स्कुल जाने अवसर नपाएकी, १२-१३ वर्षजति उमेरकी एक बालिका हरेक दिन बिहान आफैले फलाएको तरकारी बेच्न हाम्रो टोलमा आउँछिन्। उनले तरकारी भरिएको प्लास्टिकको क्रेट नाम्लो लगाएर बोकेकी हुन्छिन्।
ती बालिका आफ्ना आमाबुबाको साथ जीविकोपार्जनका लागि जुम्लाबाट आएकी हुन्। त्यो परिवार चन्द्रागिरि नगरपालिकाको दहचोकतिर थोरै जग्गा लिजमा लिएर बसेको छ। त्यहाँ पशुपालन र तरकारी खेती गर्छ।
म ताजा तरकारी किन्ने सिलसिलामा ती बालिकासँग परिचित भएको हुँ। उनले सागसब्जी तौलिन स्प्रिङजडित हातेयन्त्र बोकेकी हुन्छिन्। मैले छानेको तरकारी जोख्छिन् र परिमाण सुनाउँछिन्।
उनीसँग मोबाइल फोन र क्यालकुलेटर छैन। फरकफरक दरका एकभन्दा बढी तरकारीको कुल परिमाण औंला भाँचेकै भरमा भन्छिन् र पैसाको हिसाब सुनाउँछिन्। उनले दिएको हिसाब ठ्याक्कै मिलेको हुन्छ, लेनदेन फरक पार्दिनन्।
म शिक्षा र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति हुँ। उनीसँग भेट भएपछि म उनको जिम्मेवारी र क्षमताबारे जिज्ञासु भएँ। उनका बारेमा केही जानकारी लिएँ। आजकाल पनि उनीसँग मौका अनुसार थोरैतिनो गफ गर्छु।
उनले जुम्लामा स्कुल जाने अवसर पाइनन्। उनी स्कुल जाने उमेर नपुग्दै एक भाइ र एक बहिनी जन्मे। दुई भाइबहिनीका सामु उनी ठूली ठानिइन्।
त्यही बेला आमाबा मूल घरबाट छुट्टिएर अलग्गै बस्न थाले। बिस्तारै जीविकोपार्जन कठिन हुँदै गयो। बा काम गर्न भारत गए। भाइबहिनी हेर्ने र आमालाई घरायसी काम जेठी छोरीको भयो। उनी विद्यालय जान पाइनन्।
परिस्थितिले ती बालिकालाई सानै उमेरमा जिम्मेवारी सुम्पियो। आमाबाका साथ देशको राजधानी सहरमा आइपुग्दा पनि उनी औपचारिक शिक्षाको अवसरबाट बन्चित नै छिन्।
यो उमेरमा उनको ज्ञान र क्षमताले विद्यालय शिक्षाको अवसर पाएका बालबालिकाको सिकाइ उपलब्धिमा हाँक दिएको छ।
ती बालिकाको हालको उमेर पाँच कक्षा उत्तीर्ण भएर ६ कक्षा पढ्दै गर्ने हो। उनको क्षमताले एउटा प्रश्न उठाउँछ – पाँच कक्षा उत्तीर्ण आजको विद्यार्थीले ९० रूपैयाँ किलोको दरले एक किलो दुई सय ग्राम गोलभेँडाको मूल्य एक मिनेटमा बताउन सक्ला?
व्यावहारिक ढंगले हाम्रा स्कुलबाट पाँच कक्षा उत्तीर्ण अधिकांश बालबालिका यस्तो प्रकृतिका समस्या समाधान गर्न सक्दैनन्। उनीहरूको सिकाइ दैनिक जीवन व्यवहारसँग साह्रै कम मात्र जोडिएको हुन्छ।
किताबी ज्ञानमा पनि सिकाइ उपलब्धि अत्यन्तै निराशाजनक छ।
शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०२० मा गरेको एक बृहत अध्ययन अनुसार तीन कक्षाका विद्यार्थीको औसत उपलब्धिस्तर गणितमा ३७ प्रतिशत र नेपाली पढाइ लेखाइमा ४४ प्रतिशत छ।
पचास प्रतिशतभन्दा कमको यो सिकाइ उपलब्धिले ठूलो संख्यामा विद्यार्थीहरू गणितका आधारभूत जोडघटाउ गर्न र नेपाली भाषामा साधारण लेखपढ गर्न अक्षम रहेको देखाउँछ।
हालै पाठ्यक्रम विकास केन्द्रले बालबालिकाको सिकाइ दैनिक जीवनसँग जोड्ने प्रयास स्वरूप परीक्षण सुधार सम्बन्धी एक गोष्ठी आयोजना गरेको थियो। त्यसमा विज्ञका तर्फबाट हामी धेरैले केही विषय उठान गर्यौं।
पाठ्यक्रम विकास केन्द्रका विज्ञहरूले गरेको सुधारको प्रयास सराहनीय थियो। गोष्ठीमा ससाना व्यावहारिक विषयमा मसिनो गरी छलफल चल्यो, सुधारको केही मार्गचित्र बन्यो।
कुनै व्यापारीले जुम्लामा प्रतिकिलो ८० रूपैयाँका दरले स्याउ किनेर काठमाडौं ल्याई प्रतिकिलो ८५ रूपैयाँमा बेच्छ भने उसलाई कति नाफा हुन्छ?
हामीले गणितको कक्षामा यस्ता प्रश्नमा क्रयमूल्य र विक्रयमूल्य भन्यौं, नाफा-नोक्सानको सूत्र सिकायौं, हिसाब गर्न सिकायौं।
यस अनुसार विद्यार्थी पाँच रूपैयाँ नाफा हुन्छ भनेर हिसाब निकाल्न जान्ने भयो तर जुम्लाको स्याउ काठमाडौं ल्याएर बेच्दा यसरी नाफा होला त भनेर कहिल्यै छलफल गराएनौं।
लम्बाइ र चौडाइ गुणन गरेर सतहको क्षेत्रफल निकाल्न पनि सिकायौं तर आफ्नो कक्षाकोठाको र आफ्नै करेसाबारीको लम्बाइ-चौडाइ फित्ताले नापेर क्षेत्रफल निकाल्न लगाएनौं।
अन्ततः हामीले चार कुना मिलेको आफ्नै जग्गाको क्षेत्रफल मापन गर्न नसक्ने जनशक्ति उत्पादन गर्यौं। विद्यालय शिक्षाको अवसर नपाएका तर कामबाटै सिकाइ गरेका अमिनहरू गाउँघरमा जग्गा नापिदिन्छन्। कहिल्यै स्कुल जान नपाएकी ती बालिका नापअनुसार तरकारीको मूल्य ठ्याक्कै बताउँछिन्, जोड-घटाउ गरेर पैसा लिन्छिन्, फिर्ता दिन्छिन्।
आजकाल कतिपय व्यक्तिहरू भन्छन् — हालको प्राथमिक शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तक भन्दा त उहिलेको 'ठूलो वर्णमाला' धेरै व्यावहारिक थियो, त्यसको औसत सिकाइ उपलब्धि आजको भन्दा बढी थियो।
हुन पनि स्वाध्ययन सामग्रीका रूपमा रहेको उक्त पुस्तकमा दैनिक जीवन र घरायसी समस्या समाधानका सबैजसो आधारभूत विषय समावेश थिए। भाषाशैली पनि परिपक्व थियो।
यसो हो भने हामी कहाँ चुक्यौं त?
विद्यालय तहको हाम्रो पाठ्यक्रम प्रणाली केलाएर हेर्दा पाँचवटा मूल समस्या देखिन्छन्।
१. विद्यालय शिक्षामा सैद्धान्तिक ज्ञानको मात्रा बढी भयो। ती सिद्धान्तको व्यावहारिक महत्त्व के हो र कसरी उपयोग गर्न सकिन्छ भन्ने पक्षमा हाम्रो पाठ्यक्रम कमजोर भयो।
हामीले बसाइँसराइ भनेको के हो, बसाइँसराइको फाइदा र बेफाइदा के हो, बसाइँसराइ किन हुन्छ भन्ने मात्र पढायौं।
परीक्षामा यस्तै प्रश्न सोध्यौं र जबाफ लियौं तर तिम्रा जिजुबाआमा कहाँ हुनुहुन्थ्यो, अहिले तिम्रो बसोवास कहाँ छ भनेर सोधेनौं।
जिजुबाआमाको बसोबास भएकै ठाउँमा छौ वा त्यहाँबाट अन्यत्रै सर्यौ भने यी दुवै अवस्थाले तिम्रो जीवनमा के सकारात्मक परिवर्तन ल्यायो भनेर सोधेनौं। यस्ता प्रश्नको जबाफ लिएनौं।
२. हामीले पाठ्यपुस्तकलाई नै शिक्षण सिकाइको मूल स्रोत ठान्यौं। हो, अलिक पुरानो विगतमा हामीसँग ज्ञानका औपचारिक स्रोतहरू कम थिए, पाठ्यपुस्तक नै प्रधान थियो।
अहिले ज्ञानका असीमित स्रोतमा धेरैको पहुँच छ तैपनि हामी शिक्षक कक्षाकोठामा छिर्ने बित्तिकै यति पृष्ठसंख्या पल्टाऊ भनेर विद्यार्थीलाई अह्राउँछौं, किताबमा लेखेको जति नै सिकाइको स्रोत हो भन्ने ठान्छौं। यसैअनुसार पढाउँछौं।
अहिले धेरै देशमा पाठ्यक्रमले सिकाइ उपलब्धिको लचिलो सहमति बनाएर शिक्षकलाई विषयवस्तु र क्रियाकलाप छान्ने बाटो खुला गरिदिएको छ।
हाम्रो देशका हामी शिक्षकहरू 'अझै स्कुलमा पाठ्यपुस्तक आइपुगेकै छैन' भनेर शैक्षिक वर्ष सुरु भएको दुई-तीन महिनासम्म अलमल गरेर बसेका हुन्छौं।
३. हामीले विद्यालय तहको पाठ्यक्रम निकै बोझिलो बनायौं। सम्बन्धित विषयका सबैजसो क्षेत्र समेट्ने प्रयासमा पाठ्यक्रमले ओगटेको दायरा अत्यन्तै ठूलो हुन गयो। फलस्वरूप शिक्षकलाई शैक्षिक वर्षभित्र कसरी पाठ्यक्रम सक्ने भन्ने तनाव हुन गयो।
हामीले तालिमका सिलसिलामा शिक्षकहरूलाई पाठ्यक्रमको क्रियाकलापमुखी शिक्षण विधिमा प्रेरित गर्ने प्रयास गर्दा उहाँहरू 'त्यस्तो विधिले निर्धारित समयमा कोर्स पूरा हुँदैन' भन्नुहुन्छ।
पाठ्यक्रममा पाठ्यवस्तु छनौट गर्दा व्यावहारिक प्रयोग हुन सक्ने ज्ञानको आधार लिनुपर्छ। विद्यालय तहमा प्रत्येक विषयमा हाल कायम पाठ्यवस्तु कम्तीमा एक तिहाइ कटौती गर्नुपर्ने स्थिति छ। कुनै विषयमा त आधा घटाउनुपर्ने देखिन्छ।
के सिकाउन आवश्यक छ र के आवश्यक छैन भन्ने कुरामा बहस हुन सक्छ। हामीले मान्दै आएका परम्परागत विज्ञको मात्र होइन, सामाजिक जीवनमा योगदान गरेका सबैको रायसल्लाह लिनुपर्छ। यसमा शिक्षकलाई पनि सहभागी गराउनुपर्छ।
हालै मेरा एक जना छिमेकीले सोध्नुभयो – तपाईंहरू सामाजिक शिक्षा विषयमा विश्वको भूगोल पनि पढाउनुहुँदो रहेछ तर मेरो छोरालाई आफ्नै पाखाबारीको भूगोल र त्यहाँ फल्ने बालीनालीको अत्तोपत्तो छैन, मलाई उदेक लाग्छ, तपाईंहरू किन उसको नजिकको जीवन छाडेर टाढाको संसार पढाउनुहुन्छ?
यो प्रश्न शिक्षा क्षेत्रमा काम गर्ने हामी र पाठ्यक्रम बनाउने सबैका लागि हो भन्ने मलाई लाग्छ।
४. हामीले सिकाइ हुने ठाउँ विद्यालय र कक्षाकोठा मात्र हो भन्ने भाष्य बनायौं। विद्यालयको दैनिक समय पाँच-सात घण्टीमा बाँडेर अलगअलग विषयको सैद्धान्तिक रटानमा व्यस्त हुन सिकायौं।
यता हाम्रो जीवन बहुविषयक, खुला र स्वतन्त्र छ। विद्यालयमा हुने सिकाइलाई व्यावहारिक तयारीको अवसर मान्ने हो भने सिकाइ प्रक्रिया कक्षाकोठा बाहिर पनि निकाल्नु आवश्यक छ। विद्यार्थीलाई क्रियाकलापको माध्यमबाट वातावरणसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर दिनुपर्छ।
सिकाइ चौरमा, बगैंचामा, खोलानालामा, खेतीमा, पाखाबारीमा, जंगलमा पनि हुन दिनुपर्छ।
कक्षाकोठामा लहर मिलाएर राखिएका डेस्कबेन्चमा बसेर अनुशासित भई शिक्षकतर्फ एकोहोरो हेर्दै किताबमा लेखिएका प्रसंगको व्याख्या सुनेर मात्र सिकाइ पूरा हुँदैन। यस्तो सिकाइले व्यावहारिक जीवनको तयारी हुन सक्दैन।
५. हामीले स्कुलबाट विद्यार्थीले सिके-नसिकेको यकिन गर्न लिखित परीक्षा मात्र बलियो विधि हो भन्ने मान्यौं। यस्तो परीक्षाबाट प्राप्त अंक र ग्रेडलाई नै सर्वेसर्वा बनायौं।
पाठ्यक्रम विकास केन्द्रले यसमा सुधारको प्रयास नगरेको होइन तर शिक्षकहरू खासै तयार हुन सकेनन्।
पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि तीनसम्म एकीकृत पाठ्यक्रम लागू गरी जीवनमुखी क्रियाकलापका आधारमा शतप्रतिशत निरन्तर सिकाइको मूल्यांकन गर्ने व्यवस्था गर्यो।
यसअनुसार विद्यार्थीले सिकेको कुरा कम्तीमा साप्ताहिक वा एकाइगत रूपमा अभिलेख गर्दै पोर्टफोलियोमा आधारित मूल्यांकन गर्नुपर्ने भयो।
अधिकांश विद्यालय यसका लागि तयार भएनन्। यो विधि लागू नगरी पुरानै तरिकाले लिखित जाँच लिने र नम्बर दिने विधि नै अपनाइरहे।
अधिकांश निजी विद्यालयले त यस प्रकारको पाठ्यक्रम अवलम्बन नै गरेनन्। उत्कृष्ट ठानिएको एकीकृत पाठ्यक्रम यस्तै कारणले हाम्रा विद्यालयमा असफल बन्दै गएको छ।
हाल पाठ्यक्रम विकास केन्द्रले चारदेखि आठ कक्षासम्म ५० प्रतिशत र आठ कक्षामाथि २५ प्रतिशत भारको परियोजना कार्य र व्यावहारिक सिकाइको निरन्तर मूल्यांकन गर्ने अनि बाँकी भारको लिखित परीक्षा लिने विधि लागू गरेको छ।
हामी शिक्षकहरू भने पोर्टफोलियोबिनै विद्यार्थीलाई निरन्तर मूल्यांकनको अंक दिइरहेका छौं, अझ पूर्णांक नै।
हामी देख्न सक्छौं, अधिकांश सामुदायिक र निजी विद्यालयले विद्यालय तहका अन्तिम परीक्षा एसइई र एसएलसीमा परियोजना कार्य र व्यावहारिक सिकाइबापत २५ पूर्णांकमा सबै विद्यार्थीलाई २४-२५ अंक दिएका हुन्छन्।
यस्तो अंकका आधारमा त हाम्रा विद्यार्थीहरू सिकाइको व्यावहारिक पाटोमा अब्बल छन् भनेर मान्नुपर्ने हुन्छ तर यथार्थ यस्तो छैन।
हाम्रा विद्यार्थीहरू आफ्नै घरवरपरका बोटबिरूवा चिन्दैनन्, बदामको फल कहाँ लाग्छ भन्ने जान्दैनन्, घरमा आफै पकाएर खान सक्दैनन्, भर्पाइ लेख्न जान्दैनन्, आफ्नो कोठा मिलाउन र बाथरूम सफा गर्न जान्दैनन् भनेको सुनिन्छ।
नातागोताको साइनो पर्गेल्न सक्दैनन्; व्यक्तिअनुसार मानसम्मान, माया र वात्सल्य देखाएर बोल्न जान्दैनन् भन्ने गुनासो पनि सुनिन्छ।
अन्त्यमा, स्कुलमा १०-१२ वर्ष बिताएका हाम्रा छोराछोरी जीवनयापनका यी साधारण काम सिक्न र गर्न असमर्थ छन् भने परियोजना कार्य र व्यावहारिक सिकाइमा विद्यालयले दिएको त्यो २४-२५ अंकको के अर्थ!
यस्तै अभ्यास कायम रहे हाम्रा विद्यार्थीहरूले व्यावहारिक सीप सिक्ने छैनन्। यस्तो अभ्यासको तुलनामा त हाम्रो टोलमा तरकारी बेच्न आउने जुम्ली बालिकाको अभ्यास र ज्ञान नै अब्बल छ नि, होइन र!
यसले के देखाउँछ भने सैद्धान्तिक जत्तिकै जोड व्यावहारिक ज्ञानमा पनि दिन अवश्यक छ।
(डा. पेशल खनाल त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकायका प्राध्यापक हुन्।)