बेइजिङ डायरी
बेइजिङमा बसेर पत्रकारिता गरेको एक दशक नाघ्दा पनि मलाई तोङपेइ जाने मौका मिलेको थिएन।
दुई हजार वर्षको चिनियाँ शासकको इतिहासमा दुइटा वंश मात्र गैर हान जातिका छन्। एउटा युआन वंश हो भने अर्को छिङ वंश।
तेह्रौं शताब्दीमा अरनिको चीन आएको समयमा कुब्लाई खानले सुरू गरेको शासन वंशलाई युआन वंश भनिन्छ। कुब्लाई खान चिनियाँ अल्पसंख्यक मंगोलियन जातिका थिए।
एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा ९२ प्रतिशत हान जातिका मान्छे छन्। पक्कै पनि कुब्लाई खानको समयमा पनि हान जातिको बाहुल्य थियो। अल्पसंख्यक मंगोलियन जातिका कुब्लाई खान नै चीनका सबैभन्दा शक्तिशाली र चीनलाई एकीकृत गर्ने शासकमा दरिए।
कुब्लाई खानले सुरू गरेको युआन वंशले चीनमा ९७ वर्ष मात्र शासन गर्यो। त्यसपछि हान जातिको मिङ वंशले शासन गर्न थाल्यो। सन् १६४४ मा मिङ वंशलाई हटाएर छिङ वंशको शासन सुरू भयो। छिङ वंशले सन् १९११ सम्म चीनमा शासन गर्यो। छिङ वंश हान जातिको नभएर अल्पसंख्यक मन्चु जातिको थियो। चीनको उत्तरपूर्वी क्षेत्रलाई मन्चुरिया भनिन्थ्यो र त्यही क्षेत्रबाट आएको मन्चु जातिको शासनकाललाई नै चीनमा छिङ वंशको शासन भनिन्छ।
उत्तरपूर्वी क्षेत्रलाई चिनियाँहरू 'तोङपेइ' भन्ने गर्छन्। चिनियाँ भाषामा 'तोङ' भनेको पूर्व हो भने 'पेइ' भनेको उत्तर। चीनले भन्ने गरेको तोङपेए क्षेत्रमा हैलुङच्याङ, चिलिन र ल्याउनिङ तीनटा प्रान्तको पूरै भूभाग र भित्री मंगोलिया स्वायत्त प्रदेशका केही भाग समावेश छ। यही क्षेत्रको पुरानो नाम मन्चुरिया हो।
बितेका केही वर्षदेखि चीनमा लोकप्रिय हुँदै आएको 'बरफ उत्साह' यस क्षेत्रका लागि नयाँ विकास र जीवन्त शक्ति ल्याउने इन्जिन बनेको छ। वर्षको आधा समयभन्दा बढी अत्यधिक चिसो हुने यस क्षेत्रको भ्रमण गर्ने चाँजोपाँजो मिलेको थिएन। भ्रमण गर्ने तीव्र इच्छा लामो समयदेखि उम्लिरहेको थियो।
यही फेब्रुअरीको पहिलो साता सुरू भएको नवौं एसियाली हिउँदे खेलकुदको समाचार संकलन गर्ने जिम्मेवारी लिएर फेब्रुअरी ६ तारिख एक साताका लागि म हैलुङच्याङ प्रान्तको सदरमुकाम हार्पिन पुगेँ।
हार्पिनमा लेखक चेतनाथ आचार्यउक्त समयमा बेइजिङको अधिकतम तापक्रम शून्य डिग्री र न्यूनतम तापक्रम माइनस १२ डिग्री थियो। मध्य जाडोमा बेइजिङ नै कठ्यांग्रिने जाडोमा म उच्च गतिको रेल चढेर हार्पिन हुइँकिएको थिएँ। रेलभित्रको न्यानोले आनन्द दिइरहेको बेला हार्पिन पुगेर रेलबाट निस्किनासाथ फुसफुसे हिउँले मेरो सातो खायो। त्यति बेला हार्पिनको अधिकतम तापक्रम माइनस १७ डिग्री र न्यूनतम तापक्रम माइनस २३ डिग्री थियो।
फोटो खिच्न गोजीबाट मोबाइल निकाल्न नसकिने थियो। कान, नाक, मुख घ्याप्पै ढाकेर हिँड्दा पनि मुटु काम्ने जाडो। तर, त्यही जाडो खान विश्वभरिका मान्छे ओइरिने ठाउँ हार्पिन। झट्ट सुन्दा विरोधाभास जस्तो पनि लाग्ने।
जे होस्, नवौं एसियाली खेलकुदको माहोलले चिसो हार्पिनलाई तताएको थियो।
एसियाका प्रायः सबै मुलुकका खेलाडी र पाहुनाहरू यत्रतत्र भेटिन्थे। खेलाडी, स्वयंसेवक र खेलकुदका गतिविधि समेट्न गएका पत्रकारका लागि गजबको सुविधा थियो– सार्वजनिक बस, स्थानीय सबवे (मेट्रो) र हार्पिनदेखि यापुलीसम्म जाने उच्च गतिको रेलमा निःशुल्क यात्रा सुविधा।
खेलकुदका मुख्य प्रतिस्पर्धा हार्पिनमा थिए भने अल्पाइन स्किइङ हार्पिनदेखि २२५ किलोमिटर पूर्व दक्षिणमा पर्ने यापुलीमा थियो। म हार्पिन पुगेको तेस्रो दिन उच्च गतिको रेल चढेर यापुली गएँ। यापुली जानुको मुख्य उद्देश्य हिउँले ढाकेका डाँडाबाट चिप्लेटी खेलेर झर्ने प्रतियोगिता नियाल्नु थियो। नेपालले त्यही प्रतियोगितामा चार जना खेलाडी पठाएको थियो।
हार्पिनबाट सवा घण्टामा २२५ किलोमिटर पार गरेर म यापुलीमा पुगेँ। अनि केबलकार चढेर पहाडका टाकुरामा हिउँमाथि उभिएर चार जना नेपाली खेलाडीहरूसँग छोटो अन्तर्वार्ता लिएँ।
नवौं एसियाली खेलकुद सम्पन्न भइसकेको छ। त्यस कारण यसको वर्णनभन्दा चीनले बरफ र हिउँलाई कसरी 'द्रव्य' मा परिणत गरेको छ भन्ने कुराको बखान अलिक मिठो हुन सक्छ।
चीनको राजधानी बेइजिङले सन् २००८ मा गृष्मकालीन ओलम्पिक खेलको आयोजना गरेको थियो। त्यसको १४ वर्षपछि सन् २०२२ मा बेइजिङमै शितकालीन ओलम्पिक खेल आयोजना भयो। अहिलेसम्म गृष्मकालीन र शितकालीन दुवै ओलम्पिक आयोजना गर्न सक्ने एक मात्र सहर भएको छ बेइजिङ।
चीनले सन् २०२२ मा आयोजित शितकालीन ओलम्पिकको तयारी सन् २०१७ देखि नै गरेको थियो। राष्ट्रपति सी चिनफिङले बरफ तथा हिउँ खेलको विकासलाई महत्त्व दिँदै बरफ तथा हिउँलाई सर्वसाधारणको जीवनमा अभिभाज्य बनाउनुपर्ने निर्देशन दिँदै आएका छन्।
उनले भनेका छन्— बरफ तथा हिउँ खेललाई चिनियाँ सामान्य सर्वसाधारणमा प्रवेश गराउनुपर्छ। बरफ तथा हिउँ खेलप्रति सर्वसाधारणको उत्साह निरन्तर रूपमा कायम राख्नुपर्छ।
सी चिनफिङको बरफ मोह अहिलेको होइन।
नवौं एसियाली हिउँदे खेलकुदमा सहभागी नेपाली खेलाडी लगायत। तस्बिरः चेतनाथ आचार्यसन् २०१७ मा बेइजिङभर हिउँदे खेलको लोकप्रियता बढेको थियो। सन् २०२२ मा बेइजिङमा आयोजना हुने शीतकालीन ओलम्पिकले गर्दा बालबालिका र युवायुवतीमा हिउँमा चिप्लेटी खेल्ने माहोल बनेको थियो। एक दिन सी चिनफिङ हिउँदे ओलम्पिकका लागि अभ्यास गरिरहेका युवा आइस हक्की खेलाडीहरूलाई अभ्यासस्थलमा पुगेर आफ्नो किरोरावस्थाको कथा सुनाउन थाले।
'म शिचाहाइ तालमा हिँउदमा जमेको पानीमाथि मात्रै स्केटिङ गर्न जान सक्थेँ,' सीले आफ्नो किशोरावस्थाको स्मरण गर्दै भनेका थिए।
आफूले स्केटिङ मन पराउने र त्यसका लागि सधैं एक जोडी स्केटिङ जुत्ताको चाहना राख्ने गरेको सुनाउँदै उनले भने, 'मेरो कान्छो भाइ आइस हक्की खेल्न मन पराउँथे। तर हामीसँग एक जोडी मात्र स्केटिङ जुत्ता किन्न सक्ने पैसा थियो। त्यसैले मैले आफ्नो कान्छो भाइलाई मौका दिएँ र आफ्नो खेल्ने इच्छालाई दबाएर राखेँ।'
सी पाँच दशक अगाडि बरफसँग खेल्न चाहन्थे तर त्यो वातावरण पाएनन्।
अहिले उनी चीनका शासक छन् र हरेक बालबालिकालाई बरफ तथा हिउँसँग खेल्न उत्साहित बनाउँदै छन्। यसले चिनियाँ अर्थतन्त्रमा पनि प्रलय ल्याएको छ।
बरफ तथा हिउँ सिजनमा हैलुङच्याङ प्रान्तले चोक, पार्क आदि स्थलमा तीन हजार वटा निःशुल्क स्केटिङ रिङ बनाउने गरेको छ। हार्पिनले पनि सडक, पार्क, चोकमा दर्जनौं स्केटिङ रिङ निर्माण गरेको देखिन्छ। पाँच/छ वर्षका बालखदेखि ७० वर्षीय जेष्ठ नागरिकसम्म बरफ तथा हिउँ खेलमा रमाइरहेको दृश्यले हार्पिनको जाडो हराउँछ।
हैलुङच्याङको बरफ तथा हिउँ खेलमा सहभागिता दर ५७.८ प्रतिशत पुगेर चीनको पहिलो स्थानमा छ।
सन् २०२४ नोभेम्बरदेखि सन् २०२५ मार्चसम्म हैलुङच्याङले १४० वटा उच्च स्तरीय प्रतियोगिता र ६०० वटा सार्वजनिक बरफ तथा हिउँ खेल कार्यक्रम आयोजना गरेको छ। 'बरफ तथा हिउँ खेलमा तीस करोड चिनियाँको संलग्नता' को सम्बन्धमा राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको लक्ष्य चीनमा साकार भइरहेको छ। चीनको बरफ तथा हिउँ खेलको विकासले विश्वमै बरफ तथा हिउँ खेलको विकासका लागि जीवन्त शक्ति थपेको छ।
हार्पिनमा हिउँ तथा बरफ खेलका लागि बनाइएका स्थलको क्षेत्रफल १० लाख वर्गमिटर छ। अनि यी क्षेत्रमा हिउँ तथा बरफको प्रयोग मात्रा ३ लाख घनमिटर पुगेको छ।
स्मार्ट विज्ञान मार्फत् हार्पिनमा बनाइएका हिउँ तथा बरफका आकृतिहरूका कारण यसले नयाँ अर्थतन्त्रको रूप धारण गरेको छ।
नवौं एसियाली हिउँदे खेलकुदको रंगशाला। तस्बिरः चेतनाथ आचार्यहार्पिनमा बनाइएका हिउँ तथा बरफका आकृति देख्दा अचम्म लाग्छ। सबै आकृति बरफबाट बनाइएका छन्। अक्टोबरदेखि मार्चभरि हार्पिनमा निकै चिसो हुन्छ। फलस्वरूप कम्तीमा पनि साढे चार महिनाभन्दा बढी यस्ता आकृतिहरू जस्ताको तस्तै रहन सक्छन्।
हैलुङच्याङ प्रान्तीय विज्ञान प्रतिष्ठान अन्तर्गत स्मार्ट उत्पादन अध्ययन विभागका प्रमुख चु मिङछिङले यसको रहस्यबारे व्याख्या गरे।
उनले भने, 'हामीले स्मार्ट बरफ काट्न मेसिनको विकास गरेका छौं। थ्रिडी सर्वेक्षण र एआईको विश्लेषणमार्फत कृत्रिम बरफका क्युब काटेर कला निकाल्दा कार्यकुशलता पनि बढेको छ। यस्ता मेसिनले काम गर्दा बरफ काट्ने मजदुरको श्रम तीव्र रूपमा कम बनाएको छ। बरफ काट्नु सुरक्षित पनि भएको छ।'
हार्पिनमा हिउँ तथा बरफको आकर्षण कति छ भन्ने कुरा त्यहाँ भित्रिएका चिनियाँ तथा विदेशी पर्यटकको संख्याले पनि पुष्टि गर्छ।
सन् २०२४ नोभेम्बरदेखि सन् २०२५ जनवरी ९ सम्म हार्पिनको हिउँ तथा बरफले १० लाख ३० हजार पर्यटक भित्र्याएको थियो। यो संख्या अहिले दोब्बर भएको अनुमान गर्न सकिन्छ। किनभने फेब्रुअरीमा हार्पिनमा आयोजित नवौं हिउँदे एसियाली खेलकुदले अरू लाखौं मान्छेलाई तानेको थियो।
एउटा प्रान्तको सदरमुकाममा एक सिजनमै लाखौं पर्यटक पुग्नु चानचुने होइन। त्यो पनि हिउँ र बरफ खेल्न मात्र!
उच्च अक्षांश, चिसो भौगोलिक स्थान र वर्षमा दुई सय दिनभन्दा बढी समय बरफ र हिउँ पाइने भएकाले नवीन विद्युतीय सवारी साधनको उत्पादन तथा परीक्षण केन्द्र पनि बनेको छ हार्पिन। पछिल्ला वर्षमा चीनमा नयाँ ढाँचाका गाडी उत्पादक कम्पनीको संख्या बढिरहेको छ। नयाँ ऊर्जाका गाडी लोकप्रिय बनेका छन्। यस्ता गाडी परीक्षण गर्न चिसो ठाउँ चाहिन्छ। नयाँ प्रविधिका ब्याट्री, टायर र अन्य क्षमताको कडा परीक्षण गर्न हार्पिन उपयुक्त बनेको छ।
स्याउमी गाडीका उच्च परीक्षण इन्जिनियर सिङ याउयुआनका अनुसार जाडोयाम विशेष गरी नयाँ ऊर्जाका गाडीका लागि धेरै महत्त्वपूर्ण हुन्छ। त्यसैले हार्पिनका धेरै स्थान विद्युतीय गाडीका परीक्षण केन्द्र बनेका छन्।
हार्पिनको पुरानो गिर्जाघर। तस्बिरः चेतनाथ आचार्य
हार्पिनको हिउँ तषा बरफ पार्क। तस्बिरः चेतनाथ आचार्यधेरै विदेशी कम्पनीले पनि गाडीको चिसो परीक्षणलाई हार्पिनको हैह सहरमा सारेका छन्। दक्षिण कोरियाको चिओसिङ रियङ मोटर कम्पनीका निर्देशक छुई चानका अनुसार हैहलाई संसारकै ठूलो सुविधायुक्त र जाडो परीक्षणका लागि उपयुक्त स्थान मानिन्छ। यो कम्पनीले पहिले जापानमा परीक्षण गर्थ्यो, अहिले चीनतिर आकर्षित भएको हो।
चीनका सर्तहरू सहज र सरल भएकाले धेरै दक्षिण कोरियाली गाडी कम्पनीहरू चीनमै जाडो परीक्षण गर्न आकर्षित भएका हुन्। हैहमा यति बेला चिसो क्षेत्रको परीक्षण उद्योगले ठूलो परिवर्तन र विकास गरेको छ। हालसम्म सो क्षेत्रमा १२ वटा कम्पनी स्थापित छन्। ती कम्पनीका ४५ वटा परीक्षण केन्द्रहरू बनेका छन्। सवारी साधन परीक्षण गर्न मात्र १२० वटाभन्दा बढी सडक बनाइएका छन्।
एक अनुमान अनुसार, सन् २०३० सम्म चीनको हिउँदे अथर्तन्त्रको कुल परिमाण १५ खर्ब चिनियाँ युआन पुग्नेछ। सिंगापुरको अखबार स्ट्रेट्स टाइम्सको टिप्पणी अनुसार चीनको हिउँदे अर्थतन्त्रको विकासले विश्वका लागि अझ बढी अवसर सिर्जना गर्दैछ।
त्यस्तै बेलायतको बार्बन वेबसाइटले भर्खरै सम्पन्न एसियाली हिउँदे खेलकुद समारोहमा पहिलो पटक शतप्रतिशत हरित विद्युत र नयाँ ऊर्जा स्रोतको कार प्रयोग गरेर चीनले नयाँ प्रत्याभूति दिएको लेखेको छ।
यसरी हिउँ र बरफले हार्पिनलाई आश्चर्यलाग्दो सहर बनाएको छ। ती आश्चर्यमध्ये एउटा हो हार्पिनमा आयोजना भइरहेको ३७ औं थाइ याङ ताउ हिउँ मूर्तिकला प्रदर्शनी।
यो प्रदर्शनी सन् २०२४ डिसेम्बर २३ तारिख सुरू भएको हो। प्रदर्शनी स्थलको कुल क्षेत्रफल १५ लाख वर्गमिटर छ। उक्त क्षेत्रमा २६० वटा हिउँ मूर्ति बनाइएको छ। ती हिउँमूर्तिहरू विश्वका विभिन्न देशका ख्यातिप्राप्त मूर्तिकारले बनाएका हुन्। हिउँ तथा बरफबाट बनेका विशाल मूर्तिहरूले सिँगारिएको थाइ याङ ताउ मूर्तिकला प्रदर्शनी स्थल अवलोकन गर्न पर्यटकको घुइँचो लाग्ने गरेको छ।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)