नेपालको गौरव र धार्मिक आस्थाको केन्द्र, रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हालै मोरङका दुई युवकको डुबेर मृत्यु भयो। तीर्थस्थलमा नुहाउने क्रममा भएको यो घटना निकै दुखद हो।
उक्त घटनाको सेरोफेरोमा 'के गोसाइँकुण्डले तानेर मानिस डुब्ने गरेका हुन्?' शीर्षकमा सुरेन्द्र फुयालको लेख सेतोपाटीमा साउन १८ गते प्रकाशित भयो। त्यो लेखबारे फेसबुकमा करिब तीन दर्जनजति टिप्पणी गरिएका छन्।
उक्त घटना व्यक्तिगत लापरबाहीको परिणाम हो कि सुरक्षा व्यवस्थामा भएको कमजोरीको उपज हो भन्ने बहसले सामाजिक सञ्जाल तातेको छ।
अहिले बहसको केन्द्रमा गोसाइँकुण्ड भए पनि नेपालको तराई र पहाडमा रहेका पोखरी–तालमा डुबेर धेरैको ज्यान जाने गरेको छ।
नेपालमा पानीमा हरेक वर्ष ८५० जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले करिब दोब्बर (१६ सय जनाको) मृत्यु हुने गरेको देखाउँछ।
नेपालमा डुबेर मृत्यु हुने कुल घटनामा पोखरी र तालतलैयाको हिस्सा १८ प्रतिशत हिस्सा छ।
हाम्रो धार्मिक–सांस्कृतिक मान्यतामा पोखरी र तालतलैया जस्ता जलाशयको विशिष्ट महत्त्व छ। यस्ता जलाशयमा चाडपर्व विशेषमा मानिसको जमघट हुन्छ, कतिपयमा त दैनिक पनि हुन्छ। यो क्रममा कहिलेकाहीँ कसैको ज्यान जान्छ।
यो लेख जलाशयहरूमा मानिसको ज्यान जानुका कारणभन्दा पनि घटना रोकथामका लागि के के गर्न सकिन्छ भन्नेमा केन्द्रित छ।
'के गोसाइँकुण्डले तानेर मानिस डुब्ने गरेका हुन्?' शीर्षकको लेखमा फेसबुकतर्फ टिप्पणी गर्नेमध्ये पाँच जनाले तालको गहिराइ र त्यहाँ अपनाउनुपर्ने सावधानीबारे मानिसलाई सचेत बनाउने प्रबन्धको अभाव रहेको उल्लेख गरेका छन्।
यसमा एक जनाले गोसाइँकुण्डको गहिराइ ८७ फिटसम्म उल्लेख गर्दै पौडी खेल्न नजान्ने व्यक्तिले गहिरो पानीमा जोखिम लिनु हुँदैन भन्ने धारणा राखेका छन्। अर्का टिप्पणीकर्ताले अझै प्रस्ट पार्दै आफ्नो उचाइभन्दा गहिरो पानीमा मानिस जुनसुकै बेला डुब्न सक्ने कुरा लेखेका छन्।
कुण्डको किनारामा रहेका ढुंगा भित्रपट्टि भिरालो हुने भएकाले तिनमा चिप्लेर तालको गहिरो भागमा पुगिने र गम्भीर दुर्घटना हुने अर्का एक टिप्पणीकर्ताको तर्क छ। उनले मानिसहरू स्नान गर्न पस्ने ठाउँहरूमा गहिराइको संकेत राख्न र तारबार गर्न सुझाव दिएका छन्।
सुरक्षाका अन्य उपायहरू अपनाएर दुर्घटना रोक्नुपर्ने, कुण्डमा सुरक्षित र असुरक्षित क्षेत्र थाहा हुने संकेत र छेकबार राख्नुपर्ने धारणा प्रकट गरेका छन्। त्यसो नगरेको भनेर उनले राज्यका सम्बद्ध निकायलाई दोष दिएका छन्।
सुरक्षाको जिम्मा व्यक्तिगत मात्रै होइन, राज्यका सम्बद्ध निकायको पनि हो भन्ने धारणा अधिकांश टिप्पणीकर्ताहरूको छ। केही टिप्पणीकर्ताले दुर्घटनाहरूलाई व्यक्तिगत लापरबाहीसँग पनि जोडेका छन्। केहीले पौडिन नजान्ने मान्छे गहिरो कुण्डमा पस्न हुँदैन भनेका छन्।
यस्ता उच्च धार्मिक महत्त्वका तीर्थस्थलमा धेरै मानिसहरू निकै टाढाबाट पहिलो पटक पुगेका हुन्छन्। त्यस्ता मानिसलाई ताल–कुण्डबारे धेरै जानकारी हुँदैन। त्यसमा नुहाउने उद्देश्य हुन्छ तर जोखिमबारे धेरै विचार नगरी नुहाउन पस्छन्।
कतिपय व्यक्ति अलिकति गहिरोमा नुहाउन चाहने हुन्छन्। कोही अहिलेको प्रविधि अनुसार सेल्फी खिच्ने हुन्छन्। यस्तो बेला सावधानी नपुग्दा दुर्घटना हुन्छ।
एक जना टिप्पणीकर्ताले गोसाइँकुण्डमा नुहाउने वा पौडी खेल्ने नभई त्यहाँको जल शरीरमा छर्किएर पवित्र हुने परम्परा रहेको उल्लेख गरेका छन्।
उनका अनुसार चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको चिसो पानीमा नुहाउनु वा पौडी खेल्नु निकै कठिन काम हो। यसमा विशेष सावधानी आवश्यक पर्छ।
उनले सुरक्षाकर्मी र स्थानीय प्रशासनले कुण्डमा हुने जोखिम र दुर्घटनाबारे यात्रुहरूलाई जानकारी गराउन पनि आवश्यक ठानेका छन्।
यस्ता टिप्पणीहरूले समस्याको कारण पहिल्याएका छन्, समाधानका थुप्रै उपायहरू पनि दिएका छन्।
झट्ट हेर्दा यी टिप्पणी र सुझाव गोसाइँकुण्डमा केन्द्रित रहेका भए पनि सबै ठाउँका लागि बराबर उपयोगी छन्।
गहिरो पानीसँग सम्पर्कका लागि सुरक्षित र असुरक्षित क्षेत्र छुट्ट्याउने संकेत चिह्न, रेलिङ वा छेकबार लगाउने काम राज्यका निकायको हो। सबैभन्दा उत्तम उपाय पनि यही हो।
आफ्नो क्षमता र सीप विचार गरेर मात्र पोखरी–ताल–कुण्ड वा नदीसँग जोखिम लिनुपर्छ। पौडी नजान्ने व्यक्ति गहिरो पानीमा पस्नै हुँदैन। यसमा सबभन्दा पहिला व्यक्ति स्वयं सचेत रहनुपर्छ। सार्वजनिक सुरक्षाको जिम्मेवारी राज्यका निकायले लिनुपर्छ।
एक जनाले राज्यको नियम पालना नगर्ने नेपालीजनको बानीका कारणले दुर्घटना हुने र दोहोरिने गरेको भन्ने टिप्पणी गरेका छन्।
यसमा राज्यले के कस्तो नियम बाँधेको छ, नियम कार्यान्वयनको कस्तो प्रबन्ध गरेको छ र सुरक्षाका लागि के कस्ता उपाय अपनाएको छ भन्ने कुरा पनि विचार गर्नुपर्ने हुन्छ।
दुई जना टिप्पणीकर्ताले बालबालिकालाई विद्यालय तहबाटै पौडिने तालिमको व्यवस्था हुनुपर्ने कुरा पनि उठाएका छन्। स्कुलको पाठ्यक्रममा यस्ता प्राकृतिक जोखिम र सावधानीको विषय समावेश गर्नुपर्छ र यसबाट व्यक्तिमा जोखिम व्यवस्थापनको ज्ञान बढ्छ भन्ने उनीहरूको विचार छ।
बेलायतको अनुभव
म निकै लामो समयदेखि बेलायतमा बसोबास गरिरहेको छु। जलसुरक्षाका लागि बेलायत र अस्ट्रेलियाजस्ता अग्रणी देशका अनुसन्धानकर्ताहरूसँग सहकार्य पनि गरेको छु।
यस आधारमा भन्नु र्दा बालबालिकालाई सानै उमेरमा पौडी खेल्न सिकाउने हो भने उनीहरूमा जीवनभर पानीमा हुने जोखिमबाट बच्ने सीप विकास हुन्छ।
पौडी सिक्न कुनै न्यूनतम उमेर तोकिएको छैन। केही महिना उमेरका बालबालिकालाई पनि पानीमा रमाउने गरी पाठ सुरू गर्न सकिन्छ।
बेलायतका धेरैजसो पौडी पोखरीहरूमा ६ महिना उमेरका बालबालिकालाई आधारभूत कक्षा दिइन्छ। यसबाट उनीहरू सानै उमेरमा पानीसँग अभ्यस्त हुन्छन्। चार वर्ष उमेर पुगेपछि पानीमा तालमेल गरेर हातखुट्टा चलाउन जान्ने हुन्छन्।
बेलायत र युरोपका यस्तै अन्य विकसित देशमा मात्रै होइन; एसियाका जापान, थाइल्यान्ड, भियतनाम, चीन लगायत देशमा प्राथमिक शिक्षा पाठ्यक्रमको अनिवार्य हिस्सा मानेर पौडी खेल्न सिकाइन्छ। यसमा कक्षा एकदेखि ६ सम्मका बालबालिका समावेश हुन्छन्।
बालबालिकालाई विद्यालयबाटै कम्तीमा दुई वर्ष पौडी खेल्न लगिन्छ। कम्तीमा पनि २५ मिटर पौडिन सिकाइन्छ। यस्ता बालबालिकाले पानीमा आफूलाई सुरक्षित राख्न सक्छन्।
बेलायतको शिक्षा विभागले 'स्विम इङ्ल्यान्ड' जस्ता संस्थाहरूसँगको साझेदारीमा पौडीलाई जीवनोपयोगी सीपका रूपमा जोड दिएर अनिवार्य कक्षा चलाउँछ। बालबालिकालाई पौडी सिकाउन विद्यालयलाई आर्थिक सहयोग पनि गर्छ।
यस प्रयासले धेरै बालबालिका प्राथमिक तहको अन्त्यसम्ममा राष्ट्रिय मापदण्ड पूरा गर्न सफल भएका हुन्छन्।
नेपालको सामाजिक–आर्थिक परिवेशमा प्राथमिक विद्यालय तहमै सबै बालबालिकालाई पौडिन जान्ने बनाउने कुरा अव्यावहारिक लाग्न सक्छ।
यसो भए पनि दैनिक जीवनमा गहिरो पानीसँग सम्पर्क गर्नुपर्ने र जलवायु परिवर्तनको प्रभावले अकस्मात हुने बाढी र डुबान जस्ता घटनामा सुरक्षित रहन पौडिने सीप अनिवार्य भएको छ। नेपाल सरकारले यसतर्फ सोच्ने बेला भएको छ।
(लेखक डा. पुष्प राज पन्त नेक्सस इन्स्टिट्युट अफ रिसर्च एन्ड इनोभेसन (निरी) र युनिट फर प्रिभेन्सन एन्ड लाइफ सेभिङ एक्टिभिटिजमा आबद्ध छन्।)