अमेरिकी लेखक फिलिप गोल्डवर्गले पूर्वीय सभ्यताका 'ऋषि' लाई टपक्क टिपेर आफ्नो किताबको एउटा अध्याय लेखेका छन् – अ ऋषि इन कंकर्ड।
ऋषि चिन्ने यात्रामा लामो समय बिताएका गोल्डवर्गलाई किन कोही ऋषितुल्य लाग्यो?
यो लेखमा म तिनै गोल्डवर्गको 'ऋषि' चिनाउने कोसिस गर्छु, जसलाई लोकले राल्फ वाल्डो इमर्सन भनेर चिन्छ। साथमा, इमर्सनसँग काँधमा काँध मिलाएर वेदको बयान गर्न खटिएका हेनरी डेविड थोरोको योगदानलाई पनि समेट्ने कोसिस गर्नेछु।
ती 'ऋषि' अर्थात् इमर्सन कुनै बेला हार्वर्ड कलेज (अहिलेको हार्वर्ड युनिभर्सिटी) का विद्यार्थीलाई साहित्य र दर्शनको प्रवचन दिन्थे। विद्यार्थी जीवनदेखि नै दर्शनशास्त्रमा उनको गहिरो रूचि थियो। प्राचीन ग्रिकदेखि आधुनिक युरोपसम्मको दर्शनशास्त्र छिचोलिसकेपछि उनी पूर्वीय दर्शनले वशिभूत भए।
इमर्सनले त्यस बखत भारतको इतिहास, त्यहाँको विश्वास र धार्मिक अभ्यासका पहेली खुट्याउन खोजेका थिए। उनी भन्थे, 'जीवनको उद्देश्य भनेको आध्यात्मिक रूपान्तरण र दिव्य शक्तिसँगको प्रत्यक्ष अनुभव हो।'
यो सन् १८३४ को कुरा हो। आध्यात्मिक उन्नतिमा एकान्तको महत्त्व बुझेपछि उनी बस्टनको व्यस्त हार्वर्ड स्क्वायरबाट २० किलोमिटर टाढा कंकर्ड बसाइ सरे। त्यसैले मलाई पनि इमर्सनकै पदचिह्न पछ्याउँदै हार्वर्ड स्क्वायरबाटै कंकर्ड यात्रा सुरू गर्न मन लाग्यो।
त्यतिखेर सहरबाट टाढा अलग्गै बस्न इमर्सनले रोजेको ठाउँ पुग्न मलाई जिपिएसले जम्मा २५ मिनेट देखायो।
'कंकर्डका ऋषि' बुझ्न जाँदा बाटोभरि मलाई वैदिककालीन ऋषिका कथा/कहानी याद आए। के कसैले पगरी गुथाइदिँदैमा कोही ऋषि हुन सक्ला र!
मलाई कता कता गोल्डवर्गले इमर्सनलाई दिएको विशेषणसँग इर्ष्या जाग्यो।
आफूले सुनेका ऋषिहरूका गाथाले यी ऋषिप्रति ममा पूर्वाग्रह जन्माएको पनि हुनसक्छ!
मैले सुनेका पौराणिक कथाहरूमा ऋषिका कयौं गाथा छन्। कहिले ती चमत्कारी लाग्छन्, कहिले कल्याणकारी। कोही विद्रोही छन्, कोही सहनशील। कोही करूणामयी छन्, कोही रिसाहा। तर सबैको जगमा छ तपस्या र कष्टसाध्य साधना। तिनका तपोबलका कथामा कति अतिरञ्जना होला, कति यथार्थ; त्यो छुट्याउनु मेरो वशमा छैन।
ती ऋषिका रचना वेद, उपनिषद्, गीता र पुराण बनेर अस्तित्वमा छन्। आफ्नै रचनाका ऋचा र मन्त्रमा ती उज्याला देखिन्छन्, उज्यालो देखाउँछन्।
आफ्नो बुझाइको ऋषि व्यक्तित्वसँग 'कंकर्डका ऋषि' तुलना गर्दै गुडिरहेको म थाहै नपाई वाल्डेन पोन्ड पुगेँ। डिसेम्बरको चिसो दिन त्यहाँ पानी जमेर बरफ बनेको थियो। जलक्रिडा गर्न नपाएर हाँसका बथान किनारमा झुम्मिएका थिए। पोखरीको उत्तरपट्टि डिलमा एउटा सानो कुटी देखियो। कुटीअगाडि शालिक देखेपछि मलाई लाग्यो, ए ठिक ठाउँमै आइपुगेछु!
नझुक्किनुस् है, यो शालिक इमर्सनको होइन नि! यो त इमर्सनका विद्यार्थी हेनरी डेविड थोरोको हो।
अध्यात्म र दर्शनको क्षेत्रमा खरो उत्रिएका यी गुरूचेलाको 'कनेक्सन' म बिस्तारै वर्णन गर्नेछु।
'थोरो त होचा रहेछन्,' मान्छेको औसत कदभन्दा सानो बनाइएको शालिक नियाल्दै कुनै पर्यटकले भने। उनको त्यो ठट्टालाई त्यहाँ उपस्थित अर्कोले सायद गम्भीर रूपमा लिएछ। फ्याट्टै जबाफ दियो, 'थोरोको उचाइ थाहा पाउन 'वाल्डेन' पढ।'
ओहो हो त नि! यही वाल्डेन पोखरीको डिलमा बसेर थोरोले लेखेका थिए — वाल्डेन।
आजपर्यन्त अमेरिकामा धेरैले पढ्ने र त्योभन्दा धेरै उद्धृत गरिने किताबमा पर्छ यो। कुनै बखत यही पोखरी थोरोको सिर्जना-स्रोत बन्यो। पोखरीमै उनले पूर्वको पवित्र गंगा देखे। ब्रह्मा, विष्णु र इन्द्रका सेवकहरू गंगा किनारमा बसेर वेद पढिरहेको कल्पना गरे।
थोरोको पवित्र पोखरीमा हात नचोपली के फर्कनु भनेर म कुटीदेखि तल ओर्लिएँ। जमेको पोखरी हुँदै बगेको चिसो सिरेटोले सेक्यो। सम्झनामा आयो, 'वाल्डेन' मा समाहित एउटा निबन्ध 'द पोन्ड इन विन्टर' जसमा उनले श्रीमद् भगवद् गीताबारे लेखेको पंक्ति पढेर त म भुतुक्कै भएको थिएँ।
उनी लेख्छन् — 'प्रत्येक बिहान म आफ्नो बुद्धिलाई गीताको शानदार एवं अलौकिक दर्शनमा स्नान गराउँछु। यो देववाणी हजारौं वर्षअघि नै मनुष्यलाई प्राप्त अमूल्य उपहार हो। यसको तुलनामा हाम्रा आधुनिक साहित्य तुच्छ र फिका लाग्छ।'
गीताबारे कयौं प्रशस्ति गाइएका छन्। कयौं महात्म्य लेखिएका छन्। गीता नै मुक्तिको द्वार हो भन्ने साधुसन्त जति पनि छन्। तर थोरोले गीताको प्रशंसा लेखेर मात्र बसेनन्, आफ्नो जीवशैली नै गीतासम्मत् बनाए।
जीवन रूपान्तरण भएन भने जीवनभर शास्त्र रटे पनि के सार!
एकछिन मेरो दिमागमा यजमानका लागि मात्र गीता पढिदिने पण्डितहरू घुमे। छोरी मान्छेले गीता पढे बहुलाउँछन् भन्ने समाजका विकृत ध्वनिहरू बजे। यो जातकाले मात्र पढ्न हुन्छ, त्यो जातकाले पढ्न हुँदैन भन्ने विभेदकारी वर्गीकरणले घोच्यो।
सँगसँगै, 'गीता पढ्न पात्रता चाहिन्छ' भन्ने उक्ति पनि सम्झेँ। यस्तो उक्ति सम्झनेबित्तिकै ओठमा मुस्कान छायो।
सायद वेदान्त थेग्न सक्ने त्यही 'पात्रता' थियो थोरोमा। त्यसैले त उनले जीवन रूपान्तरण गर्ने बल यसैबाट पाए।
थोरोले सन् १८४५ जुलाई ४ अर्थात् अमेरिकी स्वतन्त्रता दिवस पारेर गृहस्थ त्यागेका थिए। त्यो योजनाबद्ध होइन, संयोग मात्र परेको हो भनेर उनले 'वाल्डेन' मा लेखेका छन्। आफ्नो गुरू इमर्सनले दिएको जग्गामा उनी आफ्नै हातले सानो कुटी बनाएर बसे। दुई वर्ष, दुई महिना, दुई दिनको 'तपस्या' अवधिभर गीता नै उनको साथी बन्यो। त्यसपछि बाहिरी दुनियाँको सम्पर्कमा आए पनि उनको व्यवहार पहिलाको जस्तो सांसारिक भएन।
त्यतिखेर उनी मिलेजति पूर्वीय दर्शन अध्ययन गर्थे। जब उनका साथीले बेलायतबाट वैदिक दर्शनका ४४ वटा अनूदित ग्रन्थ उनलाई पठाइदिए, थोरो त्यसैमा डुबे।
वेद र उपनिषद् पढेपछिको प्रभाव उनले आफ्नो नोटबुकमा यसरी उतारे —
– वेदमा मैले जे पढेँ, त्यसले ममा एक उच्च र शुद्ध प्रकाश खसेको अनुभूति भयो। मलाई यो एक श्रेष्ठ विषयको शुद्ध तवरले गरिएको वर्णनजस्तो लाग्यो।
– जब म वेदको कुनै पनि भाग पढ्छु, आफूलाई अलौकिक र अज्ञात प्रकाशले प्रकाशित गरेको अनुभूति गर्छु। वेदको महान शिक्षामा साम्प्रदायिकताको कुनै गुञ्जायस छैन। यो सबै युग, मौसम र राष्ट्रियताका लागि हो। र, यो महान ज्ञान प्राप्तिको राजमार्ग हो।
– जब मेरो कल्पना देवताको सुदूर वर्षतिर यात्रा गर्न थाल्छ, मलाई लाग्छ म मेरो बिहानीको बासस्थानतर्फ लम्किरहेको छु। तत्क्षण मलाई मिर्मिरेले उज्यालो नजिकै आएको संकेत मिल्छ।
थोरो लामो समय बाँचेनन्। क्षयरोगका कारण ४५ वर्षमै उनको निधन भयो।
तर दुनियाँलाई बाँच्ने कला सिकाएर गए उनी।
लेखक गोल्डवर्गलाई विद्वान एलन होडलरले भनेअनुसार वेदान्तलाई लिएर थोरोका कयौं रहस्यमयी अनुभव छन्।
'यी ग्रन्थहरू तपस्या र आत्मनिरीक्षण पछिका उपलब्धि रहेछन्,' थोरोको अनुभूति उल्लेख गर्दै होडरले भनेका छन्, 'थोरोमा एउटा गहिरो अनुभूति पहिल्यै थियो। तर पूर्वीय दर्शनको अध्ययन नगरेसम्म उनले आफूलाई भएको के हो भन्ने भेउ पाएका थिएनन्। वेदान्तको अध्ययनपछि उनले आफ्नो अनुभूतिको सन्दर्भ भेटे। र, उनले सोचे, ओहो, म एक्लो व्यक्ति होइन रहेछु अनुभूतिको यो तहमा पुगेको! यो त एउटा लामो परम्परा पो रहेछ!'
सम्भवतः उनी पहिलो अमेरिकी हुन्, जसले आफूलाई योगी नै घोषणा गरे।
र, ती योगीको कुटी अहिले पनि तीर्थस्थलजस्तै छ।
त्यहाँ पुग्नुअघि मलाई लागेको थियो, डिसेम्बरको चिसो अपराह्न पात झरेर खैरो बनेको जंगलभित्र को छिर्ला? तर म्यासाच्युसेट्स राज्यको कंकर्ड सिटीमा अवस्थित वाल्डेन पन्ड सोचेजस्तो सुनसान थिएन।
भिजिटर्स सेन्टरले जानकारी दिएअनुसार यहाँ बर्सेनि ५० लाखभन्दा बढी पर्यटक आउँछन्।
थोरोको यस्तो 'क्रेज' देखेर म एकछिन चकित परेँ।
उनको सादगी महसुस गर्न उनको कुटीको प्रतिरूपभित्रै छिरेँ।
उनी अत्यावश्यक वस्तुको मात्र सहायतामा पूर्ण जीवन बाँचौं भनेर जंगलमा बसेका थिए। शास्त्रबाट आर्जित ज्ञान जीवनशैलीमा नउतारिकन पाण्डित्य छाँट्ने कार्य मात्र गरेनन् उनले।
मलाई उनको निधनपछि आयोजित एक कार्यक्रममा इमर्सनले भनेको कुरा सम्झना आयो। आखिर थोरो चिनाउने सामर्थ्य इमर्सनभन्दा बढी कोसँग हुँदो होला र!
थोरोको निधनपछि इमर्सनले उनलाई 'कर्मयोगी' उल्लेख गर्दै दिएको मन्तव्यको अंश यस्तो छ —
'थोरो कुनै पेसामा आबद्ध भएनन्। विवाह गरेनन्। एक्लै बसे। कहिल्यै चर्च गएनन्। कहिल्यै भोट हालेनन्। राज्यलाई कर तिर्न इन्कार गरे। उनी प्रकृतिको सानिध्यमा रहे। जंगलमा बसे तर शिकारीले जस्तो जनावर मार्न जाल थापेनन्, बन्दुक बोकेनन्। राम्रो घर, पहिरन एवं सम्भ्रान्तजस्तो आचरण र बातचितलाई उनले महत्त्व दिएनन्। रात्रिभोजको निमन्त्रणा स्वीकार गरेनन्। उनीहरू आफ्नो भोजको लागत धेरै छ भन्ने देखाएर गर्व गर्छन्, म आफ्नो लागत कम गर्नमा गौरव गर्ने खालको हुँ। अनियन्त्रित इच्छा घटाएर र त्यसलाई स्वयंको बलबुताले पूरा गरेर उनी 'धनी' बने। उनले अत्यावश्यक अवस्थामा मात्र रेल यात्रा गरे। अन्यथा, सयौं माइल हिँडेर, विलासी होटलको साटो किसान र माछापालकको सस्तो घरमा बसे। किनभने, त्यस्ता ठाउँमा उनले चाहेको जानकारी पाउन सक्थे।'
थोरोलाई 'कर्मयोगी' भन्न सक्नुले वेदान्तप्रति इमर्सनको ज्ञान र अभ्यासको पनि छनक दिन्छ। पूर्वीय ग्रन्थहरू अध्ययन गर्ने पहिलो अमेरिकी इमर्सन नै हुन्।
पूर्वमा सिर्जित वेदान्तको त्यो उज्यालो पहिलोपटक अमेरिका आइपुगेको सन् १८२० को दशकतिर हो। भारतलाई उपनिवेष बनाएको ब्रिटेनले आँखा त त्यहाँका राजाहरूको श्रीपेचमा जडित रत्नादीमा लगाएको हो। तर केहीले वेदान्तको ज्ञान पनि देखे, त्यसलाई आफ्नो भाषामा लेखे र ब्रिटेनतिरै पठाए। ज्ञानको त्यो 'रत्न' कसो कसो अमेरिका आइपुग्यो, पानीजहाज चढेर।
सन् १८०३ मा जन्मिएका इमर्सनको समय अमेरिकामा संस्कृतका विद्वान र पुस्तक उपलब्ध हुने कुरै भएन। त्यतिखेर नयाँ सूचनाका स्रोत थिए अखबार, किताब र हस्तलिखित चिठीपत्र जसलाई घोडा, बग्गी र डुंगाले एक ठाउँबाट अर्को ठाउँ पुर्याउने गर्थे।
त्यतिखेरै पनि इमर्सनको बस्टन भने बुद्धिविलासको गतिलै अखडा रहेछ। पढैयाहरूको जमघट सधैं बन्दरगाहतिर, अनि आँखा भने विदेशबाट आउने पानीजहाजमा। त्यही पानीजहाजले ल्याएका सामग्री पढेर उनीहरूले भारत भन्ने देशबारे थाहा पाए। बेलायती लेखकले भारतमाथि लेखेको यात्रा वृत्तान्त पढेर रोमाञ्चित बने। अझ त्यहाँको प्रचीन ग्रन्थको टिप्पणी पढेर थप कौतूहल भए।
चार्ल्स विल्किन्सले अनुवाद गरेको भगवद् गीता पढेपछि भने बस्टनका बौद्धिकलाई ठूलो झट्का लाग्छ।
'गीताको यो पहिलो अंग्रेजी अनुवाद पढेपछि न्यू इङ्ल्यान्डका सम्भ्रान्तहरूले पूर्वीय ज्ञानको खजानालाई उही उत्साहका साथ स्वागत गरे, जसरी व्यापारिक वर्गले एसियाली मसला र कपडाहरूको स्वागत गरेका थिए,' गोल्डवर्गले 'अमेरिकन वेदा' मा उल्लेख गरेका छन्, 'नयाँ स्फुरण र उत्साहले भरिपूर्ण तत्कालीन अमेरिका प्राविधिक सफलताको निकट थियो। यसले अन्ततः भारतको वैदिक विरासतलाई देशको सबै कुनामा पुर्यायो।'
अमेरिकाले इमर्सनलाई पहिलो 'होमग्रोन' दार्शनिक मान्छ। तर उनको विचार र दर्शनलाई आकार दिने काम एसियाले गरेको स्वयं इमर्सनले पनि छिपाएका छैनन्।
गीता पढेपछि उनले सन् १८३१ तिर लेखे, 'यो किताबमा पहिलोपटक यस्तो चिज पढ्न पाएँ, जहाँ एक विशाल साम्राज्य हामीसँग बातचित गरिरहेको छ। त्यो पनि कुनै सानो या अनुपयुक्त विषयमा होइन, बरू ठूलो, शान्त र सुसंगत तवरले। एउटा पुरानो बुद्धिमत्तापूर्ण आवाज जसले नयाँ समयमाथि विचार गर्यो, कयौं अनुत्तरित लाग्ने जिज्ञासाको निवारण गर्यो र हामीलाई असल जीवन बाँच्न प्रशस्त अभ्यास गरायो।'
इमर्सनका किताब र कार्य दुवैको केन्द्रमा वेदान्त छ भनिन्छ। इमर्सन नै अमेरिकाका पहिलो सार्वजनिक चिन्तक थिए, जसले पूर्वीय धर्म/दर्शनलाई खुला हृदयले अँगाले। उनको यही सघन अनुभूति लेखनमा चम्कियो र लाखौं पाठकलाई प्रभावित गर्यो।
इमर्सन, थोरो र कवि वाल्ट ह्विटम्यानको पहलमा सुरू भएको आध्यात्मिक जागरण अभियान 'ट्रान्सेन्डेन्टल मुभमेन्ट' अहिले पनि प्रभावकारी छ। ट्रान्सेन्डेन्टलिस्टमाझ 'मेनिफेस्टो' मानिन्छ इमर्सनको पुस्तक 'नेचर'।
सन् १८३६ मा प्रकाशित निबन्ध 'नेचर' लाई लिएर व्यापक बहस भयो। कसैल निन्दा गरे, कसैले प्रशंसा। तर यही निबन्धमार्फत् इमर्सनको 'प्रवचन यात्रा' र अमेरिकाको पहिलो बौद्धिक जागरण अभियान सुरू भयो। यो निबन्धले व्यक्ति र ब्रह्मान्डको आत्मालाई एकै मान्छ, जुन वेदान्तकै प्रतिध्वनि हो। यसमा भनिन्छ, 'आत्मा नै ब्रह्म हो।'
इमर्सनले आफ्नो विचारलाई आकार दिन पूर्वीय ग्रन्थहरूको उपयोग गरे। प्रशस्त लेखहरू लेखे। आफ्ना अनुयायीहरूलाई सधैं वेदान्त पढ्न प्रेरित गरिरहे। इमर्सन तथा उनको प्रत्यक्ष सानिध्यका थोरो र वाल्ट ह्विटम्यानका कारण १९औं शताब्दीको मध्यदेखि लाखौं शिक्षित अमेरिकीलाई पूर्वीय दर्शनले प्रभावित गरेको जिकिर गर्छ पुस्तक 'अमेरिकन वेदा'। यो तथ्यलाई अर्को पुस्तक 'इमर्सन एन्ड द लाइट अफ इन्डिया' मा रोबर्ट गोर्डनले अझै खुलाएका छन्।
कालान्तरमा उनीहरूको लेखनले भारतीय विद्वानहरू नै प्रभावित हुन पुग्छन्। नोबेल पुरस्कार विजेता भारतीय लेखक रवीन्द्रनाथ टेगोरले अमेरिकी पत्रकारलाई भनेका कुरा गोल्डवर्गले 'अमेरिकन वेदा' मा समेटेका छन्। त्यसमा लेखिएको छ, 'मलाई तिमीहरूको इमर्सन असाध्यै मनपर्छ। उनको काममा भारतबारे धेरै जानकारी मिल्छ। सत्य यो हो कि उनले हाम्रो आध्यात्मिक एवं दार्शनिक व्यक्तित्वको शिक्षालाई आफ्नो जीवनको हिस्सा बनाए।'
आफूले आर्जित ज्ञान र ध्यानको प्रचारमा अमेरिकालाई मुकाम बनाएका परमहंस योगानन्द इमर्सनको प्रभावबारे पूरा जानकार थिए। उनले आफ्नो पुस्तक 'अटोबायोग्राफी अफ अ योगी' मा दसौंपटक इमर्सनलाई उद्धृत गरेका छन्।
उक्त पुस्तकमा इमर्सनको कविता 'माया' को नेपाली अनुवाद यसरी गरिएको छ —
माया
भ्रम अभेद्य हो
अनन्त जालो बुनेजस्तो
उनको मोहक चित्र सधैं रहन्छ
पर्दामाथि पर्दा थप्दै जान्छ
मायावी खेललाई सत्य मानिलिन्छन्
वञ्चनाको शिकार बन्ने मान्छे
इमर्सन र थोरोबाट महात्मा गान्धी पनि खुब प्रभावित थिए। गान्धीले जेलबाट पत्र लेख्दै आफ्ना अनुयायीलाई इमर्सन पढ्ने सल्लाह दिने गरेको प्रसंग पढ्न पाइन्छ। भारतीय ज्ञान र शिक्षालाई कसरी पश्चिमी विद्वानले परख गरे, त्यो थाहा पाउन इमर्सन पढ्नुपर्ने उनको जिकिर हुन्थ्यो।
वाल्डेन पोन्डको भिजिटर्स सेन्टरमा त थोरोबारे गान्धीको भनाइलाई निकै महत्त्वका साथ टाँसेर राखिएको रहेछ — 'थोरो एक महान लेखक, दार्शनिक, कवि एवं त्योभन्दा बढी उनी एकदमै व्यावहारिक व्यक्ति थिए। उनले आफूले अभ्यास नगरेको कुनै पनि कुरा सिकाएनन्।'
गान्धीको अहिंसावादी आन्दोलनमा थोरोले अभ्यास गरेको 'सिभिल डिसओबिडियन्स' को प्रभाव देख्नेहरू पनि छन्।
पूर्वीय दर्शनले अहिंसात्मक विद्रोह गर्न थोरोलाई प्रभावित गर्यो। थोरोले गान्धीलाई प्रभावित गरे। गान्धीबाट फेरि मार्टिन लुथर किङ जुनियर प्रभावित भए। यो तथ्यलाई गोल्डवर्गले पनि उल्लेख गरेका छन्।
टेगोर या गान्धीको समय मात्र होइन, इमर्सन र थोरोहरूले अझै भारतवर्षलाई प्रभावित तुल्याइरहेका छन्। ज्ञानको यो आदानप्रदानबाट के प्रस्ट हुन्छ भने, इमर्सनले आफ्नो दर्शन निर्माणमा पूर्वीय वैदिक ग्रन्थहरूको उपयोग गरे। त्यसैगरी भारतीय चिन्तक/दार्शनिकहरूले आफ्नो क्षेत्रको प्राचीन ज्ञानलाई आधुनिक पाठकको नजरमा 'लेजिटिमाइज्ड' बनाउन इमर्सनको उपयोग गरे।
'अमेरिकन वेदा' का लेखक गोल्डवर्गले सन् २००१ मा यस्तै एक व्यक्ति भेट्छन् भारतको ऋषिकेशमा।
गोल्डवर्ग गंगा किनारमा लखरलखर हिँडिरहेका थिए। त्यो घमाइलो दिन थियो, जाडोले छोड्दै गएको। त्यहाँको शान्त वातावरणमा उनले दुई किसिमका ध्वनि सुनिरहेका थिए — आफ्नै पदचाप र चराका चिर्बिराहट।
केही बेरपछि कसैले सुमधुर स्वरमा भजन गाएको सुने। उनले ढुंगाको पर्खालबाट चिहाए। बगैंचामा ५० वर्षजतिका एक व्यक्ति काम गरिरहेका रहेछन्। उनले लगाएको गेरूवस्त्रले संन्यासी हुन् भन्ने छनक दिन्थ्यो। उनी मग्नसँग संस्कृतका श्लोक गाउँदै बीउ छर्दै थिए।
जब ती दुईको आँखा जुध्यो, संन्यासीले दुई हात जोडेर प्रणाम गरे र अलिक अनौठो मानेर सोधे, 'एक पश्चिमा के उद्देश्यले ऋषिकेश?'
गोल्डवर्गले पहिले संन्यासीको जिज्ञासा मेटाए, त्यसपछि आफ्नो प्रकट गरे, 'युवाकालमै संन्यासी?'
'कहाँ हुनु नि,' खित्का छाडेर हाँस्दै संन्यासीले जबाफ फर्काए, 'म त विश्वविद्यालयमा विज्ञान पढ्न हिँडेको मान्छे। पूर्वजले मान्दै आएको धर्म त पछौटेपनको कारक लाग्थ्यो।'
'अनि त्यो मान्यता परिवर्तन गर्न के तत्वले प्रेरित गर्यो त?' गोल्डवर्गले फेरि सोधे।
'मैले अमेरिकी साहित्यको कक्षा लिएँ, कक्षामा इमर्सन पढेँ।'
पूर्वीय ज्ञानको गरिमालाई 'कंकर्डका ऋषि' अर्थात् इमर्सनले कसरी परख गरेका थिए भन्ने यसबाट प्रस्ट झल्किन्छ।
इमर्सनको पदचिह्न पछ्याउँदै कंकर्ड यात्रा गरेपछि मलाई पनि पहिले आफ्ना पूर्वजप्रति गर्व लाग्यो। तुरून्तै गुनासाले पनि छोप्यो। गीताको किताबलाई पिताम्बरले बेरेर पूजाकोठामा राख्ने, कहिल्यै नपढ्ने! वेद र उपनिषद्को आयातनलाई ब्रह्मान्डभन्दा ठूलो मान्न सहजै तयार हुने तर आफू एक बित्ता पनि नाप्न नचाहने!
लोकका लागि रचिएको रचनामा 'अधिकारी' को अर्घेलो थापेर मुमुक्षुलाई विभिन्न बाहनामा वञ्चित गर्ने पूर्वीय समाजको रित सम्झिँदै म वाल्डेन पोन्डबाट बाहिर निस्किएँ।
परको घाँसे मैदानमा सूर्य डुब्दै थियो। प्रकाशले पूर्व दिशा चहकिलो देखिन्थ्यो। शान र सौन्दर्यका साथ डुब्दै गरेको सूर्य पच्छ्याउँदै म पनि पश्चिमतिरै लागेँ।
आफ्नो घर पुग्न मलाई अझै करिब ६० किलोमिटर पश्चिमतिरको यात्रा गर्नु थियो। मैले पश्चिममा डुबेको देखेको सूर्य पृथ्वीको कतै पूर्वबाट उदाउँदै होला!
मलाई ज्ञान पनि सूर्यजस्तै लाग्यो। पूर्वको भन्दाभन्दै कतिखेर पश्चिम पुगिसक्छ। पश्चिममा डुबेको देख्दादेख्दै फेरि पूर्वबाट उदाइसक्छ।
अब मलाई ज्ञान कुन दिशाको हो भन्नेमा उति मोह पनि रहेन।
ज्ञानको के दिशा, दिशा देखाउने पो ज्ञान!
***