भौतिक विज्ञानको शिक्षक चयनका लागि एक आवेदकसँग अन्तर्वार्ता लिँदै थिएँ। उहाँसँग विश्वविद्यालयबाट त्यसै विषयमा उच्च अंक ल्याएर उत्तीर्ण गरेको स्नातकोत्तरका साथ केही वर्षको अध्यापन अनुभव पनि थियो।
अन्तर्वार्ताको क्रम एक सरल प्रश्नबाट सुरू गरेँ।
भौतिक विज्ञानमा संरक्षणको नियमानुसार पिण्ड र शक्ति न त नयाँ सिर्जना हुन्छ, न नास हुन्छ।
अब मलाई बताउनुहोस्, 'सूर्यबाट यसरी दिनहुँ आणविक प्रतिक्रियाद्वारा पिण्ड शक्तिमा परिवर्तन हुँदै उत्सर्जन हुन्छ, त्यो कहाँ जान्छ? यदि शक्ति नास हुँदैन भने यसरी पृथ्वीमा दिनहुँ आउने शक्ति कहाँ सञ्चय हुन्छ? वा, त्यो शक्तिले कुनै कार्य गरिसकेपछि कहाँ बिलीन हुन्छ? वा, सूर्यबाट प्रसारित त्यो विशाल शक्ति अन्तरिक्षमा कहाँ रहन्छ?'
उहाँले भौतिक विज्ञानको पिण्ड र शक्तिको संरक्षणको सिद्धान्त, अल्बर्ट आइन्स्टाइनको सापेक्षता, सबै गजबसँग व्याख्या गर्नुभयो।
तर मेरो आधारभूत प्रश्न अर्थात् सूर्यको विशालशक्ति यदि नास भएकै छैन भने कहाँ छ भन्ने सन्दर्भको उत्तर दिन सक्नुभएन।
उहाँलाई पृथ्वीमा हुने सौर्यशक्ति र यसको गतिशीलताको सन्तुलन थाहा थिएन तर हरितगृह प्रभाव थाहा थियो। पिण्डजस्तै शक्ति पनि विद्युत चुम्बकीय तरंगका रूपमा अन्तरिक्षमा अनन्त कालसम्म यात्रा गरिरहन्छ भन्ने थाहा थिएन। इन्फ्रारेड विकिरणको ज्ञानमा अस्पष्ट हुनुहुन्थ्यो।
उहाँको ल्याकतको जानकारीपछि फेरि प्रश्न गरेँ, 'यस्तो उच्च अंकसहित फिजिक्समा मास्टर्स उत्तीर्ण गर्नुभएको छ। तर यसै विज्ञानको आधारभूत तथ्यमा किन स्पष्ट हुनुहुन्न?'
यसपछि उहाँले मलाई एक उत्तर दिनुभयो जसले मलाई स्तब्ध बनायो।
उहाँको उत्तर थियो, 'सर, त्यो सोधिएको कुरा पाठ्यक्रममा थिएन र मैले यसरी खोतलेर कोर्ष बाहिरबाट पढेको भए यति राम्रो अंक ल्याउँदिनँ थिएँ।'
अब थप बोल्ने ठाउँ थिएन।
'कोर्ष बाहिरबाट' भन्ने शब्दावलीले मलाई अवाक बनायो।
यो एक वास्तविक प्रतिनिधि घटनाले शिक्षा प्रक्रियाको एक पाटो उदांगो पार्छ। उच्च उपलब्धिको प्रमाणपत्र छ, तर भएको ज्ञानको बुझाइ सतही छ। परीक्षामा परिणाम प्रमुख छ, तर अध्ययन गौण छ। पढाइको प्रयोजन तपसिलका अन्य पक्षमा छन्, तर प्रविणतातर्फ उन्मुख छैन। सिकाइ तथ्य कण्ठस्त गर्नमा सीमित भयो, तर अर्थपूर्णताको पक्ष उपेक्षा गरियो। यस कारण बौद्धिक गहनता खस्कियो।
यो लेखमा मैले घोकन्ते ज्ञान लिने परिपाटीलाई आलोचनात्मक बनाउनेतर्फ केन्द्रित गरेको छु। आशा छ, यसले शिक्षकवर्ग र विद्यालयहरूलाई शिक्षाको गहिराइ तथा ज्ञानको व्यावहारिकतामा अन्तरदृष्टि दिनेछ। यसको महत्त्व दर्साउनेछ।
सुरू गर्छु उपयोगी ज्ञान र व्यावहारिक ज्ञानबाट।
यी दुई उस्तै देखिए पनि फरक हुन्छन्।
उपयोगी ज्ञान दैनिक जीवनको उपयोगमा आउँछन्। जस्तै, जीवनका आधारभूत कुराहरूको सीप हुनु, खाना बनाउन जान्नु वा बाँसको चोयाको डोको बनाउनु जान्नु जीवनका उपयोगी ज्ञान वा सीप हुन्।
व्यावहारिक (एप्लिकेबल) ज्ञान त्योभन्दा पृथक र बृहत् हुन्छ। यसको केन्द्रमा अवधारणा र संज्ञान (कग्निजेन्स) को विकास हुन्छ। दैनिक उपयोगितामा मात्र सीमित हुँदैन। यो भनेको ज्ञानको सही र आधिकारिक अर्थपूर्णता हो। अर्को भाषामा यो यथार्थताको पूरा बोध हो।
उदाहरण — विद्यालयमा पढिएका विजगणितका सूत्र।
ती बाहिरी दृष्टिबाट सजिलै दैनिक उपयोगितामा आएको नदेखिएलान्, तर हरेक सूत्रका अर्थ र ज्ञानका अवधारणा छन्। जब मानव संज्ञानले तिनलाई पक्डिन्छन्, त्यस बेला ती ज्ञान व्यावहारिक बन्छन्।
आलोचनात्मक वा अर्थपूर्ण सिकाइले ज्ञानलाई व्यावहारिक बनाउँछ। ज्ञान व्यावहारिक भएपछि मात्र उपयोगमा आउँछ। र, ज्ञान व्यावहारिक वा आलोचनात्मक छैन भने त्यसको उपायोगिता शून्य हुन्छ। अर्थपूर्ण छैन भने त्यो ज्ञानको उपादेयता पनि हुँदैन।
उदाहरण — पाइथागोरसको सिद्धान्तले घरको भित्ताको कुनोको नाप नलिइकनै समकोण छ कि छैन थाहा पाउन सकिन्छ। वा, कोणका आधारमा कुनै अग्लो स्तम्भको उचाइ गणना गर्न सकिन्छ।
ती अवधारणाहरू अन्य विषयमा पनि एकीकृत हुँदै प्रयुक्त हुन्छन्।
आलोचनात्मक सिकाइका यीबाहेक केही प्रमुख निहितार्थ छन्।
तीमध्ये एक हो — समस्या समाधानको खुबी।
सैद्धान्तिक र व्यावहारिक दुपै समस्याको मर्ममा पहुँच राख्न आलोचनात्मक विचार नभइ हुँदैन। किनभने, उल्लेख गरे जस्तै जबसम्म ज्ञान अर्थपूर्ण हुँदैन, तबसम्म त्यो कार्यमूलक हुँदैन।
भौतिक विज्ञानको शक्ति सञ्चय र संरक्षणको आलोचनात्मक ज्ञानबिना पृथ्वीको बढ्दो तापक्रमको समस्या सम्बोधन गर्न सकिँदैन। यो उपर्युक्त निहितार्थको दृष्टान्त हो।
दोस्रो — विश्लेषणात्मक क्षमताको विकास।
यो भनेको कुनै जटिल धारणा टुक्र्याउँदै तिनका पक्षहरूको सुक्ष्मता केलाउनु हो। आलोचनात्मक सिकाइले मिहिन तथ्यहरू प्रयोगमा ल्याएर बोधलाई गहन बनाउँछ। विश्लेषण क्षमताले कुनै तर्क, धारणा र बौद्धिक पक्षहरूलाई विश्वसनीयता र वैधता प्रदान गर्छ।
एक चित्रकारले रङको गहिरो ज्ञान र कस्तो रङको प्रभाव के पर्छ भन्ने जानेर, उद्देश्यसहित एक उत्कृष्ट कला सिर्जना गर्छ। उच्चस्तरको कलाका लागि आवश्यक तत्वको सुक्ष्म ज्ञानको सहारामा विश्लेषण गर्छ।
तेस्रो — जीवनपर्यन्तको सिकाइ।
आलोचनात्मक सिकाइले मानवजातिलाई निरन्तरको विचारक र खोजकर्ताका रूपमा विकास गर्छ। विद्यार्थीको सिकाइको मानसिकतालाई निरन्तरता दिन्छ।
एक संगितकार जीवनपर्यन्त अभ्यास गरिरहन्छ र त्यसको अन्त्य हुँदैन। यही प्रक्रिया नै संगीत साधनाको निरन्तरता बनिदिन्छ। वा, संगीत आफै अविराम यात्रामा परिणत हुन्छ। आलोचनात्मक सिकाइले ज्ञानको गहिराइ र विस्तृतीकरणमा निरन्तरता प्रदान गर्छ।
यिनै कारणले आलोचनात्मक सिकाइ र विचारको महत्त्व छ। प्रगतिशील विद्यालयहरूले शिक्षालाई जीवन्त बनाउन अनेक शैक्षिक रणनीति प्रयोग गर्छन्। स्पष्ट छ, ज्ञानको परिपूर्णता यस किसिमको सिकाइबिना असम्भव छ।
यसको ठीक विपरीत घोकन्ते शिक्षा हो। यसमा शिक्षा यान्त्रिक बन्छ; तथ्यहरूको अर्थहीन स्मरण र तिनको हुबहु उत्पादनमा मात्र जोड दिन्छ; परीक्षा परिणामलाई आधार मान्छ; ज्ञानको पूर्णतातर्फ लाग्दैन।
केही व्यक्तिहरू भन्छन्, 'हामीले घोकेरै पढ्यौं र जान्यौं। घोकेर पढेमा केही बिग्रिँदैन। बरू अहिलेका शिक्षाका अनेक शैलीले विद्यार्थीलाई योग्य बनाएको छैन।'
यो एक तर्कदोष मात्र हो।
बाह्य रूपमा देख्दा कोही घोकन्ते प्रक्रियाबाट मौलिक विचारक बनेको छ भने, त्यो व्यक्ति विशेषको उच्च संज्ञानात्मक क्षमताले संकलित तथ्य र सूचनालाई आलोचनात्मक बनाएकाले हो, घोकेर होइन। सूचना रटेर कण्ठस्थ राख्दा मानवको स्वभाव सुलभ संज्ञानले काम गर्न पनि सक्छ। तर यस्तो तरिका कमै प्रभावकारी, रसहीन, समय लिने र स्मृतिले सूचनालाई दीर्घकालसम्म नराख्ने हुन्छ।
तर यो पनि स्मरण राखौं, आलोचानात्मक सिकाइको आधार अर्थपूर्ण सूचना संकलनबाट पनि सुरू हुन्छ। यो पक्षलाई आलोचनात्मक सिकाइले छुट्ट्याएको छैन।
शिक्षा मनोवैज्ञानिक बेन्जामिन ब्लुमले उनको शैक्षिक उद्देश्यको वर्गीकरणमा भनेका छन् — तथ्यको सम्झनाबाटै ज्ञान विश्लेषणात्मक हुँदै सिर्जनशीलतातर्फ लाग्छ।
अध्येता कोस्टा भन्छन् — ज्ञान संकलनबाट यसैको प्रक्रिया हुँदै व्यावहारिक बन्छ।
कोस्टाको विश्वप्रसिद्ध तीनतले विचारको अवधारणा आलोचनात्मक सिकाइको प्रयोगमा आउँछ।
पहिलो तलामा रहेका विचारक सूचना, संज्ञा, कण्ठ गरिएको ज्ञान पुनःउत्पादनमा सीमित हुन्छन्।
दोस्रो तले विचारक तुलना, विश्लेषण, व्याख्या र तर्कमा सीमित हुन्छन्।
तेस्रो र अन्तिम तलामा रहनेहरू भने ज्ञानको गहनतालाई केन्द्रमा राख्छन्। यिनले क्रमशः छानाको झ्याल खोलेर ज्ञानको खुला र प्रकाशित आकाशमा विचरण गर्छन्।
आलोचनात्मक सिकाइले विद्यार्थीलाई कोस्टाको माथिल्लो तलातर्फ निर्दिष्ट गर्छ। विद्यालय होस् वा विश्वविद्यालय, आलोचनात्मक सिकाइ अपरिहार्य छ। अन्यथा ज्ञानको व्यावहारिकताको अभावमा बौद्धिक सुयोग्यता अवरूद्ध हुने जोखिम अति उच्च हुन्छ।
यस विषयका पक्षमा धेरै बहस र अनुसन्धान भएका छन्।
अध्येता हलपनका अनुसार आलोचनात्मक सिकाइलाई पाठ्यक्रममा अभिन्न रूपले समावेश गरेमा विद्यार्थीले विकास गरेका मौलिक सोचाइले विभिन्न दृष्टिकोणबाट आर्जित ज्ञानको प्रयोग गर्न सिकाउँछ।
विभिन्न अध्ययनहरूले पनि स्वतन्त्र विचार विकासका लागि आलोचनात्मक सिकाइ अपरिहार्य रहेको भनेका छन्। वास्तविक संसारका समस्यालाई यसले मात्रै सम्बोधन गर्न सक्ने र सही निर्णय र परिवर्तनका लागि पनि आलोचनात्मक सीप चाहिने भनेका छन्।
आलोचनात्मक सिकाइको संस्कृति विद्यालयदेखि नै सुरू हुन्छ।
स्मरण गरौं, कुनै शिक्षक विशेषले हामीलाई भनेका कुरा — राम्ररी बुझेर पढ! नघोके पनि तिमीले यो सधैं सम्झिन्छौ!
कतिको स्मृतिमा आजभन्दा दशकौं अघि पढेका कुरा ताजा छन्, यही नै आलोचनात्मक शिक्षाको सुन्दर व्यावहारिक पक्ष हो।
एक जना मेरा न्युरोलोजिस्ट मित्र भन्नुहुन्थ्यो, 'मैले वर्षौं अध्ययन गरेका न्युरोलोजीका जटिल अवधारणाहरू सम्झनामा नहोलान्। तर जब शल्यक्रिया गर्दा कुनै ज्ञान विशेषको आवश्यकता पर्छ, एकपल्ट सर्सर्ती पुस्तक पल्टाएर हेरेपछि सहजै प्रयोगमा ल्याउन सक्छु।'
यसरी आलोचनात्मक सिकाइले ज्ञानको स्थायित्व प्रदान गर्छ।
आलोचनात्मक सिकाइलाई पाठ्यक्रमबाट सजिलै निर्देशित गर्न सकिन्छ। पाठ्यक्रममा यो नै निहित उद्देश्यका रूपमा राख्नुपर्छ र यसपछि मूल्यांकन गर्दा ती उद्देश्यलाई संरेखित गर्न सकिन्छ।
यसो गर्दा प्रश्नहरू कम विषयगत, धेरै वस्तुगत बन्छन्। विद्यार्थीको मूल्यांकन गर्दा, प्रश्नपत्र निर्माण गर्दा सूचनालाई आधार मानेर त्यसको व्यावहारिकतालाई केन्द्रमा राख्न सकिन्छ।
शिक्षणलाई अनुसन्धान आधारित गरेमा, परासंज्ञान (मेटाकग्निसन) का आधारमा सिक्ने तरिका सिकाएमा, मननलाई केन्द्रमा राखेमा, विभिन्न विषय क्षेत्रहरू एकीकृत गरेमा, खुला प्रश्नका आधारमा सोचाइ विस्तृत गरेमा र यस्तै अन्य विभिन्न उपायबाट शिक्षालाई समालोचनात्मक बनाउन सकिन्छ।
यो लेखका आधारमा मात्रै आलोचनात्मक सिकाइलाई विद्यालयमा लागू गर्न सकिँदैन। यसका कार्यान्वयनका पक्षहरू छन्। तर यसको मर्मलाई आधार मानेर बाटो बनाएमा, त्यसैअनुसार शिक्षक तयारी गरेमा, विद्यालयमा यसको संस्कृति बसालेमा र शिक्षाका प्रगतिशील पक्षलाई उतारेमा हाम्रा बालबालिकालाई आलोचनात्मक सिकाइतर्फ उन्मुख गर्न सकिन्छ।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)