हिमतालहरूको निर्माण उच्च हिमाली क्षेत्रमा हुन्छ।
ठूलो संख्यामा हिमतालहरू निर्माण भएको एक उच्च हिमाली क्षेत्र तिब्बत हो। यो क्षेत्रलाई तेस्रो ध्रुव, एसियाको जल टावर आदि उपनामले समेत चिनिन्छ। यो क्षेत्रबाट एसियाका दस ठूला यांग्सी, एलो, सालविन, इन्दस, ब्रह्मपुत्र, मेकङ, अमुदर्या, गंगा, तारीम जस्ता नदीहरू उत्पत्ति भएका छन्।
विश्वको करिब एक चौथाई अर्थात् दुई अर्बभन्दा बढी जनसंख्या यी नदी बेसिनमा निर्भर छन्। हिमनदीको स्खलन र हिमतालहरूको निर्माणको हिसाबले यो उच्च हिमाली भेगलाई पन्ध्र उपक्षेत्रमा विभाजन गर्न सकिन्छ।
ती उपक्षेत्रहरू हुन् — पश्चिम तियान शान, पूर्वी तियान शान, हिसार, पामीर, हिन्दकुश, काराकोरम, पश्चिम कुनलुन, पूर्वी कुनलुन, किलान शान, पश्चिम हिमालय, भित्री तिब्बत, केन्द्रीय हिमालय, पूर्वी हिमालय, दक्षिण–पूर्वी तिब्बत र हेंगदंग शान।

सन् १९९० देखि २०२० सम्मको तीन दशक अवधिको प्रवृत्ति अध्ययन गर्दा अधिकांश हिमताल तिब्बत क्षेत्रको दक्षिणी भाग र हिन्दकुश, काराकोरम, दक्षिण–पूर्वी तिब्बत र हेंगदंग शान क्षेत्रमा विस्तार भएको देखिन्छ।
यो क्षेत्रमा एक वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएका ठूला प्रकृतिका हिमताल पनि निर्माण र विस्तार भएका छन्। पूर्वी कुनलुन र किलान शान क्षेत्रमा साना प्रकृतिका हिमताल बनेका छन्।
यो क्षेत्रमा सन् २०२० मा विगत ३० वर्षको अन्तरालमा २१४ वटा एक वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएका ठूला प्रकृतिका हिमताल पहिचान भएका थिए। एक वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल भएका हिमतालले १३३७ ± २६१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको देखिन्छ।
यो त्यस क्षेत्रमा भएका कुल हिमतालको क्षेत्रफल १७३० ± ४६१ वर्ग किलोमिटरको ७७ ± १८ प्रतिशत हो।
अर्कोतर्फ, सन् २०२० को तथ्यांकको आधारमा ०.१ वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल भएका हिमतालको संख्या १९ हजार १३१ थियो। यी हिमतालले जम्मा ५७८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन्। संख्याको हिसाबले यो त्यस क्षेत्रमा भएका कुल हिमतालको ८४ प्रतिशत हो। ठूला हिमतालको तुलनामा साना प्रकृतिका हिमताल बढी अस्थिर हुन्छन्।
उचाइका हिसाबले समुद्री सतहभन्दा २००० देखि ६००० मिटरसम्म हिमताल निर्माण भएका छन्। अधिकांश हिमताल ३५०० मिटरभन्दा माथि ४२०० देखि ५५०० मिटरको उचाइमा बनेका छन्।
सन् १९९० देखि २०२० सम्मको प्रवृत्ति अध्ययन गर्दा हिमतालहरूको विस्तार उपक्षेत्रगत रूपमा फरक फरक पाइएको छ।
सबैभन्दा तीव्र गतिमा हिमताल विस्तार भएको क्षेत्र पूर्वी कुनलुन हो। यो क्षेत्रमा वार्षिक २ प्रतिशतका दरले हिमतालको क्षेत्रफल विस्तार भएको देखिन्छ।
तर विगत तीन दशकमा यस उपक्षेत्रमा २२.३० वर्ग किलोमिटर मात्र हिमतालको क्षेत्रफल वृद्धि भएको थियो। सोही अवधिमा हेंगदंग शान क्षेत्रमा न्यून रूपमा मात्र हिमताल क्षेत्रफल विस्तार भएको देखिएको छ।
पामीर क्षेत्रमा सन् १९९० देखि २०१० सम्म हिमतालको विस्तार तीव्र रूपमा भएको थियो। तर सन् २०१० देखि २०२० सम्म वार्षिक ०.३३ प्रतिशतका दरले मात्र विस्तार भएको देखिन्छ। यो वृद्धिदर अघिल्लो दुई दशकको तुलनामा न्यून हो।
पश्चिम कुनलुन क्षेत्रमा भने सन् १९९० देखि २०१८ सम्म हिमनदीको क्षेत्रफल वार्षिक ०.५० प्रतिशतका दरले वृद्धि भएकामा हालका वर्षहरूमा हिमतालहरूको क्षेत्रफल समेत उल्लेखनीय रूपमा वृद्धि भएको अध्ययनले देखाएका छन्।
समग्रमा उच्च हिमाली क्षेत्रमा सन् १९९० देखि २०२० सम्म, तीस वर्षमा हिमतालको क्षेत्रफल ०.५८ ± ०.२१ प्रतिशतका दरले वार्षिक वृद्धि भएर २५७ ± ९५ वर्ग किलोमिटर क्षेत्रफल विस्तार भएको देखिएको छ।
केन्द्रीय एसिया (हिसार, पामीर, पश्चिम तियान शान, पूर्वी तियान शान, पश्चिम कुनलुन, पूर्वी कुनलुन, किलियान शान, भित्री तिब्बत र दक्षिण–पूर्वी तिब्बत) क्षेत्रमा हिमतालको क्षेत्रफलको वार्षिक वृद्धिदर ०.५९ ± ०.२३ प्रतिशत रह्यो। त्यस्तै दक्षिण–पश्चिम एसिया (हिन्दकुश, काराकोरम र पश्चिम हिमालय) क्षेत्रमा ०.५५ ± ०.११ प्रतिशत थियो।

उच्च हिमाली क्षेत्रमा हिमताल निर्माणको प्रक्रिया क्षेत्रगत आधारमा फरक फरक देखिएको छ।
पूर्वी हिन्दकुश, काराकोरम, भित्री तिब्बत र हेंगदंग शान क्षेत्रमा हिमताल विस्तारको दर नकारात्मक छ। अर्थात्, ती क्षेत्रमा हिमतालको क्षेत्रफल खुम्चिएको छ।
सबभन्दा तीव्र रूपमा काराकोरम क्षेत्रमा क्षेत्रफल खुम्चिएको देखिन्छ। यो क्षेत्रमा वार्षिक ०.४४ वर्ग किलोमिटरका दरले हिमताल खुम्चिएका छन्।
सन् १९९० देखि २०२० सम्मको अवधिमा, यो क्षेत्रमा ०.४ देखि ०.६ वर्ग किलोमिटर क्षेत्रफल भएका मध्यम प्रकृतिका हिमताल लोप समेत भएका छन्।
यसको विपरीत अन्य क्षेत्रमा निरन्तर रूपमा हिमतालको क्षेत्रफल वृद्धि भएको देखिन्छ।
सबभन्दा तीव्र गतिमा पूर्वी हिमालय क्षेत्रमा हिमताल विस्तार भएका देखिन्छन्। यस क्षेत्रमा हिमतालहरूको क्षेत्रफलको वार्षिक विस्तार दर औसतमा ०.८५ वर्ग किलोमिटर छ।
सन् १९९० देखि २०२० सम्म यो क्षेत्रमा मध्यम प्रकृतिका धेरै हिमताल बनेका छन्। यसबाहेक, पश्चिम तियान शान क्षेत्रमा पनि तीव्र रूपमा हिमताल विस्तार भएका छन्। एक वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल भएका ठूला प्रकृतिका नयाँ हिमताल यो क्षेत्रमा बनेका देखिन्छन्।
उचाइका आधारमा, प्रत्येक दुई सय मिटरको फरकमा संख्या र क्षेत्रफल दुवैका हिसाबले हिमताल वृद्धि भएका छन्। ५ हजार मिटरदेखि ५ हजार दुई सय मिटरमा सबभन्दा बढी हिमताल विस्तार भएका छन्। यो उचाइमा सन् १९९० देखि २०२० सम्म करिब ४५ वर्ग किलोमिटर हिमतालको क्षेत्रफल वृद्धि भएको छ।
तीन दशक अवधिमा यो २५ प्रतिशतको वृद्धि हो।
तर सबै उपक्षेत्रहरूमा हिमताल वृद्धि र विस्तारको यो प्रवृत्ति कायम रहेको देखिँदैन। मूलतः ५ हजार मिटरमाथि उचाइ वृद्धिसँगै पश्चिम तियान शान, पूर्वी तियान शान, भित्री तिब्बत र पूर्वी हिमालय क्षेत्रमा हिमतालको क्षेत्रफल र संख्या बढेको देखिन्छ। अर्कोतर्फ, पश्चिम तियान शान र काराकोरम क्षेत्रमा ३ हजार चार सय मिटरदेखि ४ हजार छ सय मिटरको उचाइसम्म हिमतालको क्षेत्रफल खुम्चिएको पाइएको छ।
सन् १९९० देखि २०२० सम्म यी क्षेत्रहरूमा क्रमशः १.९९ र २.६० वर्ग किलोमिटर हिमतालको क्षेत्रफल घटेको देखिन्छ।
यसरी हिमतालको संख्या र क्षेत्रफलमा परिवर्तन आउनुको मुख्य कारण तापक्रम वृद्धि, हिमनदी स्खलन र वर्षा हुन्।
सन् १९९० देखि २०२० सम्मको अवधिमा उच्च हिमाली क्षेत्रको भित्री तिब्बत र पश्चिम तियान शान क्षेत्रमा प्रत्येक दशकमा अधिकतम ०.६ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको देखिएको छ। सम्पूर्ण हिमालय क्षेत्र मुख्यतः पश्चिम तियान शान, हिन्दकुश र हेंगदंग शान क्षेत्रहरूमा अझ सुख्खापन बढ्दै छ।
भित्री तिब्बत क्षेत्रमा भने ओसिलोपन बढ्दै छ। अध्ययनहरूले देखाए अनुसार भित्री तिब्बत क्षेत्रका हिमतालहरूको ७० प्रतिशत पानीको स्रोत वर्षा हो। तर हिमालय क्षेत्रमा वर्षाको परिमाण प्रत्येक वर्ष १६ मिलिमिटरले घटेको देखिन्छ। तसर्थ, यो क्षेत्रमा हिमतालको विस्तारमा वर्षाको भूमिका देखिँदैन।
बढ्दो तापक्रमका कारण तीव्र गतिमा हिमनदीहरू स्खलन हुँदैछन्। यसले हिमनदीहरूको तह पातलो हुँदै गएको छ। हिमनदी स्खलनले हिमतालमा पानीको सतह बढ्न गई क्षेत्रफल मात्र बढेको छैन, नयाँ हिमताल समेत बन्दै गएका छन्।
सन् २००० देखि २०१८ सम्मको तथ्यांक अनुसार पश्चिम तियान शान र पूर्वी हिमालय क्षेत्रमा हिमनदीहरूको सतह क्रमशः औसतमा प्रति वर्ष ०.२४ र ०.३९ मिटर घट्दै गएको देखिन्छ। सोही अवधिमा पश्चिम कुनलुन क्षेत्रमा हिमनदीको सतह औसतले ०.२३ मिटर प्रति वर्ष वृद्धि भएको थियो।
निष्कर्षमा, उच्च हिमाली क्षेत्रमा विगत ३० वर्षमा हिमतालको क्षेत्रफल विस्तार क्रमिक र स्थिर रूपमा हुँदै आएको छ। यो अवधिमा हिमतालको क्षेत्रफल प्रति वर्ष ०.५८ ± ०.२१ प्रतिशत अर्थात् ८.५७ ± ३.१६ वर्ग किलोमिटरले वृद्धि भएको छ।
यसले स्थान र समय अनुसार हिमताल परिवर्तनमा ठूलो भिन्नता देखाउँछ।
सबभन्दा छिटो हिमताल विस्तार २.०१ ± ०.५४ प्रतिशतका दरले पूर्वी कुनलुन क्षेत्रमा हुँदा, सबभन्दा सुस्त गतिमा ०.३३ ± ०.०८ प्रतिशत र ०.३९ ± ०.०१ प्रतिशतका दरले क्रमशः पामीर र हेंगदंग शान क्षेत्रमा हिमताल विस्तार भएको देखिन्छ।
विश्व तापमान वृद्धि, वर्षा र हिमनदीको स्खलन नै उच्च हिमाली क्षेत्रमा हिमतालको सतह, क्षेत्रफल र संख्यामा आएको परिवर्तनका मूल कारण मानिएका छन्।
दीर्घकालीन तथ्यांक संकलन, स्वचालित नक्सांकन विधि र अध्ययनहरूको नतिजाले हिमताल र हिमनदी सम्बन्धी परिवर्तन बुझ्नका साथै हिमाली क्षेत्रमा हिमताल बिस्फोट जस्ता विपद जोखिम मूल्यांकनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।

(डा. मुकेशराज काफ्लेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @MukeshKafle4