सन् साठी–सत्तरीको दशकतिरको लोभलाग्दो नेपाल। पश्चिमा युवाहरू मर्सिडिज बेन्जमा बत्तिँदै, डबल डेकर बसमा मच्चिँदै नेपाल आउन थाले।
हजारौं माइल यात्रा गरेर नेपाल आउनुको उद्देश्य दाम्मी पहाडी गाँजा, चरेस खाने। प्रकृतिमा बिन्दास रमाउने। यताको संस्कृति सिक्ने। उताको सिकाउने। 'दम मारो दम' भन्दै दिनहरू बिताउने। मानौं नेपाल तिनको नयाँ पिकनिक 'स्पट' थियो।
त्यसरी नेपाल आउने विदेशीहरूलाई 'हिप्पी' र नेपाललाई 'हिप्पी प्याराडाइज' नाम दिन थालियो। अहिले पनि 'रेन्बो फेमिली' वा 'रेन्बो ग्यादरिङ युनिटी' आदि नामले चर्चित एकथरी युवायुवतीको जमात असोज–कात्तिक वा नयाँ वर्षको मौका पारेर नेपाल आएको देखिन्छ।
'नयाँ हिप्पी' मानिने उनीहरू कहिले अछामको रामारोशनतिर रमाउँछन्। कहिले कैलालीको सिमली जंगलमा घुम्छन्। कहिले संखुवासभा र तेह्रथुमको तीनजुरे–मिल्के–जलजलेतिर उक्लिन्छन्।
पुरानै कुरामा फर्किऔं।
त्यति बेला पश्चिमा देशका युवाहरू यता आएर यतै मस्त हुन थालेपछि उनीहरूको देशको नेतृत्व अत्तालियो। कतै आफ्ना युवा नफर्किने पो हुन् कि भन्ने लाग्यो होला। अहिले आफ्ना छोराछोरी कुलतमा पर्दा यताका अभिभावक आत्तिएझैं!
अनि त सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले 'अमेरिकाको सबभन्दा ठूलो शत्रु ड्रग्स नै हो' भन्दिए। अमेरिका आफै फिल्डमा उत्रिएपछि कसको के लाग्नु!
त्यति बेला अहिलेजस्तो अनेकरूपी रसायनयुक्त लागुऔषध थिएनन्। गाँजा, अफिम र कोकाको झार मुख्य थिए।
योजना बनाएर 'ड्रग्स' विरूद्धको युद्ध लड्ने तयारी भयो।
नेपाल अहिले त्यसैगरी लड्नुपर्ने अवस्थामा पुगेको छ। तीनै तहका सरकारको ढुकढुकीले भन्दैछ — लागुऔषधले युवालाई बिगार्दैछ। परिवार छिन्नभिन्न पार्दैछ। समाजमा अपराध बढाउँदैछ।
तर ठोस र योजनाबद्ध काम कतैबाट हुन सकेको देखिँदैन। लागुऔषध विरूद्धको युद्ध लड्ने तयारी फितलो देखिँदै छ।
लागुऔषधको ओसारपसार र प्रयोग दिनानुदिन बढ्नुका कारण अनेक छन्। खुला सीमा छ। तिनका ठाउँ ठाउँबाट विभिन्न नाउँका लागुऔषध छिरेर गाउँ गाउँ पुगेका छन्, खेताला र भरिया लगाएर। जीउमा, छातीमा, यौनांगमा, भारीमा, झोलीमा, बोरीमा; के केमा लुकाएर भित्रिँदैछन्।
तिनको गन्तव्य केवल सीमा पार गरेर भित्रिने मात्र कहाँ हो र? उस्तै परे अर्कोतिरको सीमासम्म हुन्छ। त्यहीँ सीमा छेउछाउका त फुत्त पारि पसेर, स्वाट्टै सेवन गरेर फर्किन सक्छन्।
पारि जान नसक्नेलाई वारि ल्याइदिनुपर्यो। यहाँ पुर्याएर मात्र पनि भएन। खानेले खोजीखोजी खाइहाल्छन्। नखाएकालाई खोजीखोजी खुवाउने बनाउनुपर्यो। घरघरमा फैलाउनुपर्यो। तराई सीमाबाट अवरोध छिचोल्दै पहाड उक्लिन सघाउनुपर्यो।
थरीथरी लागुऔषध भित्रिरहेका मात्र छैनन्, बोराका बोरा, क्विन्टलका क्विन्टल गाँजा निकासी पनि भइरहेछ। मकवानपुरमा, धनकुटामा, रूकुमतिर ठूलो मात्रामा गाँजा खेती भइरहेको छ। अहिले त गाँजाभन्दा अफिमतिर आकर्षण बढ्दैछ। उता अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अफिम उत्पादन घटेर पनि होला, अरू ठाउँमा यसप्रतिको लगाव बढेको।
लागुऔषधको यो डरलाग्दो अवस्था रोक्न कठोर हुन अबेर भइसक्यो।
बा मर्दा किरिया नगर्ने रे!
लागुऔषध सेवनले खोपिल्टा परेका आँखा उसले बासँग जुधायो। आवेशमा काम्दै गरेको चोर औंलो तेर्स्यायो। अनि मुर्मुरिँदै भन्यो, 'तँ बुढो मरेपछि तेरो किरिया पनि गर्दिनँ। हेरिराख्नु!'
छोरोका तीखा शब्दवाण कानको बाटो छिरेर मुटुका भित्तामा गाडिए। अनुहार नियास्रियो। आँखाका डिलले आशुँको मूल नथेग्दा पीडा धरधरी बग्यो।
लागुऔषधको कुलत परिसकेको एक्लो छोरोलाई दोस्रो पटक 'रिह्याब' (पुनर्स्थापना/सुधार केन्द्र) मा छोडेर फर्किँदै गरेका बाले मनमनै सोचे, 'मरेपछि हेरे के नहेरे के?'
तर तन बटारिएर आयो। खुट्टा लुगलुगी कामे। बा थचक्क भुइँमा बसे।
छोरो रिह्याबमा बसेको महिनौंसम्म दुवैको ओठमा हाँसो आएन। न रिह्याबमा बस्ने छोराको, न छोरो पठाएर घरमा कैद हुने बाको।
कतिपय लागुऔषध यस्ता पनि छन् जसलाई व्यक्तिले तीन–चार पटक जानेर वा अन्जानमै खाएपछि लत लाग्छ। तीन–चार पटक त नजिकको साथी बनेर खाजा खुवाएर, फकाएर, नयाँ चीज हो भनेर खानेकुरामा मिसाइदिएर वा अनेक तरिकाले चखाउन सकिन्छ। यसका लागि गिरोह नै लागिरहेको छ लागुऔषधको संसारमा।
डोपामाइनयुक्त लागुऔषधका कारण चाँडै लत लाग्ने पनि विज्ञहरू बताउँछन्। रिह्याबमा बस्ने छोरो पनि यस्तै कुनै लागुऔषध खाएर कुलतमा परेर पारिवारिक तनावको अवस्था आयो।
चौध पटक रिह्याब
रिह्याब अर्थात् पुनर्स्थापना/सुधार केन्द्र— कुलतमा परेकालाई सुधार्ने ठाउँ।
यस्ता ठाउँमा बस्न सरूसुरूमा पीडादायी होला। त्यहाँ बस्ने केहीले केही समय बसेपछि कुलत छोड्छन्। केही भने त्यहाँ बसुञ्जेल छाडेर निस्किएपछि पुनः सुरू गर्छन्। त्यही भएर लागुऔषध प्रयोगकर्ता दोहोर्याइ तेहर्याइ रिह्याब धाएको देखिन्छ, सुनिन्छ।
एक युवा लागुऔषधको कुलतमा पर्यो। परिवारले थाहा पाएर रिह्याब पठायो। एक पटक होइन, पटक पटक पठायो। कहिले काठमाडौं, कहिले भैरहवा, कहिले पोखरा, देशभरका नाम चलेका रिह्याब सेन्टर चहार्यो।
युवक चौध पटक रिह्याब बस्यो। लगभग त्यति नै किसिममा लागुऔषध प्रयोग पनि गर्यो।
पहिलो रिह्याबमा उसलाई राम्ररी परामर्श भएन। सायद दोस्रो, तेस्रोमा पनि उही कथा दोहोरियो।
अन्तिममा बसेको रिह्याबमा उसलाई 'ओबामा पनि युवा हुँदा गाँजा सेवनको कुलतमा परेर सुध्रिँदै अमेरिकाको राष्ट्रपतिसम्म बन्न सफल भएका, फलानो सेलेब्रेटी यसरी नशामुक्त भएर सफल भएको, ढिस्कानो खेलाडीले लागुऔषध विरूद्धको लडाइँ यसरी जितेको' जस्ता उत्प्रेरणामूलक भनाइ र सफलताका कथाले 'क्लिक' गरेछ।
हौसलाको 'डोज' ले उसले सेवन गरेका लागुऔषधका सबै 'डोज' लाई जित्यो। उसले नशा कहिले नछुने अठोट मात्र गरेन, आफूजस्ता कुलतमा फसेका युवालाई यो 'कालो' संसारबाट निकालेर उज्यालोतिर लैजाने कसम पनि खायो। आफू नशामुक्त भएपछि देशभरका तीन सय रिह्याबको भीडमा एउटा रिह्याब खोलेर नशामुक्त समाज बनाउन योगदान गरिरहेछ।
शिक्षकहरू भन्छन्—
पश्चिम तराई कैलालीको हिमालय माविका शिक्षक बुद्धिराम चौधरी भन्छन्, 'विद्यार्थीहरू चुरोट र गुट्खा खाएर लागुऔषधको यात्रा सुरू गर्छन्। विद्यालय प्रवेश गर्ने बेला पाइन्टको गोजी वा झोला खानतलास गरे चुरोट र गुट्खाका पुरिया भेटिन्छ। सबै झिकेर जफत गर्यो, जलायो, नष्ट गर्यो। विद्यार्थीलाई एकछिन तनाव हुन्छ। टिफिन टाइममा स्कुलको पर्खालसँगै जोडिएका किराना पसलमा सजिलै पाइने गुट्खा, चुरोट किनेर ल्याइहाल्छन्।'
उनले भनेजस्तै व्यवसायीले नबुझिदिँदा र पर्याप्त बजार अनुगमन नहुँदा पनि यो विकृति नियन्त्रण गर्न सकिएको छैन। आज चुरोटको खिल्लीबाट धुँवा उडाउनेहरू, भोलि लागुऔषधको कूलतमा लाग्ने सम्भावना उच्च रहन्छ।
मोरङको एक स्कुलका प्रधानाध्यापक लागुऔषधले निम्त्याएको भयावह अवस्थाबारे भन्छन्, 'अभिभावकले आफ्ना छोराछोरी सम्हाल्न नसकेर आत्मसमर्पण गरिसके। सन्तानलाई प्रधानाध्यापक वा विद्यालय प्रशासनको जिम्मा लगाउन थालेका छन्। कुलतमा पर्दै गएका छोराछोरीलाई सम्झाउन खोजे खुकुरी लिएर झम्टिन आउँछन्। कैयौं उदाहरण पनि छन्। अभिभावक र शिक्षकहरू असुरक्षित छन्। समस्या हरदिन बढ्दैछ।'
खासगरी तराईका ठूला सहरको साझा र गम्भीर समस्या बनेको छ लागुऔषध। तर त्यहाँ खानेभन्दा ओसारपसार गर्ने बढी छन्। पारिबाट सिन्थेटिक र नियन्त्रित लागुऔषध आउँछ। मकवानपुर, धनकुटा जस्ता जिल्लातिरबाट गाँजा, चरेस, अफिम जान्छ। तराईका सीमा हुँदै लागुऔषध पहाड उक्लिन्छ।
एउटा गिरोह छ जो हमेशा सम्भावित प्रयोगकर्ताको खोजीमा लागिरहेको हुन्छ। अनलाइनबाटै वा एक कल फोनका भरमा लागुऔषधको कारोबार चलाउँछ। मध्यराती होम डेलिभरीको नाममा वा इन्टरनेट वा अन्य युटिलिटी सर्भिसको निहुँमा युवाहरूलाई घरघरमै लागुऔषध आपूर्तिको काम गर्छ।
तिनका निशानामा सहरमा छ्यापछ्याप्ती खुलेका तर पर्याप्त अनुगमन नभएका ब्वाइज एन्ड गर्ल्स होस्टलमा बस्ने युवायुवती हुन्छन्। यिनमा पनि खासगरी कलेज पढिरहेका किशोरकिशोरीहरू; उच्च घरानियाँ र धनाढ्य परिवारका, एक्ला सन्तान, पारिवारिक विखण्डनमा रहेकाहरू।
यी किशोरकिशोरीलाई बचाउने दायित्व हामी सबैको हो।
अधिकांशलाई लाग्छ — प्रहरी कुदेर, उसले जाँच गरेर, कारोबारी समातेर वा अदालतले अपराध गर्नेलाई कैद जरिवाना गरेपछि लागुऔषधको समस्या रोकिइहाल्छ!
तर त्यति मात्रले हुँदैन। प्रत्येक नागरिक सचेत हुन सके मात्र यस समस्यासँग जुध्न सकिन्छ। मेरो सन्तान त सुरक्षित र चोखो छ भनेर हुँदैन, छिमेकीको सन्तान पनि सुरक्षित भएको ग्यारेन्टी हुनुपर्छ। नत्र आफ्ना सन्तान जुनसुकै बेला जोखिममा पर्न सक्नेछन्।
लागुऔषध दुरूपयोग तथा ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसमा हामी सबैले यो कुरा मनन गरौं!
(लेखक गोकर्णप्रसाद उपाध्याय नेपाल सरकारका उपसचिव हुन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)