डिस्क्लेमर — यो लेख रक्सीको बारेमा छ। तर रक्सी खानेहरूलाई 'नखानू है' भनेर कोरा अर्ती-उपदेश दिन लेखिएको होइन। न रक्सी खानेहरू 'पतीत' र नखानेहरू 'महान' हुन् भन्ने धृष्टता यो लेखले गर्न खोजेको हो; न यो लेख लेख्ने मलाई रक्सीको स्वाद र माद थाहा नभएको हो!
कुरा के मात्र हो भने, हरेक दिन अस्पतालमा काम गरिरहँदा रक्सीका कारण स्वास्थ्यसँगै सर्वस्व गुमाएका धेरै बिरामी र उनीहरूका आफन्तसँग भेट भइरहन्छ। यो लेख उनीहरूलाई सम्झिएर केही लेखौं भन्ने एक झिल्को प्रयास मात्रै हो।
इमर्जेन्सीको 'रेड एरिया' अर्थात् अति सिकिस्त बिरामी राखिने क्षेत्रमा ५ वटा बेड छन्। यी पाँच बेडमा सुत्न आइपुग्ने कम्तीमा दुईदेखि तीन जना बिरामी, रक्सीका कारण निम्तिएको जटिल रोग लिएर आइपुगेका हुन्छन्।
कोही रक्सीका कारण कलेजो बिग्रेर रगत बान्ता गर्दै आइपुग्छन्। कोही अचेत अथवा बर्बराउने अवस्थामा आएका हुन्छन्। कसैको पेट दमाहा जसरी सुन्निएको हुन्छ। कोही भने रक्सीको मात लागेर बेहोस नै भएका हुन्छन्। कोहीलाई रक्सी खाएर मारपिट गरेको अवस्थामा प्रहरीले मापसे जाँच गराउन ल्याएको हुन्छ। कोहीलाई भने रक्सी खाएर ढल-नालीमा लडेको अवस्थामा त्यहाँबाटै उद्धार गरेर ल्याइएको हुन्छ।
अलि अगाडिको कुरा हो। त्यो बेला म इन्टर्नसिप गर्दै थिएँ। रक्सीले मातिएर बेहोस भएको एक जना मान्छेलाई उसका साथीहरूले अस्पताल ल्याएका थिए। जाँच गरेर दुई बोतल सलाइन चढाएपछि करिब २ घन्टामा उसको होस फिरेजस्तो भयो।
बेडमा लमतन्न सुतेको ऊ आँखा मिच्दै बर्बराउँदै थियो — साउनी! ओ साउनी! एक गिलास थपुम् त!
उसलाई लागेछ, ऊ भट्टीमै छ।
उसको यस्तो चालामाला देखेर हामी कम्ता हाँसेका थिएनौं!
यो एउटा सानो हँसीमजाक मात्रै हो। रक्सीले ल्याउने जटिल रोगहरू निक्कै भयावह छन्। आफ्नै आँखा अगाडि रगत बान्ता गरेर बितेका धेरै बिरामीहरू देखियो। तीमध्ये कतिको उमेर त चालीस पनि कटेको थिएन।
इमर्जेन्सीमा अर्का खालका बिरामी भनेका मापसे गरेर दुर्घटनामा परेर आउनेहरू हुन्। धेरै जसोको टाउकोमा गम्भीर चोट लागेको हुन्छ र शरीरका हड्डीहरू भाँचिएका हुन्छन्। कोही कोही त मृत अवस्थामै आइपुगेका हुन्छन्।
कतै पढेको थिएँ — दुइटा 'डी' कहिले पनि नमिसाउनू। एउटा 'डी' भनेको ड्रिंकिङ अर्थात् मदिरा सेवन र अर्को 'डी' भनेको ड्राइभिङ अर्थात् सवारी साधन चलाउनु।
तर हामी कतिले यो नियम पालन गरेका छौं वा गर्छौं? मदिरा सेवनपछि 'म फ्रेस छु' भन्दै कति पटक हामीले गाडी वा बाइक हुइँक्याएका छौं?
के हामीले विचार गरेका छौं — हाम्रो यस्तो लापरबाहीले आफ्नो ज्यान त हत्केलामा राख्छौं नै, बाटोमा सही हिसाबले पैदल यात्रा गरिरहेका र अन्य सवारी चालकलाई समेत कति बिघ्न जोखिममा राख्छौं!
रक्सीका लत लागेका बिरामीसँग अस्पतालको ओपिडीमा पनि भेट भइरहन्छ। यी बिरामीहरू इमर्जेन्सीमा आउनेभन्दा कम गम्भीर हुन्छन्। तर उनीहरूले भोग्नुपरेको व्यथाको उचाइ सगरमाथा भन्दा कम हुँदैन। एक त रक्सीको लतले स्वास्थ्य बिग्रिएको हुन्छ, अर्कातर्फ यस्ता बिरामीले घर, परिवार र समाजबाट जँड्याहाको उपनाम पाएका हुन्छन्।
भएभरको सम्पत्ति रक्सीमा डुबाएपछि आर्थिक चपेटा यसै पनि हुने नै भयो। त्यहीबीच आफ्ना जीवनसाथीसँगको सम्बन्ध झन् झन् तीतो हुँदै जाँदा घरेलु हिंसा पनि बढिरहेको अवस्था छ।
लत धेरै लाग्ने विभिन्न कारणमध्ये एउटा नियमित रक्सी पिउनु हो। यस्तो हुँदा पहिला जति रक्सीले पुग्थ्यो, बिस्तारै पुग्न छाडछ। रक्सी नखाए हात काम्न थाल्छ, रिस उठ्न थाल्छ। यस्तो हुँदाहुँदै बिस्तारै मान्छेले बिहानैदेखि रक्सी पिउन थाल्छ।
रक्सीको नियमितता कसरी बढ्दै छ भन्ने केलाउन थाल्दा धेरै कारण भेटिन्छन्। जानी नजानी हामीले रक्सीलाई हाम्रो जीवनशैली बनाएका छौं। यस्तो लाग्छ, रक्सी हाम्रो जीवनको अभिन्न पाटो हो। बिहे भोज होस् वा जन्मोत्सव वा कुनै सभा-समारोह, रक्सी नराखे पूरै भोज खल्लो! तीज दरमा रक्सी राख्ने दर पनि बढेको छ। पास्नीदेखि ब्रतबन्ध र गुन्युचोलीका भोजसम्म रक्सी छुट्दैन।
एकचोटि अस्प्तालका एक जना स्टाफको छोराको बिहेमा जानुपर्ने थियो। ती स्टाफ शाकाहारी थिए, रक्सी त झनै नचल्ने।
सो भोजमा जानुअघि अस्पतालकै अर्का स्टाफले व्यंग्य गर्दै भनेका थिए — जाम् सर सत्यनारायणको पूजामा!
उनको कुरा सुनेर सबैले मुखामुख गरेका थिए। एकैछिन त हाँस्नु न रूनुको वातावरण बनेको थियो।
अचेल हाम्रो शरीरले मात्रै होइन, पूरै ममस्थितिले नै सामाजिक चाडपर्व र भोजभतेरमा रक्सी मागिरहेको छ।
यही कारणले होला — शुक्रबार आउनै हुँदैन, जिब्रो चिलाउन थाल्छ। साथीको बिहे भयो, खुसीमा रक्सी। उसको सम्बन्ध बिग्रियो, पीडा भुलाउन रक्सी। पास भए पासको उत्साहमा, फेल भए फेलको दुःखमा रक्सी। मीठो बहानामा पनि रक्सी, तीतो बहानामा पनि रक्सी।
खासमा यसो गर्दा गर्दै बानी पर्दै जान्छ। मानिसले आफूलाई जतिसुकै बलवान ठाने पनि, आखिर मानिस बानीहरूको दास नै हो। रमाइलोका लागि चुस्की लगाउँदा लगाउँदै, रक्सी खाने नियमितता बढाउँदा बढाउँदै, कहिले रक्सीको लत लाग्छ, थाहै हुँदैन।
हाम्रो वरिपरि हेर्ने हो भने मदिराको लत लागेर जीवन ध्वस्त पारिसकेका अनि पार्दै गरेका मानिसहरू टन्नै भेटिन्छन्। गायकदेखि नायकसम्म, खेलाडीदेखि लेखकसम्म, कलाकारदेखि अफिस कारिन्दा, व्यापारीदेखि साधुबाबा, पत्रकारदेखि डाक्टर र इञ्जिनियरसम्म! रक्सीकै कारण जीवन ओरालो गतिमा लागेका मानिस हामीले देखेका छौं।
सबभन्दा दुःख लाग्ने चाहिँ ती भुइँमान्छेहरूलाई देखेर हो जो दैनिक मजदुरी गरेर दुई-चार पैसा कमाउँछन् तर त्यसरी मेहनत गरेर कमाएको पैसा हरेक रात भट्टीमा सक्काउँछन्। एकातिर दुःखजिलो गरेर कमाएको पैसा रक्सीमा सकेर बचत नै भएको हुँदैन, अर्कातिर रक्सीले शरीरको इञ्जिन ध्वस्त भइसकेको हुन्छ। उपचार गर्ने पैसा पनि हुँदैन।
त्यसैले होला, यस्ता बिरामीका कतिपय आफन्त आजित भएर भन्छन् — बरू मरे मरोस्, घर नै लैजान्छु। आखिर अहिले बाँचे पनि फेरि घुड्क्याउनै थाल्ने त हो!
अर्को रोचक कुरा — हाम्रो समाजमा आफूलाई अभिजात्य मान्ने एउटा वर्ग छ। यो वर्गका केही मान्छेलाई आयातीत लेबल लेबलका रक्सीबाहेक अरू रूच्दैन। उनीहरूलाई लाग्दो हो, त्यस्ता महँगा रक्सी खाँदा उनीहरूको शान-मान बढ्छ। तर आखिर रक्सी त रक्सी नै हो। उनीहरूलाई पनि मदिराको लतले नराम्रोसँग गाँजिसकेको हुन्छ।
केही समयअगाडि हेरेको नेपाली सिनेमाको एउटा चर्चित संवाद छ — सबै समस्याको हल, अल्कोहल!
सायद यसैलाइ मूलमन्त्र मानेर आफ्ना पिर, बेथा र एक्लोपन भुलाउन अथवा कमजोरी लुकाउन रक्सीको सहारा लिने मानिस थुप्रै छन्। तर अल्कोहलले हल दिँदैन। यसको लत हलभन्दा पनि एउटा डरलाग्दो दलदल हो। फस्दिनँ भन्दा भन्दै मानिस फसिसक्छ।
एउटा आशालाग्दो कुरा के भने, यो दलदलमा फसेकालाई बाहिर निस्किन सहयोग गर्ने हातहरू हुन्छन्। त्यसका लागि सबभन्दा पहिला डाक्टरसँग प्रत्यक्ष भेटेरै परामर्श लिनु अनिवार्य हुन्छ। यो गुगल र अनलाइन खोजबाट मात्र चाहिँ सम्भव छैन।
अन्तमा एउटा प्रश्न सोध्न चाहन्छु — तपाईंको टोलमा बिहान सबभन्दा छिटो खुल्ने र बेलुकी सबभन्दा ढिलो बन्द हुने पसल कुन हो?
औषधि पसल भन्नुभएको होला होइन त?
तपाईंको तिर त के छ कुन्नि, मेरो टोलतिर चाँहि त्यस्तो पसल रक्सी पसल नै हो।
रक्सीको दुर्व्यसन नेपालको मात्रै नभई, विश्वव्यापी जनस्वास्थ्य समस्या हो। यसको सही पहिचान र समाधानका बाटाहरू शीघ्र खोजिनुपर्छ। विकराल बन्दै गइरहेको यो समस्याको यथोचित सम्बोधन नीतिनिर्माणको तहबाटै हुनुपर्छ। विगतमा भएका कामहरू सर्सर्ती नियाल्ने हो भने, विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा रक्सी दुर्व्यसन रोक्न विशेष कार्ययोजना तर्जुमा गरेको भेटिन्छ। सन् २०३० सम्म आफ्ना सदस्य राष्ट्रहरूमा रक्सीको हानिकारक प्रयोग २५ प्रतिशतले घटाउने लक्ष्य संगठनले लिएको छ।
नेपालले पनि सन् २०१७ बाट मदिराजन्य पदार्थ बिक्री, वितरण र प्रयोग नियमन गर्न नयाँ नीति अपनाएको छ। जसअनुसार, मदिरा किन्न जाने व्यक्ति कम्तीमा २१ वर्ष पुगेको हुनुपर्ने, निश्चित समय र निश्चित पसलमा मात्रै बेचबिखन गर्न पाइने, सरकारी संस्थाका कुनै पनि कार्यक्रममा मदिरा राख्न नपाइने, मदिराको विज्ञापन पूर्ण रूपमा वर्जित गर्ने इत्यादि छन्।
यी कदम राम्रा हुँदाहुँदै पनि कार्यान्वयनको कमी र चुस्त अनुगमन अभावले मदिरा दुर्व्यसनको नियन्त्रण प्रभावकारी हुन सकेको छैन। त्यसमाथि रक्सी दुर्व्यसन र यसका रोकथामका विषयमा बहस र अन्तरक्रियाहरू वास्तवमा पुगेकै छैनन्। हामीले अरू धेरै कुरा जस्तै रक्सी र यसका लतबारे खुलेर कुरा गरेकै छैनौं। न अहिलेका किशोरकिशोरीलाई यसबारे बुझाएका छौं, न यो दलदलमा फसेकालाई निस्किने बाटो नै सुझाएका छौं।
त्यसैले लेखको बिट मार्दै फेरि पनि भन्छु — रक्सी कुनै कुराको हल अर्थात् उत्तर होइन, यो त प्रश्न भुलाउने एउटा झोल मात्र हो!
(डा. आयास लुइँटेल, एमडिजिपी, वीर अस्पताल।)
ट्विटर (एक्स): @luintelaayas
(आयास लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)