दुई दशकदेखि निरन्तर दुई जना व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक?
जाजरकोटको छेडागाड, पौजास्थित विजया प्राथमिक विद्यालयमा पुगेपछि मलाई यस प्रश्नले कौतुहल बनायो। अनि अध्यक्ष विजयलाल शर्मा र प्रधानाध्यापक गोपालबहादुर गिरीसँग २० वर्ष लामो 'राज' को कारण सोधेँ।
उनीहरूको जबाफमा प्रतिप्रश्न थियो, 'स्कुल सम्हाल्न कोही तयार छैनन्। हामी आफैले जन्माएको स्कुल कसरी बेवारिसे छोड्नु?'
विजया प्रावि बीस वर्षदेखि यस्तै प्रश्न र प्रतिप्रश्नको सामना गरिरहेको छ।
विजयलाल र गोपालबहादुरको जोडीले जेनतेन स्कुल त सम्हालेको छ, तर अवस्था बेवारिसे सरह छ। विजयाको कथा–व्यथा कष्टपूर्ण छ।
बालबालिकालाई पढ्न करिब डेढ घण्टा टाढाको स्कुल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने भन्दै २०६२ सालमा पौजामा स्कुल खोल्ने कुरा चल्यो। यसको अगुवाइ विजयलालले गरे।
उनले आफ्नो केही जग्गा स्कुलको नाममा सारिदिए। उनका दुई भाइ इन्द्रलाल र रविलालले नामसारी नगरे पनि भोगचलन गर्न थप जग्गा उपलब्ध गराए। गाउँमा बसेको अभिभावकको भेलाले सर्वसम्मत रूपमा विजयलाललाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्यो।
स्कुल स्थापना त भयो। पैसा छैन, शिक्षक कसरी राख्ने?
यस्तैमा गाउँकै गोपालबहादुर अघि सरे। उनी तलब नलिइकनै पढाउन तयार भए।
'उति बेला जागिर र पैसाभन्दा पनि स्कुल कसरी चलाउने भन्ने चिन्ता बढी थियो। गाउँका बालबच्चाको भविष्यका लागि पनि म निःशुल्क पढाउन तयार भएको थिएँ,' सुरूआती अवस्था सम्झिँदै गोपालबहादुरले भने, 'त्यही अठोटका कारण मुस्किलले जन्मेको स्कुल यहाँसम्म आइपुगेको हो।'
स्कुलले ३ कक्षासम्मको अनुमति पाएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट एउटा पिसिएफ शिक्षक (विद्यार्थी संख्याका आधारमा पाइने अनुदान) कोटा पायो। त्यसपछि गोपालबहादुरले मासिक दुई हजार रूपैयाँ तलब बुझ्न थाले। उनका अनुसार यो तलब तिर्खाले ब्याकुल भएको मान्छेको मुखमा एक अञ्जुली पानी हालेजस्तै थियो।
विजया प्रावि, पौजाको दुईकोठे भवन२०६५ सालदेखि उक्त कोटा पनि कटौती भयो। त्यसपछि स्कुल चलाउन गाउँ विकास समिति र जिल्ला शिक्षा कार्यालयको मुख ताक्नुपर्ने बाध्यता आइलाग्यो। केही गरी पैसा आइहालेमा तलब खाने, आएन भने भोको पेट पढाउने। गोपालबहादुरले यसलाई स्वीकार गरे।
'२०६५ देखि २०७७ सालसम्म कहिले वार्षिक बढीमा ३० हजार रूपैयाँ त कुनै वर्ष एक रूपैयाँ पनि नलिएर पढाएँ,' गोपालबहादुरले उति बेलाको दुःख सम्झिँदै भने, 'आफैले जन्माएको बच्चा (स्कुल) भनेपछि माया लाग्दो रहेछ, त्यही मायाले सबै दुःख बिर्साइदियो।'
देशमा संघीयता आएपछि २०७७ सालमा गोपालबहादुरले सुखको अनुभूति गर्न पाए। सरकारले विजया प्राविमा दुई जना शिक्षक संघीय अनुदान कोटा दियो। एउटा कोटामा गोपालबहादुर र अर्कोमा महिला शिक्षक रती खत्री नियुक्त भए। अहिले यी दुई शिक्षकको भरमा स्कुल चलिरहेको छ।
सरकारी स्तरको तलब पाएसँगै गोपालबहादुरले डेढ दशक लामो पीडाबाट केही राहत महसुस गरेका छन्। विजया प्राविको दुःख भने जहाँको तहीँ छ। स्कुलले नाजुक अवस्थाले प्रधानाध्यापक गोपालबहादुरलाई खुसी तुल्याउन सकेको देखिँदैन।
विजया प्राविमा कक्षा १ देखि ५ सम्म ३८ जना विद्यार्थी पढिरहेका छन्। उनीहरू पढ्ने एउटै हल–कोठा छ। २०७८ सालमा छेडागाड नगरपालिकाको पाँच लाख र सेभ द चिल्ड्रेनको चार लाख समेत गरी नौ लाख रूपैयाँमा बनेको दुइटा हल–कोठा भएको एउटा भवन छ। भवनको एउटा कोठामा प्रारम्भिक बालविकास केन्द्र छ भने अर्कोमा कक्षा १ देखि ५ सम्मको पढाइ चल्छ। कार्यालय पनि सामूहिक पढाइ हुने कोठामै छ।
'एकातिर शिक्षक अभाव, अर्कोतिर कक्षाकोठा अभाव, तैपनि बहुकक्षा शिक्षण पद्धतिमा आधारित भएर पढाइ गरिराखेका छौं,' प्रधानाध्यापक गोपालबहादुरले भने, 'कक्षा १ र २ का विद्यार्थीलाई एउटा कुनामा र ३, ४ र ५ का विद्यार्थीलाई कोठाको फरक–फरक ठाउँमा राखेर पढाउँछौं।'
स्कुलमा बहुकक्षा शिक्षण पद्धतिको विकल्प छैन। तर बालबालिकामा त्यसको गहिरो सकस देखिन्छ।
पाँच कक्षामा अध्ययनरत टेकबहादुर बस्नेतले एउटै कोठामा पाँच वटा कक्षाका विद्यार्थी बसेर पढ्नुपर्दा होहल्ला हुने, शिक्षकले पढाएको नबुझिने, गर्मीले सास फेर्न समेत कठिन हुने बताए। चार कक्षामा पढ्ने अरूणिमा बुढाको भोगाइ पनि फरक छैन। स्कुलमा खानेपानी र शौचालयको खासै समस्या नभए पनि राम्ररी बसेर पढ्ने वातावरण नभएको उनले बताइन्।
टेकबहादुर र अरूणिमा स्कुलमा गठन भएको ज्योति बालक्लबका क्रमशः अध्यक्ष र सचिव हुन्। बालबालिकाले भोग्नुपरेका समस्यालाई विद्यालय प्रशासनसम्म पुर्याउने उनीहरूको जिम्मेवारी हो। तर यस्ता समस्या सुनाए पनि सुनुवाइ हुने सम्भावना नरहेकाले चुपचाप बस्नुपरेको उनीहरूले बताए।
२०६४ सालमा जिल्ला शिक्षा कार्यालयले दुई लाख ५० हजार रूपैयाँमा बनाइदिएको एउटा हल–कोठा भएको भवन पनि छ। तर २०८० कात्तिक १७ गतेको भूकम्पले चर्केर जीर्ण बनेपछि प्रयोगमा छैन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयलालले विपदले दुःखमाथि दुःख थपेको बताए।
भूकम्पले क्षति पुर्याएपछि प्रयोगविहीन अवस्थामा रहेको विजया प्रावि पौजाको पुरानो भवन।विजया प्राविमा भवन अभावसँगै बर्खाको समयमा बाढीको त्रासले सताउँछ। स्कुलको तलतिर मजकोट खोला र दायाँतिर आरसी खोला छन्। बर्खाको समयमा दुवै खोला बढ्दा बाढी स्कुलसम्मै आइपुग्छ। तटबन्ध र घेरबार छैन।
'बाढी बढेको दिनमा त साह्रै डर लाग्छ। पढ्न मन पनि लाग्दैन,' बालक्लबका अध्यक्ष टेकबहादुरले बर्खाको त्रास सम्झिए।
यो सबै अवस्था देखेपछि मैले बीस वर्षदेखि स्कुलको व्यवस्थापकीय र प्रशासनिक नेतृत्व सम्हालिरहेका विजयलाल र गोपालबहादुरलाई फेरि सोधेँ – यसको नैतिक जिम्मेवारी लिन सक्नुहुन्छ?
विजयलालको जबाफ थियो, 'मैले अहिले होइन, उहिल्यै अध्यक्षको जिम्मेवारी सुम्पिन चाहेको थिएँ, तर कोही तयार भएनन्।'
विद्यालय व्यवस्थापन समितिका सदस्य दीपक रावतले पनि उनकै कुरामा सही थापे।
'उहाँ हाम्रो विद्यालयको संस्थापक हो, सकेजति सफा मनले काम गर्नुभएकै छ, यहाँ त यत्ति गरिदिने मान्छे पनि छैनन्,' उनले भने, 'एक–दुई पटक केही व्यक्तिले अध्यक्ष हुने इच्छा देखाएका थिए। अभिभावक भेलाले एक स्वरमा विजयलाललाई नै हुनुपर्छ भनेपछि दोहोरिनुपरेको हो।'
गोपालबहादुरको सन्दर्भमा केही फरक छ। उनी बाध्यतासँगै रहरले बीस वर्षसम्म प्रधानाध्यापक पदमा छन्। स्थापनादेखि १५ वर्षसम्म कहिले मासिक २ हजार त कहिले एक रूपैयाँ पनि नलिएर स्कुल धान्दा उनलाई बाध्यताले प्रधानाध्यापक छोड्न दिएन। गोपालबहादुरले 'जागिर' छोड्दा स्कुलै बन्द हुने अवस्था निम्तिन सक्थ्यो।
२०७७ सालमा संघीय अनुदानको कोटा आएपछि शिक्षाशास्त्रमा स्नातक गरेका उनी शिक्षक र प्रधानाध्यापकको स्वाभाविक हकदार बने।
उनले आफ्नो मनको बेलिविस्तार लगाउँदै भने, 'मैले मेरो जीवनको ऊर्जाशील समय यही स्कुलमा खर्च गरेँ। श्रमको मूल्य नलिएर पसिना बगाएँ। बल्लतल्ल आएको सरकारी स्केल पाउनु त पहिलो हक थिएँ, पाएँ पनि। प्रधानाध्यापक त अरूले दाबी गर्ने कुरा पनि भएन।'
स्कुलको दुरावस्थाले भने खुसी हुन नसकेका उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र आफू सम्बन्धित निकायमा बारम्बार धाउँदा पनि सहयोग नपाएको दुखेसो पोखे।
उनलाई सधैं लाग्छ, 'सानो गाउँको सानो स्कुल, हामी पनि सानै मान्छे। त्यसैले त होला हामीले बीस वर्षदेखि जति बोले पनि सुन्नेले नसुनेको।'
विजया प्रावि पौजा, जाजरकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयलाल शर्मा (बायाँ) र प्रधानाध्यापक गोपालबहादुर गिरी।