त्यतापट्टि छाडौँ। बरू पुलिस दाइको कथा लेख्छु। उनीहरूले देशप्रति गरेको सेवा र बलिदानको बारेमा लेख्नु पर्ला। त्यो सडकको धूलो र गाडीले छाडेको धुँवा खाएर रातदिन ट्राफिक प्रहरीको सेवा देख्दा त माया जागेर आउँछ। तर खोई पुलिसको पनि शंकै लाग्छ। जुन ट्याक्सीमा चढ्यो ट्याक्सीवाला ट्राफिक पुलिसलाई त फुट्या आँखाले पनि देख्न सक्दैनन्। देख्यो कि यी भाते भनेर सराप्न थाल्छन्। नसराप्नु पनि किन, ट्याक्सीवाला यिनीहरूको शिकारमा परेर रातोदिन सताइएका छन्। तर पनि म यिनीहरूको कथा लेखेर पार लाग्दिनँ।
होइन त्यो काईँलो भनाउँदो सधैँ हातमा कपी अनि खल्तीमा कलम बोकेर यही बाटो हिँड्छ नि। ऊ त निकै भावुक, बोल्दा पनि बिस्तारै संयम भएर बोल्छ। उसको साहित्यमा निकै दख्खल छ जस्तो गरेर नाक फुलाउँछ। लेख्दा पनि नेताहरूलाई भित्तैमा पुर्याएर सत्तो सराप गरेर लेख्छ। साँझ पर्न पाउँदैन लोकल भट्टीमा गएर साहूनीकी बहिनीलाई जिस्क्याउन छाड्दैन रे। पैसा नपाई छाडा कुरा लेख्दैन। हो त्यस्ताको पो कथा लेखे केही सार होला। होइन आफूलाई बुद्धिजीवी भनेर अर्काको इष्र्या, डाहा र रिस गर्ने अल्पबुद्धिको बारेमा के लेख्नु? खाउन्जेल आफ्नो नत्र सित्तैमा खान नपाए, भए–नभएको गाली गर्ने त्यस्ता बुद्धिजीवीका कथा कसले पढ्ला र? त्यस्तो त जसले पनि पढ्छन् नि। यहाँ त त्यस्तैको ठूलो बजार छ। भाउ पनि त्यत्तिकै चर्को छ।
साह्रै भएन– म नेपाली जनताका भोट पाएर चुनिएका नेपालका हाम्रा प्रिय नेता, देशका सबैभन्दा गहन व्यक्तित्व, यो देशको शासन प्रशासन चलाउने सबैभन्दा जानेबुझेका, देशको ऐन कानून बनाउने, विदेशीहरुसँग सन्धी सम्झौता गर्ने, ३ करोड नेपालीको आर्थिक समृद्धिको भार बोक्दै मार्गदर्शक भनी ठानिएका यो देशका प्रिय राजनीतिक नेताको बारेमै लेखौं कि? धत् १ त्यस्तो पनि कहीँ हुन्छ र! यिनै नेता होइनन् जो नेपालका प्रमुख भ्रष्टचारी, घुसखोरी, अनैतिक, देशभँडुवा, विखण्डनकारी र राष्ट्रद्रोही भनेर चिनिन्छन् अनि म यिनीहरूकै बारेमा मेरो कलमको मसी कसरी खर्च गर्न सक्छु ? धत् १ चित्रबहादुर के.सी., नारायणमान विजुक्छे आदि पनि छन् नि। तिनको बारेमा लेखे भैहाल्यो। फेरी उता यस्तो छवि भएका ईश्वर पोखरेल, गगन थापा, नारायण खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, प्रदिप ज्ञवाली पनि त नेतै हुन नि। उनीहरूकै बारेमा लेखे भैहाल्यो। विचरा! चित्र बहादुरका त अरू के कुरा गरौं अब त मासु चपाउने दाँत त छैनन्। उनी त अरू नेताहरूलाई भ्रष्ट नबन, देशका लागि पार्टीभन्दा माथि उठेर काम गर भन्दाभन्दै थाकिसके। नारायणमानको पनि चित्रबहादुरकै हालत भैसक्यो।
देशलाई समृद्धिको बाटोमा लान्छु भन्ने केही पढेका नेताहरू त विदेशीकै मुखपत्र र पुच्छर भएर पार्टी चाहर्दै फेर्दै हिँड्दा वरको सिन्को पर सार्न पनि फुर्सदै पाउँदैनन्। कसले यो देश बनाउँछ? यिनीहरूले जति कराए पनि नेताहरूले देशका लागि के गरे? यो त ‘काग कराउँदै छ पिना सुक्दैछ’ भनेजस्तो मात्रै भयो। राजनीतिज्ञको कथा पनि किन लेखौं? फेरी यी विषयमा कति लेख, कथा र हाँस्य व्यङ्ग्यहरू आइसके अब त्यसैको बारेमा कसले पढ्छ र? यो किताब थोत्रो भैसक्यो। त्यस्तै केही समय अघिसम्म पृथ्वीनारायण शाहदेखि पछि आएका अधिकांश लेखक, नेता, बुद्धिजीवी, शिक्षक, छात्रछात्रा जो होस् सबैले देशको बारेमा लेख्दा नेपालको भौगोलिक संरचना वर्णन गर्दा नेपाल दुई ढुङ्गा बीचको तरुल हो भन्थे। ग्लोबलाइजेशनको हावा चलेपछि नेपालीहरू पनि हो हामी दुई ढुङ्गाबीच च्यापिएको तरुल मात्र नभएर हामी त दुई देशबीचको पुल बन्नुपर्छ भन्न लागेका छन्। म पनि फेरी किन यिनै पुरानै नारा फलाकी रहूँ? अब म त हरेश खाइसकेँ। त्यसो भए खोइ त मेरो कथाको विषय?
हे फसाद१ म अब के लेखौं त? लेख्नु पर्ला हाम्रो देशको प्राकृतिक सौन्दर्यताको बारेमा? उत्तरमा चाँदी जस्तो टल्कने हिमाल, पहराबाट झर्ने कलकल गर्ने छहरा, ती मृग र डाँफे कुद्ने पाटन, हरियाली मैदान, हाती, गैंडा र बंगाल टाइगरको वासस्थान। हो, यही नै राम्रो कथाको विषय होला। तर फेरी भानुभक्तदेखि अहिलेसम्मका कवि, लेखक सबैले देशको सौन्दर्यताको बारेमा लेखेका छन्। त्यसो भए खोइ त मेरो कथाको विषय?
कथाको विषयवस्तु खोज्दा र रोज्दारोज्दै थाकी सकेँ। हिजो आज कति कुरा त यो दिमागमै फुर्दैन। दिमाग पनि किन बोधो भएको होला! आ... के भनिराखेको होला? फेरी पनि भन्देऊ विदेशीले यो देशको सीमाना मिचेको कुरा, सीमा स्तम्भहरू भत्काएर रातोरात सानो नेपाललाई अझ सानो बनाउँदै लगेको कुरा, सीमानाको नजिक अवैध बाँधहरू बनाएर तराईका बासिन्दाका जमिन डुबानमा पारेको कुरा, नेपालको सीमाभित्र विदेशी फौज पसेर निमुखा सोझा गरिब जनतालाई बन्दी बनाएको कुरा। तर सबै भन्दा चाखलाग्दो विषय त नेपाल निल्न खोज्ने योजना बिग्रने भयो, आफूले चाहेर भने जस्तो भएन भनेर एउटा विदेश सचिव आएर नेपालका नेतालाई उनीहरूकै घर बैठकमा बसेर धम्क्याउँदै, हप्काउँदै काबु पार्छन्। उनीहरूले भने जस्तो भएन भनेर र भनेको समयमा देशको संविधान बनाउन नदिने निरर्थक प्रयास त कसैले बिर्सेकै छैनन्। यो विषयमा प्रवेश गर्याे भने त छिमेकी मित्रराष्ट्र भनाउँदो देशले अपनाएको वैदेशिक नीतिको बारेमा त झन् विद्यावारिधीको उपाधी पाउने थेसिस नै लेख्न सकिन्छ। तर अर्कोतिर यो देशका नैतिकता र स्वाभिमान राष्ट्रको माया नभएका भ्रष्टचारी नेताहरु सम्झँदा त यो देश कसरी चल्छ भनेर रातभरी निद्रा लाग्दैन। उनीहरूलाई के कस्ता कुराले नैतिकता बेच्न र भ्रष्टचारी बन्न प्रेरित गरायो त? यो विषय लामो होला तर खान लाउन नपाउनेलाई खान लगाउन दिँदै गुलियो चटाएर लोभ्याएपछि आफ्नो छोरा छोरी बेचेको, धर्म बेचेको हाम्रो आँखाले झलझली देखेको छ। तेरा छोराछोरीलाई निःशुल्क पढाइदिन्छु, तँलाई पनि महिनैपिच्छे भत्ता दिन्छु, तेरा गाउँमा स्कुल बनाउन सहयोग गर्छु, बिरामीलाई ओसार्न एम्बुलेन्स दिन्छु, तेरो घरमा भोज गरे रक्सी मासु पठाईदिन्छु, तेरो छुट्टी मिलाएर मन्दिर, गुम्बा र विदेशका रमणीय स्थल घुम्न हाम्रै खर्चमा पठाईदिन्छु अनि त नेताहरूलाई के खोज्छस् कानो आँखो भनेजस्तै आफ्ना भएका आँखा चिम्लेर राष्ट्रियता र नैतिकतालाई आहुति दिँदै भ्रष्टचार गर्न नहिच्कीचाई आफूलाई बेचिरहेका छन।् म अरू कुन प्रेरणाको कुरा गरौँ? तैपनि हेरिराखौं न। विवेकशील–साझा पार्टीका अहिलेसम्म स्वच्छ छवि बोकेका छौं भन्ने युवा नेताहरूले के गर्दा रहेछन्? यिनीहरूका बारेमा त कति लेख्नु छ कति? यिनीहरूका लागि भ्रष्ट खडेरीले चट्टानजस्तो बनाएको यो देशको बाँझो जोत्न कति बाँकी छ कति । के अब विवेकशील–साझा पार्टी लगायतका अरू पार्टीका पनि नयाँ नेताहरूले यो देशलाई भ्रष्टाचारको जालोबाट मुक्त गर्लान् त?
हरेश त अवश्य खानु भएन नि। देखेनौ नेपालमा कस्ता–कस्ता मान्छे छन्? डा. के.सी. एघारौं÷बाह्रौँ पल्टसम्म अनसन बस्दै अन्त्यमा जुस पिउँदै अनसन विर्सजन गरेको। अब त अनसन बस्न उनको बानी परिसकेको छ। जे होस् उनी अनसन बस्न छाड्छन् न नेताहरूले तपाईँको माग प्रति अत्यन्त गम्भिर छौँ भनेर बजारमै नबिक्ने सस्तो आश्वासन दिँदै उनको अनसन तोडाउन छाडेका छन्। न स्वास्थ नीति र स्वास्थ्यका निकायहरूमा ठोस सुधार नै आएको देखिन्छ। धन्य डा. के.सी.।
अब थाहा भैहाल्यो नि लेख्ने विषय अनगिन्ती छन् तर कहाँबाट सुरू गर्ने भन्ने मात्र हो। मेरो यो कथा लेख्ने, लेख लेख्ने कुरा पनि देश बनाउन खोज्ने कुरा जस्तो मात्र हो। मैले यति बुझ्नु पर्यो कि देशलाई समृद्धिको बाटोमा लान अनेक बाटाहरू छन्। केवल कुन बाटो जाँदा गन्तव्यमा पुगिन्छ त्यसको निक्र्यौल गरेर त्यही बाटो हिँड्ने हो। साँच्चै भन्ने हो भने यो देशका नेताले देश बनाउने नै हो भने जानेर होस् या नजानेर होस् गरिब असहाय गाउँका दैवी प्रकोपको मारमा परेका जनताको उद्धार गरेर एकपछि अर्को समुदायको आर्थिक समृद्धिको मुहार फेर्न धुर्मुस–सुन्तली, शेष घले र जमुना घलले जुन अथक तथा निस्वार्थ परिश्रम र सेवा गरे। ती उदाहरणको सम्मान गर्दै हाम्रा नेता र प्रशासकहरूले धुर्मुस–सुन्तली र घले दम्पतीबाट निस्वार्थ पाठ सिकेर आफूलाई शुद्ध बनाए यो देशले आर्थिक विकासको कथाले काँचुली फेर्नेछ।