'भोलिदेखि त पक्का मर्निङ वाकमा निस्किन्छु।'
'दसैंमा त तौल घटाउन सक्दो कोसिस गर्छु।'
'आउने जन्मदिनदेखि नियमित व्यायाम गरेर भुँडी घटाउँछु।'
तपाईं पनि मजस्तै तौल घटाउन एउटा साइत जुराएर व्यवहारमा नउतार्दै अर्को साइत जुराउने व्यक्तिको समूहमा पर्नुहुन्छ कि अर्को समूहमा?
यो लेख म स्वयं र 'पेट घटिदिए हुन्थ्यो' भनेर कल्पना गर्ने तर व्यवहारमा उतार्न प्रयास नगर्ने म जस्ता व्यक्तिहरूमा समर्पित छ।
भेट्ने भनेर समय जुराउने तर भेट्न नसकेका स्कुल पढ्दाका हामी केही साथीहरू अन्ततः एकदिन आपसमा भेट्यौं। बीस जनाको समूहमा अहिले चार जना मात्र नेपालमा रहेछौं।
एउटा साथीलाई अर्को साथीले जिस्क्यायो — तिम्रो पेट त पुक्कै बढेछ नि!
'धन्य, मलाई भनेन' भन्ठानेर म मख्ख भएँ।
त्यही साथीले प्वाक्क भनिहाल्यो — तिमीलाई त झरिसकेको कपालमा जिस्काम् कि पेटमा भनेर दुबिधा भएकाले केही नभनेको!
यत्तिकैमा पुक्क पेट निस्कियो भनिएको साथी बोल्यो — यो पेट लागेको होइन, यो त खान्दानको मानक हो, इज्जत भन्छन् क्या यसलाई!
डाक्टर भएको नाताले मेरो मनमा प्रश्न उब्जियो — आज पनि नेपाली समाजमा कसैको पेट ठूलो हुनु इज्जतको मानक नै हो?
आफू हुर्केको समाज र देश हुँदै संसार थाहा पाएको आजको पुस्ताले पनि मोटो हुनु भनेको खान्दानको इज्जत हो भन्ने ठान्नु त भ्रम नै हो। यस्तो भ्रमबाट कहिले मुक्त हुने होला!
पछिल्ला केही दशकमा हामी नेपालीको बदलिँदो जीवनशैलीले कस्ता कस्ता समस्या निम्त्याएको छ भन्नेबारे हामीलाई निकै कम हेक्का छ। यो लेखमा मैले यसबारे चर्चा गरेको छु।
के हो मोटोपन?
विश्व स्वास्थ्य संगठनका अनुसार शरीरमा असाधारण वा अत्यधिक बोसो जम्मा हुनु मोटोपन हो। मानिसले लिने क्यालोरीको मात्रा र खर्च गरिएको मात्रा बीचको फरकपन मोटोपनको मापक हो।
यो लेख सुरू हुँदै गर्दा तपाईंलाई आफ्नो मोटोपनबारे जान्न मन भएको होला। यसको एउटा सामान्य नियम छ। तपाईंलाई आफ्नो तौल (किलोमा) पक्कै थाहा होला। आफ्नो उचाइ नाप्नुहोस् (मिटरमा)।
यसपछि तौल परिमाणलाई उचाइको परिमाणको वर्गले भाग गर्नुहोस्।
यसरी आउने भागफल बिएमआई (बडी मास इन्डेक्स) हो।
यसरी हेर्दा तपाईंको बिएमआई २५ भन्दा माथि देखियो भने उच्च तौल हुनेमा पर्नुहुनेछ। ३० भन्दा बढी आएमा तपाईं मोटोपन भएको व्यक्तिमा पर्नुहुनेछ।
ल, अब एकैछिन यो लेख पढ्न रोकेर आफ्नो बिएमआई निकाल्नुहोस् त!
यो लेख लेख्ने म पनि उच्च तौलको व्यक्ति हुँ।
अँ आफ्नो बिएमआई थाहा पाउनुभयो होला, होइन त! अवस्था कस्तो रहेछ?
विश्व स्वास्थ्य संगठन भन्छ — सन् २०३० सम्ममा संसारमा मृत्यु हुनेहरूमध्ये ३० प्रतिशत मानिस अनियन्त्रित खानपिन र अस्वस्थकर जीवनशैलीबाट लाग्ने रोगहरूले ग्रसित भएका हुनेछन्।
यसको अर्थ उनीहरूको मृत्यु मोटोपनबाट सिर्जित रोगका कारण भएको हुनेछ।
'द ल्यान्सेट' जर्नलमा हालै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा झन्डै ८८ करोड वयस्क र १५ करोड ९० लाख बालबालिकामा मोटोपनको समस्या देखिएको छ। अहिले संसारमा सात जनामध्ये एक जनालाई मोटोपन समस्या छ, उच्च तौलको होइन।
सन् १९९० को तुलनामा बालबालिकामा मोटोपन हुने दर चार गुणाले र वयस्कहरूमा दुई गुणाले बढेको अनुसन्धानले देखाएको छ। अहिले धेरै देशका निम्ति मोटोपन समस्या बन्दै गएको छ। कम वजनको समस्या झेल्ने देशहरूको संख्या घट्दो क्रममा छ। कम वजन वा कुपोषण भएका वयस्कहरूको संख्या सन् १९९० को तुलनामा करिब ५० प्रतिशतले घटेको ल्यान्सेटकै अनुसन्धानमा उल्लेख छ।
नेपाल डेमोग्राफिक हेल्थ सर्भे, सन् २०२२ को रिपोर्टअनुसार पाँच वर्षमुनिका एक प्रतिशत बालबालिकामा मोटोपनको समस्या देखिएको छ। बलियो नेपाल नामको गैरसरकारी संस्थाले सन् २०२४ मै गरेको एउटा अध्ययनले तीन प्रतिशत बालबालिकामा मोटोपन समस्या देखाएको छ। बागमती प्रदेशमा मोटोपन हुने बालबालिकाको संख्या पाँच प्रतिशत छ। एउटा सरकारी तथ्यांकले ३५ प्रतिशत महिला उच्च तौलमा रहेको देखाएको छ।
ल्यान्सेटका अनुसार बितेको तीन दशकमा मोटोपन हुनेको संख्या बालबालिका, पुरूष र महिलामा क्रमशः चार गुणा, तीन गुणा र दुई गुणा बढेको पाइएको छ। आगामी दिनमा यो संख्या अझै बढ्दै जाने प्रक्षेपण छ।
मोटोपनले नित्याउने समस्या
पातलो शरीर भएकाहरू खान नपाएका, गरिब अनि पुक्क पेट लागेकाहरू खाइलाग्दा र खान्दानी हुन् भन्ने घातक भाष्य परिवर्तन गर्न जरूरी छ। बाँच्नका लागि खानेभन्दा पनि खानका लागि बाँच्ने प्रवृत्तिले नेपालमा मोटोपन बढ्दै गएको देखिन्छ। मोटोपनले मानिसलाई मोटो बनाउने मात्र नभई सम्पूर्ण स्वास्थ्यमा असर पार्छ। त्यसैले समयमै तौल घटाउनु आवश्यक हुन्छ।
मोटोपनकै कारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, उच्च कोलेस्ट्रोल, थाइरोइड लगायत समस्या बढेको देखिन्छ। सरकारी अस्पतालमा वर्षभरिमा आउने बिरामीहरूको रिपोर्ट हेर्ने हो भने, उच्च रक्तचाप वा मधुमेह नै बढी देखिन्छ। अस्तव्यस्त जीवनशैली, कामको अत्यधिक चाप, अव्यवस्थित खानपिन, जंक फुड, अखाद्य वस्तुको बढ्दो प्रयोग अनि न्यून व्यायामले मोटोपन समस्या बढ्दो छ।
निष्क्रिय जीवनशैली र अस्वस्थकर खानपिनले नै मोटोपनको समस्या बढाएको हो।
बालबालिकाको सवालमा केही वंशाणुगत रोग वा हर्मोन गडबडीका कारण पनि मोटोपन हुन सक्छ। मोटो बच्चालाई समयमै चिकित्सक कहाँ लैजानु राम्रो हुन्छ।
मोटोपनका कारण उच्च रक्तचाप (हाइ ब्लडप्रेसर), हृदयाघात (हार्ट अट्याक), मधुमेह (डाइबेटिज/सुगर), कलेजोमा बोसो (फ्याटी लिभर), मस्तिष्काघात (ब्रेन ह्यामरेज), घुर्ने वा निद्रामा सास रोकिने, दम लगायत समस्या हुन सक्छन्।
मोटोपनबाट कसरी जोगिने?
एक जनाले भने — डाक्टर साहेब, मेरो तौल बढ्यो। तीन किलो पो बढेछु! कसरी घट्ने होला!
ती व्यक्तिलाई पुक्क भुँडी भएका एक जना अग्रज डाक्टरले सुझाब दिए। छेउमै रहेका अर्का एक जना बोले — अनि डाक्टर साहेब, अरूलाई दिएको सल्लाहअनुसार तपाईं आफै चाहिँ नचल्नुभएको नि?
वरिपरिका अरू सबै जना मजाले हाँसे।
अग्रज डाक्टरले मुस्कुराउँदै आफ्नो भुँडी सुम्सुम्याए।
आजभोलि समय फेरिएको छ। अरूलाई सल्लाह दिँदा आफू स्वयंले कति पालना गर्छ भनेर अर्कोले नियालिरहेको हुन्छ। सामान्यभन्दा सामान्य ज्ञान नभए पनि आफूलाई भएको लक्षण र औषधिको नाम गुगल गरेर थाहा पाउने प्रवृत्ति नेपाली समाजमा बढ्दो छ। यस्ता प्रवृत्तिका बीच मोटोपन घटाउने उपाय थाहा नपाउने त कमै होलान्। विडम्बना! थाहा पाएरै पनि पालना गर्ने साह्रै थोरै छन्।
'चुरोटले तपाईंको छातीमा नराम्रो असर गरिसकेछ, अब छोडिहाल्नुस्' भनेर सल्लाह दिने डाक्टर र सल्लाह लिने बिरामी दुवै अस्पताल छेउकै पसलमा चुरोट तान्दै गरेका भेटिए भने अचम्म मान्नै पर्दैन।
'भोलि बिहान उठ्ने बित्तिकै हिँड्छु, व्यायाम गर्छु' भन्ने सोचेर सुतेको व्यक्ति बिहान आठ बजेतिर हाई काढ्दै उठे पनि अचम्म हुँदैन।
यो लेख पढ्ने कतिपय पाठक पनि यस्तै हुन सक्नुहुन्छ।
विडम्बना! यो लेख लेख्ने मै पनि एक दिन व्यायाम गरेर एक महिना आराम गर्नेमध्ये पर्छु।
के गर्ने?
बढी तेल भएको, प्याकेटको, फ्राइ गरेको खाना, बजारमा पाइने मिठाइ र चिसा पेय पदार्थ जस्ता गुलिया वस्तु सकेसम्म नखाने। मद्यपान, धुमपान र सुर्तीजन्य पदार्थको असर सबैलाई थाहा छँदै छ।
प्रशस्त पानी पिउने। धेरैपटक तर थोरैथोरै खाने। सागसब्जी र फलफूलमा बढी जोड दिने; दैनिक बिहान र बेलुका केही फलफूल खाने; सकेसम्म गाँजर, काँक्रो, मुला आदि नियमित खाने। यस्तो खानाले शरीरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ति गर्छ। अनि भातमा कर्बोहाइड्रेट धेरै हुने भएकाले सकेसम्म सागसब्जी र सलादलाई प्राथमिकता दिनु स्वस्थकर हुन्छ।
बेलुकी सकेसम्म सुत्नुभन्दा तीन घन्टा पहिले नै खाना खानु उत्तम हुन्छ। खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने।
नियमित व्यायाम गर्ने, बिहान सबेरै छिटोछिटो हिँड्ने, दौडिने, नाच्ने, उफ्रिने, साइकल चलाउने गर्नु निकै फाइदाजनक हुन्छ। फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, टेनिस, स्किपिङ जस्ता गतिविधिले शरीरमा क्यालोरी खर्च हुन्छ र मोटोपन घट्छ।
कति क्यालोरी खर्च भएछ भनेर मिनेट मिनेटमा स्मार्टघडी वा एप हेर्दै मख्ख पर्नुभन्दा आफ्नो ज्यानको आवश्यकता अनुसार व्यायाम गर्नु र स्वस्थकर जीवनशैली अपनाउनु श्रेयस्कर हुन्छ। खानामा सन्तुलन नमिलाउने हो भने व्यायाम मात्रले मोटोपन घट्दैन।
त्यसैले लेखको सुरूमा भनेझैं तपाईंको जीवनशैली परिवर्तन गर्ने अपरिवर्तनीय साइत यही दसैं बनोस्। मोटोपन र अस्वस्थ जीवनशैलीबाट हुने रोगहरूबाट बेलैमा सचेत भएर स्वस्थ जीवन बाँच्न सकियोस्।
जिन्दगीमा आफ्नो शरीरबाहेक आफ्नो नियन्त्रणमा केही पनि छैन। यही एउटा शरीर पनि नियन्त्रण गर्न नसके त मोटोपनबाट हुने हानी बेहोर्नुको विकल्प हुने छैन!
(सुदन अधिकारीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @ApuroSudan