प्रधानमन्त्रीजी, तपाईंको मन्त्रिपरिषदका सदस्य सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले 'घुस डिल' गरिरहेको अडिओ सार्वजनिक भएको छ।
सामान्यतया दुई व्यक्तिबीच निजी रूपमा भएका कुराकानी सार्वजनिक विषय बन्दैनन्, बन्नु हुन्न। गोपनीयताको हकअन्तर्गत दुई व्यक्तिबीच भएका कैयन कुराले सार्वजनिक रूपमा स्थान पाउनु हुन्न। सार्वजनिक 'स्पेस' र निजी 'स्पेस' बीचको विभेदलाई हामी सबैले मान्नुपर्छ।
तर घुस लेनदेनको विषय, त्यसमाथि संघीय मन्त्री नै संलग्न विषय अलग हो। यो सार्वजनिक चासो मात्र होइन, राज्यका निकायले तुरून्त छानबिन गर्नुपर्ने विषय पनि हो। र, सरकारको मुलीका हिसाबले तपाईंले तुरून्तै 'एक्सन' लिनुपर्ने विषय हो।
तपाईंको मन्त्रीले 'घुस लेनदेन' को कुरा गरिरहेको अडिओ सार्वजनिक भएपछि यसमा सबभन्दा प्रमुख चासो तपाईंकै हुनुपर्ने हो। सबभन्दा बढी तदारूकता तपाईंले नै देखाउनुपर्ने हो। सबभन्दा पहिलो पहल तपाईंले नै लिनुपर्ने हो। यसमा एक जना मन्त्रीको मात्र नाम मुछिएको छैन। मन्त्री गुप्ताले भूमिसुधार मन्त्री बलराम अधिकारीले पनि 'पैसा खाइसकेको तर उसले त्यो काम नगर्ने' बताएका छन्।
त्यसैले यो विषयमा तपाईंले मन्त्री गुप्तालाई बोलाएर यो अडिओको आवाज तिम्रो हो कि होइन भनेर सोध्नुपर्ने हो। उनले मिडियामा जसरी 'कतिपय आवाज मेरो हो, कतिपय होइन' भनेका छन्, त्यसबारे तुरून्तै 'फरेन्सिक ल्याब' मा उनको आवाज जाँच गर्न पठाउनुपर्ने हो।
यस्तो गम्भीर अडिओ बाहिर आएपछि प्रधानमन्त्रीका रूपमा तपाईंले यति कुरा गरिसक्नुपर्ने थियो। र, आमनेपालीलाई यसबारे जानकारी गराउनुपर्थ्यो।
तपाईंले भन्नुपर्थ्यो – मैले अडिओ जाँच गर्न फरेन्सिक ल्याबमा पठाएको छु। त्यो परीक्षणले अडिओमा भएको आवाज मन्त्रीकै हो भन्ने प्रमाणित गर्यो भने म उनलाई तुरून्तै बर्खास्त गर्नेछु। र, थप कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने छु।
यत्ति भन्नुभए मात्र तपाईंले सार्वजनिक रूपमा भन्दै आएको 'म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ' भन्ने कुराको मान रहन्थ्यो।
अहिलेसम्म यो अडिओ प्रकरणमा तपाईंले के कदम चाल्नुभएको छ, त्यो हामीलाई थाहा छैन। नेपाली जनतालाई पनि थाहा छैन। तपाईंले अडिओ 'फरेन्सिक' परीक्षणका लागि पठाइसक्नुभएको भए वा अरू कुनै प्रभावकारी कदम उठाउनुभएको भए, नेपाली जनतालाई त्यसबारे जानकरी गराउनुभएको छैन।
अडिओ सार्वजनिक भएको यतिका घन्टासम्म तपाईंले यस विषयमा देखाउनुभएको उदासीनताले 'म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ' भन्ने तपाईंको भनाइलाई नै गिज्याइरहेको छ।
प्रधानमन्त्रीजी, कुशासन हाम्रो लोकतन्त्रको सबभन्दा कमजोर कडी हो। यो कमजोर हुनुमा सबभन्दा प्रमुख दोष राजनीतिक दलका शीर्ष नेताहरूको छ।
तपाईंहरू सबै जना भ्रष्टाचारको विषय अख्तियारलाई जिम्मा लगाएर हात बाँधेर बस्नुभएको छ। धेरैजसो अवसरमा आफ्ना नेता–कार्यकर्ताका कमजोरी र गल्तीको बचाउ गर्नुभएको छ। जबकि भ्रष्टाचार अन्त्य गर्ने सबभन्दा प्रमुख दायित्व राजनीतिक नेतृत्वको हो। राजनीतिक नेतृत्व उदासीन रहँदा अख्तियारले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्ने अब त तपाईंहरूलाई घाम जतिक्कै छर्लंग हुनुपर्ने हो!
प्रधानमन्त्रीजी, मन्त्री गुप्ताको यो घटनाबाट नयाँ नजिर बसाउन सुरू गरौं। फरेन्सिक परीक्षणले अडिओमा भएको आवाज उनकै हो भन्ने प्रमाणित गर्यो भने उनीसँग राजीनामा माग्ने होइन, उनलाई तुरून्त बर्खास्त गर्नुहोस्। र, उनीसहित मन्त्री बलराम अधिकारीमाथि पनि आवश्यक छानबिन गर्न अख्तियार पठाउनुहोस्।
फरेन्सिक परीक्षणले मन्त्री गुप्ताले दाबी गरेजस्तो यो अडिओमा मिसमास गरिएको देखायो भने तत्काललाई मन्त्रीमा कायम राखेर विस्तृत छानबिनका लागि अख्तियार पठाउनुहोस्। नेपाली जनतालाई त्यसको जानकारी गराउनुहोस्।
हामीलाई आशा छ — अख्तियारले यो प्रकरणमाथि अनुसन्धान गरिरहेको छ। तर प्रधानमन्त्रीले नै आफ्ना मन्त्रीको 'केस' अख्तियारमा 'रिफर' गर्दा त्यसले सुशासनमा नयाँ नजिर बस्छ र अख्तियारलाई पनि त्यसले थप बलियो बनाउँछ।
प्रधानमन्त्रीजी, गुप्ता प्रकरणमा आवश्यक कदम चाल्न तपाईं चुक्नुभयो र नेपाली जनतालाई विश्वस्त गर्न सक्नुभएन भने तपाईंको विश्वसनीयता थप क्षय हुनेछ। दलहरू र लोकतन्त्रमाथि नेपाली नागरिकहरूको भरोसा थप कमजोर हुनेछ।
***
यो पनि पढ्नुहोस्: