निर्वाचन आयोगले सर्लाही ४ का माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ ।
कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमाथि परेको उजुरीमा कारबाही गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो।
यादव वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए।
पूर्वसभासद्समेत रहेका यादवले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो। यही क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार बनेका छन् ।
आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।
विशेष अदालतले २६ साउन २०७२ मा कूटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सर्लाही ६ मा निर्वाचित यादवले तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहलाई पराजित गरेका थिए। त्यतीखेर यादव मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा भने महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबाट सर्लाही ६ मा उम्मेदवार बनेका उनी कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भए।
तमसपापछि उनी राजपा प्रवेश गरेका थिए । स्थानीय तहको निर्वाचनअघि यादव माओवादी केन्द्रमा प्रवेश गरी सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए।
कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा मुछिएका पूर्वसभासद् यादवलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको थियो। त्यसउपर उनी पुनरावेदनमा गए पनि अहिलेसम्म मुद्दा किनारा लागेको छैन ।
सर्लाहीका स्थानीय नागरिकका नाममा यादवविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीका लागि उजुरी परेको थियो।
उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगले रायको विषयमा निर्णय गर्न ढिला गरेपछि उजुरीकर्ताहरु सर्वोच्चमा समेत रिट दायर गरेका छन् ।
सर्वोच्चले त्यस विषयमा आयोगसँग जवाफ मागेपछि आयोगले उक्त जवाफ पठाउनु अगावै रायको उम्मेदवारी खारेज गरेको हो । आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐनअनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ ।
यसअघि आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सजाय पाएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरेको थियो ।