बेइजिङ डायरी
गत जुन २४ देखि जुलाइ ११ सम्म (असार १०–२७) हामी चीनको सिचाङ (पुरानो नाम तिब्बत) भ्रमणमा थियौं।
भ्रमण क्रममा हामीलाई जुन २९ आइतबार साँझ एउटा गीती–नाटक देखाउन लगियो।
सातौं शताब्दीका तिब्बती सम्राट स्रङचङ गम्पोले थाङ राजवंशकी राजकुमारी वेनछनसँग बिहे गरेको ऐतिहासिक गीती–नाटकको नाम थियो— राजकुमारी वेनछनको विवाह।
मैले यो गीती–नाटक सन् २०१९ मा पनि हेरेको थिएँ। भव्य गीती–नाटकको महत्वजस्तै यसलाई प्रदर्शन गरिने थिएटर पनि अनुपम छ।
यो एउटा विशाल खुला आकाशमुनि बनाइएको थिएटर हो। अग्लो पहाडको छेउमा विशेष तरिकाबाट डिजाइन गरिएको थिएटरमा एकै पटक सात सयभन्दा बढी कलाकार मञ्चमा देखा पर्छन्।
कलामा निपुण तिब्बती अभिनेता, अभिनेत्री र नर्तकहरूको कलाले सबैलाई मन्त्रमुग्ध बनाउँछ।
वास्तवमा यो यस्तो गीती–नाटक हो जहाँ परम्परागत तिब्बती नृत्य र गायनका साथै विभिन्न कला र संस्कृतिको बेजोड सम्मिश्रण छ। यो गीती–नाटकमा सात सयभन्दा बढी मानव कलाकार बाहेक सयौंको संख्यामा च्यांग्रा र भेडा पनि प्रयोग गरिएको छ। 
मञ्चमा दर्जनको संख्यामा याक र त्यति नै संख्यामा घोडाको प्रवेशले पनि नाटकलाई उत्तिकै जिवन्त बनाउँछ। केही कुकुर पनि कलाकारसँगै देखा पर्छन्।

चिनियाँ अल्पसंख्यक तिब्बती जातिका पुराना लोकनृत्य र गायन समेटिएको यो नाटकमा विभिन्न तिब्बती उत्सवहरूमा मात्र देख्न पाइने गुओझुआङ नृत्य, अर्गा नृत्यर तिब्बती ओपेरा गायनसँगै पुराना चलनलाई कलाले ओतप्रोत गरेर प्रस्तुत गरिन्छ।
यस गीती–नाटकमा मुख्य गरी पाँच भाग छन्।
डेढ घण्टाको नाटकमा 'प्राचीन थाङ राजवंशको आकर्षण', 'स्वर्ग र पृथ्वीको बौद्ध संगीत', 'तिब्बती नृत्यको महान सौन्दर्य', 'पठारका देवता' र 'तिब्बती र हान बीचको सामञ्जस्यपूर्ण सौन्दर्य'।
प्रत्येक भागमा थाङ र प्राचीन तिब्बतीबीच रहेको अद्वितीय संस्कृति र जीवनशैली विभिन्न बिम्ब र अभिनयबाट प्रस्ट्याइन्छ। नाटक प्रस्तुत भइरहेको समयमा पृष्ठभागमा ल्हासाका भव्य दृश्य प्रविधि मार्फत देखाइन्छ।
मञ्चमा थ्रिडी सेटिङमार्फत पोताला दरबार र जोखाङ मन्दिरका डमी देखाइन्छ। नाटकमा देखाइने पोतला दरबारको डमी सय मिटर लम्बाइ र २० मिटर उचाइको छ।
यी दृश्य हेर्दा जोखाङ र पोतलाभन्दा बढी यथार्थ जस्तो अनुभूति हुन्छ। पोतला दरबार र जोखाङ मन्दिरका डमीलाई विद्युतीय लिफ्टमार्फत सरर ल्याउँदा दर्शकहरू आश्चर्यचकित हुन्छन्।
त्यसैगरी पुरानो ल्हासामा बालिएका धुप र बत्तीसँगै माथिल्लो पहाडी भागमा हिउँ परेको दृश्य देखाउन मञ्चको पृष्ठभागमा रहेको पहाडमा बत्तीको संयोजनबाट साँच्चै हिउँ परिरहेको भान दिन नाटक सफल हुन्छ।
नाटकमा भव्य र शानदार दृश्यछन्। प्रविधि प्रयोग गरेर विविध बत्तीको प्रकाश, फूलहरूको विशाल बगैंचा, गहुँबारी र जौबारी तथा उवाबारीका लहलहाउँदा बाली देख्ता दर्शकलाई आनन्द लाग्छ।
त्यसैगरी ल्हासा नदी जमेर बरफमाथि गाडा तान्दा तानेको दृश्य निकै सबल छ। गाडा तान्ने क्रममा देवता रिसाएको अथवा साइत बिग्रिएपछि गाडा अगाडि जानुको सट्टा पछाडि सर्न थाल्छ। यस्तो बेला त्यहाँ याक आउँछ।
याकले शुभशकुन दिएपछि बल्ल गाडा अगाडि बढेको दृश्यले पुरानो तिब्बतको चलन र विश्वासलाई छोटो दृश्यमा निकै मार्मिक तरिकाले देखाउँछ।

ल्हासा नदीकै किनारमा रहेको 'राजकुमारी वेनछन थिएटर' सन् २०१३ मा निर्माण सम्पन्न भएर सोही वर्ष जुलाइदेखि सञ्चालनमा आएको हो।
यो २४,६११.८ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। यो एक विशाल थिएटरमा ४ हजारभन्दा बढी दर्शकहरू अटाउन सक्छन्। यसको निर्माणमा ७५ करोड चिनियाँ युआन अर्थात् एक अर्ब ५० करोड नेपाली रूपैयाँ हाराहारी खर्च भएको छ।
वेनछन तत्कालीन थाङ राजवंशका बादशाह ताई चोङकी छोरी हुन्। थाङ राजवंशको राजधानी सिआनमा थियो। ल्हासादेखि लगभग २ हजार माइल पूर्वतिर।
तिब्बती सम्राट स्रङचङ गम्पो बेहुलो बनेर वेनछनलाई लिन गएका थिएनन्। उनका कारिन्दाहरू गएका थिए। वेनछनलाई माइती घरबाट अन्मिएर ल्हासा आइपुग्न एक वर्ष लागेको थियो।
स्रङचङले वेनछनसँग जसरी बिहे गरे, त्यसरी नै नेपाली राजकुमारी भृकुटीसँग पनि बिहे गरेका थिए। भृकुटी बिहे गरेको केही वर्षपछि स्रङचङले वेनछनसँग बिहे गरेका हुन्।
ल्हासामा अत्यधिक चिसो र हिउँ पर्ने भएकाले यो थिएटर लगभग ६ महिना मात्र खुल्छ। सामान्यतया अप्रिल २० देखि अक्टोबर ३१ सम्म खुल्छ। अक्टोबरको मध्यदेखि नै हिउँ परेमा त्यो बेला नै थिएटर बन्द हुन सक्छ।
खुलेका ६ महिनामा हरेक दिन राति साढे नौदेखि एघार बजेसम्म प्रदर्शन हुने यो गीती–नाटकको टिकट शुल्क ३८०, ४८०, ५५०, ८८० र १२८० युआन छ। नेपाली मुद्रामा ७ हजार ६ सय रूपैयाँदेखि २५ हजार ६ सय रूपैयाँसम्म पर्न आउँछ।
अब कुरा गरौं यो गीती–नाटकमा भृकुटीलाई छुटाइएको बारे।
बिहे त स्रङचङ गम्पो र वेनछनबीचमा भएको थियो। तर वेनछनलाई बिहे गर्नुभन्दा अगाडि भृकुटीको बिहे स्रङचङसँग भएको थियो। त्यस कारण कहीँ कतै भृकुटी गीती–नाटकमा देखिनुपर्ने हो। डेढ घन्टाको गीती–नाटकमा भृकुटीलाई कतै पनि देखाइँदैन। स्रङचङ गम्पो र वेनछनको बिहे भएकाले भृकुटीलाई किन देखाउनुपर्यो भन्ने प्रश्न पनि उठ्न सक्छ।
तर कुरा यति मात्र होइन। एउटा बादशाहको बिहे हुँदैछ भने उनकी महारानी के गर्दैछिन् भन्ने जिज्ञासा हुनु स्वाभाविक हो।
गीती–नाटकमा स्रङचङ गम्पोलाई बारम्बार देखाइन्छ। भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिर पनि देखाइन्छ। पोतला दरबार पनि देखाइन्छ। सुसारे, नोकरचाकर, सन्देशवाहक, सुरक्षाकर्मी, बिहे गराउने लमी, पशुपालक, दोभासे सबै देखाउँदा भृकुटीलाई किन देखाइएन भन्ने प्रश्न मलाई सन् २०१९ मै उठेको थियो।
दोस्रो पटक हेर्दा मैले मञ्चको दायाँबायाँतिर राखिएका ठूला स्क्रिनमा ध्यान दिएर हेरेँ।
त्यहाँ हरेक संवाद र कथाको सार अंग्रेजी, चिनियाँ र तिब्बती भाषामा डिस्प्ले हुन्थ्यो। मैले अंग्रेजी स्क्रिप्ट ध्यान दिएर पढेँ। तर कतै पनि भृकुटीको प्रसंग उल्लेख भएन।
नाटकमा भृकुटीलाई छुटाएको देखेपछि जोखाङ मन्दिर पुग्दा गौरवले पुलकित म खिन्नताले खुम्चिएँ।

हुन त स्रङचङ गम्पोका दायाँतिर हरित ताराका रूपमा भृकुटी छिन्। नाम लिँदा वेनछनभन्दा पहिले भृकुटीकै आउँछ। जोखाङ मन्दिर भृकुटीले नै बनाउन लगाएको हो भन्ने जगजाहेर छ। एउटा नाटकमा नसमेटिँदैमा इतिहास मेटिँदैन भनेर चित्त बुझाउने ठाउँ पनि छ।
यो नाटकको महत्व निकै बृहत् छ। ल्हासा पुगेका सबै विदेशी पर्यटकले यो नाटक हेर्छन्। विदेशी उच्चस्तरका पाहुनालाई त अनिवार्य जस्तै गरी देखाइन्छ पनि। अनि यो नाटक कुनै मण्डली अथवा निजी क्षेत्रको एउटा कुनै प्रतिष्ठानले सञ्चालन गरेको होइन। यो त सिचाङ सरकार मातहत रहेको एउटा सरकारी सांस्कृतिक आदानप्रदानका रूपमा रहेको संस्था हो।
नाटकका लेखक, सम्पादक, निर्देशक सबैले हेक्का राख्नुपर्ने हो।
त्यति बेला बहुविवाह सामान्य जस्तै थियो। बादशाहले अर्को बिहे गर्दैछन् भने उनका पहिलेका श्रीमतीको कि गुनासो हुन्छ कि सहयोग। बादशाहको बिहे हुँदा पहिलेकी महारानीले कस्तो पोशाक लगाएर देखिने, सगुन दिने, कुराकानी गर्ने वा निराश भाव प्रकट गर्ने; कुनै न कुनै भावमा भृकुटी देखिनुपर्ने होइन र?
भृकुटीमाथि भएको यो बेवास्ताको कारण थाहा पाउन मैले चिनियाँ इन्टरनेटमा खोजबिन गरेँ।
प्रायः चिनियाँ वेबसाइटहरूमा स्रङचङ गम्पो र वेनछनको मात्र चर्चा रहेछ। नगन्य स्थानमा भृकुटीको चर्चा छ।
कुनै कुनै साइटमा कथित चिनियाँ बुद्धिजीवीलाई उद्धृत गर्दै लेखिएको छ, 'तिब्बती सम्राट स्रङचङ गम्पोले भृकुटी बिहे गरेको कुरा काल्पनिक र उडन्ते कथा मात्र हो।'
ती तर्क अनुसार त्यति बेला हिमाल पार गरेर नेपाली राजकुमारीसँग बिहे गर्न सम्भव थिएन रे। त्यसमाथि कहाँ तिब्बतको सम्राट अनि कहाँ नेपालकी राजकुमारी भनेर उपन्यास अथवा मिथकका रूपमा भृकुटीलाई उभ्याइएको भन्दा रहेछन्।
चीनमा कुनै पनि कामको जश हम्मेसी विदेशीलाई दिइँदैन। राम्रा काम जति सकेसम्म चीन वा चिनियाँले नै गरेको भनेर देखाउन खोजिन्छ। अनि नेपालबारे चीनमा केही भ्रम पनि छन्। पाका चिनियाँहरू शाक्यमुनि बुद्धलाई भारतमा जन्मिएको भनेर विश्वास गर्छन्। यस्तै भ्रमको मेसोमा भृकुटीलाई नाटकमा छुटाइएको हुन सक्छ। 
नभए, त्यत्रो विशाल खर्चमा बनाइएको नाट्यशाला, अनि १२ वर्षदेखि निरन्तर मञ्चन हुँदै आएको गीती–नाटकका शब्दहरू मञ्चन हुनुभन्दा अगाडि कयौं पटक बहस भएको हुनुपर्छ। चरित्र, संवाद, दृश्य, मञ्चन, परिवेश, इतिहास, संस्कृति, भूगोल सबै विषयमा विज्ञहरूबीच राम्रै मन्थन भएको हुनुपर्छ।
तर इतिहास एक पक्षले मेटेर मेटिँदैन। नेपाल र चीन दुवै देशले राजकुमारी भृकुटीलाई ऐतिहासिक सांस्कृतिक दूत मानेका छन्। सातौं शताब्दीमै नेपाल र तिब्बतबीच वैवाहिक सम्बन्धको सेतूले दुई देशबीचको व्यापारिक तथा सांस्कृतिक सम्बन्ध उजागर गरेको थियो। अहिले पनि त्यो कायम छ।
नाटकमा नेपाल र चीनबीचको सम्बन्ध जिवन्त बनाउने नेपाली राजकुमारी भृकुटीलाई देख्न नपाए पनि जोखाङ मन्दिरमा उनी चम्किरहेकी छन्। भाखोर सडकका पाइला पाइलामा भृकुटीको योगदान कुँदिएको छ!

***
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)