असोज २८ गते कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आउने भएपछि मेरो मनमा एउटा कुतूहलता थियो।
गाडीबाट ओर्लिएर जब उनले महिना दिनपछि पहिलो पटक क्यामरा 'फेस' गर्नेछन्, कस्ता देखिनेछन्? उनको हाउभाउ कस्तो हुनेछ? अनुहारमा कस्तो भाव आउनेछ? उनी कति गलेका छन्, कति स्वस्थ वा अस्वस्थ छन्?
देउवा केही समय वा केही वर्ष अघिदेखि नै घुँडा सिधा टेक्दैनन्, हिँड्दा केही खुम्चिएको हुन्छ। बुढ्यौली वा के कारण हो, थाहा छैन।
त्यस दिन कांग्रेस केन्द्रीय कार्यालय आउँदा देउवाका वृद्ध घुँडामाथि शरीरको बोझ मात्र थिएन — भदौ २४ गते उनीमाथि भएको आक्रमण र कुटपिट, जलेको उनको घर, घरमा जलेका पैसाको भाइरल भिडिओ, उनले एमालेसँग मिलेर बनाएको शक्तिशाली सरकारको जेनजीहरू सडकमा ओर्लिएको २४ घन्टाभित्रै भएको पतन र प्रदर्शन क्रममा दुई दर्जन कलिला विद्यार्थीको हत्या लगायत घटनाको भारी पनि थियो।
यो सबै बोकेर उनी कांग्रेसको केन्द्रीय कार्यालय 'बिपी स्मृति भवन' छिर्दै थिए।
करिब एक महिना अस्पताल र गुप्तवास बसेर पहिलो पटक सार्वजनिक हुँदा उनको मनमा कस्तो भाव होला — मलाई जस्तै अरूलाई पनि कुतूहलता पक्कै थियो।
देउवा आगमनको 'लाइभ' प्रसारण गर्न हाम्रा साथीहरू र अरू धेरै पत्रकार सानेपामा केही समय अघिदेखि नै तैनाथ थिए। हामी सेतोपाटीको कार्यालयमा लाइभ हेरेर बसेका थियौं।
सेतो पजेरोबाट देउवा श्रीमती आरजु देउवा राणासहित बिपी स्मृति भवनमा ओर्लिए। र, अघि बढे।
निलो कोट, आकाशे–सेतो धर्के सर्ट, कालो प्यान्ट र धेरै चामलमा थोरै तिल मिसिएको कपालमा देउवा खुलेका थिए।
मेरो ध्यान उनको पहिरनभन्दा पनि उनको अनुहारमा थियो। एक किसिमको निश्चिन्तता, एक किसिमको शान्ति थियो उनको अनुहारमा।
एक कदमपछि सँगसँगै हिँड्दै थिइन् आरजु। उनी झनै हँसिली र गुलाबी–सेतो कुर्तामा झनै खुलेकी थिइन्।
देउवा दम्पतीको अनुहारमा भदौ २४ को घटनाको कुनै क्लेश थिएन।
मानौं, बुढानिलकण्ठको देउवा निवास जलेकै थिएन, उनीहरूमाथि आक्रमण भएकै थिएन, एक महिनाअघि मुलुकको राजनीति उलटपुलट भएकै थिएन।
देउवा दम्पतीको अनुहार र हाउभाउ देखेर मैले साथीहरुसँग भनेँ — I think he has made up his mind (उनी निर्णय गरेर आएका छन्)।
किनभने, उनको अनुहारमा अनिर्णयको भारी देखिएको थिएन। भोलिको अनिश्चयले छोपेको थिएन।
कुनै पनि अप्ठ्यारो घडीमा निर्णय गरिसकेपछि मन निश्चिन्त र शान्त हुन्छ। देउवाको अनुहार त्यस्तै देखिन्थ्यो। आखिर अनुहार मनको ऐना न हो, देखिइहाल्छ।
नभन्दै, कांग्रेस केन्द्रीय कार्य समितिमा उनले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
आन्दोलनप्रति कुनै वैर्यभाव देखाएनन् वा गुनासो गरेनन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोके। विधान अनुसारै महाधिवेशन सम्पन्न गरिने आशा व्यक्त गरे र बिदा भए।
कांग्रेस केन्द्रीय कार्यालय छिर्दा सायद त्यही शान्ति उनको मनमा छरिएको थियो। देउवा दम्पतीले मिलेरै त्यो निर्णय गरेको आरजुको अनुहारमा पनि स्पष्ट देखिन्थ्यो।
देउवाले विधान अनुसार समयमै अधिवेशन हुने आशा व्यक्त गर्नुको अर्थ कांग्रेसले नयाँ सभापति छान्छ र उसको नेतृत्वमा कांग्रेस अघि बढ्छ भन्ने थियो। देउवाले त्यति भन्दा पनि मुलुकले त्राण पाएझैं भयो।
ती दिनहरूमा भक्तपुरको गुण्डुमा जे चलिरहेको थियो, एमाले अध्यक्ष केपी ओलीले जे बोलिरहेका थिए, त्यसले मानिसहरूलाई एक किसिमले ऐँठन गराएको थियो। त्यो पृष्ठभूमिमा देउवाले जसरी बोले, जे बोले र जुन सहजता साथ राजनीतिक विश्राम लिने संकेत गरे, त्यसले मुलुकलाई त्राण दियो।
एकछिन कल्पना गर्नुस् — त्यस दिन गुण्डुको बोलीमा देउवाले लोली मिलाएको भए, आज नेपालको राजनीति कहाँ हुन्थ्यो? हामी कुन अनिश्चयको भूमरीमा हुन्थ्यौं वा लोकतन्त्र कुन भड्खालोमा परिसकेको हुने थियो।
खासमा असोज २७ गते साँझ देउवाको मन्तव्य तयार हुँदा, त्यसमा मंसिरमै महाधिवेशन हुने उल्लेख थियो। मंसिरमै महाधिवेशन सम्पन्न गरेर कांग्रेसमा नयाँ सभापतिले कार्यभार सम्हालोस् र आफूले विश्राम लिन पाऊँ भन्नेमा थिए देउवा।
उनको मन्तव्यको मसौदा तयार गर्ने रमेश लेखक र महामन्त्री गगन थापाले सबभन्दा पहिले देउवाको मनसुवा थाहा पाए। त्यसपछि देउवानिकट अरूले पनि थाहा पाए।
भोलिपल्ट बिहानैदेखि देउवा निकट कतिपय नेताहरूले मंसिरमै महाधिवेशन गर्ने कुरा मन्तव्यमा नलेखिदिन अनुनय–विनय गरे। छलफल गरेर हामी सहमतिमा आफै मिति तय गरिहाल्छौं भनेर देउवालाई उनीहरूले नै आश्वस्त पारेको कतिपय नेताहरू बताउँछन्।
ति नेताहरुको मक्सद देउवाले भेउ पाएनन् भन्ने मलाई लाग्दैन। कम बोल्ने तर नेपाली राजनीतिका अत्यन्तै चतुर खेलाडी हुन् देउवा। तर आफूलाई वर्षौं, अझ दशकौंदेखि साथ दिएका कतिपय 'साथीभाइ' लाई उनले टार्न सकेनन् वा उनीहरूको चित्त दुखाउन चाहेनन्। मंसिरमै महाधिवेशन गर्ने कुरा देउवाले आफ्नो मन्तव्यबाट हटाए। र, विधान अनुसार 'समय' मै महाधिवेशन गर्ने कुरा राखे।
यही मंसिरमा महाधिवेशन हुने निश्चित नभएपछि असोज २९ गते विशेष महाधिवेशन माग्दै नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराए। उनीहरूको चाहना सम्भव भएसम्म नियमित महाधिवेशन गरौं नत्र विशेष महाधिवेशन गर्नुपर्छ भन्ने हो।
तर त्यसको करिब एक महिना पछिसम्म पनि न विशेष महाधिवेशनको टुंगो छ, न नियमित महाधिवेशनको।
कांग्रेसमा किन यस्तो भइरहेको छ? कसरी यस्तो भइरहेको छ?
संसदीय लोकतन्त्रमा मतहरू संख्यामा व्यक्त हुन्छन्। बहुमत सांसदहरूको साथ पाएको मानिस संसदीय दलको नेता हुन्छ। संसदका बहुमत सांसदहरूको साथ पाएको मानिस प्रधानमन्त्री हुन्छ। बहुमत गुमाउनासाथ संसदीय दलको नेता र प्रधानमन्त्री पद पनि गुम्छ।
पार्टी सभापति पनि त्यही हो।
आफूलाई चुनेका बहुसंख्यक सदस्यले आफूमाथि विश्वास नराखेर र अर्को नेतृत्व चुन्ने उदेश्य साथ विशेष महाधिवेशन माग गरेपछि, नैतिक रूपले सभापतिको पद त्यही दिन चैट हुन्छ।
कांग्रेसीहरूले भने आफ्ना पार्टी सभापतिको मानमर्दन गर्न चाहेनन् र नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व छान्ने भए सभापतिको 'ग्रेसफुल एक्जिट' सुनिश्चित गर्ने बताए।
तर कांग्रेस वा कांग्रेसका कतिपय नेता यति पत्रु भएछन्, बहुसंख्यक महाधिवेशन प्रतिनीधिले अविस्वास गरेको पार्टी सभापतिकै निरन्तरता उनीहरुले चाहिरहेका छन्।
यो कुरा अब कतिपय 'ती' नेतामा सीमित रहेन। देउवा स्वयं यसमा तानिएका छन्।
मैले त्यही भएर कात्तिक १५ गते शनिबार, पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर लेखेँ— कार्यवाहक सभापतिज्यू– देउवा वा '६ भाइ' होइन, समयको चाल सुन्नुहोस्।
त्यो लेखेको भोलिपल्ट देउवानिकट दुई नेताले फोन गरेर मलाई भने, 'तपाईंको लेखमा हाम्रो सहमति नै छ। सकेसम्म चुनावअघि नै महाधिवेशन गर्नुपर्छ। तर तपाईंको लेखमा सभापतिले महाधिवेशन गर्न नचाहेको संकेत छ। त्यो चाहिँ सत्य होइन। सिंगापुर जाने अघिल्लो दिन पनि उहाँले सबैलाई मिलाएर समयमै महाधिवेशन गर्नेबारे नै कुरा गर्नुभएको हो। आरजु देउवाले पनि परराष्ट्र मन्त्रीसम्म भइहालेँ, अब अरू राजनीति गरिरहने चाहना छैन भन्नुभएको छ!'
मैले उनीहरूलाई भने, 'तपाईंहरूले भनेको कुरा एकछिनलाई मानेँ। तर मलाई दुइटा प्रश्नको उत्तर दिनुहोस् — पहिलो, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कि नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्ने र सभापति देउवाको आजका दिनसम्मको चाहना पनि महाधिवेशन गरेर नयाँ नेतृत्व छानौं, म विश्राम लिन चाहन्छु भन्ने नै छ भने, कांग्रेसमा अर्को कुन त्यस्तो तागत छ जसले महाधिवेशन रोकिराखेको छ?'
दोस्रो प्रश्न-- त्यसमाथि कार्यवाहक सभापति खड्का र देउवा पक्षकै कयौं नेताहरू, विशेषगरी जसले भोलि चुनावमा जनता फेस गर्नुपर्छ, उनीहरू पनि नियमित महाधिवेशन गरेरै चुनावमा जाने पक्षमा छन्। त्यसो भए कांग्रेस सभापति, कार्यवाहक सभापति, देउवा खेमाकै कतिपय नेताहरू र कांग्रेसका ५४ प्रतिशत महासमिति सदस्यले चाहँदा पनि महाधिवेशनको टुंगो किन लागिरहेको छैन?
उनीहरूसँग यी दुवै प्रश्नको उत्तर थिएन।
मैले यसैबीच अरू नेताहरूसँग पनि कुरा गरेँ। अब के प्रस्ट हुँदै गएको छ भने, सिंगापुर पुगेर देउवाको मन बदलिएको छ। उनी पहिलेझैं समयमै वा चुनावअघि नै महाधिवेशन गर्ने र नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छैनन्। वा कम्तीमा ढुलमुल र अलमलमा छन्।
आइतबारसम्म मसँग 'देउवा महाधिवेशनकै पक्षमा हुनुहुन्छ' भन्ने नेताहरू पनि अहिले त्यसो भन्न छाडेका छन्। 'उहाँ के चाहनुहुन्छ, नेपाल फर्किएपछि नै थाहा हुन्छ' भन्न थालेका छन्।
देउवा सिंगापुर पुगेर किन मन बदले वा कम्तीमा पहिलेको निर्णयबाट एक कदम पछि हटेर किन ढुलमुल गरिरहेका छन् — उनी निकटकै कतिपय मानिसहरू अचम्म पर्न थालेका छन्। विभिन्न अनुमान हुन थालेका छन्।
मुख्य गरी तीनवटा आकलन छन्।
पहिलो, देउवालाई उनीसँग लामो समय काम गरेका '६ भाइ' लगायतको समूहले निरन्तर यहाँबाट अनुनय–विनय गरेका छन् — कम्तीमा महाधिवेशनको पक्षमा तपाईं केही नबोलिदिनुहोस्। चुनावसम्म हामी आफै यसलाई रोक्छौं।
देउवाले उनीहरूलाई 'नाइँ' भन्न सकेका छैनन्। त्यसले गर्दा चुनावअघि महाधिवेशन गर्न हुँदैन भन्ने खेमा उत्साहित र आक्रमक बनेको छ। केन्द्रीय समिति बैठकमा मंगलबार कृष्णप्रसाद सिटौला आक्रमक रूपमा प्रस्तुत हुनुको कारण त्यही हो।
दोस्रो, जसरी केपी ओली दलभित्र पेलेरै अघि बढेका छन्, जसरी चुनाव भाँड्ने र संसद पुनः स्थापना गर्नेमा अघि बढेका छन्, त्यसले पनि देउवा प्रेरित भएका छन् र उनमा एउटा आश पलाएको छ।
'देउवा–ओली जहाँ जहाँ भए पनि उनीहरूबीच सम्पर्क नहुने कुरा भएन। उहाँहरूबीच कुरा भइरहेकै छ,' एक कांग्रेस नेताले भने, 'तर कांग्रेस त्यो बाटो जानु हुँदैन, निर्वाचनमै जानुपर्छ भन्ने उहाँको पनि भनाइ थियो। अहिले के छ, स्थिति बुझ्न गाह्रो छ।'
तेस्रो, सिंगापुर उपचार गर्ने थलो मात्रै होइन, हाम्रा देशका शीर्ष नेताहरूले राजनीतिक परामर्श गर्न जाने ठाउँ पनि हो। ती राजनीतिक भेटघाट र परामर्शका कारण पनि देउवा अहिले आफ्नो निर्णयबाट पछि हटेका हुन् वा त्यसलाई थाति राखेका हुन्?
देउवा बदलिएको वा नबदलिएको जे भए पनि, एउटा कुरा स्पष्ट छ — उनी सिंगापुरबाट नफर्किउन्जेल कांग्रेसले अहिलेको गतिरोधबाट मुक्ति पाउने छैन।
राजनीति बडो अजिव छ।
सत्तामा को कहिले पुग्छ, त्यो कसैलाई थाहा हुँदैन। सत्तामा पुग्नेलाई पनि थाहा हुँदैन। तर सत्ताबाट कहिले ओर्लिने भन्ने उनीहरूलाई थाहा हुन्छ। र, विवेक हुने राजनीतिज्ञहरूले त्यो मौका सदुपयोग गर्छन्।
ती राजनीतिज्ञ भने साँच्चै अभागी हुन् जसले सत्ता छाड्ने तय गरेर, सार्वजनिक रूपमा जानकारी गराएर पनि फेरि कुरा फेर्छन्। लोभ, मोह वा अरू कुनै कारणले आफ्नै विवेकमाथि लात हानेर निर्लज्ज रूपमा आफ्नो सार्वजनिक वाचाविरूद्ध उभिन्छन्।
उनीहरूले अघि बढिसकेको समय त रोक्न सक्दैनन् तर 'एक्सपोज्ड' हुन्छन्। समाजमा थप तिरस्कृत हुन्छन्, थप दुत्कारिन्छन्।
असोज २८ गते बिपी स्मृति भवनमा बोलेर देउवाले मुलुकभरिका नेपालीको जस्तो सहानुभूति पाएका थिए, त्यसको लायक म थिइँन भनेर उनले नदेखाऊन् भन्ने मेरो कामना छ।
आम मानिसका जस्तै हरेक नेताका पनि कमजोरी हुन्छन्। देउवाका पनि छन्। पछिल्लो समय नेपाली राजनीति जसरी दिशाहीन बनेको छ, जसरी कुशासनले जरो गाडेको छ, त्यसमा देउवाको ठूलो भूमिका छ। कम्तीमा पनि बेथिति र कुशासन नरोक्नेमा त छ नै!
राजनीतिबाट अवकाश लिएपछि पक्कै पनि उनले आफ्नो लामो सार्वजनिक जीवनलाई टाढाबाट हेर्नेछन्। आज उनलाई आफू जति उज्यालो लाग्छ, त्यस बेला उनले आफूलाई त्यति उज्यालो पाउने छैनन्।
उनी राजनीतिबाट टाढा गएपछि आम मानिस, विश्लेषक र इतिहासकारहरूले पनि उनको राजनीतिक जीवन र योगदानको सांगोपांगो हिसाब गर्नेछन्। त्यसमा उनी अहिले जति खराब देखिएका छन्, त्यति खराब पनि देखिने छैनन्!
देउवाले सिंगापुरबाट फर्किएर महाधिवेशनबिनै र आफ्नै नेतृत्वमा कांग्रेसलाई चुनावमा लैजाने प्रयत्न गरे भने चाहिँ उनी इतिहासको समीक्षाको लायक पनि रहने छैनन्।
डडेल्धुराको एउटा गाँउबाट आएर, ६० वर्षसम्म अविच्छिन्न प्रजातन्त्र र लोकतन्त्रको पक्षमा उभिएका देउवाले आफ्ना लाख कमजोरीका बाबजुद आफूलाई त्यति तलसम्म धकेल्ने सामर्थ्य भने नराखून् भन्ने मेरो कामना छ।
***
(अमित ढकालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)