वीरगन्जमा चैत ३० गते भएको साम्प्रदायिक तनाव र झडपपछि मैले जनकपुर, वीरगन्ज, तौलिहवा र नेपालगन्ज गरी चार सहरमा चार रात र पाँच दिन बिताएँ।
नेपालगन्जमा रहँदा एउटा त्यस्तो क्षण आयो जब मलाई लाग्यो — अफिसको काम छाडी छाडी हिँडेको यो यात्रा पूर्ण रूपमा सफल भयो।
कारण — अब म तराई–मधेसका बस्तीहरूमा यी यस्ता साम्प्रदायिक समस्या छन् भनेर तिनलाई गनाउन सक्ने मात्र होइन, तिनको समाधानको बाटो यस्तो हुनेछ भनेर ढुक्कसित सिफारिस गर्ने ठाउँमा हुनेछु।
वीरगन्जको झडप हनुमान जयन्तीको र्याली मुस्लिम बाहुल्य क्षेत्र र मस्जिदको अगाडिबाट बढेका कारण भएको थियो। पछिल्ला वर्षमा दुवै समुदायका चाडपर्वमा निकालिने यस्ता र्याली र प्रदर्शनका बेला झडप र दंगाका घटना बढेका छन्। कहिलेकाहीँ तिथिका कारण दुवै पक्षका चाड जुध्दा दोहोरो प्रदर्शनहरू हुने र तिनले झडप निम्त्याउने अवस्था पनि बन्दै गएको छ।
त्यसैले धेरै जनाले यो यात्रामा मलाई दुवै पक्षले तडकभडकपूर्ण र्यालीहरू नगर्ने हो भने समस्याको समाधान निस्किने बताएका थिए।
पछिल्लो समय कुनै सहरमा एकपछि अर्को चाडमा नयाँ नयाँ बहानामा र्याली निकाल्ने अभ्यास सुरू हुँदैछ। अर्कोतिर पहिले कहिल्यै यस्तो नभएका सहर र गाउँमा समेत यो अभ्यास सुरू हुँदैछ। हरेकपल्ट झडप र दंगा नभए पनि त्यसले समुदायहरूबीच दुरी र तिक्तता बढाइरहेको छ।
धर्म र आस्थासित जोडिएका यस्ता संवेदनशील विषयमा खास कसो गर्दा राम्रो हुने हो त?
यो प्रश्नको जबाफका लागि यस पटकको यात्रामा मैले सबैभन्दा उपयुक्त पात्र भेटेँ— नेपालगन्जको हजार वर्ष पुरानो बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, जसको परिवारले २४ पुस्तादेखि मन्दिरको मूल महन्तको जिम्मेवारी लिइरहेको छ।
थप एउटा कारणले पनि उहाँ यस्ता प्रश्नको जबाफ दिन सक्ने ठाउँमा हुनु हुन्थ्यो — २०६३ सालतिर नेपालगन्ज लगायत तराई–मधेसभरि फैलिएको मधेसी–पहाडी द्वन्द्वका बेला गठित अन्तर्धार्मिक तथा सामाजिक सदभाव समितिका संस्थापक र अहिलेसम्मका अध्यक्ष रहेकाले। त्यति बेलै नेपालगन्जमा दंगाले धार्मिक रूप पनि लिएको थियो । त्यसपछिका दिनमा नेपालगन्जमा जति पनि साम्प्रदायिक तनाव र द्वन्द्व भएको छ, त्यसलाई मत्थर पार्न अनि सदभाव र सहिष्णुता फर्काउन सम्भवतः सबभन्दा ठूलो भूमिका खेल्ने व्यक्ति उहाँ नै हो।

समाजमा धार्मिक सदभाव कसरी फर्काउन सकिन्छ भन्ने विषयमा केन्द्रित आधा घण्टा लामो अन्तर्वार्ताको अन्ततिर मैले धार्मिक र्याली र प्रदर्शनका बेला हुने झडप, दंगा र तिनले फैलाउने तिक्तता कसरी रोक्न सकिएला भनेर सोधेँ।
जबाफमा उहाँले एउटा अनुभव सुनाउनुभयो — नेपालगन्जमा पहिले बारम्बार यस्ता विवाद हुन्थे। मुस्लिम समुदायको ताझिया र हिन्दु समुदायको दुर्गा पूजा जुध्दा त उही सडकबाट पहिले को अघि बढ्न पाउने भन्ने विवाद हुन्थ्यो। दुवै एकसाथ अघि बढ्दा झडपको सम्भावना टड्कारो हुन्थ्यो।
तर एउटा त्यस्तै अवसरमा उहाँले हिन्दु समुदायलाई सम्झाएर 'पहले हमारा ताझिया जायेगा' भन्नुभयो। यहाँ उहाँको शब्द चयन याद गर्नुहोस् — उनीहरूको ताझिया होइन कि हाम्रो ताझिया।
मुस्लिम समुदायका अगुवाले जित मनाउँदै तत्काल अघि बढ्नुको सट्टा भन्नुभयो — कैसे बात करते हो गुरूजी, पहेले आपका जायेगा!
यो दुई हरफको संवाद हुनासाथ तनाव आत्मीयतामा बदलियो। ताझिया अघि जाओस् वा दुर्गा पूजाको मूर्ति, त्यसको कुनै अर्थ रहेन। उत्सवको अवसर उत्सव नै रह्यो, झडप र शोकको बाध्यतामा बदलिनबाट रोकियो।
अर्थात्, तिक्तता, विवाद र तनावको कारण न यो समुदाय थियो, न त्यो। त्यो थियो दुवै पट्टिका मानिसहरूको अहंकार। अहंकारको सिँढीमा एउटा पक्ष एक पाइला तल झर्नासाथ अर्को समुदाय स्वतः त्यसै गर्थ्यो। अनि मैत्री र सदभाव सम्भव हुन्थ्यो।
गत दुई दशकमा नेपालगन्ज क्षेत्रमा जतिपल्ट साम्प्रदायिक तनाव बढेको छ, उति नै पल्ट सदभाव समितिका सबै धर्मगुरूहरूले यही सूत्र अपनाएका छन् — कसैले आफ्नो 'बडप्पन' नगर्ने। अर्को पक्षलाई श्रद्धा र सम्मान गर्ने। एकअर्काको संवेदनशीलता बुझ्ने। पर्यो भने बरू आफ्नै समुदायबाट बदमासी गर्ने मानिसहरूलाई हप्कीदप्की गर्ने।
गेरूवाधारी महन्त चन्द्रनाथ योगीका अगाडि बसेर कुरा सुनिरहँदा मलाई ती विद्वान ऋषिमुनिहरूको याद आयो जसले सिंगो विश्वका लागि विशिष्ट अद्वैत दर्शनको विकास गरेका थिए। यो त्यस्तो दर्शन थियो जसले कुनै पनि वर्गीकरण र विभाजनलाई मान्दैन। कुनै पनि वैरभाव र वैमनश्य खारेज गर्छ। कुनै पनि हिंसा निन्दनीय मान्छ। प्रश्नलाई बढावा दिन्छ। कुनै जबाफ अरूमाथि थोप्दैन। विनयशीलतालाई उच्च मूल्यांकन गर्छ।
अनि मानिस जातिको सारा दुःखको कारण त्यो अहंकारलाई मान्छ जसले व्यक्तिलाई उसको स्वाभाविक शान्तचित्तमा रहन दिँदैन, तिक्तता र द्वन्द्व सिर्जना गर्छ।
सिंगो वेदान्तले जुन कुरालाई अनेक ढंगले बुझाएको छ, त्यो महन्तको एक वाक्यमा प्रतिविम्बित थियो — पहेले हमारा ताझिया जायेगा।
एकपल्ट कल्पना गर्नुहोस् त, यो आधारभूत पाठ हामी सबैले साम्प्रदायिक सदभाव मात्र नभई बाँकी क्षेत्रमा समेत व्यवहारमा उतार्न सक्ने हो भने हाम्रो समाज र जीवन कति सुन्दर हुन सक्छ?
कुनै प्रसंगमा मैले पहिले भनेको छु — नेपालमा वामपन्थीहरू लगायत सबैलाई धर्म नमान्ने छुट छ तर नबुझ्ने छुट छैन।
कारण — हामीलाई चित्त बुझे पनि, नबुझे पनि यो देशको प्रचण्ड बहुमतमा रहेका मानिसहरूका लागि धार्मिक आस्था ठूलो महत्वको विषय हो। समाजको ठूलो शिक्षित र बौद्धिक कित्ताले धर्म नबुझ्दा र बेवास्ता गर्दा आज धार्मिक आस्था खास विचारधारा हुने मानिसको एकाधिकारको विषय जस्तै बन्न पुगेको छ। उनीहरू आज धर्मका नाममा साम्प्रदायिक वैमनश्य र द्वन्द्वलाई भर्याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्ने अभ्यासमा लिप्त छन्।
नेपालगन्ज पुगेर महन्त चन्द्रनाथ योगीलाई भेटेपछि म थप विश्वस्त बनेको छु — धर्मका नाममा जुन अतिवादी साम्प्रदायिकताको चलखेल अहिले भइरहेको छ, त्यसको प्रतिवाद गर्न अन्त जानै पर्दैन, धर्मका मूल ग्रन्थहरूमा लिपिबद्ध ज्ञान फैलाए पुग्छ।
प्रस्तुत छ मैले महन्त योगीसित लिएको अन्तर्वार्ताको केही सम्पादित संस्करण जहाँ उहाँले अहिलेसम्म नेपालगन्जमा सदभाव कायम गर्नमा मिलेको सफलता र आगामी दिनका चुनौती दुवैबारे विस्तारमा चर्चा गर्नुभएको छः
एक्स (ट्विटर) @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)