झापाबाट काठमाडौं आएर हराएका प्रकाश तामाङका कथाले यतिबेला सामाजिक सञ्जाल छपक्कै ढाकेको छ।
युट्युबमा प्रसारण भएको 'हराएका वर्षहरू' हेरिरहँदा हराएको मान्छे फर्किने रहेछ भन्ने लाग्यो। बाटो बिराएकाहरूले बाटो भेट्ने रहेछ! बाटो नभेटेकाले बाटो देखाउन जान्ने अरू मान्छे भेट्ने रहेछ। प्रकाश तीसौं वर्ष हराए। परिवारबाट अलग निकै विकट ठाउँमा चौंरीको अगलबगलमै उनका वर्षहरू हराए। सायद मान्छे नै हराएको भए यो भिडिओको शीर्षक हराएका वर्षहरू हुँदैन थियो होला। अनि भिडिओ बनाउने 'हेर्ने कथा' को टोलीले प्रकाशलाई नभेटेको भए यो कथा बाहिर आउँदैन थियो होला।
प्रकाशले आफ्ना आमाबुबा, दाजुभाइ, दिदीहरू भेटे। आफन्त भेटे। हराएका वर्षहरू फिर्ता नआए पनि परिवार भेट्दाको अतुलनीय आनन्द भेटे।
यस्तै आनन्दका कथाहरू कोरोना कालमा पनि पढ्ने मौका पाइएको थियो। हजारौं मरणका समाचारबीच परिवार मिलनका समाचारहरूले मुस्कान भर्ने रहेछ।
घर फर्किने मन सबैलाई हुन्छ। जो फर्केर आउँछन्, उनीहरूसँग परिवार भेट्न पाउँदाका कयौं कथाहरू हुन्छन्। ती कथाले धेरै समयसम्म मन पगाल्छ, आँसु झार्छ।
यस्तै मिलनको कथाबाट आँसु झार्ने मन नन्दगोपाल मालीको परिवारलाई पनि छ। २०६१ असार ८ गते मंगलबार धलौटका मूर्तिहरू बोकेर थेचो निवासी नन्दगोपाल पाटन झरेका थिए। त्यस दिनबाट घर फर्केनन्। २८ वर्षीय युवा, जसको घरमा वृद्ध आमाबुबा र दुई छोरी थिए, ऊ एकाएक कसरी बेपत्ता हुन सक्छ?
समाचारहरू आउन थाले।
सबै स्रोतहरूले राज्यले बेपत्ता बनायो भन्ने उल्लेख गर्छन्। मानव अधिकारवादी संस्थाहरूमा पनि काठमाडौंको ताहाचलबाट गिरफ्तारपछि बेपत्ता भन्ने रिपोर्ट दर्ज छ। वृद्ध बुबाआमा दुइटैले सम्भव भएसम्मका प्रहरी चौकी, आर्मी ब्यारेक चहारे। कतैबाट खबर आएन। छोरा बेपत्ता पारेको पीडाका कारण एक वर्ष नबित्दै बुबाले प्राण त्यागे। आमाले १२ वर्ष निरन्तर छोराको सोधखोजमा आफ्नो समय बिताइन्। २०७५ सालमा रोगले थलिएर आमा पनि बितिन्।
नन्दगोपाललाई बेपत्ता बनाउँदा दुई छोरीहरू आठ र तीन वर्षका थिए। हजुरबुबा र हजुरआमाले खोज्दाखोज्दै ज्यान गुमाएपछि बेपत्ता बुबा खोज्ने जिम्मेवारी यी दुई छोरीहरूमा सरेको छ।
ब्यारेक र चौकीका पहरेदार र तिनका हाकिमले सत्य कतिञ्जेल लुकाउँछन् भन्ने थाहा छैन। तर सत्य खोज्ने क्रममा परिवारले प्रत्यक्षदर्शी भेटेका छन्। सुन्दरीजल कारागारबाट छुटेका कैदीले नन्दगोपाललाई देखेको कुरा मानवअधिकार संस्थामा दर्ज छ।
त्यो कारागारबाट नन्दगोपाल कहिले पो घर फर्किने हुन्?
२०६० मंसिर १७ गते दिनदहाडै कुशुलेचौरबाट सादा कपडामा आएका सेनाले भिम गिरीलाई गिरफ्तार गर्यो। मरणासन्न हुने गरी पिट्दा भिम गिरीले गुहार मागेको सो छरछिमेकका मानिसले नसुनेका होलान् त? रगताम्मे हुने गरी पिटेर सेनाले गाडी बोलाएर लगेको भिम गिरीसँगै रहेका पत्रकार साक्षी छन्। उनलाई भैरवनाथ गणभित्र कैदी बनाएर राखेको देखेका कैदीहरू अझै छन्।
जिउँदै भए भैरवनाथ गणबाट भिम गिरीहरू कहिले रिहा हुने कुरा 'गणपति' हरूले कहिले बोल्लान्?
२०५९ वैशाख १२ गते भक्तपुरका सत्यनारायण प्रजापतिलाई साँगाबाट सेनाले पक्राउ गर्यो। सूर्यविनायक ब्यारेकको गोरखबहादुर गणमा दुइटा दाँत झर्ने गरी र ढाड भाँचिने गरी पिटेर अस्पताल लाँदा डाक्टरहरूले देखेको सत्य कसरी नकार्ने? उनलाई अस्पतालमा भेटेर बातचित गरेका साक्षीहरू अझै जीवित छन्।
अस्पतालबाट सत्यनारायणलाई कता लगियो र आजको दिनसम्म किन लुकाइयो भन्ने प्रश्नको उत्तर कसले दिने हो?
सूर्यविनायक ब्यारेकमै छन् भने उनको श्रीमती कृष्णबेटीलाई भेट्न आउन त्यति टाढा छैन। त्यो मिलनको दिन कस्तो होला?
२०६३ असार ३ गते ताहाचल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू विपिन भण्डारी र दिलबहादुर राईलाई प्रहरीले पक्राउ गर्यो। उनीहरूसँगै पक्राउ परेका अर्का एक विद्यार्थी ६ महिनाको कारावासपछि छुटे। विपिन र दिलबहादुरका परिवारजनको मिलन हुने दिनको साइत कुन जेलरको निगाहमा हुने होला?
यी ५ जना युवा नेपालमा सशस्त्र द्वन्द्वका क्रममा माओवादी पक्षका हुन सक्ने आशंकामा, माओवादी नै भएका कारण वा माओवादी जस्तो फरक विचार बोकेका कारण राज्यले नियन्त्रणमा लिएका पात्रहरू हुन्। तत्कालीन सरकारको बनावट संवैधानिक राजतन्त्र मातहतको सात दलबाट निर्दिष्ट सरकारका विभिन्न कालखण्डमा जबर्जस्ती बेपत्ता पारिएका पात्रहरूको सानो परिचय मात्रै हो यो। यसरी दस वर्षे जनयुद्ध क्रममा विभिन्न बहानामा बेपत्ता पारिएका व्यक्तिहरूको संख्या झन्डै १३५० भन्दा बढी छन्।
प्रकाश तामाङ भौगोलिक हिसाबले विकट चट्टानी हिमालमा हराउन बाध्य भए। तर राज्यले नै जबर्जस्ती आफ्ना मातहतका चौकी, गण, ब्यारेकहरूमा नागरिकतावाहक व्यक्तिहरूलाई कसरी यतिका दिनसम्म कैद गरेर राख्न सक्छ?
यसको उत्तर खोज्न आवश्यक छ।
केही साताअघि, नयाँ सरकार बनेलगत्तै द्रुतगतिमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक बहुमतले पारित गरियो। दुवै तहका संसदबाट पारित गरि पनि विधेयकका केही कुराहरूमा अझै विमती छ। ठूला भनिने नेताहरूमा अक्षरशः सहमति देखिए पनि धेरै पीडित परिवारजनलाई यो विधेयक अझै पीडित केन्द्रित लागेको छैन। तत्कालीन विद्रोही र सरकारवादी दलहरूलाई यो विधेयक पारित गर्न १८ वर्ष लाग्यो। यसले संक्रमणकालीन न्यायलाई ढिलै भए पनि अगाडि बढायो भन्ने भाष्य निर्माण गरिँदैछ। तर ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हो भन्ने सामान्य मानव अधिकारको मर्म बिर्सिनु हुँदैन। तसर्थ विधेयकबाट बन्ने कानुनले पीडितहरूको घाउमा मलहम लगाउँछ वा अझै घाउ चर्याउने काम गर्छ, त्यो हेर्न बाँकी नै छ।
विधेयक पारित गर्न चलायमान शक्तिहरूले कानुन पनि पीडित केन्द्रित बनाए भने पीडित परिवारजनले केही राहत महसुस गर्ने थिए। कानुनसम्मत जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन्थ्यो होला।
निकै आशावादी बनेर भन्ने हो भने– चुम भ्यालीबाट भेटिएका प्रकाश तामाङको जस्तै, काठमाडौं भ्यालीबाट बेपत्ता बनाइएका पात्रहरू एकपछि अर्को गर्दै घर फर्किने वातावरण बने, कति धेरै कथा बन्थे होला?
(बिकिल स्थापित अधिकारकर्मी तथा फाटोग्राफर हुन्। उनका फोटो कार्यहरू जनयुद्धको समयमा भएका बेपत्ता पीडितहरूमा केन्द्रित छ। उनी मौखिक इतिहास अभिलेख सुनमेरोकथा डट कमका संस्थापक पनि हुन्।)