पाँच नम्बर प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको आगामी बैठकमा सामाजिक आर्थिक विकासको स्थितिपत्र पेश गर्ने निर्णय गरेको छ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्य, सडक, सिँचाई, रोजगारी, आय लगायतका विषय समेटेर स्थितिपत्र तयार गरी स्वीकृत गरेको हो। प्रदेशसभाको आगामी बैठक बिहीबार बस्दै छ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले मन्त्रिपरिषद्को बैठकले २ वटा विधेयक र एक नियमावली पारित गरेको जानकारी दिए ।
मुख्यमन्त्री तथ मन्त्री परिषद्को कार्यालयले पेश गरेको प्रदेश अन्तर्गत गाउँसभा र नगरसभाको कानुन निर्माण प्रकृया सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक र पाँच नंम्बर प्रदेश सरकारको सार्वजनिक लिखित प्रमाणीकरण कार्यबिधि सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक स्विकृत गरेको जानकारी दिए ।
त्यसैगरि आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको सञ्चित कोष सञ्चालन नियमावली २०७४ पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।