बेइजिङ डायरी
चीनको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) को आली प्रिफेक्चरको गार काउन्टीको एउटा कृषि बजार पुगेपछि ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला आश्चर्यचकित बने।
उनले अनौठो मान्दै भने, 'अरे यहाँ पनि यस्ता फलफूल?'
त्यहाँ खरबुजा, अंगुर, लिची, काँक्रा, फर्सी, लौका, खुर्सानी, भेडे खुर्सानी, कमलको जरा, सखरखण्ड र आलु लगायत तरकारी तथा फलफूल थिए।
फलफूल र तरकारी मात्र नभई फूलका बोटबिरूवा पनि थिए। सुनाखरी, गोदावरी, सयपत्री, सिउँडी (क्याक्टस), गुलाफ लगायत फूलले बजार सिँगारिएको थियो।
यस्ता फल, फूल र तरकारी चिनियाँ बजारमा देखिनु अनौठो होइन। चीनका सबैजसो कृषि बजारमा यस्तै उत्पादन देखिन्छन्।
तर गार काउन्टीको त्यफ बजारमा यी सब देखेर निरौला छक्क पर्नुको खास कारण रहेछ। त्यो हो उक्त क्षेत्रको उचाइ।
त्यसो त सिचाङका सबै भूभाग समुद्री सतहदेखि निकै उचाइमा पर्छन्। त्यहाँ पुग्ने पर्यटकलाई लेक लाग्न सक्छ। त्यसमा पनि आली प्रिफेक्चरको उक्त गार काउन्टी चार हजार पाँच सय मिटरभन्दा बढी उचाइमा छ। उक्त उचाइमा त्यस्ता तरकारी र फलफूल उत्पादन हुने कल्पना महावाणिज्यदूत निरौलाले गरेकै रहेनछन्।
जुन महिनाको अन्त्यतिर निरौला ल्हासादेखि निकै टाढा सिचाङको उत्तर–पश्चिममा पर्ने आली प्रिफेक्चरको भ्रमणमा निस्किएका थिए। त्यहाँको गार काउन्टी नेपालको हुम्ला जिल्लादेखि पनि उत्तर पश्चिमतिर पर्छ।
नेपालमा खरबुजा सामान्यत तराई क्षेत्रमा उत्पादन हुन्छ, त्यो पनि खोलाको बगरमा। खरबुजा उत्पादन गर्न कम उचाइ र उच्च तापक्रम चाहिन्छ भन्ने कुरामा निरौला जानकार रहेछन्। नेपालकै सबभन्दा कम उचाइमा पर्ने झापामा जन्मेर हुर्किएका निरौला खरबुजासँग बाल्यकालदेखि नै हेलमेलमा रहनु सामान्य थियो।
गार काउन्टीको तरकारी बजार
ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला
समुद्री सतहदेखि एक सय मिटरको उचाइमा बालुवानी बगरमा खरबुजा कोपर्दै हुर्किएका निरौलाले ४ हजार ५ सय मिटर उचाइमा रहेको पठारभूमिका बजारमा भरिभण्ड खरबुजा देखेपछि सोचेछन् — निकै टाढादेखि ढुवानी गरेर ल्याए पनि ताजै देखिन्छ!
यी फलफूल, तरकारी चीनका कुन कुन ठाउँबाट कति दिनमा ढुवानी गरेर ल्याइएको हो भनेर उनले स्थानीय व्यापारीलाई प्रश्न गरे।
बजारका सामान देखेर आश्चर्यमा परेका निरौला दोभासेमार्फत व्यापारीका उत्तर सुनेर अर्को आश्चर्यमा परे।
स्थानीय भन्दै थिए, 'यो बजारमा भएका ९० प्रतिशत फलफूल तथा तरकारी हामी यहीँ उत्पादन गर्छौं।'
सामान्यतया पठारभूमिमा पाँच हजार मिटरमाथि कुनै पनि वनस्पति पाइँदैन। त्यसमाथि विश्वको छानो भनेर चिनिएको सिचाङको पश्चिम आली क्षेत्र प्रायः नांगो देखिन्छ। त्यस्तो भूभागमा यस्ता फलफूल उत्पादन गर्नु चानचुने कुरा थिएन। झट्ट सुन्दा अथवा यो लेख पढ्ने पाठकलाई पनि पत्याउन मुस्किल पर्न सक्छ।
निरौलाले पनि नपत्याएको भावमा भने, 'यो उचाइमा यस्ता फलफूल उत्पादन! के यी फलफूल उत्पादन हुने ठाउँ अवलोकन गर्न सकिन्छ?'
सायद निरौलाको प्रश्न स्थानीय चिनियाँका लागि अप्रत्याशित थियो। उनीहरू केहीबेर अलमल परे। एकअर्कासँग केहीबेर गलफत्ती गरे।
स्थानीय टोली नेताले भने, 'महामहिम तपाईं चाहनुहुन्छ भने हामी स्थानीय उत्पादन क्षेत्रको अलवोकनमा जान सक्छौं। तर त्यहाँ तपाईंलाई केही असुविधा हुन सक्छ।'
कस्तो असुविधा — निरौलाले प्रतिप्रश्न गरे।
'त्यहाँ निकै गर्मी हुन्छ। अनि उक्त क्षेत्रमा शौचालयको सुविधा पनि छैन,' टोली नेताले भने।
'केही छैन। म यस्ता तरकारी र फलफूल उत्पादनको अवलोकन गर्न चाहन्छु,' निरौलाले उत्सुक हुँदै जबाफ दिए।
त्यसपछि महावाणिज्यदूत निरौला र उनकी श्रीमती विमला ढुंगेलसहितको नेपाली टोलीलाई लिएर स्थानीय चिनियाँहरू एउटा कृषि उत्पादन क्षेत्रतिर लागे।
गार काउन्टीमा 'पर्यावरणीय औद्योगिक केन्द्र' नाम रहेको एउटा कृषि उत्पादन क्षेत्र रहेछ। लश्करै गाडी रोकिएपछि बाटोको दायाँबायाँ दुवै क्षेत्रमा जमिनको सतहकै उचाइमा छाना रहेका छाप्रा देखिए। ती छाप्रामा पस्न एउटा सानो ढोका थियो। झट्ट हेर्दा सुरूङभित्र छिर्ने प्वाल जस्तो मात्र।
तीन–चार वटा खुड्किला ओर्लिएर सिँढी घुमेर अर्को चरणको त्यति नै संख्यामा खुड्किला झरेपछि अर्कै दुनियाँमा पुगेजस्तो भयो।
त्यहाँभित्र पस्नासाथ तातो हावाको झोकाले अनुहारमा फुकेर स्वागत गर्यो।
ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र उनकी श्रीमती विमला ढुंगेल
त्यस्ता सुरूङ दर्जनौं थिए त्यहाँ। कुनै सुरूङमा काँक्रा, कुनैमा फर्सी, कुनैमा लौका, कुनैमा खरबुजा। खरबुजाका पनि कति धेरै प्रकार! कुनै हत्केलाभित्र अट्ने गोलभेँडा जत्रा, कुनै चाहिँ एक जनाले उचाल्नै नसक्ने!
हेरक सुरूङ फरक फरक तरकारीका लागि छुट्ट्याइएका रहेछन्। गोलँभेडाका लागि एउटा, भेडेखुर्सानीका लागि अर्कै। भिन्डी, मुला, गाँजर, सलगम, चुकन्दर, आलु, सखरखण्ड लगायत विभिन्न प्रकारका सागसब्जीका लागि छुट्टाछुट्टै स्थान। कुनै लटरम्म फलिरहेका, कुनै भर्खर चिचिला लाग्दै गरेका, कुनै फूल खेल्दै गरेका अनि कुनै चाहिँ भर्खर उम्रिएर अर्कोतिर सार्न ठिक्क भएका।
नेपालमा जस्तो प्लास्टिक टनेल भने होइन। चारैतिर पर्खालमाथि पारदर्शी टिनको छानो। फलामका ट्रस राखेर बनाइएको स्थायी संरचना। त्यो छानोभित्रबाट अर्को कपडाको बेरा, अनि त्यसभित्र आवश्यकता अनुसार फरक फरक तरकारीलाई चाहिने संरचना बनाइएका थिए। जमिनको सतहभन्दा केही तल बनाइएका थिए ती टनेलहरू।
काँक्रा र लौका लगायत लहराजन्य तरकारीका लागि फलामका तारमा नाइलनका डोरी जेलिएका थिए। करेला जस्ता साना डाँठ हुनेका लागि छुट्टै थांक्रा। तरकारीका बोट र उचाइ अनुसार सुविधा बनाएर खेती गरिएको।
भित्रपट्टिको तापक्रम ३३ डिग्री सेल्सियसभन्दा बढी थियो होला। त्यही भएर बाफिलो हावा र गर्मीले खलखली पसिना आउने बनाउँथ्यो एकैछिनमा।
काँक्रा टिपेर कर्याम कर्याम चपाउँदै महावाणिज्यदूत निरौलाले सोधे, 'कस्तो रसिलो। रासायनिक मल हालेको छ कि छैन?'
उक्त कृषि क्षेत्रमा रासायनिक मल हाल्न नपाइने जानकारी चिनियाँले दिए। घरबाटै मोबाइल हेरेर तरकारी खेतीको अनुगमन गर्ने पनि बताए।
हामीले सोच्यौँ सबैतिर सिसीटिभी क्यामरा छ, अनि मोबाइलबाट हेर्ने होला!
त्यसो होइन रहेछ। मोबाइलबाट घरमै बसेर सबै काम गर्न सकिने रहेछ।
'कसरी गर्ने हउ घरमै बसेर चाहिँ,' पूर्वेली लवजमा उठेको निरौलाको प्रश्नलाई नेपाली भाषा जान्ने चिनियाँ दोभासेले अनुवाद गरेपछि स्थानीय चिनियाँले मोबाइलबाट काम नै गरेर देखाइदिए। हामी हेरेको हेर्यै भयौं।
तरकारी तथा फलफूल बजारमा विमला ढुंगेल
तरकारीमा पानी हाल्ने र प्रांगारिक मल हाल्नेसम्मको काम मोबाइलको एपबाट नै हुने रहेछ।
त्यति मात्र होइन, सूर्यको तापक्रम अनुसार पारदर्शी सिसाको छतमुनि राखिएको खदर कपडाको बेरा हटाउने र राख्ने काम पनि त्यही एपबाट हुने रहेछ।
पानीको मात्रा पुग्यो भने स्वचालित मेसिन बन्द हुने। गोडमेल गर्नेदेखि परिपक्व भएका तरकारी र फलफूल टिप्ने काममा मेसिन प्रयोग हुने। त्यो पनि मोबाइलको एपबाट चलाउन सकिने। ड्रोनबाट पानी हाल्ने र ओसिलो हावा फ्याँक्नेदेखि तापक्रम मिलाउने सबै काम मोबाइलबाटै।
अत्याधुनिक प्रविधि अवलोकन गरेपछि महावाणिज्यदूत निरौलाले भने, 'यस्तो प्रविधि त सहरी क्षेत्रमा मात्र प्रयोग हुन्छ भन्ने सुनेको थिएँ। तर यो दुर्गम गाउँमा पनि यस्तो मजाले चलाएको देखेपछि मेरा लागि त यो नवौं आश्चर्य नै भयो।'
अनौठै थियो प्रविधिको प्रयोग। हिमालदेखि मरूभूमिसम्म पाइने सुन्दर फूलहरू एकै ठाउँ फुलाएका छन्। सबै क्षेत्रमा हुने फलफूललाई बाह्रै मास उत्पादन गरेका छन्। अत्याधुनिक प्रविधि प्रयोग गरेर खेती गरेपछि श्रम पनि कम प्रयोग भयो। फाइदा बढी हुने नै भयो थप प्रतिकूल मौसमका कारणले सबै खेती स्वाहा हुने सम्भावना पनि भएन।
कृषि क्षेत्र अवलोकनपछि स्थानीयले त्यहाँको वस्तुस्थितिबारे विगतदेखि वर्तमानसम्म भएको परिवर्तनको व्याख्या गरे।
गार काउन्टीमा पहिले केही उत्पादन हुँदैन थियो। यातायातको उस्तो विकास भएको थिएन। तरकारी र फलफूल धेरै टाढाबाट ल्याउनुपर्दा ढुवानी खर्च महँगो पर्थ्यो। ताजा खान पनि पाइँदैन थियो।
अहिले स्थानीय उत्पादनले सबैलाई आत्मनिर्भर बनाएको छ। अझ टाढाका सहरमा उच्च भूभागको अर्गानिक तरकारी बेच्न उनीहरू सफल भएका छन्।
चीनले विगत एक दशकदेखि गरेको विकासलाई गाउँगाउँसम्म पुर्याइएको छ भन्ने कुराको पुष्टि आली क्षेत्रले गरेको छ। स्थानीयको आय वृद्धिसँगै जीवनस्तर सुधार, गरिबी निवारण, रोजगारी वृद्धि, सहर र ग्रामीण क्षेत्रको विकासमा सन्तुलन ल्याउने काम यस्तै कृषि क्रान्तिले गरेको छ।
चिनियाँ शैलीको आधुनिकीकरणको यो राम्रो उदाहरण पनि हो।
गाउँले किसानहरू घरमा बसीबसी मोबाइल फोनबाट खेती गर्छन्, घरबाटै इन्टरनेटमा आफ्ना उत्पादनको विज्ञापन गर्छन् र घरबाटै सामान बिक्री गर्छन्।
केही दशक अगाडि चीनमा पनि गाउँबाट सहरमा बसाइ सर्ने युवाको लहर चलेको थियो। अहिले उल्टो भएको छ। सहरी उकुसमुकुस वातावरणबाट बच्दै पढेलेखेका युवा ग्रामीण क्षेत्रमा गएर अत्याधुनिक प्रविधि प्रयोग गर्दै कृषि पेसामा जमेका छन्।
४५ सय मिटर उचाइमा फलेको कागती।
गार काउन्टीमा फलाइएको गोलभेँडा
फलस्वरूप चिनियाँ गाउँहरू पनि हराभरा छन् र चिनियाँ शैलीको आधुनिकीकरणले गर्दा गाउँहरू आफै सहर जस्ता बनेका छन्। सबैसँग सुविधासम्पन्न कार, इन्टरनेट सुविधा, आफ्ना उत्पादनलाई सहजै बेच्न सकिने प्रणाली छ।
यी सबै अवलोकन गरेपछि ल्हासाका लागि नेपाली महावाणिज्यदूत निरौलाले भने, 'यस्तै प्रविधि विकास गरेर हामीले मनाङ र मुस्ताङमा कृषि कर्म गर्न सक्छौं। किनभने मनाङ र मुस्ताङको उचाइ पनि उस्तै छ। जमिनको बनावट पनि उस्तै पठार भूमि।'
एक अर्ब ४१ करोड चिनियाँले बाहिरी दुनियाँबाट खाद्यपदार्थ किन्नु पर्दैन। सन् १९६० को दशकमा लाखौं चिनियाँ भोकमरीबाट मरेका थिए। आज चीन खाद्यान्नमा आत्मनिर्भर छ, अफ्रिकी मुलुकलाई खाद्य सहयोग पनि गर्दै आएको छ।
विशाल जनसंख्यालाई खुवाएर, बाहिरी दुनियाँलाई पनि खाद्य दान गर्न सक्नुको मुख्य कारण चीन सरकारले लिएको कृषिमैत्री नीति हो।
कृषि क्षेत्रको सुधारमा चीन सरकारको सहयोग, अत्याधुनिक प्रविधि प्रयोग, प्रविधि हस्तान्तरण र तालिम, कुनाकुनामा पुगेको इ–वाणिज्यसँग आधारभूत पूर्वाधारको विकास हो।
यही कुराको सन्तुलित विकासलाई चिनियाँ शैलीको आधुनिकीकरण भन्छन् चिनियाँहरू।
***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)