वैज्ञानिक सर आइज्याक न्युटनको भनाई याद गरौँ– ‘म अग्रगामी सोच गर्दछु भने मेरा मूर्धन्य अग्रजहरूको काँधमा चढेर गर्दछु।’ अग्रज चिन्तकहरू कमलप्रकाश मल्ल, हर्क गुरुङ्ग र जगदिश घिमिरेका नेपाली बुद्धिजीवी र बौद्धिक विषयमा वि.सं. २०२७ र २०३४ सालमा प्रकाशित जीवन्त लेखहरूले चिन्तन गर्न बाध्य तुल्यायो।
१. नेपालका विज्ञान असंगत विचारकहरूबीसौं शताब्दीका महान् वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भनेका थिए– ‘धर्मबिना विज्ञान लंगडो र विज्ञानबिना धर्म अन्धो हुन्छ।’
बुद्धिजीवी र बौद्धिक बहसमा उठेका विचारहरू आध्योपान्त अध्ययन गर्दै जाँदा कम्तिमा पनि सबै विचारकहरू फितलो लाग्यो। अग्रज विचारकहरू कमलप्रकाश मल्ल, हर्क गुरुङ्ग र जगदिश घिमिरेका साथै नव विचारकले राजनीति, धर्म–संस्कृति, जात–जाती, भाषा–भाषी, लिङ्ग इत्यादिका विषयहरूमा घनीभूत विचारहरू प्रस्फुटन गरे र गरिरहेका छन्। तर विज्ञानलाई चटक्क बिर्सिएर। यसले हाम्रा अग्रज र नव विचारकहरूमा विज्ञानको ज्ञानको अभाव खट्केको प्रस्ट्याउँछ। विज्ञानको ज्ञान र महत्वमा आँखा चिम्म गर्नेहरूप्रति कसरी बुद्धिजीवी र बौद्धिक उपर्सग जोडौं?
विज्ञानलाई प्रमुख बहसका विषयमा उपस्थित नगराउँदा हाम्रो देशको बौद्धिक ज्ञान र यसको विकास पछाडी परेको ठम्याई छ।जगदीश घिमिरेका शब्द सापट लिएर भन्दा ‘बुट्टेदार भाषा’मा बाहुनवादी संस्कारलाई मात्र दोष दिनुभन्दा कमलप्रकाश मल्लले आफ्ना बौद्धिक लेखमा नेपालका पहिला वैज्ञानिक गेहेन्द्र शमशेरलाई नभुलिदिएको भए राम्रो हुन्थ्यो। हाम्रो देशका विज्ञानका झिल्कालाई भुलिदिँदा कमलप्रकाश मल्ल पर्यन्तका विचारकहरूलाई पनि उनकै समकोणीय विचारमा डोर्याएको देखिएको छ। यसले गर्दा राष्ट्रिय बौद्धिक बहसका विषयमा विज्ञान पछाडि पर्न गयो।
राणा परिवारमा श्री ३ पुत्र भएर जन्म लिने सु–अवसर प्राप्त गरेरै किन नहोस्, गेहेन्द्र शमशेरको नाम नेपाली इतिहासको पाण्डुलिपीमा पहिला वैज्ञानिक भनेर लेखिएको छ। ३५ वर्षे अल्पायुमै गेहेन्द्र शमशेरले केही वैज्ञानिक आविष्कारहरू गरिसकेका थिए । नेपाली मोडलको बन्दुक, धान कुट्ने मील, पानी तान्ने पम्प साथै नेपालमा सबैभन्दा पहिला पानीबाट विद्युत उत्पादन गर्ने शमशेरलाई बुद्धिजीवी वर्गमा सामेल नगरिँदा के नेपाली बौद्धिक टिप्पणीमा न्याय होला?
सकभर आफ्नै देशका स्रोत साधन प्रयोग गरी वैज्ञानिक आविष्कार गर्न खोज्ने विज्ञानका अगुवाहरूलाई बिर्सनु तर अन्य शास्त्रीय शिक्षा लिएका र वाक्पटु जानेकाहरूलाई मात्र बुद्धिजीवी र बौद्धिक मान्न अग्रसर हाम्रो समाजका विचारकहरू प्रति विज्ञान सायद लुकी–लुकी हाँसी रहेको हुँदो हो।
विज्ञानको अभावमा अन्य शास्त्रीय ज्ञानहरू टुहुरा हुने छन् । जति नै नाडी निमोठे पनि विज्ञान र वैज्ञानिक बिना समाजको विकास सम्भव देखिँदैन। अविकसित समाजमा धर्मवाद, नश्लवाद, लिङ्गवाद साथै अन्य बखेडाहरूले अतिक्रमण गरिनै रहन्छन्। यी सबै अतिक्रमणहरूबाट मुक्त पाउन विकसित समाज निमार्ण गर्नु हो। विज्ञान र वैज्ञानिक यसका आधार–स्तम्भ हुन्। यो संगै हुर्किएका अन्य शास्त्र र शास्त्रार्थहरूको पनि बढी महत्व होला ।
राष्ट्रभित्र रही सेवा गरेका उत्प्रेरक वैज्ञानिकहरू उदयराज खनाल, दयानन्द बज्राचार्य, शिव कुमार राई, तेज कुमार श्रेष्ठ, विनिल अर्याल, शिक्षाविद् सुरेशराज शर्मा, चिकित्सकहरू उपेन्द्र देवकोटा, भगवान कोइराला, भोला रिजाल जस्ता मूर्धन्य व्यक्तिहरूलाई हाम्रो समाजले बौद्धिकताको बहसमा दहर्याउन नसक्नु कमजोरी होला। यस प्रकारको अभावले वैज्ञानिक समाज निमार्णमा कस देखाउँछ। कु–राजनीति भएको समाजमा जातीय, वर्गीय, धार्मिक, लैंगिक नारा लगाई उफ्रने वामपुड्के विचारकहरूले मात्र सृजना गर्ने समाज कंकाल समाज होला।
यसो भन्दै गर्दा अन्य विधाका चम्किला व्यक्तिहरू बि.पी. कोइराला, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पारिजात, अंगुरबाबा जोशी, कुमार खड्ग विक्रम शाह, डोरबहादुर विष्ट, प्रदिप गिरी, डि.पी. भण्डारी, अभि सुवेदी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पिताम्बर शर्मा, चैतन्य मिश्र र अन्यलाई उपेक्षित गर्न खोजिएको अर्थ नलागोस् । विज्ञान र अन्य शास्त्रहरूको सह–अस्तित्वको खोज मात्र गरिएको हो।
राहुल सांकृत्यायनको उक्ति ‘मानिसको इतिहासमा दर्शन जागेको बेला विज्ञान सुतेको हुन्छ र विज्ञान जागेको बेला दर्शन सुतेको हुन्छ’का विपरीत अब विज्ञान, दर्शन, साहित्य, धर्म, संस्कृति र अन्य ज्ञानका विधाहरू सँगसँगै जाग्ने बेला आएको छ। वैज्ञानिक स्टेफेन हकिंङ सबै भौतिक फोर्सहरूलाई एकबद्ध गर्ने सुत्रको खोजमा अग्रसर भएजस्तै हाम्रो समाजका विद्वानहरू पनि बुद्धिजीवी र बौद्धिकताका हिसाबले विज्ञान र विविध शास्त्रहरूको एकीकरणीय बहस र विकासमा जुट्नु आवश्यक देखिन्छ ।
२. बौद्धिकहरूको गैर धर्म परायणताअग्रज विचारकहरूले अभिव्यक्त गरेझैँ बाहुनवादी संस्कारले इतिहासको कुनै समयमा समाजमा आफुलाई नाइके ठानेका भएपनि सँधैभरी यसलाई मात्र सबै नकारात्मक प्रतिफलको दोषि तुल्याई राख्नुले बुद्धिजीवी र बौद्धिकताको निमार्ण नगर्ला। यस सन्दर्भमा हर्क गुरुङ्गको विचार सान्दर्भीक लाग्दछ। उनी भन्दछन् ‘नेपाली बुद्धिजीवीसामू एउटा ठुलो हाँक देखापर्दछ। त्यो हो देशका विभिन्न जाति र समुदायहरूलाई एक राष्ट्रको रुपमा ढाल्नु।’
हर्क गुरुङ्गले भनेजस्तै बुद्धिजीवी वा बौद्धिकले समाजका आम समस्याहरूलाई हल गर्ने दिशातर्फ लैजानु पर्दछ। समाज विभाजनकारी तर्क–कुर्तक नगरी समाजलाई एक ढिक्का बनाई अविछिन्न रुपमा उच्चगतिका साथ अग्रगामी दिशातिर बढाउने कदमी उठाउनु पर्दछ। यी सोचका जुनसुकै व्यक्तिहरूलाई बुद्धिजीवी वा बौद्धिक मान्न उपयुक्त होला।
बुद्धिजीवी वा वौद्धिक व्यक्ति पाउन नसकेको समाज कलंकीत समाज हो । विडम्बना वक्र पाण्डित्यले खचाखच हाम्रो समाज एकाइसौं शताब्दीको यस घडीमा पनि मुर्दा अवस्थामै लडिरहन उन्मुख देखिन्छ। विज्ञान र विकासवादी सोचको सम्मान हुन नसकेको समाजको दशा यही होला। यसको मुख्य दोष विश्वविद्यालयको शैक्षिक अवस्थालाई जान्छ। गोपीकृष्णको रट्याई भएको शिक्षा पद्धतिबाट समाजमा बुद्धिजीवी र बौद्धिकता विरलै जन्मेलान्। राष्ट्रिय राजनीति र शासकवर्गको यसमा गहन जिम्मेवारी छँदैछ।
विद्वान उपस्थित शक्तिकेन्द्रको आवश्यकता महसुस हुँदाहुँदै आजको देशको परिस्थितिले कमलप्रकाश मल्लको अर्को बहसलाई भने सार्थक तुल्याउँदछ। उनले लेखेका छन्– सन् १९५५-१९५६ तिर जब यदुनाथ खनाल र यादव प्रसाद जस्ता शिक्षणशास्त्रीहरू शिक्षण कुञ्जबाट शक्तिमार्गतिर बसोबास सारे त्यसपछि वर्षेनी उच्च शिक्षित एवं प्रतिभा सम्पन्न नवयुवकहरू शक्तिको चुम्बकद्धारा लहसिई त्यसको सक्रियताको क्षेत्रतिर अग्रसर हुनथाले ।
विगतदेखि देखिएको यो क्रममा क्रमभंगता हुन सकेको छैन। बदलामा झन्–झन् उच्छृंखल पाराले विचारकहरू गहिरो राजनीतिक इनारमा निःवस्त्र हामफाल्न थाले। बौरिने प्रयास गर्दागर्दै कयौंले अकालमा प्राण त्याग गरे भने कतिले प्राण त्याग गर्दै होलान् ।
पछिल्लो कालमा बाबुराम भट्टराई जस्ता बौद्धिक व्यक्तित्व वैज्ञानिक शिक्षा प्रणाली विकास र प्रवर्धनमा केन्द्रित नभई सर्वहारा वर्गको मुक्तिको लागि भन्दै शक्तिकेन्द्रमा आकर्षित हुनु राम्रो मान्न सकिँदैन। उनी विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, प्राध्यापक इत्यादि पदकका लागि शोभनीय विद्वान हुन्। शक्तिमार्गबाट शिक्षण–कुञ्जतिर बसोबास सारे यिनको बढी सम्मान र महत्व हुने थियो।
राजनीतिलाई शिक्षाभन्दा माथि राख्न खोजिनु, देशका धेरै जनतामा व्यक्तिगत लाभ र आडम्बरका लागि नेता कार्यकर्ता मात्र बन्न खोज्ने लालषा देखिनु, देशमा अनावश्यक रुपमा नेतागिरिको विगबिगी फैलिनु बौद्धिक क्षय हुनुका केहि प्रमुख कारण हुन्।
रविन्द्र मिश्र, मुमाराम खनाल जस्ता व्यक्तिहरू पनि राजनीतिक शक्तिको चुम्बकद्वारा आकर्षित भई यसमा विलय हुन खोज्नु बौद्धिक क्षयका उदाहरण हुन्। देशका अर्का आशालाग्दा बौद्धिक बिन्दु सिके लाल राष्ट्रिय स्वार्थका बहसमा भन्दा क्षेत्रीय स्वार्थका बहसमा बढी सक्रिय देखिनु बौद्धिक वृद्धिका लागि राम्रो होइन।
हुनत बहसमा राष्ट्र छुट्टाउन कोरिएका राजनीतिक सीमाकंन पनि साघुँरा लाग्दछन्। तै पनि धरातलीय यर्थाथतामा बसेर बहस गर्दा यी सीमाका मूल्य र मान्यताहरूलाई नर्कान नसकिएला। यसरी देशको राजनैतिक व्यवस्था जतिसुकै परिवर्तन भएपनि एकातिर असल राजनैतिक नेतृत्वको अभावमा भने अर्कातिर शास्त्रीय बुद्धिजीवीको गैरधर्म परायणताले विश्व बौद्धिक परिदृश्यमा नेपाल लगभग बौद्धिक शून्यको परिस्थितिमा छ। यसको मारमा समग्र चिजहरू परेका छन्।
नेपालमा विदेशी बुद्धिजीवी र बौद्धिकताले निरन्तर हाँगो फिँजाइरहनुमा निर्विकल्प लम्बिँदो राजनीतिक संक्रमण, मौलाउँदो भ्रष्टाचार, अकर्मण्य कर्मचारी र जनता–जनार्दनको पनि उत्तिकै दोष छ। विश्वविद्यालयका ओहदामा राजनीतिक बाँडफाड घृणीत छ। कु–राजनीतिको प्रभावमा उपकुलपति, रेक्टर, रजिष्ट्रार देखि अन्य उच्च ओहदाका प्राज्ञहरू राजनीतिक पार्टीका झोले र भ्रष्टचारका एजेण्टले देशमा बढीमा वढी विद्वान् जन्मने आकांक्षा कठीन देखिन्छ।
बाह्य देशका विश्वविद्यालयले उत्पादन गरेका विद्वानलाई नेपाली नागरिकता बोकेका भरमा मात्र हाम्रा बुद्धिजीवी मानिनुमा वढी तुक नदेखिएला। हाम्रा बुद्धिजीवी हाम्रा विश्वविद्यालयका सन्तान हुनुको अपनत्व बेग्लै हुनेछ। यो हाम्रा विश्वविद्यालयहरूले लिनुपर्ने जिम्मेवारी हो।
कु–राजनीतिको भुलभुलैयामा नफसेका प्राध्यापकहरू पनि शिक्षा र अनुसन्धानप्रति लगनशील नभएका खण्डमा ज्ञान र बौद्धिकता मौलाउने देखिँदैन। जागीर जोगाउन मात्र कार्यालय र विश्वविद्यालय धाउने तर बढि समय व्यक्तिगत लाभ र चिया–कफीको चुस्कीमा जाले रुमालका बुट्टा भर्दै वादविवादमा समय खर्चने प्राध्यापकहरूको केहि बौद्धिक अस्तित्व नहोला।
ज्ञानप्रदायक बौद्धिक कार्य, चिन्तन र बहस नगर्नेहरूलाई प्राध्यापक वर्गमा गनिनु सांख्यिय हिसाबले ठीकै देखिएला तर बौद्धिक गुणवेत्ताका हिसाबले शून्यमा शून्य मिलाउँदा शून्यकै प्रतिफल आएजस्तो मात्र हुनेछ। यसैले पि.एच.डी गरेका सबै बौद्धिक हुन् भन्ने कमलप्रकाश मल्लको बुझाई सधैँ सहि नदेखिएला।
बौद्धिकता सामान्य लेखपढ गरेका तर मेहनती किसान, कलाकार, व्यवसायी जो कोहीबाट पनि प्रस्फुटित हुन सक्ने सम्भावना हो। यो डिग्रीको भन्दा मननको, चिन्तनको र बुझाइको विषय हो। संसारमा ज्ञानको विगुल फुक्ने महामुनी गौतम बुद्धले सायद विश्वविद्यालयका कुनै डीग्री हासिल गरेका थिएनन् क्यार?
३. बौद्धिकताको बहसमा नेपाली महिलादुई फरक विधा– भौतिक विज्ञान र रसायन विज्ञानमा गरी दुई पटक नोबेल पुरस्कार प्राप्त विद्वान महिला मेरी क्युरीका उक्तिलाई सम्झौँ- ‘जीवनमा केहीसँग पनि डराउनु हुँदैन। केवल बुझ्दै जानुपर्दछ। अबको समय भनेको अझ धेरै बुझ्नु पर्ने समय हो। यसले गर्दा हामी डरबाट मुक्त हुँदै जानेछौ।’
नेपाली समाज पितृसतात्मक समाज हो। यहाँ पुरुषका तुलनामा महिलालाई धेरै नै थिचोमिचो गरियो। यसको अन्त्य अझ हुन बाँकी छ। महिला विचारकहरू सरिता तिवारी र सावित्री गौतमले समाजको लैङ्गिक संरचनाले महिला वुद्धिजीवी जन्माउन नसकेको समालोचना गर्दैछन्। यो कुरा सहि हो ।
आशावादी भएर हेर्दा अबको समाज परिर्वतन भइरहेको छ। महिला र पुरुष बराबरीका नारा चारैतिर घन्किरहेका छन्। महिला स्वतन्त्रता र उन्मुक्तिको अवस्था उठ्दो छ। यसरी हुँदै गइरहेको क्रमिक विकासमा महिलाले जहिले पनि निराशाको भाषा बोलिरहनु, अपवादका विवरणहरु खोज्दै सूदुरकालमा भएका थिचोमिचोका मात्र उदाहरणहरू वकिरहनु महिला वुद्धिजीवी उत्पादक नदेखिएला।
महिला उन्मुक्ति खोजीरहेको समाजमा महिलावृन्दले प्रकृतिले हामिलाई बच्चा जन्माउने पाठेघर र बच्चा हुर्काउने स्तन किन दियो ? पुरुषलाई किन दिएन ? भन्ने सार भएका आवाज उठाउनु उचित नहोलान् । साथै प्राकृतिक रुपमा पुरुषको वलिष्ठ शारीरिक संगठनको दाजोमा महिलामा नभएका अवस्थामा आफूलाई कता–कता पुरुषसँग तुलना गरी जीवनका विविध आयाममा तर्क–कुतर्क गरिनु सान्दर्भीक नदेखिएला ।
अब पहिलाको तुलनामा धेरै महिला शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छैन। पुरुष र महिलाबीच भएको शिक्षाको खाडल पुरिँदै आउने क्रममा छ। शहरिया महिलाहरू पुरुषकै लाइनमा आइपुगेका छन्। पुरुष र महिला दुवैका आ–आफ्ना दैनिकीहरू समझदारीपूर्वक विभाजन गरी समाजमा महिला अग्रसरता हुनुपर्ने देखिन्छ। क्रन्दनीय भावावेगहरू भन्दा उत्कृष्ट महिला उदाहरणका गाथा गाउँदा समाजले महिला बुद्धिजीवी पाउने प्रोत्साहन मिल्दछ।
महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधानन्यायाधीश, महिला प्राध्यापक, महिला डाक्टर, महिला इन्जिनियर, महिला पाइलट, महिला बैंङ्कर्स र अन्य धेरै महत्वपूर्ण स्थानमा महिला भइसकेको समाजमा आवेगमा गई गरिने असहिष्णु विश्लेषणलाई उचित ठहर्याउन गाह्रो पर्ला।
सरिता तिवारीले राणा शासनकालीन नेपाली नारी क्रान्तिकी ज्वलन्त ज्वालो योगमाया न्यौपानेको गान गर्दागर्दै अरुण नदीमा हामफाली ६७ जना महिला सहित सामुहिक जल समाधी गर्नु पछाडिको तुलना सत्य रक्षार्थ हेमलक पिउने सुकरातको बलिदानसंग गरी क्रन्दन गरिनु बुद्धिसंगत नदेखिएला।
दुवै व्यक्ति योगमाया र सुकरात महान हुन्। एक महान् व्यक्ति नेपाली राजनीतिक र समाजिक परिस्थितिमा महिला उन्मुक्तिको लागि आफूलाई आहुति गरीराखेकी थिइन् भने अर्का महान् दार्शनिक सत्य र निष्ठाको रक्षार्थ संसारको अर्को भुगोल एथेन्समा आफुलाई आहुति गरीसकेका थिए। दुवैलाई उक्त समयका शासकले आफ्नो शासकीय सुरक्षाको लागी कलंक लगाउन खोजे।
यद्यपि सुकरात आज पश्चिमी दर्शनका महान दार्शनिक ठहर्याइन्छन्। मृत्युपर्यन्त उनका दार्शनिक विचारलाई प्लेटो, जेनोफोन र एरिस्टोटलले प्रचार–प्रसार गरेझैं योगमायाको देन नेपाली महिला उन्मुक्ति क्रान्तिमा मात्र सीमित नगराई संसारकै महिला उन्मुक्तिका लागि प्रयोग गरिनु पर्दछ। नकारात्मक टिप्पणीहरूले महिला उन्मुक्ति साथै महिला विद्वता नजन्माउला।
सावित्री गौतमले आफ्नो लेखको पहिलो प्यारामा उध्रित गरेकी छन्, ‘कुनै एक वरिष्ठ पत्रकार र लेखकले स्त्रीहरू बौद्धिक हुदैनन् भने।’ हाम्रो समाजमा कसले के भने? कसले के गरे? भन्ने अनावश्यक गसिपमा पुरुषको तुलनामा महिला बढि डुबेको देखिन्छ। यसले जो कोहीको समयको बर्बादी साथै बौद्धिक विकलांग मस्तिष्कको निमार्ण गराउने ठूलो खतरा देखाइराखेको छ।
समाजमा पुरुषभन्दा वढी महिला बुद्धिजीवी र बौद्धिकहरूको आवश्यकता छ। एक महिला बुद्धिजीवीले एक पुरुष बुद्धिजीवीका भन्दा बढी बुद्धिजीवी निमार्ण गर्ने सामाजीक खुबी राख्दछिन्। नारीवाद र पुरुषवादको अस्वस्थ र संकुचित नाराले समाजमा विद्वता प्रदान गर्न नसक्ला। दुवै आडम्बरबाट मुक्त भई हातेमालो गर्दै चिन्तन मनन गर्नुनै विद्धता उद्गम लक्षित हुनुको अर्को विकल्प नहोला। अर्को पक्ष, महिला–महिलाबीचको द्वन्द्वमा सायद महिला पुरुष दुवै बराबर दोषि देखिन्छन्। यो केवल महिला र पुरुष दुवै पक्षको अन्तःस्करणीय झिल्कोबाट मात्रै सुल्झेला।
नारी विद्वान नभएका हैनन्, छन् । योगमाया, पारिजात, अंगुरबाबा जोशी, शुसिला कार्की, वानिरा गिरी, सुधा त्रिपाठी केही उदाहरणहरू हुन्। अझ बढीको लागि वैज्ञानिक मेरी क्युरीले भनेझैं ‘भूतसँग भयभीत नभई वर्तमानमा अझ बढी बुझ्दै जानु नै होला।’
अन्तमा
बुद्धिजीवी र बौद्धिकताको जुनसुकै कोणबाट भौतिक बहस गरिए पनि हेमलक पिउँदै गरेका ७१ वर्षीय सुकरातले भनेका दार्शनिक उक्ती नै सर्वोच्च बौद्धिक उक्ती लाग्दछ– ‘आजसम्म मैले केही जाने भने यो सारा बुझाई केही होइन भन्ने नै जाने।’
बीट मार्दामार्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली शाकुन्तल महाकाव्यमा आफ्ना वक्तव्य राख्दाको भनाइ याद आयो– ‘कलम विजुलीझैँ दौडियो, तर कती उज्यालो आयो म भन्न सक्दिनँ।’ धन्यवाद!