स्थानीय चुनावमा पहिलो पार्टी बनेको एमालेले मतगणनाको अन्तिममा कैलालीको टीकापुर नगरपालिका जितेर सबैलाई चकित पार्यो।
एमालेका तपेन्द्रबहादुर रावलले लगातार अग्रता लिइरहेका प्रतिद्वन्द्वीलाई अन्तिम घडीमा हराएर टीकापुरको नगर प्रमुख जिते।
टीकापुर एमालेको पोल्टामा गएपछि बहस कसले जित्यो वा हार्यो भन्नेमा केन्द्रीत थिएन, एमाले जिताएर टीकापुरले के सन्देश दियो भन्ने थियो।
थारुबहुल टीकापुरले एमालेलाई जिताएपछि प्रदेश सीमांकनको मुद्दा बित्थामा उचालिएको 'नक्कली आन्दोलन' थियो भन्ने पुष्टी भएको केहीले तर्क गरे।
टीकापुरमा एमाले जीतको तरंग कर्णाली नदी तरेर काठमाडौंसम्म आइ पुग्यो।
त्यतिबेला कांग्रेससँग सहकार्य गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठकमै रोष प्रकट गर्दै भने, ‘टीकापुर पनि एमालेले जित्ने? मैले त्यत्रो पैसा क्षतिपूर्तिमा दिँदा पनि टीकापुरमा कसरी एमालेले जित्यो?’
दाहाल सरकारले टीकापुरका पीडितलाई १५ करोड रुपैयाँ क्षतिपूर्ति दिएको थियो।
कैलालीको पूर्वी क्षेत्रमा पर्ने टीकापुरले पाँच महिनापछि फेरि सबैलाई आश्चार्यमा पार्ने नतिजा दिएको छ।
टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका, भजनी नगर र जानकी गाउँपालिकाका केही वडा मिलेर बनेको कैलाली–१मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरी भारी मतले विजयी भएका छन्।
उनले पाएको मत प्रतिष्पर्धी अन्य सबै दलका उम्मेदवारको भन्दा बढी छ। त्यो क्षेत्रको ६० हजार ६ सय ९१ मध्ये चौधरी ३४ हजार ३ सय ४१ मत ल्याएर विजयी भएका छन्। जबकी यो क्षेत्रमा एमालेकी मदनकुमारी शाहले जम्मा १३ हजार ४ सय ६ यति मत ल्याएकी छन्।
चौधरी तिनै व्यक्ति हुन्, जसलाई प्रहरीले २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डका मुख्य योजनाकार भनेर पक्राउ पुर्जी जारी गरेको छ। र उनी त्यो बेला देखि नै 'फरार' छन्।
संविधान जारी हुनुअघि भदौ ७ गते टीकापुरमा ठूलो प्रदर्शन भएको थियो। प्रदेश बनाउँदा थारु बहुल कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लामा मिसाएको विरोधमा भएको प्रर्दशनमा नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको हत्या भएको थियो।
सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीको मोस्ट वान्डेट सूचीमा परेपछि चौधरी टीकापुर छोडेर भागेका थिए।
उनले उम्मेदवारी पनि वारेसनामाबाट दिए।
भारतमा रहेका भनिएका चौधरीले चुनावी प्रचारका लागि मोबाइलमा भिडियो बनाएर पठाए। उनका समर्थकले टोल/टोलमा मतदाता जम्मा पारेर चौधरीले पठाएका भिडियो प्रोजेक्टरमा देखाए।
ती भिडियोमा चौधरीले आफू भारतमा शरणार्थीको जस्तो जीवन बिताइरहेको भन्दै न्याय गरिदिन आग्रह गरेका हुन्थे।
‘केही भिडियोमा आफूले चुनाव जितेपछि आममाफी पाउने र आफूले आममाफी पाएसँगै थुनामा रहेका टिकापुर घटनाका २२ जना आरोपीलाई पनि छुटाउने कुरा थिए,’ चौधरीको चुनावी प्रचार नजिकबाट नियालेका टीकापुरका एक पत्रकारले सेतोपाटीसँग भने।
चुनावी प्रचारमा चौधरी पत्नी रन्जिता श्रेष्ठ दिनरात खटिएकी थिइन्। रन्जिताले थारूहरुको अधिकारको लडाइँमा लाग्दा आफ्ना पति देशनिकाला हुनु परेकोले न्याय दिनुपर्ने भन्दै मत मागिन्। त्यसले थारू मतदातामालाई भावनात्मक रूपमा छोयो।
टीकापुरमा चौधरीको जीतका पछि मुख्य तीन कारण छन्।
पहिलो, त्यो क्षेत्रमा वाम गठबन्धन र कांग्रेसले पहाडीलाई उम्मेदवार बनाएका थिए। चौधरी थारू समुदायका एक्ला उम्मेदवार भएकाले उनलाई जातीय सहानुभूतिको मत गयो। कैलाली–१ मा ५० प्रतिशत बढी जनसंख्या थारू समुदायको छ।
यो क्षेत्रमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको पनि बलियो प्रभाव थियो। तर पछिल्लो समय लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएपछि सो पार्टीका रामजनम चौधरीलगायत नेताले आन्दोलन छोडेको भन्दै थारू समुदाय आक्रोशित थियो। त्यो आक्रोश पोख्न पनि उनीहरूले रेशम चौधरीलाई भोट दिए।
दोस्रो, रेशमले जीतेपछि अहिले थुनामा परेकाहरू छुटछन् भन्ने आशाले थारुहरूले चौधरीलाई मत दिए। टीकापुर घटनामा संलग्न भएको आरोपमा थारू समुदायका २२ युवालाई प्रहरीले थुनामा राखेको छ।
चौधरीले जित्नुको तेस्रो कारण उनको व्यक्तिगत प्रभाव हो।
टीकापुर हत्याकाण्ड हुनुअघि नै त्यो क्षेत्रमा उनी चर्चित थिए। चौधरी महत्वाकांक्षी र उत्साही युवा हुन्।
फूलबारी एफएम र फूलबारी रिर्सोट चलाएका चौधरी रेडियोमा कार्यक्रम चलाउँथे, गीत गाउँथे, गाइजात्राका क्यासेट निकाल्थे र थारू भाषाका चलचित्र बनाउँथे। उनी कराँतेका ब्ल्याकबेल्ट पनि हुन्।
विद्यार्थीकालमा अनेरास्ववियूको राजनीति गरेका उनी संकटकालमा भने नेपाली सेनासँग नजिक भएका थिए। पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्री लागि खुला आवेदन माग्दा उनले पनि निवेदन दिएका थिए।
२०६४ सालको संविधान सभा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। २०७० सालको संविधान सभामा चौधरी सद्भावना पार्टीबाट चुनाव लडे। त्यतिबेला उनले हजार मत पाएका थिए।
‘अहिले पनि मैले पार्टीको नभई व्यक्तिगत मत पाएको हुँ,’ चौधरीले टेलिफोनमा सेतोपाटीसँग भने, ‘थारू समुदायले मलाई यो निर्दोष छ भनेर मत दिए भने पहाडी समुदायले टीकापुरमा जातीय सद्भाव कायम गर्न पनि रेशम आउनुपर्छ भनेर भोट दिए।’
उनले चुनावी जीतले आफूविरुद्दका आरोप झुठा सावित गरिदिएको दाबी गरे।
‘म पहाडी र थारू दुबै समुदाय मिलेर बस्नुपर्छ भन्ने मान्छे हो, टीकापुरको विकास यी दुबै समुदाय मिलेर मात्र सम्भव छ,’ चौधरीले भने, ‘यो कुरा त्यहाँको पहाडी समुदायले पनि बुझेको छ, तर राज्यले अझै बुझ्न सकेको छैन।’
उनले आफूलाई वारेसनामामार्फत् प्रमाणपत्र नदिएर निर्वाचन आयोगले ‘दादागिरी' देखाएको बताए।
चौधरीको प्रमाणपत्र लिन ठूलो संख्यामा उनका समर्थक धनगढीमा भेला भएका थिए। तर आयोगले उम्मेदवार स्वयंम उपस्थित नभई प्रमाणपत्र नदिने बतायो।
रेशमका समर्थक उग्र हुन थालेपछि आयोगले प्रमाणपत्रको फोटोकपी श्रीमती रन्जितालाई दिएको छ ।सक्कली प्रमाणपत्र भने बुधवार कुरियर गरेर आयोगको काठमाडौंस्थित केन्द्रीय कार्यलायमा पठाइएको छ।
‘मेरा समर्थकले विजय जुलुस निकाल्न सकेका छैनन्, उनीहरूमा अहिले पनि आक्रोश छ,’ चौधरीले भने, ‘हामी सामाजिक सद्भाव नबिग्रियोस् भन्ने पक्षमा छौं, राज्यले पनि आफ्नो दायित्व पूरा गरोस्।’
उनले चुनावी जीतसँगै आफूमाथि जिम्मेवारी थपिएको महशुस भएको बताए। ‘टीकापुरका पहाडी र थारू समुदायबीच सद्भाव बढाउने जिम्मेवारी अब मेरो काँधमा आएको छ, त्यो क्षेत्रमा दुबै समुदाय जोड्न काम गर्नेछु,’ चौधरीले भने।
टीकापुर हत्याकाण्डको मुख्य योजनाकार भनेर लागेको आरोपबारे उनले निपष्क्ष छानबिनको माग गरे।
‘ममाथि लागेका आरोप प्रमाणित भएर अदालतले दोषी ठहर्याए आजीवन जेल बस्न तयार छु’ चौधरीले भने, ‘निष्पक्ष छानबिन नगरी आरोप लगाएर मान्छेलाई थुनामा राख्न त मिल्दैन नि।’
रेशम आजका दिनसम्म पनि प्रहरीको सूचीमा 'फरार अभियुक्त' हुन्। तिनै फरार अभियुक्तलाई सहानुभूतिको मत दिएर टीकापुर र आसपासका जनताले उनलाई ‘उन्मुक्ति’ दिएका छन्।
अहिले एकातिर चुनाव जितेका चौधरीलाई आयोगले प्रमाणपत्र दिएको छैन, अर्कोतर्फ उनका समर्थक त्यत्रो मत ल्याएको मान्छेलाई प्रमाणपत्र नदिएर आयोगले जनमतको खिल्ली उडाएको भन्दै आक्रोशित छन्।
टीकापुरवासी भने आफैंले उन्मुक्ति दिएको विषय बल्झेर फेरि हिंसात्मक रूप लिन्छ कि भन्ने चिन्तामा रहेको ती पत्रकारले बताए।
https://www.facebook.com/setopati/videos/1693543134049586/