बनाउने अभियान उनीहरूको राजनीतिको केन्द्रमा थियो। भारतका हिन्दु धर्मावलम्बीले अनुभूति गरेको वा उनीहरूलाई अनुभूति गराइएको कृत्रिम असुरक्षा मोदी-शाह-योगीका लागि भोटका स्रोत थिए। मोदीको नेतृत्वको भारतमा धर्म र राष्ट्रबीचको दुरी यति साँघुरो हुँदै थियो कि, भारतीय भएको प्रमाण दिन ‘जय श्री राम’ भन्नुपर्ने बाध्यता बनेको थियो।
अर्थात्, मोदीको भारत ठीक त्यही गल्ती गर्ने बाटोमा उद्यत थियो जुन गल्ती पाकिस्तानले दशकौंअघि गरेको थियो र यसको मूल्य अहिलेसम्म चुकाइरहेको छ।
निर्वाचनको परिणामसँगै यो युगको पनि समाप्ति हुने आशा पलाएको छ!
यो निर्वाचनको परिणामले मोदीले आफ्नो व्यक्तित्वका आधारमा निर्माण गर्न चाहेको 'कल्ट' पनि समाप्त गर्नेछ।
राजनीतिक पार्टीका धेरै नेता झुट बोल्छन्, यसो गर्ने नरेन्द्र मोदी मात्र होइनन्। धेरै नेता भ्रष्ट हुन्छन्। भारतमा भ्रष्टाचारका मुद्दामा जोडिने नेता उनी मात्र होइनन्। जनतालाई फकाउन भावनात्मक कुरा पनि सबै देशमा सबै खाले नेताले गरिरहेकै हुन्छन्।
यसो भए पनि देशको नेतृत्व गर्ने मानिसको व्यक्तित्वमा केही आधारभूत गुण भने हुनुपर्छ। सौम्यपन, धैर्य, विनम्रता नभएको र अरूको सम्मान नगर्ने मानिसले देशलाई नेतृत्व दिन सक्दैन। स्वाधीन राष्ट्रका रूपमा स्थापना भएपछि भारतका सबै प्रधानमन्त्रीले आफ्नो सौम्यता प्रदर्शन गरे। तर नरेन्द्र मोदीका अभिव्यक्ति र व्यवहारमा डरलाग्दो सतहीपन र कृत्रिमता थियो। उनी आफ्नो व्यक्तित्व उँचो देखाउन सानातिना कुरामा पनि निर्धक्क झुट बोल्थे। आफ्नो लोकप्रियता बढोस् भनेर सञ्चारमाध्यममा एकछत्र देखिन चाहन्थे। आफ्ना विरोधीलाई तल्लो स्तरमा झरेर आलोचना गर्थे र यसो गर्न अरूलाई उक्साउँथे। सरकारका सबै कामको प्रचारमा आफ्नो फोटो छाप्ने त स्वाभाविक नै भइसकेको थियो, क्यामराबाट आफूलाई छेक्नेलाई घिसारेर पर सार्नसम्म पछि पर्थेनन्।
नरेन्द्र मोदीले प्राय हरेक सभामा सधैं भनिरहे — भारतको विकास कसरी गर्ने भन्ने मलाई थाहा छ। म भारतको विकास गर्छु। तपाईंहरू मलाई भोट दिनुहोस् र आरामले बस्नुहोस्।
मलाई नरेन्द्र मोदीको शैली हेर्दा सधैं लाग्छ — विद्वताका लागि चिनिएको भारतजस्तो देशमा यस्तो हचुवापन यति लामो समयसम्म कसरी टिक्न सक्यो?
मोदीपछिको भारतमा सबै कुरा राम्रा हुन्छन् भन्ने होइन। मानौं कंग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने मौका पायो। त्यसमा पनि भ्रष्टाचार नहुने, राजनीतिक अस्थिरता नहुने वा सबै कुरा स्वतः राम्रो हुँदै जाने भन्ने होइन।
तर देश र लोकतन्त्र एउटा मानिसले बनाएर बन्ने होइन। एउटा मानिसको अभूतपूर्व क्षमतामा विश्वास गरेर उसलाई नै सबै कुरा गर्न दिँदा तानाशाह जन्मिन्छ र त्यसबाट देशको भविष्य धरापमा पर्छ। भारत यो डरलाग्दो जोखिमबाट बाहिर निस्किने प्रयासमा छ। यो खुसीको कुरा हो।
दुःखको कुरा के छ भने, देश चलाउने जिम्मेवारी पाएको मानिस गलत बाटोमा हिँड्दा लाखौं, करोडौं मानिसको जीवन बर्बाद हुन्छ। देशले समय गुमाउँछ। गलत नीति र कार्यक्रम सच्याउन राज्यको स्रोत र समय खर्च हुन्छ।
यसपटक नरेन्द्र मोदी र उनको गठबन्धनको विपक्षमा चुनाव लड्ने दलहरूले जनजीविकाका मुद्दालाई प्राथमिकता दिएका थिए। उनीहरूले रोजगारीका अवसरका कुरा उठाए, परीक्षामा हुने धाँधलीको विरोध गरे, सामाजिक सुरक्षा भत्ताबारे प्रतिबद्धता व्यक्त गरे, महँगी कम गर्छौं भने। उनीहरूले यसका लागि मत मागे र अपेक्षा गरेभन्दा धेरै ठाउँमा विजयी पनि भए।
नरेन्द्र मोदी र उनले स्थापित गरेको विकृत राजनीतिलाई पूर्ण रूपमा विस्थापित गर्न सजिलो छैन। तर लोकसभा निर्वाचनको परिणामले यसका लागि भारतलाई ठूलो अवसर दिएको छ।
(सञ्जीव पोखरेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)