भदौ पहिलो हप्ताको कुरा हो। मित्र प्रशान्त सिंह, अर्जुन थपलिया र म धनुषा र वीरगन्जमा आयोजना गरिएको चिन्तन शिविरमा भाग लिन काठमाडौंबाट मधेसतिर झर्दै थियौं।
चिन्तनको विषय थियो, भूमि अधिकार।
तर त्यो यात्रामा म अरू पनि थप केही गर्न चाहन्थेँ। म नेपालको रेल चढेर जनकपुर–जयनगर घुम्न चाहन्थेँ। भुक्तभोगीहरूसँग बसेर मधेसको पछिल्लो पानी संकट, सुख्खा खेत र चुरेको कुरा सुन्न चाहन्थेँ। र, म जान्न चाहन्थेँ — मधेसको पछिल्लो राजनीतिमाथि आममान्छेका अनुभूतिहरू।
बाटोमा हामी यिनै अनेक विषयमा चर्चा गरिरहेका थियौं। कुराकानीमा सिके राउतको घट्दो जनाधार त एउटा विषय थियो नै, अर्को विषय थियो उपेन्द्र यादवसँग जोडिएर आउने गौर घटना।
कसरी मधेसको राजनीति मुद्दाहरू छाडेर तमासा गर्दैछ, त्यो हाम्रो कुराकानीको केन्द्रबिन्दु थियो।
जब हामी हेटौंडा पुग्यौं, मित्र प्रशान्तले मलाई प्रश्न गरे, के तिमीले चुरे नजिकबाट हेरेका छौ?
उनको त्यो प्रश्न मेरा लागि यस कारण महत्त्वपूर्ण थियो — मधेसमा पानीको संकट चुलिँदै थियो र चर्चाको केन्द्रमा थियो मधेसको सिरान चुरे।
अनि मधेस जानु तर चुरेमाथि चिन्तन नगर्नु कसरी सम्भव हुन्थ्यो?
वश् त्यही प्रश्न नै, यो लेखको आधारभूत प्रश्न हो।
मैले प्रशान्तको प्रश्नलाई मनमनै विचार गरेँ — चुरेलाई सर्सर्ती हेर्नु र नजिकबाट हेर्नुको अर्थ के हो?
मलाई त्यो प्रश्नको अर्थ त्यति बेला बोध भयो, जब हामी हेटौंडाबाट सिन्धुलीतिर लाग्यौं।
भर्खर झरी रोकिएको थियो र झरी रोकिएपछिको कञ्चन चुरे थियो हाम्रो अगाडि। ताजा बोटबिरूवा, भरिपूर्ण धर्तीधारा र उर्लिँदो खहरे। हरिया थुम्काहरूलाई ढाकेर बसेका पातला बादलका पत्रहरू।
कतै घाम, कतै छाया। कतै दर्के झरी, कतै सिमसिम। कतै कतै भने चुरेका खोँच र गल्छी छिचोल्दै हावामा लहराउँदै गरेको भुइँकुहिरो।
मानौं, मन्दिरमा अगरबत्ती प्रवाहित छ। र, त्यसको सुवासले मगमगाउँदै छ धर्तीधारा।
बाटोको दायाँबायाँ चुरेका ताजा (भिजेका) दृश्य देखेर हामी मख्ख थियौं। त्यो सबै हेर्दा यस्तो लाग्थ्यो, धर्तीमा विचित्रको मादकता, आध्यात्मिकता र मधुरता प्रवाहित छ।
त्यो दिन जब मैले चुरेलाई अझै गहिरोसँग अनुभूति गर्ने प्रयत्न गरेँ, चुरेका दुइटा चित्र उपस्थित भए मेरा अगाडि।
पहिलो, झरीपछिको ताजा चुरे। बाहिरबाट हेर्दा देखिने हरियो चुरे। पहिलो नजरमै मन लोभ्याउने अनुपम चुरे।
दोस्रो चित्र भने निकै कठोर थियो। त्यहाँ थियो, गलित र थकित चुरे। अतिक्रमित चुरे। मान्छेको क्रुरता र निचताले छियाछिया भएको चुरे। मान्छेका असीमित लोभ र लालसाले लुटिएको चुरे। विकासका नाममा, आफ्नो छातीमा पहिरो बोकेर उभिएको निरास र क्लान्त चुरे।
२०८२ सालको उखर्माउलो गर्मीसँगै देशमा एउटा खबर हावाझैं फैलियो, त्यो थियो मधेसमा पानी संकटको खबर।
खबरसँगै प्रधानमन्त्रीले हेलिकप्टरमा चढेर मधेसको फन्को मारे। मधेस प्रदेशले दमकलबाट गाँउगाउँ खानेपानी पठायो।
पानी अभावले खेत सुख्खा थिए। रोपाइँ भएको थिएन। धानको बिउ ब्याडमै सुक्दै थियो।
परिणाम — सरकारले मधेसमा पानीको आपतकाल घोषणा गर्यो।
र, मान्छेहरूले लामो सुस्केरा हाल्दै भने, 'मधेसमा जमिन मात्र होइन, मान्छेका सपना पनि सुक्दै छन्। खोला त रित्तिँदै छन् नै, जमिनमुनिको पानीको भण्डार पनि घट्दैछ र सुकेका छन् तालतलैयाहरू।'
जब यो खबर आयो, मान्छेले चुरे सम्झिए। त्यसपछि फेरि चर्चामा आयो, चुरेको विनाश। चर्चामा आयो, उराठ र उदास चुरे। अतिक्रमित र रक्तरञ्जित चुरे, जो स्वयं अस्तित्वको लडाइँ लडिरहेको छ।
अर्थात्, यो चुरेको दोस्रो चित्र थियो।
त्यो दिन चुरेलाई नजिकबाट हेर्दै हेटौंडादेखि धनुषासम्म लगभग १४० किलोमिटर यात्रा गरेपछि मैले जे देखेँ र जो–जसलाई भेटेँ, चुरेको काखमा बस्ने तिनै मान्छेले सुनाएका सुख, दुःख, अपेक्षा र सपनाको शब्दचित्र हो यो लेख।
चुरेको कथा
चुरे करिब चार करोड वर्षअघि हिमाल बन्ने क्रममा धर्तीमा उभिएको सबैभन्दा कान्छो पहाड हो। यो मुख्यतया पश्चिममा इन्डस (सिन्धु) नदीदेखि पूर्वमा ब्रह्मपुत्र नदीसम्म फैलिएको छ। यसको लम्बाइ हुन आउँछ, लगभग २४ सय किलोमिटर।
नेपालमा भने यो पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्मै फैलिएको छ। यसको चौडाइ माटोमाटी ५ देखि ५० किलोमिटर छ भने, लम्बाइ लगभग हजार किलोमिटर। यो हाम्रो कुल भूभागको १२.७८ प्रतिशत हुन आउँछ।
तराईको समथर मैदान सकिएर जब हामी थोरै माथि उक्लिन्छौं, हामीलाई स्वागत गर्न आइपुग्छ चुरे। र, महाभारत शृंखला कटेर जब हामी थोरै ओरालो झर्छौं, हामीलाई विश्राम दिने काख बन्छ चुरे।
खुकुलो पत्रे चट्टान र कमजोर भू–बनोटको कारण चुरेलाई अत्यन्त संवेदनशील मानिन्छ। मानौं, यो धर्तीको काखे बालक हो। तर योसँग छन् अदभूत खजाना।
जानकारहरू भन्छन् — चुरेमा २८९ प्रकारका रूख, १८६ प्रजातिका बुट्यान र ३२२ जडिबुटी सहितका जैविक खजाना पाइन्छन्।
र, पाइन्छन् — पाटेबाघ, हुँडार, काठेभालु र तामेसालक जस्ता दुर्लभ वन्यजन्तुहरू।
यसरी हेर्दा, चुरे अनेक वनस्पति र वन्यजन्तुको घर हो। र, हो मानव सभ्यताको महत्त्वपूर्ण जीवन धारा।
यहीँनिर प्रश्न आउँछन्, त्यसो भए यति भव्य चुरे कसरी संकटमा पर्यो? कहिलेदेखि चुरेमा मानव अतिक्रमण र दोहन सुरू भयो? र, किन यो आज जीवन–मरणको दोसाँधमा छ?
यी प्रश्नभित्र प्रवेश गर्नु एउटा कथानकताभित्र प्रवेश गरेसरह हुन्छ। यसका लागि हामीले चियाउनुपर्छ हजारौं हजार वर्ष पुरानो मानव सभ्यताको त्यो आँखिझ्याल, जहाँ मान्छेले हिँडेका अनगिन्ती पैतालाका डोब देखिन्छन्। र, देखिन्छन् चुरेमा उसले टेकेका अतीतका घुर्मैला पदचिह्नहरू।
भनिन्छ — नेपालको चुरे क्षेत्रमा मानव बसोबासको प्रमाण कम्तीमा १० हजार वर्ष पुरानो छ।
यो क्षेत्रमा पाइएका जीवाश्महरू विश्लेषण गर्दै अध्येताहरू भन्छन् — चुरेसँग मान्छेको साइनो हजारौं हजार वर्ष पुरानो छ। जति बेला मान्छे सिकारी थियो, त्यो बेलादेखि नै चुरे मान्छेका लागि स्वर्ग थियो। किनभने यहाँ प्रचुर मात्रामा पानी र सिकारका लागि जनावरहरू पाइन्थे।
यो कुरा पुष्टि गर्नेगरी हामीसँग केही अनुसन्धानहरू पनि भएका छन्।
उदाहरणका लागि, दाङ, चितवन र सिन्धुलीमा फेला परेका जीवाश्माहरूले भन्छन् — यहाँ चुरे र मान्छेको साइनो हजारौं हजार वर्ष पुरानो छ।
समाजशास्त्रीहरू भने प्रारम्भिक दिनमा चुरेमा स्थायी बस्ती थिएनन् र मानिसहरू मौसमी रूपमा यो क्षेत्रमा घुमी बस्थे भन्ने मान्छन्।
लगभग २५ सय वर्ष अघिदेखि (उपत्यकामा किरातकाल र भारत वर्षमा मौर्य वा गुप्त कालदेखि) चुरे क्षेत्रमा कृषिमा आधारित बसोबास सुरू भयो। त्यो समय बसाइँसराइको मुख्य प्रवृत्ति भने दक्षिणबाट उत्तरतिर थियो। अर्थात्, तराई–मधेसबाट चुरेतर्फ।
नेपालको सन्दर्भमा, मध्यकालदेखि (लिच्छवि र मल्ल काल, ४००–१७६८ इश्वी सम्बत्) चुरेमा थारू लगायत आदिवासी समुदायको बसोबास सघन हुँदै गयो। उनीहरूले जंगल काटेर खेतीपाती सुरू गरे। चरिचरन बनाए। र, चुरेलाई गुलजार पारे।
जब १८ औं शताब्दीमा पृथ्वीनारायण शाहको एकीकरण अभियान अगाडि बढ्यो, चुरेमा बसाइँ सर्ने नयाँ प्रवृत्ति देखापर्यो। त्यो थियो, उत्तरबाट दक्षिणतिर अथवा पहाडबाट चुरेतिर। त्यसपछि चुरेमा खेतहरू बन्दै गए। बारीहरू थपिँदै गए। र, नयाँ बस्तीहरू रेखांकित हुँदै गए।
तर यो क्षेत्रमा मलेरियाको तीव्र प्रकोप हुने हुँदा धेरैजसो बस्तीहरू अस्थायी थिए। र, बाहिरिया मान्छेहरू चुरेसँग अझै डराउँथे।
सन् १९५० को दशकमा जब नेपाल सरकारले मलेरिया उन्मूलन कार्यक्रम ल्यायो, त्यसपछि चुरेको सारा कथा फेरियो। यो कार्यक्रमसँगै चुरेमा मलेरियाको त्रास हट्दै गयो।
परिणाम — ठूलो मात्रामा पहाडबाट चुरेतिर बसाइँसराइ सुरू भयो।
जब सन् १९६०–१९८० को दशकमा सरकारले नयाँ विकास योजनाहरू (जस्तै महेन्द्र राजमार्ग निर्माण, भूमि सुधार, कृषि र व्यापारको सुगमता, स्कुल र अस्पतालको निर्माण र भारतसँगको कनेक्टिभिटी) लागू गर्यो, हजारौं परिवारलाई चुरेले आकर्षित गर्यो।
यसरी बितेका ५० वर्षमा नेपालको चुरे क्षेत्रमा मात्र झन्डै २० लाख मान्छे थपिए। र, यसको सिधा सम्पर्कमा बस्न आइपुगे झन्डै एक करोड मान्छे। त्यसपछि सारा चुरेको सामाजिक र आर्थिक परिवेश फेरियो। र, फेरियो यसको प्राकृतिक स्वरूप र सुन्दरता।
खतराको घण्टी
जब मान्छे चुरेमा भरिँदै गए, तब सारा परिदृश्य फेरिँदै गयो।
सघन बस्ती विस्तारले चुरेको शान्ति भंग हुँदै गयो। वन फँडानी, खुला चरिचरन, अवैज्ञानिक भू–उपयोग र अनियन्त्रित उत्खनन बढ्दै गयो। जंगली जनावरहरू या त मारिए, या त बसाइ सर्न थाले।
पशुपन्छीको प्राकृतिक बसोबास बिथोलियो। खनिजहरूको दोहन तीव्र भयो। बालुवा, ढुंगा र गिटी अनियन्त्रित रूपमा झिकिए। चुरेको मुटुमा घाउ लाग्यो र त्यो दिनदिनै गहिरो हुँदै गयो।
यसरी चुरेको प्राकृतिक सन्तुलन, जलधारा र प्राणी चक्र सबै बिथोलिए।
त्यसपछि चुरेमा धूलो, पहिरो र निराशाको बाक्लो बादल उड्न थाल्यो।
वन र वातावरणको क्षेत्रमा काम गर्ने धनुषा लालगढका सामाजिक अभियानी शंकर फुयाल भन्छन्, 'अनियन्त्रित चुरे दोहनले पछिल्लो एक दशकमा चुरेको उल्लेख्य वन नासियो। अनियन्त्रित र बेपर्वाह बालुवा, गिटी र ढुंगा उत्खननले पहिरो बढ्दै गयो। चुरेबाट निस्किने नदीको सतह बिथोलियो र आसपास बाढीको जोखिम बढेर गयो। उर्लिँदा बर्खे खोलाहरूले मलिलो माटो बगाउँदै लगे। सिमसार नासिए। भूमिगत जलभण्डार सुके। बिचौलिया र दोहनकारीहरू मोटाउँदै गए, चुरे दुब्लाउँदै गयो।'
फुयालको निष्कर्ष छ, 'अहिले मधेसमा पानीको जुन संकट देखिएको छ, त्यसको मुख्य कारण हो चुरेको दोहन। चुर नजोगाउने हो भने, अरू जेसुकै उपाय गरेर पनि यो समस्याको समाधान निस्किँदैन।'
संकटको अंकगणित
अब एकैछिन मधेसको पानी संकटलाई चुरेसँग जोडेर हेरौं।
विज्ञहरू भन्छन् — हाम्रो भूमिगत जलभण्डारको एउटा महत्त्वपूर्ण स्रोत हो स्वयं चुरे, त्यहाँका नदीनाला, सिमसार र पर्यावरण। जब यी नासिए, पर्यावरण सन्तुलन त बिथोलियो नै, मधेसको भूभिगत जलभण्डार पनि नासिँदै गयो।
परिणाम — मधेसमा मरूभूमीकरण तीव्र भयो। खेतहरू सुख्खा भए। पोखरी सुके। ट्युबवेल र इनारहरू रित्तिए।
मधेसमा बसेर चुरे संरक्षणका लागि काम गरिरहेका अभियानी सुनील यादव (बारा) भन्छन्, 'यो हामी सबैका लागि दुर्भाग्य हो। यसको असरले आज मधेसको आम जनजीवन प्रभावित छ।'
उनी थप भन्छन्, 'अहिलेसम्म सरकारले झन्डै सय स्थानमा चुरे दोहनको स्वीकृति दिएको छ। यसबाट राज्यलाई लगभग एक अर्ब रूपैयाँ राजस्व प्राप्त होला। तर बिचौलियाहरू कमाउँछन् अर्बौं अर्ब। र, चुरेमा जुन विनाश भइरहेको छ, त्यसको मूल्य हुन आउँछ खर्बौं खर्ब।'
यादव जोड दिएर भन्छन्, 'हामीले सरकारलाई चुरेको दुःख सुनाउन अनेक प्रयत्न गर्यौं। मधेसबाट काठमाडौंसम्म पैदल मार्च गर्यौं। सरकारी अड्डाहरू धायौं। मन्त्रालय पुग्यौं, मन्त्रीलाई भेट्यौं। प्रदर्शन गर्यौं, धर्ना गर्यौं। तर सरकार बुझ पचाएर बसेको छ र बिचौलियाहरू बेहिसाब रमाइरहेका छन्।'
के राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पनि परिणामविहीन छ — धनुषा लालगढ अस्पतालको पाहुनाघर 'सितल निवास' मा बसेर मैले यो प्रश्न यादवलाई गरेँ।
उनी राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसँग पनि सन्तुष्ट थिएनन्। बरू कार्यक्रमले देशकै सर्वोच्च पदको गरिमा बोक्न नसकेको उनको कथन थियो।
चुरे संरक्षण अभियानमा लागेका फुयाल र यादव जस्ता अभियानीहरू भन्छन् — नेपालको ६० प्रतिशत खाद्यान्न आपूर्ति मधेसले गर्छ। तर त्यही मधेस अहिले पानीको संकटले थिलथिलो छ। यसको मुख्य कारण हो चुरेमाथिको दोहन र अतिक्रमण।
हुन पनि, यही संकटकै कारण, सन् २०२२ मा बाराको एउटा गाउँमा सुख्खाले ३० हजार हेक्टर खेत सुक्यो। यहाँ धानको बाला फुल्न नै पाएन। अघिल्लो वर्ष लगभग ३० प्रतिशत मधेसमा सिँचाइ अभाव भयो। र, यो पटक त्योभन्दा अझ धेरै खेत सुख्खाले प्रभावित गरेको अनुमान छ।
नेपालको कुल जलस्रोतको १५ प्रतिशत हिस्सा भूमिगत जलस्रोतबाट प्राप्त हुन्छ। जो खेतीका लागि मात्र होइन, पिउने पानीको पनि महत्वपूर्ण स्रोत हो। त्यसै कारण पनि पछिल्लो समय मधेसमा ट्युबवेलको संख्या बढ्दैछ। र, भूमिगत जलभण्डारमा दबाब जारी छ।
जस्तो, सन् २००० मा मधेसमा लगभग १ लाख ट्युबवेल थिए। अहिले त्यो संख्या ५ लाखभन्दा माथि पुगेको छ। ट्युबवेल बढेसँगै बितेका बीस वर्षमा मधेसको भूमिगत जलभण्डार सरदर १० मिटरले घटेको छ। यही कारण समस्या अझै थपिएका छन्। पानीमा आर्सेनिक फैलिँदै छ र लवणक्ताले खेत वञ्जर हुँदैछन्।
अहिले मधेसमा १५ लाख मानिस आर्सेनिकको जोखिममा छन्।
अवस्था यस्तो छ कि, मधेसमा वार्षिक १० अर्ब घनमिटर भूमिगत जलस्रोतको (खानेपानी र सिँचाइका लागि) प्रयोग हुन्छ, तर त्यसको पुनर्भरण दर केवल ४० प्रतिशत छ। अवस्था यस्तै रहे, सन् २०३० सम्म मधेसमा भूमिगत जलभण्डार घटेर पानीको ठूलो हाहाकार हुने विज्ञहरू बताउँछन्।
यावत समस्याहरू संश्लेषण गर्दा, पछिल्ला संकटहरूको प्रभाव यति गहिरो देखिन्छ कि, यसले नेपालको जिडिपी (कुल गार्हस्थ्य उत्पादन) मा २–३ प्रतिशत हानि पुर्याइरहेको छ।
जानकारहरू भन्छन् — अवस्था यस्तै रहे भविष्यमा यो नै हाम्रो गरिबीको अर्को एक प्रमुख कारण हुनेछ।
हजारौं पोखरीको सपना
यो संकट कसरी समाधान गर्ने? मधेसको मरूभूमीकरण कसरी रोक्ने? चुरे कसरी जोगाउने र यसलाई फेरि कसरी हरियो र भरिलो बनाउने?
प्रश्नहरू अनेक छन्।
एकथरी मान्छे भन्छन् — सयौं डिप बोरिङ गाडेर मधेसको जलसंकट हल गर्न सकिन्छ!
भर्खरै प्रधानमन्त्रीले पनि त्यही भने। र, सरकारले केही डिप बोरिङ गाड्ने योजनै सार्वजनिक गर्यो।
तर विज्ञहरू भन्छन् — यो उपयुक्त तरिका होइन। बरू उल्टो तरिका हो। यसो गर्नाले भूमिगत जलभण्डार अझ घट्दै जान्छ र संकट थप सघन बन्छ। यसले न चुरेलाई जीवन दिन्छ, न मधेसको सुख्खा समस्याको दीर्घकालीन समाधान हुन्छ।
त्यसो भए गर्ने के त?
वातावरण विज्ञहरू ठान्छन् — मधेसको समस्यालाई मात्र मधेसको समस्याका रूपमा हेर्न हुँदैन। किनभने यो चुरेसँग अभिभाज्य रूपमा जोडिएको समस्या हो। अतः यसको समाधान चुरेमा खोज्नुपर्छ। चुरे दोहन नियन्त्रण नगरी यो समस्या समाधान हुँदैन।
प्रश्न आउँछ, कसरी चुरेलाई पुनर्जीवन दिन सकिएला?
यो प्रश्न मनमा राखेर एउटा रोमाञ्चक सपना देखौं।
जस्तै, सपना देखौं त, चुरेका खोँच र गल्छेँडामा दस हजार साना तालतलैया र सयभन्दा धेरै सरोवरहरू बनाउन सके कस्तो हुन्थ्यो होला? त्यसो गर्न सके, यसले पर्यटनमा कस्तो प्रभाव पार्थ्यो होला? पर्यावरणमा त्यसले के कस्तो प्रभाव पार्थ्यो होला? त्यसले कृषि प्रणालीमा के कस्तो प्रभाव पार्थ्यो होला? र हाम्रो जीवन पद्धति र प्राणी चक्रमा के कस्तो प्रभाव पार्थ्यो होला?
स्पष्ट छ — त्यसो गर्न सके, त्यो चुरेलाई नयाँ जीवन दिने एक महत्त्वपूर्ण सपना हुनेछ। यसले हाम्रो भूमिगत जलभण्डार पुनर्भरण त गर्ने नै छ, बाढीको जोखिम पनि घटाउनेछ। र, चुरे क्षेत्रलाई सुन्दर, तालतलैया र सरोवरले सिँगार्ने छ।
प्रश्न आउन सक्छ, के नेपाल सरकारले यो काम गर्न सम्भव छ? खर्च कहाँबाट ल्याउने?
विज्ञहरू भन्छन् — चुरेमा प्रति हेक्टर ११६.९४ टन कार्बन सञ्चय हुन्छ।
यसलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न सके वार्षिक लगभग १० करोड अमेरिकी डलर आम्दानी गर्न सकिन्छ।
हिसाब हेरौं त, वार्षिक लगभग १४ अर्ब रूपैयाँ। अर्थात्, दस वर्षमा एक खर्ब ४० अर्ब रूपैयाँ।
के यो आम्दानी चुरेलाई नयाँ जीवन दिने 'तालतलैया र सरोवरको सपना' का लागि खर्च गर्न सकिँदैन?
यो हाम्रो सन्दर्भमा एक अदभूत चरित्रको राष्ट्रिय गौरवको आयोजना हुनेछ।
र, त्यसपछि हुनेछ, सपनाको एक सुखद अवतरण।
आउनुहोस्, आजलाई चुरेमा एउटा सपना देखौं र यसलाई हजारौं तालतलैयाको नयाँ स्वर्ग बनाऔं।
***
(केशव दाहालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स — @dahalkeshab