नयाँ बोतलमा पुरानो रक्सी! यो भनाइ नेपालमा मात्र होइन, संसारभर प्रचलित छ।
यथार्थमा रक्सी पुरानो हुँदैमा खराब वा उपयोगहीन बन्दैन। छिप्पिएको जाँड-रक्सीको गुणस्तर झनै बढेर जान्छ। जति वर्ष पुरानो, त्यति महँगा हुन्छन् अन्तर्राष्ट्रिय ब्रान्डका ह्विस्की र मदिराजन्य पेयहरू।
यस अर्थमा नयाँ बोतलमा पुरानो रक्सी भन्नु अमिल्दो हुन्छ भन्ने लाग्छ। बरू नयाँ बोतलमा पुरानो औषधि भन्नु बढी सान्दर्भिक होला। म्याद सकिएको औषधि काम नलाग्ने मात्रै होइन, कहिलेकाहीँ त विष नै बन्न सक्छ।
यहाँ उठाउन खोजिएको विषय बोतल, रक्सी वा औषधि होइन, राजनीति हो, वैकल्पिक राजनीतिको कुरा हो।
इतिहासको यो मोडमा आइपुग्दा संस्थापन विरूद्ध जनआक्रोश साउनको भेलझैं उर्लिँदै गएको छ। स्थापित र पुराना राजनीतिक पार्टीहरू रक्षात्मक बन्दै गएका छन्। विकल्पमा केही पुरातनपन्थीहरू राजसंस्था फर्काउने दाउ हेर्दै छन्।
आमजनता त्यो पुरानो राजसत्ता फर्काउने मुडमा देखिँदैन। यसो गर्नु उचित पनि हुँदैन। बरू केही नयाँ राष्ट्रिय-क्षेत्रीय दल र नेताको उदय भइरहेको छ। झट्ट हेर्दा आगामी वर्षहरूमा वैकल्पिक राजनीतिको खेती मौलाउने जस्तो पनि देखिन्छ।
अब प्रश्न उठ्छ– के यी उदीयमान शक्ति र व्यक्तिहरूले साँच्चै तमाम बेथिति र विकृति हटाएर मुलुकलाई उन्नति, प्रगति र शान्तिको मार्गमा अगाडि बढाउने क्षमता राख्छन्?
यी नयाँ शक्तिहरूले पाएको जनसमर्थन प्रतिक्रियात्मक मात्रै हो कि निश्चित विचार, भिजन, दर्शन, योग्यता र क्षमताका आधारमा हो?
यी शक्तिहरू मौकाको फाइदा उठाउने 'पपुलिस्ट' जत्था मात्रै हुन् कि यिनमा खास वैचारिकी, दार्शनिकी, भिजन र मिसन पनि छ? कुन हदसम्म यी नयाँ खेलाडीहरूमा विश्वास र भरोसा गर्न सकिन्छ?
सिद्धान्ततः म वैकल्पिक राजनीतिको पक्षधर हुँ। अझै पनि धेरै दशकसम्म लडेर पुरानो व्यवस्था पल्टाउँदै आएका र आर्यघाटसम्मै पद लिएर जान चाहने वयोवृद्ध नेताबाट देशको समृद्धि हुन्छ भन्ने सपना देख्नु मूर्खता हो।
हामीले पुराना नेताको ऐतिहासिक त्याग र योगदानको उच्च सम्मान गर्नैपर्छ तर पाको-थाकेको शरीर र मगजबाट नयाँ सिर्जना आशा गर्न सकिँदैन। हाल बुद्धि-विवेकले भन्दा बिचौलियाले चलाइरहेका यी वृद्ध नेताहरू जतिपटक प्रधानमन्त्री भए पनि देशको भविष्य उज्ज्वल बन्नेवाला छैन।
राजनीतिक क्षितिजमा भरखरै उदाएका युवापुस्ताका नवीन नेताहरूप्रति पनि हामी आश्वस्त हुन सकेका छैनौं।
सबभन्दा सफल वैकल्पिक नेता रवि लामिछाने हुन्, उनीसँग धेरैले धेरै आशा गरेका थिए। उनैले दुई देशको पासपोर्ट राखेको र ठगी गरेको भन्ने कुरा सतहमा आयो। उनी कुनै हालतमा सत्ता त्याग्न नसक्ने भए। यसो भएपछि उनका समर्थकहरू स्वाभाविक रूपमा अलमलमा पर्ने र आक्रोशित हुने नै भए।
मेरो बुझाइमा राष्ट्रिय हुन् वा क्षेत्रीय; रवि मात्रै नभएर हरेक उदीयमान शक्ति र नेताहरू विश्वासिला र भरोसायोग्य छैनन्। उनीहरू कसैसँग पनि देश उँभो लगाउन शान्ति र प्रगतिको नयाँ मार्ग पहिल्याउने प्रस्ट विचार र भिजन छैन। विशेष गरी सामाजिक न्याय कायम गर्ने तथा जातीय र लिंगीय विभेद अन्त्य गर्ने दिशामा यिनको कुनै चासो र चिन्ता छैन। यिनीहरू मूलतः नयाँ र आकर्षक बोतल होलान् तर भित्रको औषधि पुरातनवादी नै छ, 'डेट एक्सपायर्ड' छ।
आफूलाई पुरानो बोतलको नयाँ औषधि ठान्छन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई। उनले ठूलै तामझामका साथ सुरू गरेको नयाँ शक्ति पार्टी पूरै असफल भयो। तैपनि वैकल्पिक धार निर्माण गर्ने उनको मिसन चलेकै छ।
गत जेठ ३० गते उनको दल नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा उनले पुराना दललाई निम्तो गरेनन्। राजनीतिमा उदीयमान खेलाडी, प्रगतिशील बुद्धिजीवी र अभियन्ताहरू जम्मा गरेर वैकल्पिक शक्ति निर्माणबारे बहस चलाए। मलाई पनि निम्तो गरेका थिए।
आजसम्म कुनै दलमा आबद्ध नभएको मलाई पहिलोपटक कुनै राजनीतिक शक्तिले निम्तो गरेको थियो।
उदीयमान नेताहरू गृहमन्त्री रवि लामिछाने, सिके राउत, रेशम चौधरी लगायतका सामु स्वतन्त्र, बौद्धिक र दलित अभियन्ताको नाताले दलितको पीडा र तिनको अपेक्षित भूमिकाबारे मैले पनि केही कुरा राख्न पाऊँला भन्ने ठानेर कार्यक्रममा गएँ। अघिल्लो दिन नै आयोजकलाई बोल्ने इच्छा जाहेर पनि गरिसकेको थिएँ तर मलाई अवसर दिइएन।
नेताहरूका अतिरिक्त केही जनजाति, महिला अभियन्ता र स्वतन्त्र बौद्धिकहरू पनि बोले।
तर मेरो पालो आएन।
मैले अवसर नपाए पनि अन्य कुनै दलितले बोलेको भए म खुसी हुन्थेँ। तर त्यहाँ कुनै दलित वक्ता थिएन। पार्टीका उपाध्यक्ष दुर्गा सोब पनि दलित नै हुन् तर पार्टीले उनको भूमिका संकल्प पत्र पढ्नमै सीमित गर्यो।
पार्टीको निर्देशनका कारणले हो वा आफ्नै स्वविवेकले; प्रसिद्ध दलित एनजिओकर्मी दुर्गाले दलितका विषयमा केही पनि बोलिनन्। न त पार्टीको संकल्प पत्रमा दलित मुक्तिबारे कुनै आकर्षक कुरा नै थियो।
छुवाछुत, जातीय हिंसा र अपमान ६० लाख नागरिकको मात्र नभएर राष्ट्रिय समस्या हो। यो सामाजिक र धार्मिक क्यान्सरको सही उपचार नगरेसम्म देशमा दीर्घकालीन प्रगति, शान्ति र भाइचारा सम्भव छैन।
यति गम्भीर विषय न बाबुरामले उठाए न रविले छोए न सिकेले सम्झिए। सबभन्दा लामो भाषण गरेका रेशम चौधरीले आफू जेल बस्नु परेकोमा र थारूले अधिकार नपाएकोमा रोष मात्रै व्यक्त गरे।
उक्त भेलामा बोल्नै नपाए पनि मैले कथित नयाँ वा वैकल्पिक शक्तिहरूको नाडी छाम्ने अवसर पाएँ। कुनै अर्थमा पनि यिनीहरू पुराना दलभन्दा कम जातिवादी, कम मनुवादी र कम ब्राह्मणवादी रहेनछन् भन्ने देख्न र बुझ्न पाएँ।
डा. भट्टराई आजसम्म पनि सबभन्दा बढी दलितमैत्री नेता ठानिन्छन् तर एक प्रकारले उनमा पनि जातिवादी चरित्र देखियो। सायद उनी प्रधानमन्त्री हुँदा एक जना पनि दलितलाई मन्त्री नबनाउनु संयोग मात्रै होइन रहेछ कि! उनको चेतन-अचेतन मनले पनि दलित अधिकार र जातीय समानता चाहँदो रहेनछ कि!
त्यस्तै उदीयमान र स्वतन्त्र स्थानीय नेताहरूमा सबसे नामी छन् काठमाडौंका मेयर बालेन शाह। उनको हिम्मत र जाँगरबाट राजधानीका मात्रै नभएर देशभरका धेरै जनता प्रभावित छन्।
बालेनको डोजर राजनीतिले तल्लो वर्गका नगरवासीको जीवनयापन मुस्किल बनाएको छ, ठेलावाला र सडक व्यवसायीको जीविकोपार्जन खोसिएको छ। तैपनि समग्रमा उनको काम अनुकरणीय र प्रशंसनीय बनेको छ।
रवि लामिछानेझैं अनेक काण्डमा नाम नजोडिएका कारण पनि बालेनको प्रसिद्धिमा धक्का लागेको छैन।
बालेन नगरबाट फड्को मारेर राष्ट्रिय नेता बन्न सक्छन् कि सक्दैनन् भन्ने अनिश्चित छ। किनकि व्यक्ति असल र सक्षम भएर मात्रै पुग्दैन, उसको संगठन चाहिन्छ। राजनीतिको सबभन्दा ठूलो हतियार विचार, दर्शन र भिजन हो। बालेनको हकमा यो केही पनि देखिँदैन। वैचारिक हिसाबले उनी दक्षिणपन्थी कि उत्तरपन्थी? उनको झुकाव गणतन्त्रतिर कि राजतन्त्रतिर? देशका तमाम जातीय, क्षेत्रीय, लिंगीय, वर्गीय, भाषिक, सांस्कृतिक विभेद र उपेक्षाको समस्या समाधानमा के भिजन छ?
यसरी वैचारिक कित्ताकाट नभई उनले जनसमर्थन जुटाउने वा गुमाउने भन्ने कुराको टुंगो हुँदैन।
आजसम्म बालेनको बोली र व्यवहार हेर्दा उनले गरिब, उपेक्षित, उत्पीडित, सीमान्तकृत वर्ग र जातिको हितबारे चिन्तन गर्छन् जस्तो लाग्दैन।
काठमाडौं सहरका नदीहरू जस्तै फोहोर र दुर्गन्धित छन् यहाँका कतिपय चालचलन, धार्मिक र सांस्कृतिक परम्परा, रीतिथिति। काठमाडौंका दलितमाथि जातीय घृणा र अपमान नदेखिने गरी सर्वव्यापी छ। धेरै दलितहरूले अपमान र मानसिक हिंसा चुपचाप सहनुपरेको छ।
जातीय संरचनामा पनि डोजर लगाउने, सदियौंदेखि जातकै आधारमा पेलिएका नगरवासीको हकहितका लागि केही पहलकदमी लिने काम बालेनको सत्तामा भएको छैन।
केही महिनाअघि बालेन शाहले घरबेटी सम्बन्धी नयाँ नियमावली ल्याए। ‘घरबेटी कर’ उठाउने र डेरावालाको समस्या हल गर्ने बाटो सहज बनाउने लक्ष्य रहेको उक्त नियमावलीमा अनिवार्य लिखित सम्झौता हुनुपर्ने र एकप्रति सम्झौता वडा कार्यालयमा राख्नुपर्ने प्रावधान छ। प्रभावकारी कार्यान्वयन गर्नसके यो निकै राम्रो नीति हुनेछ। परन्तु यो तरिकाले दलित डेरावालको पीडा र सकस बढ्नेवाला छ। यसतर्फ महानगरले कुनै वास्ता गरेको छैन।
अनुमानित ६०-७० प्रतिशत दलितहरू काठमाडौंमा थर परिवर्तन गरेर डेरा बस्ने गरेका छन्। भित्रभित्र समस्या यति विकराल छ कि कतिपय दलित अभियन्ता, नेता, सांसदहरू नै बाहुनक्षेत्री बनेर डेरा लिन्छन्। सिंहदरबारकै आसपासमा डेरा लिने मेरा साथीहरूका कोठामा जाँदा जातको कुरा नगर्न साउतीले सम्झाउँछन्। घरबेटीले जात थाहा पाए तुरून्तै निकालिदिने खतरा छ।
गत मार्च २१ मा अन्तर्राष्ट्रिय जातीय विभेद दिवसका अवसरमा हाम्रो संगठन ‘कास्ट वाच नेटवर्क’ का तर्फबाट हामीले मेयर बालेनलाई भेटेर लुकेको तर गम्भीर रहेको समस्याबारे अवगत गराउने र कुनै ठोस कदम लिन अनुरोध गर्ने निर्णय गर्यौं।
मेयरको कार्यालयले हाम्रो कुरै सुनेन। 'मेयरले जो पायो त्यहीलाई भेट्नुहुन्न' भनेर टार्यो। महानगरका प्रशासकीय प्रमुखलाई भेटेर, मेयरका स्वकीय सचिवलाई धेरैपटक फोन गरेर प्रयास गर्दा पनि मेयर बालेनको दर्शन मिल्न सकेन!
अनावश्यक भेटघाट र गफगाफमा समय बिताउनुभन्दा नगरको काममा व्यस्त रहनु नगरप्रमुखको दायित्व हो। तर कुनै महाराजा जस्तो बनेर आमजनताको पहुँचभन्दा पर रहनु उचित हुँदैन कि! खासगरी पीडित जनताको दुखेसो, गुनासो, समस्या, पीरमर्का त शासकले सुन्नैपर्ने हुन्छ।
अन्त्यमा, प्रसिद्ध अंग्रेजी उपन्यासकार तथा कवि जर्ज ओरवेलले लेखेका छन् – यो झुटको दुनियाँमा सत्य बोल्नु आफैमा एक क्रान्तिकारी काम हो।
आज दलित आन्दोलन थला पर्नुको एउटा मुख्य कारण धेरैजसो दलित अगुवा, अभियन्ता र नेता यो वा त्यो दलमा आबद्ध रहनु र उपल्ला भनिएका जातका नेताको आस र त्रासमा बाँच्नु हो। जब कोही व्यक्ति कसैको आस र त्रासमा बस्छ तब उसले सत्य अवगत गराउन सक्दैन। सत्य अवगत गराउनु असल नागरिकको र मजस्ता स्वतन्त्र अभियन्ताको कर्तव्य हो।
फर्केर हेर्दा डा. भट्टराईको भेलामा मलाई पनि बोल्न दिन्छन् कि भन्ने आस नगरेकै भए हुन्थ्यो जस्तो लाग्छ। हामी दलितले जति पढे पनि, जति विद्वता हासिल गरे पनि मनुवादी दिमागले हामीलाई मान्छ नगन्ने र सक्षम नदेख्ने प्रवृत्ति अझै हटेको छैन। सधैं दयाको भावले हेरिन्छ र स्वार्थ मिलेका बेला तिनको पक्षमा बोलेझैं मात्र गरिन्छ।
जबसम्म हामी उत्पीडितले आफ्नो अलग्गै विचार र संगठन निर्माण गर्दैनौं, जबसम्म हामीले राज्यलाई चर्को दबाब दिन सक्दैनौं, तबसम्म हाम्रो विषयले कुनै शासकलाई, कुनै नेतालाई, कुनै अभियन्तालाई, कुनै बुद्धिजीविलाई छुँदैन।
बाबुराम हुन् कि पुष्पकमल, शेरबहादुर हुन् कि केपी, रवि हुन् कि उपेन्द्र वा सिके; कसैले पनि छुवाछुत मेटाउने र दलितको शिर उठाउने कुरा रतिभर सोच्दैनन्। यस सन्दर्भमा कसैले सिन्को भाँच्दैनन्।
यस अवस्थामा दलितहरूले नयाँ शक्ति कि पुरानो, युवापुस्ता कि बुढोपुस्ता, कम्युनिस्ट कि पपुलिस्ट भनेर अलमल गर्नु हुँदैन। आखिर सबैको दिमाग उस्तै छ, सबैको व्यवहार एकै छ। भ्रम नरहोस्, वैकल्पिक भनिएको राजनीतिका खेलाडी पनि नयाँ बोतलका पुरानै औषधि हुन्।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटर- @MitraPariyar