प्रदेश नम्बर ५ को राष्ट्रिय सभा सदस्यका बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।
दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन्। नवलपरासी जिल्ला निवासी नेकपा एमालेका नेता चमारले ५ हजार ५ सय ८ मत प्राप्त गरेका थिए भने चमारका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता बाँके जिल्ला निबासी मैकुलाल वाल्मिकिले २ हजार ३ सय ८० प्राप्त गरेका थिए।
त्यस्तै अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार रोल्पा जिल्ला निवासी राजकुमार कुवर विजयी भएका छन्। कुँवरले ५ हजार ३ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता रुकुम पूर्व जिल्ला निवासी लुटबहादुर खत्रीले २ हजार ५ सय २० मत प्राप्त गरेको प्रदेश नं. ५ का मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सेतोपाटीलाई जानकारी दिए ।
निर्वाचन परिणाम अनुसार अन्यतर्फ तीन पदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। एमालेबाट रूपन्देही जिल्लाका खिमलाल भट्टराई ३ हजार ६ मत , माओवादी केन्द्रका अर्घाखाँची जिल्ला निवासी चन्द्रबहादुर खड्काले २ हजार २ सय ८० मत र काँग्रेसबाट रुपन्देही जिल्ला निवासी दुर्गाप्रसाद उपाध्यायले २ हजार ४ सय १८ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए।
अन्यतर्फ तीनै जना उम्मेदवारले पाउनुपर्ने मतभार भन्दा बढी मत प्राप्त गरेको हुँदा विजयी घोषणा गरिएको निर्वाचन अधिकृत रावलले बताए। एकल संक्रमणिय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने प्रावधान थियो।
आवश्यक मत भन्दा धेरै मत यी तीनै जनाले प्राप्त गरेपछि त्यसपछिको उम्मेदवारलाई मत जाने गरि भएको व्यवस्थालाई प्रयोग गरिएको रावलले बताए ।
राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार दिएका दाङका रश्मिराज नेपालीको मतभार १ सय ३८ मात्रै रहेको निर्वाचत अधिकृत रावले जानकारी दिए। यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार बिहान ८ बजे दाङ देउखुरी जिल्ला अदालतमै एक कार्यक्रमको आयोजना गरि निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई विजय भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखेको मुख्य निर्वाचन अधिकृत रावलले बताए।
५ नं. प्रदेशमा ५ जना निर्वाचित गर्नुपर्ने भए पनि ८ जनाको उम्मेदवारी परेको हुँदा मतदान मार्फत निर्वाचित भए पनि तीन जना महिला भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
एमालेबाट दाङकी कोमल वली, रोल्पाकी मीना बुढा र काँग्रेसवाट दाङकी अनिता देवकोटा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
प्रदेश नं. ५ मा कुल ३ सय ५ मतदाता रहेकोमा दुई जना मतदाता भने मतदानमा आएनन्। ८७ प्रदेशसभा सदस्यमध्ये रुपन्देहीबाट राष्ट्रिय जनता पार्टीकी समानुपातिक सांसद बिना पन्त र २ सय १८ स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद साह मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत रावलले बताए।
समानुपातिक सांसद पन्तले पार्टीमा विवादका कारण शपथ नै नलिएको र साह बिरामी भएका कारण उपस्थित नभएका भन्ने जानकारी प्राप्त भएको छ। प्रदेशसभाका ५५ पुरुष र ३१ महिला गरी ८६ सदस्यले मतदान गरेका छन्।
त्यस्तै स्थानीय तहमा १ सय १६ पुरुष र १ सय १ महिला गरी २ सय १७ ले मतदान गरेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको थियो।