कर्म कल्चर
बरफ चुस्दै झ्यालबाहिर पल्याकपुलुक गरिरहेकी एक्ली बालिकालाई मैले अर्को सिट खाली हो भनेर सोधिनँ।
उनीसँग कोही न कोही भइहाल्ला! भएकै होला! आउँदै होला!
म पछाडि सरेँ।
बालिकाको सिट पछाडि एक्ली महिला थिइन्। उनीसँग पनि कोही न कोही होला भनेर म अझ पछाडि ताक्दै गएँ।
ठ्याक्कै लास्ट सिट। झ्यालतिर एउटी महिला, साथमा ‘बोर्डिङ स्कुल’ बाट घर फर्किँदै गरेका बाबुहरू।
बसको ट्याम हुने बेला यात्रुहरूको कल्याङमल्याङ बढ्नेवाला थियो। दमौलीदेखि हाम्रो गाउँ हुँदै अँधेरीभञ्ज्याङ पुग्ने लोकल बसभित्र जो पनि हतारमै हुन्छ। हतार सहरमा हुने हो, तर सडकले जोडेपछि गाउँलाई पनि त्यसले गाँजेको छ।
सहरहरूमा घन्टाघर हुन्छ, गाउँहरूमा सूर्योदय र सूर्यास्तका क्षितिज पर हुनाले आइस्ता आइस्ता हिँडे हुन्छ भन्ने अब रहेन। गाउँघरमै घडी भएको हाते फोनले हतारको रिङटोन हरक्षण दिने गर्छ। गाउँलाई सहर बनाउने र गाउँलेलाई पनि उपभोक्ता बनाउने अलिखित परियोजनाहरू चलिरहेकाले सहरका चिन्ता गाउँले पनि बेसाउन थालेको छ।
चालक आफ्नो निजी ढोका खोलेर फुत्त उच्च आसनमा बसेपछि यात्रुहरूतिरको सार्वजनिक ढोकामा ठेलमठेल सुरू भयो। यस्तै बेला हो, अघिसम्म भुलेका कुरा झ्वाट्ट ख्याल आउने। केही सामान किन्न छुट्यो कि! किनेको छुट्यो कि! एकैछिन है भन्दै चालकतिर इसारा गर्दै आइहाल्छु भन्ने कबुल गरेर ढोकाबाट मुस्किलले निस्केकाहरू फर्केलान्, नफर्केलान्! तिनले चिनो राखेका झोला पन्छाएर अर्कोले सिटमा बस्न हुन्छ कि हुँदैन कुनै नियम छैन, वरपरकाहरूले सही थाप्ने वा सहमति नदिने नैतिक कुरा मात्र हो।
त्यस्तोमा पनि बोरा थपिएको हुन्छ। बसभित्र चामलदेखि चोकरसम्मका बोरा, चाउचाउदेखि खिद्रिमिद्री पसलेका पोकापुन्तराहरू हरेक दिन गाउँलाई ढकमक्क ढाक्ने गरी बजारबाट उबडखाबड यात्रा गर्छन्। शनिबारबाहेक सातामा एकदिन बजारले गाउँलाई छट्टी दिन्छ। त्यो दिन उपभोग घट्ने भने होइन। विदाको दिन झन् किन घट्ने र! बसले विश्राम गर्ने मात्र हो।
बालिकाले चिसो गुलियो बुत्याउनुअघि घरि झ्यालबाहिर, घरि पोकातिर हेर्ने गरेको आफ्नी आमालाई हो भन्ने गाइँगुइँ चलेको मैले कान चनाखो पारेर सुनेँ।
‘किन हो त नि, उसकी आमा नआएकी?’ अर्कोपट्टिको लहरतिर कुनै बूढीमाउ बोलिन्।
‘ओई नानी,’ ती बालिकालाई उनकै सिट पछाडिकी महिलाले सोधिन्, ‘खोई त ममी?’
मेरो सिटभन्दा ठ्याक्कै अगाडिकी महिला, जोसँग टाँस्सिन अर्की महिला आइपुगेकी थिइन्, उनलाई बालिकाले केही बयान गरिन्, जुन मैले बुझ्न सकिनँ।
‘उसकी ममी उठ्न सक्ने हालतमै छैन,’ हामीभन्दा पल्लोपट्टिको सिटका पुरूषले हामीतिर उर्लँदो जिज्ञासा बुझेर भने।
‘हँ!’
‘मात्तिएर भुइँमै छ।’
‘हँ! के रे?’
‘ड्राइभरले चढाउन मान्दैन,’ उनले भने।
त्यो कुरा बालिकाले सुन्न सक्थिन्। अघिकी महिलाले ‘हो नानी?’ भनेर सोधिन्।
उनले ‘हो’ भनिन् र सँगसँगै थपथाप पनि गरिन्। उनका शब्दहरू फेरि पनि मैले भेउ पाइनँ। ओठ र औंला चलाएको देखेँ मात्र।
त्यसो त त्यस्तो दृश्य, जुन ती बालिकाकी आमा लडेको भुइँतिरबाट आएकाहरूले देखेजस्तो, त्यो हाम्रो बस स्टेसनछेउ मामुली हो। आसपासका दोकान वा भट्टीहरूबाट लडखडाउँदै निस्केका वयस्कहरू कुनै गाडी चढ्न सकेनन् वा पाएनन्, सडक काट्न सकेनन् वा चाहेनन्, कतै पुग्ने ठाउँ छ तर मन छैन, वा ठाउँ नै छैन भने त्यतैतिर पल्टिने, गुल्टिने; कति त गुडुल्किने गर्छन्। कोही कोही बस चढ्न सक्छन् तर दुई जनाको ठाउँ एक्लै ओगट्ने गरी अडमिल्दो ढल्केर बस्नासाथ फुसफुस निदाइसक्छन् र ढुंगाझैं पल्टाउन नसकिने गह्रुंगो भइदिन्छन्।
एकदिन एउटी महिला त्यसरी नै हाम्रो गाउँभन्दा केही वर ओर्लिने ठाउँ चालकले सम्झेर रोकिदिए। काखे छोरीलाई काखीमुनि च्याप्दै ढोकाबाट ओर्लिँदै गर्दा, अघि नै देखि अरूहरूका गुनासोलाई मुखभरि जबाफ दिइन्, ‘आफ्नो पिरले पिइयो, अरूको पैसा दम्पच पार्या हो र!’
सुन्नेहरू तैं चुप मै चुप लाग्न आपसमा आँखा मिलाए।
मैले ढाड तन्काएर दुइटा सिट बीचको कापबाट ती बालिकालाई हेरेँ, जसका आँखा ढोकातिरै एकोहोरिएका थिए।
बसको आखिरी हर्न बजेपछि अघि कतै नदेखिएकाहरू टुप्लुक्क ढोकाभित्र छिर्न टाउको घुसाउन थाल्छन्, हल्लाखल्ला बढिहाल्छ। त्यस्तोमा नपत्याएकाहरू पनि आइपुग्छन्, पत्याएकाहरू पनि छुट्छन्। खै खै भन्दै अरूलाई घचेट्दै निहुरी परेका शरीरहरू मेरो सिट कता छ भन्दै अघि नै झोला राखेको ठाउँ पत्ता लगाउन खोज्छन्। बोरै बोरामाथि हिँड्नुपर्दा त्यसै पनि होचो बसभित्र जस्तै मै होचो भन्नेले पनि उस्तै परे कुप्री परेकै हुनुपर्छ।
हिजोआज गाउँ–बजार गर्ने बसहरू हाम्रो उत्पादन र उपभोगको असन्तुलनका साक्षी प्रमाणरूपी वाहन हुन्। गाउँबाट रित्तै हर्ल्लङ–हर्ल्लङ आउने बस टनाटन भरिएर फर्किन्छ। कहिलेकाहीँ भाले र खसीबोका गाउँबाट बजारतिर झर्छन् नै। त्योभन्दा कता हो कता बढी त ब्रोइलर र लेयर्सका चल्ला नै गाउँतिर जाने सिटमुनि जतनसाथ राखिएका हुन्छन्।
‘नानी,’ मभन्दा अघिल्लो सिटकी महिलाले जीउ फेरि अगाडितिर तन्काएर भनिन्, ‘तेरी ममी आइन् त?’
‘अहँ,’ बालिकाले ढोकातिरको हुलमुल हेर्दै भनिन्।
‘उहाँ अंकलहरूलाई सिट छाडी दे,’ महिलाले भनिन्, ‘पछाडि आएर मसँग बस्।’
बालिका बरफ लत्पतिएको हातले च्याप्प समातेको काखीझोला भिर्दै पछाडि आइन्।
उनको अनुहारमा डर, चिन्ता केही देखिनँ।
ममीको झोला भिर्दै सर्लक्क पछाडि आएकी बालिकालाई अब मैले अलि सुन्न सक्ने भएँ।
मैले नाम सोधेँ। उनले थरसहित पूरा नाम भनिन्, जुन यहाँ लेखिनँ। नाम हिन्दी फिल्मी गीतमा बज्ने खाले सुमधुर रहेछ।
‘कति प्यारो नाम,’ मैले भनेँ।
उनी केही नभनी दुई जना ‘आन्टी’ हरूबीच काखमा नबसी चेपिएर उभिइन्।
‘तेरो घर कहाँ हो?’ महिलाले सोधिन्।
‘आशाको घरनेर,’ उनले भनिन्।
‘को आशा हो? हामीलाई के थाहा!’ महिलाले अर्थ्याइन्, ‘गाउँको नाम भन् न।’
गाउँतिर जाने बस वा भ्यानभित्र बालबालिकाहरू ज्ञानी हुन्छन्। चकचक त गर्छन् नै, जतिखेर पनि झ्यालबाहिर हात, उस्तै परे मुन्टो नै निकाल्छन्। काखे शिशुहरूसमेत जसको पनि काखमा गइदिन्छन्। सजिलो सिटमा बसेकाहरूले जसका बच्चालाई पनि काख दिन्छन्। जसले पनि साइनो त लगाएकै हुन्छ। नाम बरू थाहा हुँदैन!
बालिकाले गाउँको नाम के भन्दै थिइन्, गुडेको बसको गडगडबीच आफ्नै सिटभन्दा अघिल्लो लहरको बातचित खुट्टयाएर सुन्न नसक्ने भएपछि म तन्किएर उनीहरूतिर ढल्किएँ।
‘कहाँ झर्ने हो?’ महिलाले सोधिन्, ‘तँलाई थाहा छ?’
‘अँ!’
त्यसो त गाउँ–बजार गर्ने लोकल बसका चालकहरू यात्रुहरूको तीनपुस्ते कन्ठ पारेझैं गर्छन् — कसलाई कहाँ रोक्ने हो, कसलाई कहाँबाट टिप्ने हो, कोसँग कहिलेको भाडा कति उठाउन बाँकी छ, कसको कति खुजुरा मिलाउनुपर्नेछ! उनीहरू हरेकसँग नाता पनि गाँसेकै हुन्छन्। त्यही भएर त स–साना पोका गाउँ पठाउनुपर्दा जसले पनि चालकछेउ खुरूक्क ल्याएर राखिदिन्छन्। कहिलेकाहीँ चालकले बिर्सँदा त्यस्तो पोकाले बसमै रात कटाउँछ।
दिनको एक खेप चल्ने यस्ता बसहरू एकपल्ट छुटेपछि छुटी गो!
‘कति धोकेकी त त्यसकी ममीले,’ उतापट्टिकी बूढीमाउले बच्चीको बिचल्ली सोचेर दिक्क मान्दै भनिन्, ‘बेइज्जती!’
‘कहिलेकाहीँ यस्तो हुन्छ नि त आमा,’ छेउका पुरूषले सम्झाए।
‘महिला भएर!’
‘पुरूषले त पहिल्यै इज्जत फालिसके नि,’ उनले भने। अनि मतिर आँखा सन्काए।
‘तेरी ममीलाई त्यस्तो के पिर पर्यो त?’ बालिकालाई आफूसँगै राख्ने महिलाले सोधिन्।
‘पैसा चोरियाथ्यो हिजो ...’ उनले के भन्न खोज्दै थिइन्, बस चालकले त्यही बेला गीत घन्काउन थाले।
उनी बडा हल्लाखोर गानाबजानाका सोखिन छन् र उनलाई लाग्छ, यात्रुहरूलाई त्यस्ता गीत उधूम मनपर्छ, गीत सुन्नकै लागि कालोपत्रे उप्किएका, खाल्डाखुल्डी परेका सडकका उफ्राइ बिर्सन यात्रुहरूले भोल्युम बढाऊ भनेका हुन्छन्। कहिलेकाहीँ त मलाई के लाग्छ भने, देशभरिका चालकलाई एक ठाउँ जम्मा गरेर एक थान असल संगीतको कोसेली पेन ड्राइभमा भरेर दिऊँ र सबै जनाको यात्रा सुखद होस् भन्ने प्रार्थना गरूँ!
बालिका के भन्दै थिइन् भनेर जान्न मैले उनलाई काख दिने महिलातिर ढल्केर सोधेँ।
अघिल्लो दिन बालिकाकी आमाले भत्ता बुझेर ल्याएकी रहिछन्। वडा कार्यालयबाट तीन महिनाको रकम दिनभरि पालो पर्खेर थापेर घर फर्केपछि ढोकाभित्र कतै कापामा घुसारिन्। राति चोर आयो। बालिकाले दिएको विवरणअनुसार चोरी गर्ने टाढाको कोही होइन, त्यस्तो सबथोक थाहा पाएझैं त अगलबगलबाट मात्र हुन सक्छ।
बिहान प्रहरी आए। आशंका गरेअनुसार वरपर सोधपुछ, जाँचपड्ताल गरे। दिउँसो जिल्ला प्रहरी कार्यालय आउनू भनेर अह्राए। घरमा एक्ली छोरी के छाड्नू भनेर यिनलाई लिएर दमौली पुगिन्।
बालिका कति वर्षकी होलिन् भनेर मैले अरूको अनुमान जान्न खोज्दै थिएँ, उनी आफैले भनिन्, ‘नौ वर्ष।’
‘कति कक्षा पढ्छौ नि?’ मैले सोधेँ।
‘दुईमा,’ उनले भनिन्, ‘स्कुल छुट्टी भइसक्यो।’
मैले आफूसँगै बसेका दुईदेखि विभिन्न कक्षा पढ्ने टाइधारी विद्यार्थीहरूलाई सोधेँ। उनीहरूले भनेअनुसार सरकारीले बर्खेबिदा दिइसक्यो, ‘निजीले त विद्यार्थी धेरै च्याप्छ!’
मैले बालिकाको सम्झनास्वरूप फोटो खिच्ने मन बनाएर पाइन्टको खल्तीबाट मोबाइल के निकालेको थिएँ, दुई कक्षाको बाबुले सोधे, ‘तपाईंलाई यो आइफोन कसले किनिदिएको?’
म हाँसेँ।
‘गुड क्वेस्चन!’
‘हाँस्ने कुरा के छ यसमा?’ उनले फेरि सोधे।
म फेरि हाँसेँ र भनेँ, ‘मेरो भाइले।’
‘किन किनिदिएको ?’
‘उसले अर्को लियो नि त।’
‘के के छ यसमा?’ उनले भने, ‘मलाई देखाउनोस् न!’
कुनापट्टि कक्षा ६ वालाले सानो कक्षाको भाइलाई गाडीको गतिबारे व्याख्या गर्दै थिए। मैले त्यता कान थापेँ। उनी त संसारका कुनभन्दा कुन कार राम्रो भन्दै रहेछन्।
‘तिम्रो मनपर्ने कुन हो?’ मैले सोधेँ।
‘ल्याम्बर्गिनी,’ उनले भने।
‘कुन चैं मोडल?’ सानो कक्षाकाले सोधे।
‘मैले नयाँ भर्जनको भनेको,’ उनले जबाफ दिए।
‘नयाँ भर्जन भनेको नयाँ रंगको?’ मेरो छेउको दुई कक्षावालाले सोधे।
‘रूपै नयाँ क्या!’
म त्यतातिरको ध्यान मोड्न खोज्दै थिएँ, मेरो छेउकी महिला झ्यालबाहिर हेर्दै आत्तिइन्, ‘ला, छिट्टयाउन पो थाल्यो। चैते धान काटेर आएकी थिएँ!’
‘हगि!’
‘सुक्नै नभ्याउने भो!’ उनको सुस्केरा बढ्यो।
असारेभन्दा धेरै फल्ने भएर के गर्नु, झाँट्न नभ्याउने गरी मौसम बदलिदिन्छ। उसमाथि विकासे बीउको धान पाक्न थप दिन लाग्ने हुँदा कतिखेर काट्ने, कतिखेर झाँट्ने, अर्को रोपाइँ कहिले गर्ने टुंगोका लागि आकाश ताकेको ताक्यै!
घाँसीकुवाबाट सडक पृथ्वी राजमार्ग छाडेर बायाँ खोला उपत्यका प्रवेश गरेपछि पानी दर्किनु, यात्रुका लागि चोकचोकै रोक्नु र सानो भल पनि सडकको बुई चढ्नु हुँदै जान्छ।
‘तँलाई डर त लाग्या छैन?’ महिलाले सोधिन्।
‘अहँ!’
‘साँच्चै?’
‘ममी आएर पिट्ने हो कि?’
‘नडरा,’ महिलाले सम्झाइन्, ‘पिट्दिन होली।’
‘तिमीलाई भात पकाउन आउँछ?’ मैले पछाडिबाट सोधेँ।
‘घरको साँचो त छैन।’
‘कहाँ बस्छेस् त आज?’ महिलाले सोधिन्।
‘खै?’ उनले भनिन्, ‘साथीकोमा जान्छु कि!’
उतापट्टिका पुरूषले अघि नै देखि बूढीमाउलाई कुनै घटना बयान गर्दै थिए, बेलाबेला अलि दबिएको स्वरमा, जतिखेर म आफ्ना बालक साथीहरूसँग गाडीहरूका बयान सुन्दै थिएँ।
‘अघि तपाईंले भन्दै हुनुहुन्थ्यो नि?’
‘फुच्चीको बाउको कुरा!’
‘के कुरा?’
‘उनले घाँटीतिर इसारा गर्दै भने, ‘क्या त नि पोहोर भा’को!’
त्यो चाल पाएपछि बालिकालाई काख लिने महिलाले सोधिन्, ‘हो?’
‘के?’ बालिकाले सोधिन्।
‘तिम्रा बुबा झुन्डिएर मरेका हुन्?’ उनले सोधिन्, ‘हल्ला त धेरै थियो, हो कि होइन?’
अगाडिको चोकमा बस रोकिएपछि छेउकी महिला ओर्लिइन्। अब बालिकाले बस्न पाउने भइन्।
‘आऊ, बस,’ अघि नै देखि कोट्याउँदै आएकी महिलाले अह्राइन्।
बालिका एक पाखामा ममीको काखीझोला च्याप्दै थ्याच्च सिटमा बसिन् र भनिन्, ‘बल्ल आनन्द भो!’
म पनि झर्ने चोक आउँदै थियो। बालिकालाई बाई गर्न म उभिएँ। उभिएँ के, त्यो बोरै बोराको खाँदमाथि निहुरिँदै अगाडि बढेँ।
फोटो खिच्ने आँट हरायो।
एक सरो फ्रक लगाएकी बालिकालाई नामसाथ राम्ररी जाऊ है भन्दै अघि बढेँ।
महिलाले उनलाई सिकाइन्, ‘ठूलो बुबालाई बाई गर।’
भाडा तिरेर ओर्लेपछि दिनभरि जसो मलाई बाई भन्ने बालिकाको सम्झना आइरह्यो।
बस भोलिपल्ट फर्क्यो।
चालकलाई सोधेँ, ‘त्यो हिजोकी बच्ची घर पुगी त?’
‘पुगी होली,’ उनले भने।
‘तगडा रहिछ।’
‘हो नि।’
‘कसरी?’
‘झर्ने बेला भाडा दिई,’ उनले भने।
‘कति नि?’
‘सय दिएकी,’ उनले भने।
‘सप्पै लाग्यो त?’
‘पचास फर्काइदिएँ।’
बस गाउँ आएपछि स्थितिहरू बदलिए। गाउँलेका मनस्थिति पनि बेग्लिए। बजार आउजाउ बढ्यो। आउजाउ त बढ्यो, लैजाऊ भन्दा पनि ल्याऊ बढ्न पुग्यो। खालि हात कोही किन फर्कोस्!
आँगनबाट ओर्लेर बस चढ्ने भएपछि बजारसँग भर बढ्यो। वरपर टोल-छिमेकसँगको निर्भरता घट्यो। धन्न ती बालिका, एक्लै घर खोल्न सक्ने अवस्था नहुँदा सदरमुकामबाट गाउँ फर्किएर साथीकोमा जाने सोच्दै थिइन्। गइन् त होलिन्!
***
यो पनि पढ्नुहोस्: