मिति: २०८२।०१।०१
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,
प्रधानमन्त्री निवास,
बालुवाटार, काठमाडौं।
विषय: 'जनता पद' बाट राजीनामा दिएको भन्ने बारे।
सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार!
पहिले त नयाँ वर्ष २०८२ को शुभकामना दिन चाहन्छु। नयाँ वर्षमा नयाँ जोस र योजनाहरूका साथ मानिसहरू 'न्यू इयर रिजोलुसन' बनाउँछन्।
म भने २०८२ सालदेखि लागू हुने गरी 'जनता पद' बाट राजीनामा दिएको 'रिजोलुसन' तपाईं, नेपालका सम्माननीय प्रधानमन्त्रीज्यू सामु निवेदन गर्न चाहन्छु।
देशको हालको अवस्था हेरेर जति प्रयास गर्दा पनि मैले जनता पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण नैतिकताका आधारमा म यो राजीनामा पत्र लेख्दैछु।
आशा छ, सम्माननीय प्रधानमन्त्रीज्यूले यो राजीनामा स्वीकृत गरिदिनु भई मलाई आफ्ना सबै जिम्मेवारीबाट मुक्त गरिदिनु हुनेछ। पछिल्लो पौने चार दशकमा मैले निरन्तर जनता बनेर देश र सरकारको सेवा गर्ने अवसर पाएकोमा म आफूलाई कृतज्ञ महसुस गर्छु।
यो सरकार तथा यस अघिका सरकारहरू, राजनीतिक दलहरू, गैरराजनीतिक समूहहरू, सरकारी संस्थाहरू, गैरसरकारी संस्थाहरूबाट समेत मलाई पटक पटक जनता बनाइदिनु भएकोमा र सोही अनुसारको जिम्मेवारी प्रदान गरिदिनु भएकोमा म उहाँहरू सबै प्रति पनि निकै आभारी छु।
अगाडि भनेझैं, यी सबै संस्थाहरूले म प्रति गर्नु भएको विश्वासको परिपूर्ति गर्न अक्षम रहेको हुँदा र अब उपरान्त जनता बनेर उहाँहरू सबैमा निराशा छर्नु भन्दा बेलैमा राजीनामा गर्ने निर्णय लिँदैछु।
यसरी आफ्नो कार्यकाल सकिनु अगावै राजीनामा दिने मन त मलाई थिएन, तर समय र परिस्थितिले यसो नगरी रहन सकिनँ।
नेपाल सरकार र अन्य सबै प्रत्यक्ष–परोक्ष रूपमा मलाई जनता बनाएर सहयोग गर्नु हुने सबैमा अझै धेरै समय जनता नै रही उहाँहरू सबैलाई सहयोग गर्न पाएको भए थुप्रै पहुँचवालाहरू लाभान्वित हुने थिए। शक्ति केन्द्रहरूले मलाई जनता बनाइरहेरै अझै धेरै शक्तिशाली हुन पाउने थिए।
तर अफसोस! मैले त्यसो गरिरहन सकिनँ। यसका निम्ति म प्रधानमन्त्रीज्यूसँग क्षमायाचना गर्छु।
जनताको पदमा रहँदा नेपाल सरकारको संसारभरिकै साह्रै कमजोर भए पनि राहदानी र नागरिकता प्रयोग गर्न पाएकामा म निकै खुसी थिएँ, छु। धूलैधूलो र खाल्डैखाल्डा भए पनि सडकमा आफ्नो स्कुटर कुदाउन पाएकोमा म सरकारलाई धन्यवाद नदिई रहन सक्दिनँ।
पैदल हिँड्ने फुटपाथ नहुँदा होस् वा जेब्राक्रसिङमा बाटो काट्दा पैदलयात्रीलाई पेल्दै हुइँकाउँने सरकारी वा व्यक्तिगत सवारीसाधन, मैले सधैं जनताबाट पछि नहटी तर आफ्नो अधिकारबाट पछि हटी सहयोग र योगदान गरेकै थिएँ, आलोचना गरिनँ। सडक/बाटोमा बत्ती र यातायात व्यवस्थापनका लागि ट्राफिक बत्तीको पनि व्यवस्था छ भनेर त मैले हालै मात्र थाहा पाएँ, पहिल्यै केही भन्ने कुरै भएन।
मेलम्ची आउला भन्ने आशैआशमा ट्यांकरको पानी किनेर मेलम्चीकै स्वादमा पानी पिउँदा होस् वा मेलम्ची आएर बाढी आउँदा वा बाटो बिग्रेर घरसम्म ट्यांकर नआएर छिमेकीकोबाट बाल्टिनमा पानी ल्याएर खाना पकाउनु पर्दा, म कहिल्यै जनताको जिम्मेवारीबाट पछि हटिनँ।
बिजुली नआएर दिनको अठार घण्टासम्म लोडसेडिङ हुँदा, हजारौं रूपैयाँ तिरेर सोलार प्यानल राख्दा र फेरि एक दिन अकस्मात बिजुली नआउनु पछाडिको भ्रष्टाचारी संयन्त्रको बारेमा पर्दाफास हुन्जेल पनि मैले अटल, अडिग जनता नै रहेर सरकारको विरूद्धमा 'चूँ' पनि गरिनँ।
घर अगाडिको बाटो हिलाम्मे हुँदा बरू मोनोरेल, चिनियाँ रेल र पानीजहाजको मीठो सपनाको मार्गमा सयर गरिरहेँ, तर बाटो पिच गर्न ढिलो गर्ने ठेकेदार र उनी सम्बद्ध राजनीतिक दललाई केही भनिनँ।
देशमा शैक्षिक गुणस्तर ओरालो लाग्दै गर्दा र शिक्षामा प्रत्यक्ष रूपमा राजनीति हाबी भइरहँदा बरू खुरूक्क त्यही संक्रमित शिक्षा प्रणालीमा बसिरहेँ, पढिरहेँ। साथीहरूले 'यो देश कहिल्यै उँभो लाग्दैन!' भनेर देश देखेर दिक्क भएर एक एक गर्दै वैदेशिक रोजगार, वैदेशिक शिक्षा, डिभी, पिआर लिइरहँदा पनि 'जननी जन्मभूमिश्च:' जप्दै देशैमा बसिरहेँ, जनता भइरहेँ।
कहिले पञ्चायती जनता बनाइएँ, कहिले प्रजातान्त्रिक जनता। कहिले अप्रजातान्त्रिक जनता बनाइएँ, कहिले प्रगतिशील जनता, त कहिले राजावादी जनता। कहिले गणतान्त्रिक जनता बनाइएँ, कहिले लोकतान्त्रिक जनता। कहिले समाजवादी जनता बनाइएँ, कहिले डलरे जनता। कहिले सुकिलो–मुकिलो जनता बनाइएँ, त कहिले बिदेसिएको जनता।
यही बेला मजस्ता जनतालाई प्रजा वा रैती बनाउनेहरू सल्बलाउँदैछन्।
मलाई कसैले 'तँ कुन जनता हुन चाहन्छस्?' वा 'के तँ जनता हुन चाहन्छस्?' भनेर त कहिल्यै सोधेन, तर सबैले जनता चाहिँ बनाइरहे। कुनै गैर-सरकारी संस्थाले गरिब जनता बनायो, अर्काले रोगी 'जनता'। फेरि अर्काले द्वन्द्वपीडित जनता बनायो र कसैले अशिक्षित जनता बनायो।
यी सबले मलाई थरीथरी जनता बनाइरहे। म खुरूखुरू यी सबैको पछि दौडिरहेँ। न ममा उनीहरूलाई प्रश्न गर्ने ल्याकत थियो, न उनीहरूमा मेरो कुरा सुन्ने त्यति धैर्य। उनीहरू बोलिरहे, म सुनिरहेँ। उनीहरूले मलाई कुनै न कुनै खाले जनताको बिल्ला भिराइरहे। म पनि भिरिरहेँ। यसरी म वर्षौंसम्म जनता भइरहेँ।
तर एक दिन मैले मानवशास्त्री सुरेश ढकालले कतै लेखेको देखेँ — एउटा कुरो चाहिँ बुझ्न जरूरी भयो। नेपाल भनेको काठमाडौं हो। जनताः यतै चरीचरण गर्ने, दुई–चार अक्षर पढ्न/लेख्न र बोल्न जान्ने, ट्विटर/फेसबुकतिर सहज पहुँच भएका, मिडियाले समय समयमा 'उपयोग' गर्न सक्ने जिवात्मा।
एक्कासि जनताको पदबाट राजीनामा दिने विचार आयो।
फेरि मैले हेमन्त मल्लको लेखमा पढेँ — मञ्चमा बेलुन पड्किएर नेताको गाला डढेको घटनाबारे अनुसन्धान गर्न तत्काल छानबिन समिति गठन हुन्छ। तर दुई जनाको ज्यान जानेगरी भएको विरोध प्रदर्शनबारे सत्ताधारी छानबिन गर्न आवश्यक नै छैन भन्छन्। अर्थात जनताको ज्यान भन्दा नेताको गाला प्यारो छ सत्तालाई!
अनि म सोच्न थालेँ। म के खाले जनता हुँ? मैले मेरो जनता हुनुको अर्थमाथि प्रश्न गर्न थालेँ। प्रश्न गर्ने अधिकार थियो कि थिएन, मलाई थाहा छैन।
कतैतिर सुनेँ कि सरकार 'अनुदारवादी लोकतन्त्र' को अभ्यास गर्दैछ। यहाँ सरकारलाई प्रश्न गर्न पाइँदैन। कतै सरकारलाई प्रश्न गर्नेहरूको पनि चलचित्र समीक्षा गर्ने हास्य कलाकारको जस्तै नियति त हुने होइन भनेर पनि सोचेँ।
फेरि सोचेँ, यो जनता हुन र सरकार भेट्न पनि अचम्मकै लुकामारी खेलेजस्तो हुने रहेछ।
हास्य कलाकारले आफूले खोज्दै नखोजेको सरकार भेट्यो, ऊ गैरकानुनी जनता भयो। निर्मला पन्त, लक्ष्मी परियार र रिंकु सदाले वर्षौंदेखि खोजिरहेको सरकार भेट्दै भेटिएन। उनीहरू जनता हुनै पाएनन्। सुदूर पहाडमा यार्चा खोज्दै गर्दा चिप्लेर लडेको तर अस्पताल नभेटेर मरेको बालक पनि जनता हुन पाएन।
देशभरि डढेलो लाग्दा वा भुइँचालोले हल्लाउनु सम्म हल्लाएर छोड्दा पनि थुप्रै मानिसहरू जनता हुन पाएका थिएनन्। सरकारको, मिडियाको र गैर–सरकारी संस्थाको आँखामा ती केही समयका लागि 'विचरा' हुन त पाए, तर सबैले ती विचरालाई जनता हुनु अगावै बिर्सिँदै गए। यता जनता ग्यास चेम्बर बनेको सहरमा सास फेर्न नसकेर छटपटिँदैछन्। उता सरकार समृद्ध नेपाल, सुखी नेपालीको रटान लगाउँदैछ।
समृद्ध नेपाल, सुखी नेपाली होर्डिङ बोर्ड र ठूला मिडियाको पहिलो पृष्ठभरि त छ, तर जनताले न समृद्ध भनेको के हो सोधेका छन्, न सुख के हो भन्ने अनुभव गरेका छन्। समृद्धिको नाममा प्रकृति र संस्कृतिमाथि विकास हाबी छ। अनुदारवादी बन्दै गइरहेको राज्य संरचना र त्यस अनुदारवादमा रजाइँ गर्न तयार शक्तिशाली व्यक्तिहरूले घरी 'राजागंज' मा कैंची चलाउँछन्, त कहिले वाक स्वतन्त्रका कटौती गर्न विधेयक लिएर आउँछन्।
के सुरेश ढकालले भनेझैं राज्यसँग थोरबहुत पहुँच जसको छ, उनीहरू मात्रै जनता बनिरहेका हुन् त?
मैले होइन भन्ने उत्तर कसरी पाउने प्रधानमन्त्रीज्यू?
नागरिकतामा भएको विभेदका कारण दोस्रो दर्जामा रहन बाध्य थुप्रै महिलाहरूले जनता बन्न पाउने कहिले प्रधानमन्त्रीज्यू?
आफ्नै देशमा नश्लवादी विभेद सहन बाध्य मधेसीहरू जनता कहिले बन्ने हुन् प्रधानमन्त्रीज्यू?
अझैसम्म पनि जातीय विभेदको मारमा परिरहेका दलितलाई जनता कहिले बनाउने हो प्रधानमन्त्रीज्यू?
निर्मला, लक्ष्मी र रिंकुहरूलाई सरकार यहाँ छ भनी न्याय र सुरक्षाको अनुभूति हुने गरी जनता कसरी बनाउने हो प्रधानमन्त्रीज्यू?
नत्रै मैले र म जस्ता मानिसहरूले मात्रै यो जनताको बिल्ला भिर्न अब गाह्रो भयो प्रधानमन्त्रीज्यू। त्यसैले हाललाई यो जनताको परिभाषामा परिवर्तन नआएसम्म यो जनता पदबाट राजीनामा दिएँ प्रधानमन्त्रीज्यू!
आगे जो हुकुम!
भवदीय,
पद त्याग गरेको जनता...
***
(लेखक सञ्जय शर्मा समाजशास्त्री हुन्।)
एक्स (ट्वविटर)- @khetaarey