बेइजिङ डायरी
गत जुन १४ देखि २० (जेठ ३१ गतेदेखि असार ६ गते) सम्म 'बेइजिङ श्वेत चैत्य सांस्कृतिक सप्ताह २०२५' आयोजना भयो। चीनको राजधानी बेइजिङमा रहेको श्वेतचैत्यको प्रांगणमा आयोजित सांस्कृतिक सप्ताह चौथो पटक आयोजना भएको हो।
सन् २०२२ मा पहिलो पटक सांस्कृतिक सप्ताह आयोजना हुँदा प्रमुख अतिथि छन सोङ थिए। उनी सन् २०२३ को जनवरीदेखि नेपालका लागि चिनियाँ राजदूत छन्।
चिनियाँ सांस्कृतिक सम्पदा ब्युरो र बेइजिङ नगरपालिकाको सांस्कृतिक सम्पदा विभागसँग मिलेर श्वेत चैत्य व्यवस्थापन कार्यालयले सांस्कृतिक सप्ताह आयोजना गर्दै आएको छ। सांस्कृतिक सप्ताहको नारा 'सदाबहार सांस्कृतिक सम्पदा; सदाबहार चीन नेपाल मित्रता' (कल्चरल हेरिटेज इभरलास्टिङ; चाइना नेपाल फ्रेन्डसिप इभरलास्टिङ) छ।
यो सांस्कृतिक सप्ताहको मुख्य नारामा सदाबहार चीन नेपाल मित्रता जोडिनुको कारण श्वेत चैत्य महान नेपाली कलाकार अरनिकोले निर्माण गरेकाले हो।
तेह्रौं शताब्दीमा चीनमा आएका अरनिको कहिल्यै नेपाल फर्किएनन्। उनले सन् १२७१ मा सुरू गरेर सन् १२७९ मा निर्माण सम्पन्न गरेको श्वेत चैत्यले साढे सात सय वर्षदेखि नेपाल र चीनबीचको मित्रतालाई जीवित बनाएको छ। फलतः सदाबहार चीन नेपाल मित्रता भनेर नारामा समेटिएको हो।
चीनमा भएका पुराना सांस्कृतिक सम्पदाहरूमध्ये एक हो श्वेत चैत्य।
५०.९ मिटर उचाइको यो श्वेत चैत्य नै बेइजिङको सबभन्दा पुरानो सम्पदा पनि हो। यसको निर्माणभन्दा केही अगाडि मात्र कुब्लाई खाँले बेइजिङलाई चीनको राजधानी बनाएका थिए।
चीनमा युआन राजवंशको सुरूआत गरेका कुब्लाईले पुरानो राजधानी शाङतू (हालको भित्री मंगोलिया) बाट तातू (हालको बेइजिङ) मा सारेका थिए। तसर्थ चीनको राजधानी बनेपछि बेइजिङको कला र संस्कृतिको विकासको जग अरनिकोले थालनी गरेको कुरा पुष्टि हुन्छ।
अरनिकोको शालिकसँग नेपाली बालबालिका
अरनिकोले बनाएको कुब्लाई खाँको चित्र
श्वेत चैत्यको निर्माणको नेतृत्व गरिरहेका अरनिकोलाई कुब्लाई खाँले १८ शाखाको नेतृत्व गर्ने प्रशासन विभागको महाप्रबन्धकको पदसँगै चाँदीको विभूषण र बाघको आकारको दुई फ्याक भएको छाप दिएका थिए।
सन् १२७८ मा कुब्लाई खाँले भारदार मन्त्रीको दर्जा दिँदै सुन सिंहासनका वस्तु बनाउने र बुनेर बनाइने विभिन्न हस्तकलाका निर्माण विभागहरूको प्रमुखको पद पनि दिएका थिए।
भनिन्छ— त्यति बेला अरनिको कुब्लाई खाँको भारदारी सभामा उच्च ओहोदा प्राप्त गरेर बादशाहकै नजिकै बस्थे।
अरनिकोले बेइजिङमा जस्तै अर्को श्वेत चैत्य चीनको पल्लो शान्षी प्रान्तको ऊथाईशानमा पनि बनाएका छन्। यी दुई सम्पदा अझै जिवन्त रूपमा ठडिएकै छन्।
त्यसबाहेक कयौं मठमन्दिर, गुम्बा, मूर्तिहरू, चित्रहरू, अन्तरिक्ष अन्वेषण यन्त्र आदि अरनिकोकै नेतृत्वमा निर्माण भएका थिए। अहिले कतिपय नासिएका छन् भने केहीको भग्नावशेष संरक्षण गरेर राखिएको छ।
अरनिकोले थुप्रै चित्रकला बनाएका थिए। ती चित्रकलामध्ये सम्राट कुब्लाई खाँ र उनकी रानी छबिको चित्र हुन्। अहिले ती सक्कली चित्र ताइवानको संग्रहालयमा छन्। त्यसैगरी अरनिकोले बनाएका केही चित्र युरोप र अमेरिकाका विभिन्न संग्रहालयमा संरक्षित छन्।
श्वेत चैत्यमा जति पटक गए पनि मैले त्यहाँको व्यवस्थापन कार्यालयसँग दुइटा प्रश्न राख्ने गरेको छु।
एउटा प्रश्न अरनिकोको समाधिस्थलका बारेमा हो। सन् १३०६ मा बेइजिङमा अरनिकोको मृत्यु भएको थियो। तर उनको लाश कहाँ समाधिस्त गरियो भन्ने कुनै तथ्य–सूचना प्राप्त गर्न सकिएको छैन।
सत्यमोहन जोशीले लेख्नुभएको किताब 'कलाकार अरनिको' मा पनि अरनिकोको समाधिस्थल स्पष्ट किटान गरिएको छैन। अरनिकोको समाधिस्थलमा राखिएको शिलालेखलाई आधार मानेर अरनिकोका एउटी नेपाली र १० जना चिनियाँ श्रीमती भनेर जोशीज्यूले लेख्नुभएको छ।
त्यसो भए अरनिकोको समाधिस्थल कुन ठाउँमा छ भनेर मैले सत्यमोहन जोशीलाई पनि सोधेको थिएँ। उहाँ आफै समाधिस्थलमा पुग्नु भएको होइन रहेछ। कुनै चिनियाँ माध्यमबाट समाधिस्थलको शिलालेखको फोटो प्राप्त गरेको उहाँले बताउनुभयो। श्वेत चैत्य व्यवस्थापन कार्यालयले यसबारे अहिलेसम्म ठोस जबाफ दिन सकेको छैन।
स्वयम्भूको प्रतिमासँग रोटरी क्लब अफ भादगाउँका प्रतिनिधिहरू
श्वेत चैत्य सांस्कृतिक समारोहमा नृत्य प्रस्तुत गर्दै नेपाली विद्यार्थी
त्यसैगरी मेरो अर्को प्रश्न अरनिकोले कुब्लाई खाँलाई प्रभाव पार्न गरेको पहिलो काम, पित्तलको मूर्ति मर्मतको थियो। त्यो मूर्ति कहाँ छ भनेर सोध्दा त्यसको पनि कुनै लेखाजोखा छैन रे!
त्यही मूर्ति नभए नि त्यसको 'रेप्लिका' चाहिँ बेइजिङको फरबिडन सिटीभित्र संरक्षण गरिएको छ भनेर श्वेत चैत्य कार्यालयका अधिकारीले मलाई भनेका थिए। मैले फरबिडन सिटीभित्र खोजी गर्दा त्यो पनि भेटाउन सकिनँ।
यी दुई प्रश्नबाहेक पनि श्वेत चैत्य व्यवस्थापन कार्यालयले गर्न सक्ने अरू थुप्रै काम छन्। सम्राट कुब्लाई खाँ र छबिको चित्रको एक नक्कल प्रति श्वेत चैत्य संग्रहालयमा राख्न आवश्यक छ। अहिले श्वेत चैत्य संग्रहालयमा अरनिकोले बनाएको कुब्लाई खाँको चित्रको नक्कल प्रति मात्र राखिएको छ। अरनिकोले अन्य थुप्रै चित्र बनाएका थिए। ती पनि संकलन गरेर राखेमा अरनिको र नेपाल सम्बन्धलाई चीनले अझ बढी न्याय दिन सक्थ्यो।
चीन बसाइको एक दशकभन्दा बढी हुँदा पनि मैले अरनिकोका सन्तानबारे कुनै सुइँको पाउन सकेको छैन। त्यो धेरै कठिन काम हो। किनभने, साढे सात सय वर्ष अगाडिदेखिको वंश खोजेर शाखासन्तान भेट्नु चानचुने कुरा होइन।
अरनिकोका सन्तान नभेटे पनि उनले सिर्जना गरेका कलाकृतिको खोज तथा अनुसन्धान गर्न सकिन्छ। विदेशमा छन् भने फर्काएर संग्रहालयमा संरक्षण गर्न सकिन्छ। कतिपय फोटोको नक्कल प्रति राख्न सकिन्छ।
बादशाह र रानीका चित्र बनाएर ख्याति कमाएका अरनिकोको आफ्नै कुनै चित्र आज हामीसँग छैन। सन् १९७२ मा पहिलो पटक केके कर्माचार्यले बनाएको रेखाचित्रलाई अरनिको मानेर नेपालले हुलाक टिकट प्रकाशन गरेको थियो। अहिले बेइजिङमा एउटा र नेपालका चार ठाउँमा अरनिकोका शालिक स्थापना गरिएका छन्। तर तिनको आकृति कुनै पनि एकअर्कासँग मिल्दैन।
यही मेसोमा बेइजिङस्थित श्वेत चैत्य कार्यालयले हरेक वर्ष श्वेत चैत्य सांस्कृतिक सप्ताह आयोजना गरेर नयाँ पुस्तालाई अरनिकोबारे धेरथोर जानकारी बाँड्न थालेको छ। यसले हराउँदै गएको अरनिकोको पहिचानमा फेरि चर्चा सिर्जना गरेको छ।
जुन १४ तारिख उद्घाटित सांस्कृतिक सप्ताह समारोहलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धमा अरनिकोको योगदान सबैभन्दा उच्च रहेको बताए। त्यसैगरी नेपालका लागि चिनियाँ राजदूत छन सोङले पनि भिडिओ सम्बोधनमार्फत अरनिकोको गुणगान गाए।
उक्त उद्घाटन समारोहमा अरनिकोले निर्माण गरेका सांस्कृतिक सम्पदाहरू समेटिएको श्रव्यदृश्य सामग्री प्रसारण गरिएको थियो।
रोटरी क्लब अफ भादगाउँले अरनिको व्यवस्थापन कार्यालयलाई दिएको स्वयम्भूको प्रतिमा
हुलाक टिकटमा अरनिको
यस पटकको सांस्कृतिक सप्ताहको अर्को नयाँ उपलब्धि भनेको रोटरी क्लब अफ भादगाउँले अरनिको व्यवस्थापन कार्यालयलाई स्वयम्भूको प्रतिमा चित्र हस्तान्तरण गरेको छ। अबदेखि श्वेत चैत्य संग्रहालयमा सानो नमूना स्वयम्भू पनि देख्न सकिन्छ।
यो सांस्कृतिक सप्ताहमा नेपाली थाङ्का, नेपाली हस्तकलाका सामग्रीहरू, नेपाली मूर्तिहरू पनि प्रदर्शन गरिएका थिए। एक हिसाबले त्यहाँ मेला लागेको थियो। उक्त मेलाले नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन पनि गरेको थियो। यसैगरी श्वेत चैत्य घुम्न आउने चिनियाँ तथा विदेशी पर्यटकले नेपालका बारेमा थोरधेर जानकारी प्राप्त गरेका छन्।
त्यसो त चीन सरकारले श्वेत चैत्यमा प्रवेश गर्न नेपालीहरूलाई निःशुल्क व्यवस्था गरिदिएको छ। चिनियाँ तथा अन्यले २० युआन (३८० नेपाली रुपैयाँभन्दा बढी) को टिकट लिनुपर्छ। म नेपाली हुँ भन्नेले निःशुल्क प्रवेश पाउँछन्।
श्वेत चैत्य सांस्कृतिक सप्ताह आयोजना गर्नुको मुख्य उद्देश्य चाहिँ नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा पुर्याउनु नै हो। चालु वर्ष नेपाल र चीनबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव हो। त्यसपछिको अर्को उद्देश्य भनेको श्वेत चैत्यलाई विश्व सम्पदा सूचीमा समावेश गराउनु पनि हो।
सबै उद्देश्य नेपालको हितमा छन्। श्वेत चैत्यले दुई देशको सांस्कृतिक सम्बन्धलाई जिवन्त राखेकै छ। यससँग सम्बन्धित जे जति गतिविधि हुन्छन्, त्यसले नेपाल प्रवर्द्धन हुन्छ। यदि यो क्षेत्र विश्व सम्पदा सूचीमा समावेश भएमा नेपाली कलाको सम्मान अझै बढेर जानेछ। अरनिकोले ऊथाईशानमा बनाएको श्वेत चैत्य पहिले नै विश्व सम्पदा सूचीमा समावेश छ। तर त्यहाँ अरनिकोले बनाएको श्वेत चैत्य मात्र छैन दुई वर्षदेखि रहेका दर्जनौं गुम्बाहरू पनि छन्।
सानो प्रयास भए पनि श्वेत चैत्य सांस्कृतिक सप्ताह प्रशंसनीय छ। नेपाली महान कलाकार अरनिकोलाई चीनले बिर्सिएको छैन भन्ने यो सानो प्रमाण पनि हो। त्यसैगरी नयाँ पुस्तामा अरनिको र नेपालबारे जानकारी थप्ने काम पनि यो गतिविधिले गरेको छ। अन्तमा के भन्न सकिन्छ भने बेइजिङले अरनिको खोज्दैछ।
आशा गरौं, भविष्यमा अरनिकोका योगदानलाई अझै घनिभूत रूपमा खोजी गरिनेछ र प्रवर्द्धन हुनेछ।
अरनिकोले बनाएको युद्ध चित्र
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)