२०७९ फागुन ३० गते सेतोपाटीमा 'सन्तानलाई डाक्टरी पढाउनुअघि जान्नै पर्ने ५ कुरा' शीर्षकको मेरो लेख छापिएको थियो। प्रस्तुत छ ताजा अपडेटसहित उक्त लेखको नयाँ संस्करण:
कक्षा १२ को नतिजा आएसँगै र एमबिबिएस भर्नाको मौसम सुरू भएसँगै नेपालमा मेडिकल शिक्षाको अवस्था र 'स्कोप' बारे बहस चल्नु स्वाभाविक हो।
यो बहस आम मानिसका लागिभन्दा चिकित्सा शिक्षाको लामो यात्रामा जाने योजना रहेका विद्यार्थी र तिनका अभिभावकहरूका लागि धेरै अर्थपूर्ण हुन्छ। तर देशको स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको हुनाले तपाईं हामी सबैले यस विषयमा चासो राख्न र सुसूचित हुन जरूरी छ।
यस वर्ष प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेपपछि चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूको सिट सीमा बढाएको छ। फलस्वरूप देशमा एमबिबिएस र बिडिएसको सिट संख्या उल्लेख्य रूपमा बढ्ने भएको छ।
अर्कातिर, अघिल्लो वर्ष नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका २७ सय हाराहारी डाक्टरमध्ये २३ सयले देश छाड्ने अनुमति लिएको भन्ने समाचारहरू पनि आइरहेका छन्।
यो अवस्थामा विज्ञानको बायोलोजी समूहबाट कक्षा १२ पास गरेका विद्यार्थीहरूका लागि नेपालमा चिकित्साको करिअर कस्तो हुन सक्छ त?
यस पटक यस्ता प्रश्नमा परामर्श चाहने सबैको जानकारीका लागि प्रायः सोधिने केही प्रश्नहरूको जबाफसहित यो लेख तयार पारेको छु।
१. छोरा वा छोरीले डाक्टर बन्ने जिद्दी गर्दैछन्, के गर्ने?
जिद्दी गर्ने छोराछोरीलाई एउटा प्रश्न सोध्नुहोस् — किन डाक्टर बन्ने?
यसको जबाफमा बाँकी सबै कुरा भर पर्छ।
यदि तलबै नलिई स्वयंसेवा गरेर वा न्यूनतम तलब, सुविधा सहित दुर्गममा खटेर भए पनि यो देशको स्वास्थ्य क्षेत्र उकास्ने उनीहरूको चाहना छ भने थप धेरै कुरा नसोधी डाक्टरी पढ्ने बाटोमा लगाइदिए हुन्छ।
अझै देशका दुरदराजमा मानिसहरू उपचार नपाएर छट्पटाइरहेका छन्। काठमाडौं बाहिरका थुप्रै जिल्लाहरूमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार डाक्टर पुगेका छैनन्। त्यस्तो सेवक मनोवृत्ति भएका अरू हजारौं डाक्टर देशलाई आवश्यक छन्। त्यो आवश्यकता आगामी पचासौं वर्षसम्म रहिरहने निश्चित छ।
होइन, ठीकै आर्थिक प्रतिफल हुने करिअरका लागि डाक्टर बन्ने हो र आफूसामु भएका विकल्पहरूमध्ये चिकित्सा उनीहरूलाई सुरक्षित वा कम जोखिमपूर्ण लाग्छ भने त्यो निर्णयबारे दसपल्ट सोच्न लगाउनुहोला।
हालै एउटा रेडियोले मलाई सोधेको थियो — २६ सय डाक्टर बन्दा २३ सयले किन देश छाडे?
जबाफमा मैले प्रतिप्रश्न गरेँ — बाँकी ३ सय देशमा किन बसे?
सरकारी तथ्यांक अनुसार सन् २०२० र २०२३ बीच नेपालमा ८,६२४ चिकित्सक दर्ता भएकामा ६,३५८ जनाले विदेश जान अनुमति लिएका छन्, भलै ती सबै विदेश जान्छन् नै भन्ने हुँदैन।
यस हिसाबले चार वर्ष अवधिमा देशको चिकित्सक जनशक्ति २३ सय हाराहारीले बढेको देखिन्छ। झन्डै तीन करोड जनसंख्या भएको देशका लागि यो सानो संख्या हो।
यो आँकडा हेर्दा यस अवधिमा चिकित्सकको तलब, सुविधा बढेको हुनुपर्ने देखिन्छ। किनकि आपूर्ति अपेक्षितभन्दा कम हुनासाथ वस्तु वा सेवाको मूल्य बढ्छ भन्ने अर्थतन्त्रको आधारभूत सिद्धान्त हो।
तर तीन कारणले नेपालमा अवस्था ठ्याक्कै उल्टो छ।
एक, खासगरी कोभिडयता सुरू भएको आर्थिक मन्दीका क्रममा देशको र स्वास्थ्य क्षेत्रको अर्थतन्त्र थला परेसँगै विशेषगरी निजी क्षेत्रमा चिकित्सकको माग र रोजगारीमा भारी ह्रास आएको छ। मानिसहरूको क्रयशक्ति घट्ने र सरकारी स्वास्थ्य बीमा फैलिने दोहोरो प्रक्रियाले त्यो प्रक्रिया तीव्र पारेको छ। यसबीच चिकित्सकको आपूर्ति न्यून संख्यामा भए पनि बढ्यो तर व्यवहारतः माग चाहिँ खुम्चियो।
दुई, उल्लिखित तथ्यांकले सबै चिकित्सकलाई एउटै डालोमा राख्छ। यथार्थमा, अहिले देशमा कुनै खास किसिमका चिकित्सकको अभाव भयावह भइरहेको छ भने अर्को किसिमका चिकित्सकहरू चरम बेरोजगारीबाट गुज्रिरहेका छन्।
जस्तै, मुटु शल्यचिकित्सा जस्ता निजी प्राक्टिस कम वा शून्यप्रायः हुने विषयमा अब नयाँ चिकित्सक पाउन हम्मे हुँदैछ। पुरानाले पनि धमाधम देश छाड्दै छन् वा सेवानिवृत्त हुँदै छन्।
जलन रोकथाम र उपचारमा जीवन खर्चेका अभियानी उज्ज्वल विक्रम थापाले हालै एउटा प्रसंगमा भनेका थिए — जलनका बिरामीको जटिल प्लास्टिक सर्जरी गर्ने चिकित्सक पाउन अब कठिन बन्दैछ।
फलस्वरूप अस्पतालमा त्यस्ता विभागमा आउने बिरामीहरू सेवाबाटै वञ्चित हुने अवस्था सिर्जना अहिले नै आइसकेको छ र आगामी दिनमा त्यो भयावह रूपमा बढ्ने निश्चित छ।
अर्कोतिर विभिन्न विषयमा एमडी र एमएस तह पढेर सकेका चिकित्सकहरूको ठूलो संख्या बेरोजगार, अर्ध–बेरोजगार वा अमानवीय रोजगारको अवस्थामा छ। डिएम र एमसिएच गरेर दशकौं सेवा दिएका चिकित्सकहरू समेत महिनौं (कतै कतै झन्डै वर्ष दिन) तलब नदिने ठाउँमा अपमानपूर्वक काम गर्न बाध्य छन्।
तीन, यो सबै तालमेल मिलाएर सबै खाले चिकित्सकको माग र आपूर्तिबीच सन्तुलन ल्याउनुपर्ने सरकार अहिले चिकित्सकहरूलाई महिनौं तलब नदिएर विदेश लखेट्ने तिनै निजी मेडिकल कलेजहरूको गिरोहबाट सञ्चालितझैं छ। देशको स्वास्थ्य–नीति दीर्घकालमा कसरी स्वास्थ्य सेवा सुधार्दै जाने भन्नेमा होइन, तातै खाऊँ जल्दै मरूँ भन्ने सीमित व्यवसायीहरूको तत्कालको नाफाखोरीबाट निर्देशितझैं छ।
परिणाम — २०७१ सालमा मैले जागिर खान सुरू गर्दा एक लाख रूपैयाँ काटिसकेको एमडी, एमएस तहको चिकित्सकलाई निजी मेडिकल कलेजले दिने सुरूआती तलब २०८२ सालमा आउँदा ६० हजार रूपैयाँमा झरेको छ।
विशेषज्ञ चिकित्सकहरूबीच यसै 'हामीले भन्दा टिपर चालकहरूले धेरै कमाउँछन्' भन्ने भनाइ चलेको होइन!
यसरी एकातिर मेडिकल कलेज र अस्पतालहरू महँगिइरहेका छन्। तिनका सञ्चालकले एउटाको आम्दानीबाट अरू तीन, चार वटा मेडिकल कलेजदेखि क्रिकेटका क्लब किनेर धूमधडाका गर्नेसम्म हैसियत बनाएका छन्। चुनाव खर्च जुटाइने र खर्च गरेर आफै सांसद बन्नेसम्म हैसियत बनाएका छन्।
अर्कातिर तिनका लागि अर्बौं कमाइदिने विशेषज्ञ चिकित्सकहरू महिनामा पाउने ६० हजार रूपैयाँका लागि ६ महिना पर्खेर बस्नुपर्ने अवस्थामा छन्। तबसम्म ज्यान पाल्न आमाबाबुसँग ङिच्च दाँत फैलाएर हात थाप्नुपर्ने अवस्थामा छन्। धेरैले तीनदेखि ६ महिनासम्मको तलबै नपाउँदा पनि त्यही रोजगार समेत नगुमोस् भनेर चुपचाप काम गरिरहेका छन्। त्यस्ता संस्था छाडेर जानेले ६ महिनासम्मको तलब माया मारेका छन्।
असाध्यै सानो संख्याका स्थापित चिकित्सकहरूले अझै राम्रो वा अकुत कमाइ पनि गरिरहेका छन्। तर अधिकांश 'मेडिकल माफिया' भनेर कुख्यात व्यक्तिका मेडिकल कलेजमा काम गर्ने विशेषज्ञ चिकित्सकले अत्यन्तै कम कमाउने र त्यो तलब पनि समयमा नपाउने अवस्था छ।
देशका ९० प्रतिशत डाक्टरका लागि आज सम्मानजनक रोजगारी आकाशको फल बनेको छ।
त्यसैले भारी संख्यामा देश छाड्ने चिकित्सकहरूले रहरले वा धेरै कमाइका लागि मात्रै देश छाडेका छैनन्। यहाँ बस्न, टिक्नै असम्भव भएका कारण देश छाडेका छन्। त्यो पनि अमेरिकाजस्ता तलब, सुविधा राम्रो हुने देशमा सीमित संख्यामा मात्र जाने अवस्था भएकाले बाँकीले गन्तव्य रोजेर जानेभन्दा पनि मौका पाउनासाथ जस्तोसुकै गन्तव्यका लागि भए पनि यो देश छाड्ने अवस्था छ।
२. सन्तानलाई डाक्टर बनाएरै छाड्नु छ। तयारी के गर्नुपर्ला?
सन्तानले छात्रवृत्तिमा नाम निकाल्न सक्छन् भने त्यो राम्रै कुरा हो। तर त्यसमा पनि माफियाहरूका मेडिकल कलेजले छात्रवृत्तिका विद्यार्थीको समेत लाखौं रूपैयाँ नाजायज रूपमा असुल्छन्। हाम्रै पुस्ताका छात्रवृत्तिमा पढ्ने थुप्रै चिकित्सक साथीहरू असन्तुष्ट छन्।
उनीहरू भन्छन्— पैसा नलागे पनि यतिका वर्ष समयको लगानी बर्बाद भयो नि! अब यसको 'अपर्चुनिटी कस्ट' कसरी उठाउनु?
संयोगवश, यी पंक्ति लेख्नुभन्दा केही घन्टाअगाडि एक त्यस्तै विशेषज्ञ चिकित्सकसँग भेट भयो।
दसौं वर्ष देशमा सेवा गरेपछि श्रीमतीको सहयोगमा बिदेसिन लागेका उनी भन्दै थिए — सके लाइसेन्स निकालेर उतै डाक्टरी गर्ने हो। नत्र होटलतिर काम गर्न केले पो छेक्छ र!
तपाईंसँग पर्याप्त धन छ भने करोडौंका मेडिकल कलेज वा अस्पताल खोलेर पनि आफ्ना सन्तानका लागि देशमै रोजगारको व्यवस्था गर्न सक्नुहुन्छ। होइन भने, छात्रवृत्तिमा होस् वा पैसा तिरेर होस्, डाक्टर बन्न चाहने युवाहरूमा मैले माथि भने जस्तो सेवाभाव उत्पन्न गर्ने अभिभावकहरूको अनिवार्य जिम्मेवारी बन्छ। त्यसो नहुँदा विद्यार्थी र अभिभावक दुवै मेडिकल कलेजमा भर्ना लिएको दिनदेखि जीवनभरि पछुताउनुको विकल्प रहँदैन।
३. नेपालमा कमाइ र सेवा दुवै हुन सक्दैन?
सिद्धान्ततः सक्छ। देशको स्वास्थ्य क्षेत्रमा कुनै चमत्कार भयो भने पनि सक्छ। तर यथास्थितिमा सक्दैन।
देशका अधिकांश सरकारी संस्था पञ्चायतकालमा स्थापना हुँदाखेरिका दरबन्दीमा आजसम्म चलिरहेका छन्। तिनलाई विस्तार गर्न सरकारको कुनै रूचि देखिँदैन।
करोडौं रूपैयाँ लगानी भइसकेको धनगढीको गेटा मेडिकल कलेजको भवन तयार भएको पाँच वर्ष पुग्दा त्यहाँ तमासाबाहेक सरकारले केही गर्न सकेको छैन। पछिल्लो समय विश्वविद्यालय बनाउने भनेर ऐन जारी भए पनि अहिलेसम्म सय बेड क्षमतामा अस्पताल समेत चलेको छैन।
त्यसैले पढेर सरकारी सेवामा छिरेर सेवा गर्छु भन्ने सय जनामध्ये एकाधले मात्रै त्यसो गर्न पाउँछन्।
आँखा विधाबाहेक अन्यत्र गैरनाफामूलक अस्पतालमा सेवाको अवसर शून्यप्रायः छ।
अब बाँकी रह्यो निजी क्षेत्र जुन केही सहरमा केन्द्रित छ। निजी अस्पतालको सञ्चालन खर्च नै अत्यधिक छ। त्यसमाथि त्यहाँ नाफा सर्वोच्च छ। नाफाका लागि भ्रष्ट नेताहरूसित जोडिने, अर्को व्यवसायीलाई हानि गर्नेसम्मका हर्कत भएका छन्।
यस्तो ठाउँमा तपाईं कस्तो सेवाको अपेक्षा गर्नुहुन्छ? रोजगारीका लागि त्यस्ता संस्थाको भरमा पर्नुछ भन्ने जानी जानी सन्तानलाई डाक्टर बनाउनु कति उपयुक्त होला?
४. देशमा पढाएर, विदेश पठाउँदा हुँदैन?
नेपालमा एमबिबिएस गरेपछि अमेरिकातिर पुगेर राम्रै गर्ने नेपालीहरूको संख्या अब ठूलै भइसकेको छ। तर त्यसका लागि तपाईंका सन्तान पढ्नमा अब्बल र तिनले पढ्ने संस्था पढाउनमा अब्बल हुनु अनिवार्य हुन्छ।
त्यसमाथि त्यस्तो व्यवस्था अलि खर्चिलै छ। प्रशस्त जायजेथा छ र खर्चको डर छैन भने त्यो विकल्प राम्रै हुन सक्ला। तैपनि आफ्नै विद्यार्थीसँग गुण्डागर्दी गर्ने र तिनलाई ६ वर्ष (एमबिबिएस सक्दासम्म) चरम मानसिक यातना दिने माफियाहरूको चंगुलमा तपाईंका सन्तान पर्ने जोखिम उच्च छ नेपालमा।
त्यसमाथि अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा अमेरिकामा जसरी फासीवाद भन्न मिल्ने अनुदारवाद मौलाउँदो छ, त्यसले अमेरिकाको रोजगारसमेत पहिलेजस्तो भरपर्दो नरहने जोखिम देखिन्छ।
यो सब विचार नगरी उज्यालो भविष्य मात्रै ताक्ने धेरैको बिजोग भएको देखेकाले पनि यो विकल्पमा जानु अगाडि धेरैपल्ट सोच्ने मेरो सुझाव छ।
५. के उसो भए चीन, बंगलादेश वा फिलिपिन्समा पढ्न पठाउनु त?
मेरो सल्लाह— त्योभन्दा चाहिँ बरू नेपालमै पढाउनू।
चीनका धेरै कलेजहरूमा गुणस्तरको ठूलो समस्या छ। बंगलादेश र फिलिपिन्समा पढाइ सोचे जति सस्तो छैन। यहाँ पढे भने कम्तीमा यहाँको भद्रगोल र भविष्यमा भोग्नुपर्ने समस्याबारे उनीहरू जानकार हुन्छन्। कठिन भविष्यका लागि मानसिक रूपमा तयार हुन्छन्।
बादलमा चाँदीको घेरा
अहिले सरकारले हठात एमबिबिएस र बिडिएसको सिट संख्या बढाएपछि धेरै चिकित्सक साथीहरू भनिरहेका छन् — ती कलेजले भवन र जनशक्ति त थप्लान्, तर बिरामीसँग गर्नुपर्ने सिकाइ पहिल्यै असाध्य नाजुक छ। त्यो अब झन् बर्बाद हुन्छ। उपचारका लागि नजानी नहुने आधारभूत व्यावहारिक सिकाइबाट विद्यार्थीहरू थप वञ्चित हुन्छन्। कालान्तरमा देशकै स्वास्थ्य सेवाको गुणस्तर घट्न जान्छ।
मलाई भने त्यो चिन्ता लाग्दैन।
किनभने, आज चिकित्सामा छिरेर जति वर्षमा भाइबहिनीहरूले डिग्री र लाइसेन्स लिन्छन्, तबसम्म मनोरोग लगायत केही विषय छाडेर बाँकी धेरैजसो विधाका चिकित्सकको काम मानिसले होइन आर्टिफिसियल इन्टेलिजेन्स वा एआईले गरिरहेको हुनेछ।
मेरो विचारमा नेपालका निजी मेडिकल कलेजका 'स्मार्ट' सञ्चालकहरूले यो यथार्थ बुझिसकेका छन्। भोलि गएर ट्याक्सी चलाउने वा भाँडा माझ्ने नै हो भने अहिले मेडिकल विद्यार्थीले बिरामीको उपचार सिक्ने र कलेजले सिकाउने लेठो किन पो गर्नुपर्यो र?
यो कटु यथार्थ पढ्दा धेरै चिकित्सक साथीहरू र सबैजसो मेडिकल विद्यार्थी भाइबहिनी झसंग हुनेछन् र उनीहरूलाई नराम्रो र नरमाइलो लाग्नेछ भन्ने मलाई थाहा छ। तर हामीले आँखा चिम्लिँदैमा सामुन्नेबाट आएको विपत्तिले हामीलाई यसै छाड्ने छैन।
स्नातकोत्तरपछि एक दशक चिकित्सा अभ्यास गरिसकेको म त सम्भावित एआईसिर्जित बेरोजगारीबाट त्रस्त छु भने, मभन्दा ५० गुणा बढी त्यो जोखिममा रहेको नयाँ पुस्तालाई त्यसबारे नबताउनु बौद्धिक बेइमानी हुन्छ जस्तो मलाई लाग्छ।
चिकित्साको भविष्यबारे यति भनिसकेपछि एउटा अभिभावकलाई थप यति नभन्नु पनि बौद्धिक बेइमानी हुनेछ — भोलिका दिनमा एआईले बेरोजगार बनाउने चिकित्सकलाई मात्र होइन। तपाईंले सन्तानका अगाडि अहिले जति पनि करिअर छनोटका विकल्प देख्नुभएको छ, ती कुनै पनि 'एआईप्रूफ' छैनन्। मैले माथि उल्लेख गरेका ट्याक्सी चलाउने वा भाँडा माझ्ने काम पनि सम्भवतः चिकित्साभन्दा अघि नै मेसिनले खोसिसकेको हुनेछ।
फाइनान्स र कम्प्युटर विज्ञानका धेरै विधाका कामहरू, जुन कुनै बेला समृद्धिसम्मका अब्बल भर्याङ मानिन्थे, तिनमा मानिस रोजगार हुने कुरा अब एकाध वर्षमै इतिहास बन्दैछ। दशकौंको समय र करोडौं लगानी गरेर ती विषयमा डिग्री लिएका युवाहरू अहिले संसारैभरि दुःस्वप्नजस्तो नयाँ यथार्थ सामना गरिरहेका छन्। उनीहरूसामु अहिले फेरि शून्यबाट सुरू गरेर नयाँ सिकाइ र करिअरको यात्रा सुरू गर्नुको विकल्प छैन।
तिनमा भन्दा चिकित्सामा मानिसको रोजगारी लामो समयसम्म सुरक्षित हुनेमा सन्देह छैन।
तर चिकित्सा शिक्षा र करिअरको सबभन्दा ठूलो विडम्बना के छ भने, ६ वर्ष र ७० लाख रूपैयाँ खर्चेर एमबिबिएस वा दस वर्ष र एक करोड रूपैयाँ खर्चेर एमडी गरिसकेपछि 'यो काम त एआईले पो खाइदियो' भनेर करिअर बदल्नु असाध्यै गाह्रो काम हो। त्यो पनि जीवनभरको कमाइ हालेर सन्तानलाई डाक्टर बनाउने मध्यम वर्गका आमाबुबाका लागि त्यो भयावह अवस्था हो।
त्यसैले म अन्तिममा एउटा कुरा दोहोर्याउँछु — तपाईंका छोराछोरीले दुर्गम र दुरदराजमा पुगेर स्वयंसेवा गर्न समेत तयार हुने गरी परोपकारको गुण विकसित गरेका छन् भने अझै निर्धक्कसँत उनीहरूलाई डाक्टर बनाउनुहोस्। नेपाल जस्तो देशका सहरमा एआई डाक्टरहरूले अस्पताल चलाउन थालेछन् नै भने पनि ती अस्पतालसम्म पुग्न नसक्ने गरिब–गुरूवाहरू यो देशका गाउँ, देहातमा अरू पचासौं वर्ष रहने छन्।
होइन, यो देशका औसत किशोरकिशोरीझैं तपाईंका सन्तान पनि सम्मानजनक जीविका चलाउने करिअरको खोजीमा छन् भने उनीहरूलाई सम्झाउनुहोस् — एउटा डिग्री र एउटा लाइसेन्स लिएर जीवन चल्ने युग अब बितिसक्यो। अब एकाध वर्षमा नयाँ नयाँ ज्ञान र सीप लिँदै जाने, तत्कालीन बजारको माग अनुसार काम गर्दै र बदल्दै जाने बिल्कुल फरक युगमा मानिस जाति प्रवेश गरिसक्यो।
मैले देखेको यति कुरा बताउने मेरो कर्तव्य हो!
***
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्स (ट्विटर) @jiwan_kshetry