प्रख्यात 'वन्यजन्तु फोटोपत्रकार' चुङ्बा शेर्पाको पुस २८ गते निधन भयो।
लामाहरूको बौद्धिक मन्त्रोच्चारण, प्रशस्त खादा र फूलले सिँगारेर उनको पार्थिव शरीर महाराजगञ्ज, चप्पल कारखानास्थित घरबाट बाहिर निकालिएको थियो। टेकु दोभानस्थित घाटतिरमा बौद्ध परम्पराअनुसार अन्तिम संस्कारको प्रबन्ध गरिएको थियो।
चुङ्बाका दुई छोरा, दुई छोरीसहित आफन्तजन र सामाजिक जीवनका विभिन्न मानिसले श्रद्धाञ्जली चढाएपछि उनको अन्तिम संस्कार सम्पन्न भयो।
साहस र ऊर्जाले कहिल्यै साथ नछोड्लाजस्ता लाग्ने चुङ्बा ६३ वर्षका थिए।
उनी बितेको खबर सामाजिक सञ्जालमार्फत विश्वव्यापी भयो। जापानी वाइल्डलाइफ फोटोग्राफर मानामी हिगासीले चुङ्बाको तस्बिरसमेत राखेर आफ्नै भाषामा एक्समा लेखिन् – श्रद्धाञ्जली चुङ्बा, तपाईंलाई भेट्न मन थियो। तपाईंसँग कुरा गर्न मन थियो। तपाईंको साथमा तस्बिर खिच्न र छायांकनमा सहभागी हुन मन थियो।
चुङ्बा सम्भवतः नेपालको वन्यजन्तु संरक्षण विधामा सर्वाधिक चर्चित र सम्मानित व्यक्ति थिए। सधैं रहने छन्। उनको प्रख्याति देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चुलिएको थियो।
उनी एउटा लेक्चरका लागि अमेरिकाको 'मोन्टरी वे अक्वारियम रिसर्च इन्स्टिच्युट' जाने तयारी गर्दै थिए। त्यसअघि वन्यजन्तुको तस्बिर खिच्न थाइल्यान्ड जान लागेका थिए। उनी वन्यजन्तुसम्बन्धी रिसर्चमा निजी क्षेत्रबाट उनी निकै अघि बढेका थिए।
तर उनको यात्रामा पूर्णविराम लाग्यो। उनी सधैंका लागि महाप्रस्थानतिर गए। मुलुकको वन्यजन्तु संरक्षण विधामा अपूरणीय क्षति भयो।
चुङ्बाले थोरै समयमा धेरै र अतुलनीय योगदान गरे। यसकारण वन्यजन्तु संरक्षणको विधामा उनी कहिल्यै नअस्ताउने तारा बनेर चम्किरहने छन्।
चुङ्बाले आफ्नो जीवन मूलतः तीनवटा विधामा बिताए। तीनवटै विधामा आफूलाई सफल र अब्बल साबित गरे। वन्यजन्तुको संरक्षण विधाले उनलाई विश्व समुदायमा चिनायो।
सोलुखुम्बुको विकट चौंरीखर्क गाउँमा जन्मेका चुङ्बा विश्वमै कसरी प्रख्यात भए? व्यावसायिक जीवन कसरी यति फराकिलो बनाए?
औपचारिक शिक्षा अत्यन्तै कम भए पनि फरक फरक विधामा उनले आफूलाई कसरी सफल र अब्बल बनाए होला भन्ने जिज्ञासा मेरो मानसपटलमा घुमिरहन्छ। उनी सामाजिक सेवामा र राजनीतिमा लागे। पञ्चायती व्यवस्था छँदा २०४२ सालमा तत्कालीन चौरीखर्क गाउँपञ्चायतको प्रधानपञ्च पदमा निर्वाचित भएका थिए।
उनी पञ्चायती व्यवस्थामा कान्छो प्रधानपञ्च र जननिर्वाचित पदाधिकारी बनेर मुलुकभर चर्चित बनेका थिए। त्यति बेला उनी २५ वर्ष उमेरका थिए।
उनले आफूलाई खुम्बुक्षेत्रमा राजनीतिसँगै सामाजिक सेवामा पनि लगाए। सानै उमेरमा सोलुखुम्बु जिल्लाभर चर्चित बने। जनआन्दोलनबाट २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि उनी नेपाली कांग्रेसमा लागे। केही वर्ष स्थानीय गाउँको नेतृत्व गरे।
चुङ्बाले राजनीति र सामाजिक काम जीविकोपार्जनबाट सधैं अलग राख्नुपर्छ भन्ने मान्यता बनाए। आम्दानीका लागि पर्यटन व्यवसायमा लागे। बरु पर्यटकको भरिया बनेर जीवन चलाए तर राजनीतिलाई पैसा कमाउने माध्यम बनाएनन्।
उनले लुक्लामा होटल खोले। पर्यटकको सत्कारका लागि आफै खटे। ट्रेकिङ पेसामा लागे। लुक्लाबाट एयरलाइन्स क्षेत्रमा लागे। नेपाल एयरलाइन्सको स्थानीय प्रतिनिधि भएर काम गरे। पछि लुक्लामा यती एयरलाइन्सको स्टेसन म्यानेजर भए। यती एयरलाइन्सका संस्थापक आङछिरिङ शेर्पाका निकट सारथि भएर यो एयरलाइन्सलाई पर्यटन क्षेत्रको राजधानीका रूपमा कहलिएको खुम्बु क्षेत्रमा स्थापित गराए।
त्यसपछि चुङ्बाले आफ्नो जीवन वन्यजन्तु संरक्षणमा समर्पण गरे। उनले नेपाली पर्यटनको आधार प्रकृति हो र वन्यजन्तु त्यसकै एक अभिन्न अंग हो भन्ने तथ्य बोध गरेका थिए। त्यसैअनुसार वन्यजन्तु संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले फोटोग्राफीलाई माध्यम बनाए।
उनी नेपालका वन्यजन्तुको ख्याति विश्वभर फैलाउन चाहन्थे। त्यसैअनुसार वन्यजन्तु फोटोग्राफीमा लागेका उनले हजारौं दुर्लभ दृश्य आफ्नो क्यामरामा कैद गरेका थिए।
त्यस्ता तस्बिर खिच्न उनी महिना दिनसम्म घना जंगल र अनकन्टार ठाउँ घुम्थे। कडा परिश्रम गर्थे। उनले जंगलमा धेरैपटक कठिन चुनौतीहरू सामना गर्नुपरेको थियो तैपनि उनी थाकेनन्। आफ्नो तन, मन र धन यसैमा लगाए।
चुङ्बा वन्यजन्तुको फोटोग्राफीमा औधी रमाए। नेपाललाई विश्वमा चिनाए र आफू पनि चिनिए। यसैबाट ख्याति कमाए। उनले दुर्लभ वन्यजन्तुका तस्बिर खिच्ने दुर्लभ अवसर खोजी गरे।
यसैक्रममा चुङ्बासँग मेरो परिचय भएको थियो। तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, सोही मन्त्रालयका वर्तमान सचिव दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी निर्देशक सिद्धार्थ बज्रचार्य र म २०७७ चैत १९ गते डोटीबाट फर्केर बर्दिया राष्ट्रिय निकुञ्जनजिकै बबई रिसोर्टमा बसेका थियौं।
साँझ खाना खाने बेला कुनातिर बसेका एक अपरिचित व्यक्तिले हामीलाई भेट्न खोजेको अनुमान लगाएँ। मैले परिचयका लागि उनीतिर हात लम्काएँ। तिनै व्यक्ति रहेछन् चुङ्बा शेर्पा।
उनले आफू वन्यजन्तुको फोटो खिच्न बर्दिया आएको बताए, सयौं फोटा देखाए, केही फोटा मेरो मोबाइलमा पनि पठाइदिए। त्यो पहिलो परिचयमै म उनीसँग प्रभावित भएको थिएँ। कुराकानीको अन्त्यमा मैले राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालय आउन निमन्त्रणा दिए। त्यसपछि हामी आआफ्नो गन्तव्यतिर लाग्यौं।
नभन्दै काठमाडौं फर्केपछि चुङ्बा केही थान तस्बिर बोकेर मेरो कार्यालयमा आए। बडो मृदुभाषी थिए। काममा अत्यन्तै उत्साह र लगाव थियो। वन्यजन्तुको संरक्षणमा केही न केही उपलब्धिको काम गरूँ भन्ने भावना र ऊर्जा थियो। हामी दुबैको भावना समान भएका कारण चाँडै कोषको केन्द्रीय कार्यालय परिसरमा वन्यजन्तुका तस्बिर प्रदर्शनी कक्ष निर्माण गर्ने निधो गर्यौं। फेरि चाँडै भेट्ने भनेर छुट्टियौं।
राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको चालीसौं वार्षिकोत्सव मनाउने भयो। सोही अवसरमा कोषको केन्द्रीय कार्यालयमा चुङ्बाले खिचेका सयौं तस्बिर प्रदर्शन गर्ने गरी 'वन्यजन्तु फोटो प्रदर्शनी कक्ष' निर्माण भयो।
कोषको अडिटोरियम हल प्रवेश कक्षमा निर्र्माा गरिएको वन्यजन्तु फोटो प्रदर्शनी कक्षको कोषका संरक्षक रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नुभयो। त्यो फोटो प्रदर्शनी कक्ष वन्यजन्तुको क्षेत्रमा कार्यरत कोषका लागि चुङ्बाको अमूल्य उपहार थियो। कोषले उनलाई प्रधानमन्त्री देउवामार्फत 'विशेष संरक्षण सम्मान' प्रदान गरेको थियो।
यसरी चुङ्बा शेर्पासँग म चाँडै निकट भएको थिएँ। बाक्लो संगत गर्ने अवसर पनि पाएको थिएँ। हाम्रो सम्बन्ध अझ गाढा हुँदै गएको थियो।
हामीले राज्यका विभिन्न निकायमार्फत संरक्षणको क्षेत्रमा योगदान पुर्याएका पूर्वप्रधान सेनापति गौरवशम्शेर जबरासहितका महानुभावहरू संलग्न 'कन्जरभेसन एलाइन्स नेपाल' स्थापना गर्यौं। त्यसमा चुङ्बा कार्यकारी सदस्य थिए। उनको आबद्धता निकै सक्रिय थियो।
चुङ्बा बैठकमा थोरै तर गहन कुरा बोल्थे। वन्यजन्तु फोटोग्राफीका क्रममा आफूले देखेका र भोगेका घटना सुनाउँथे। उनका कुरा सुनौंसुनौं लागिरहन्थ्यो। उनी दुर्लभ अनुभवका संग्रह थिए।
चुङ्बाको जन्मथलो खुम्बु क्षेत्रमा हिमाल हेर्न असंख्य पर्यटक आउँथे। उनी पयर्टकका लागि हिमालसँग हिमचितुवाको साइनो जोड्न तल्लीन थिए।
'खुम्बु क्षेत्रमा हिमचितुवा पनि पाइन्छ भन्नेबारे नेपाल र बाहिरी संसार उति साह्रो जानकार छैन। सरकारले पनि खुम्बु क्षेत्रमा हिमचितुवाको अध्ययन गरेन,' उनी भन्थे, 'म खुम्बुमा हिमचितुवाको अध्ययन गर्छु, तस्बिर खिच्छु र संसारलाई खुम्बुमा हिमचितुवा पनि हेर्न पाइन्छ भन्ने सन्देश पुर्याउँछु।'
हिमचुतुवाको अध्ययन चुङ्बाको सपना थियो। अध्ययनको प्रोजेक्ट विकासका लागि हामीले धेरै पटक परामर्श गरेका थियौं। उनले संरक्षण विधाका केही विद्वानहरूसँग पनि परामर्श गरेका थिए।
अफ्सोच! उनको यो सपना पूरा हुन पाएन।
(लेखक शरद अधिकारी कन्जरभेसन एलाइन्स, नेपालका सचिव तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वसदस्य सचिव हुन्।)