मैले २०६५ सालयता एक चिकित्सकको हैसियतले मानिसको खानपिनलाई हेरिरहेको छु। २०७१ सालयता एक प्याथोलोजिस्टको नाताले क्यान्सरमा आइरहेको बढोत्तरीलाई मानिसको बदलिँदो आहारविहारको सापेक्षमा राखेर हेरिरहेको छु।
गत सात महिना यता चाहिँ एक वनस्पति–आहारीको हैसियतले यही विषयलाई हेरिरहेको छु।
कुनै पनि चिज मानिस कुन धरातलमा उभिएर हेरिरहेको छ भन्ने कुराले धेरै फरक पार्छ। त्यसैले यो दसैंका लागि मैले दुई धरातलमा उभिएर तपाईंहरूको खानपिनका लागि दुई भिडिओ बनाएको छु।
चिकित्सकको खुट्टामा उभिएर हेर्दा हाम्रो खानपिनमा धेरै समस्या छन्, समग्र आहारविहारमा अझ धेरै।
हामी नेपालीहरू सामान्यतयाः नुन आवश्यकताभन्दा बढी खान्छौं। फलफूल आवश्यकभन्दा धेरै कम खान्छौं। शारीरिक अभ्यास कम गर्छौं। मोबाइलमा घोरिएर अनावश्यक धेरै समय बिताउँछौं। हामीकहाँ मोटोपनको समस्या बढ्दो छ। उच्च रक्तचाप र मधुमेहको ग्राफ उस्तै छ। क्यान्सर बढ्दै मात्रै छैन, क्यान्सर हुने उमेर घट्दैछ।
यी यावत् विसंगतिलाई कसरी सुधार्ने?
यो पहिलो भिडिओमा म दसैंको निहुँ पारेर तपाईंहरूलाई सधैं काम लाग्ने दस सूत्र दिंदैछु — पाँच गर्न नहुने काम अनि पाँच गर्नैपर्ने काम।
अनि यो दोस्रो भिडिओमा चाहिँ चितवनका चार जना भेगन साथीभाइ मिलेर भेगन आहारालाई आधार बनाएर मानिसको स्वास्थ्य र भावनासित खानाको सम्बन्धबारे गहन छलफल गरेका छौं।
तपाईं माछामासु र दूधदहीको सोखिन नै हो भने पनि खानेकुरा र मानव स्वास्थ्यको सम्बन्धबारे जति विज्ञान यो छिलफलमा छ, त्यो तपाईंका लागि धेरै उपयोगी हुन सक्छ।
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)