पाँच नम्बर प्रदेशको राजधानी बस्ने भवन खोजी गर्न क्षेत्रीय प्रशासकको टोली बिहीवार दाङ आइपुगेको छ। क्षेत्रीय प्रशासक सुरेश प्रधान नेतृत्वको टोलीले दाङका तीन स्थानमा भौतिक संरचनाको बस्तुस्थिति अनुगमन गरेको छ। उक्त टोलीले लमही र घोराहीमा सरकारी कार्यालयहरु अनुगमन गरेको छ भने तुलसीपुरको सम्भावित राजधानी बस्ने चर्चा पाएको वडा नं. १७ को बुलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापिठको भवन समेत निरीक्षण गरेको छ।
सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने चर्चा चलिरहेको समयमा क्षेत्रीय प्रशासक प्रधानको नेतृत्वको टोलीले जिल्लामा भौतिक संरचनाको अवस्थाका बारेमा अनुगमन गरेर फर्केपछि त्यसको प्रतिवेदन सरकारलाई बुझाउने छ।
यो पनि पढ्नुहोस्- यो हो ५ नम्बरको प्रदेश सभाको पहिलो बैठक बस्ने सम्भावित भवनसहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यका अनुसार अनुगमन टोलीले लमहीमा लमहीनगर विकास समिति, भूमिगत जल विकास आयोजनाको कार्यालय, जनताको तटवन्ध कार्यालय र त्यहाँको कम्प्लेक्स भवनको अनुगमन गरेको थियो।
त्यस्तै घोराहीमा जिल्ला समन्वय समिति, जिल्ला हुलाक कार्यालय, जिल्ला कृषि विकास कार्यालय लगाएतका संरचनाहरुको अनुगमन गरेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।
यसैबीच उक्त टोलिले बेलझुण्डीस्थित केन्द्रीय आर्युवेद विद्यापिठको भवन निरीक्षण गरेको छ । अनुगमनपछि जिल्ला प्रशासन कार्यालय दाङमा आएर अनुगमन टोलीले जिल्लाका सरोकारवालासंग छलफल गरेको थियो। केही दिनमा देशका सात वटै प्रदेशको स्थायी मुकाम तोक्ने तयारी सरकारले गरेको छ।