नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन मन परेन भन्दैमा सरकारले ढिकुटी रित्याउने गरि देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्।
सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३ औं वार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै उनले काम चलाउ सरकारले गरेका निर्णय अनैतिक र जनमतको उपहास भएको बताए।
एमाले अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहित विपरितका निर्णयलाई आगामी सरकारले खारेज गर्ने समेत जानकारी गराए।
उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वच्छिक अवकास दिन खोजिएको भन्दै यसको पनि विरोध गरे। । ओलीले आफू गाई कि त्रिशूल गरेर यो पदमा नआएको भन्दै देश विकास गर्न आएको दाबी गरे।
ओलीले संविधान संशोधन हुन्छ भन्ने डरले मधेस केन्द्रित दलहरू कांग्रेससँग मिलेको आरोप लगाए।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका बरिष्ठ नेता कृष्ण बहादुर महराले नैतिकका आधारमा देउवा सरकारले राजीनामा दिनुपर्ने बताए।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस ५ वर्षका लागि प्रतिपक्षमा बस्ने बताए। एमाले अध्यक्ष ओलीलाई ढुक्क भएर सरकार चलाउन आग्रह गरेका शर्माले पद बाँडफाँडमा गठबन्धन नफुटाउन आग्रहसमेत गरे।
त्यसअघि राजपा महासचिव मनिष सुमनले संविधान संशोधन हुनुपर्ने बताएका थिए।
कार्यक्रममा देशभरका ३ सय बढी सामुदायिक रेडियोको सहभागिता छ। कार्यक्रमले देश संघीयतामा गएका बेला सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकाका बारेमा नीति समेत बनाउनेछ।
https://youtu.be/VY7ECxFvN8k