अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकले विदाई गरेको छ।
हल्चोकमा भएको कार्यक्रम सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरिएको छ ।
समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उहाँहरुलाई फूलमाला र खादा लगाएर बिदा गरे।
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उनीहरूलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए।
सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी निवर्तमान अध्यक्ष श्रीमती सरिता श्रेष्ठ तथा निवर्तमान उपाध्यक्षद्वय आशा शाही र मुना ओझालाई संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरिता खनालले फूलमाला तथा खादा ओढाई हार्दिक विदाई गरिन्।
विदाई भएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले उक्त विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आईपुग्दा आफूलाई दायित्व निर्वाहमा सहयोग पुर्याउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीप्रति आभार प्रकट गरे।
उनले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना दिए।
तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी आफूले राष्ट्रिय दायित्व पुरा गरेको चर्चा गर्दै उनले आफ्नो कार्यकालमा गर्न बाँकी रहेका सांगठानिक कामकारवाहीलाई नयाँ नेतृत्वले पुरागर्ने विश्वास व्यक्त गरे। आगामी नेतृत्वलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट हरतरहले सहयोग गर्न आग्रह गरे।
नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको विकास र प्रगतिमा अग्रज नेतृत्व वर्गबाट भएको योगदानको प्रशंसा गर्दै पूर्वज नेतृत्व वर्गले गरेका उत्कृष्ट कार्यलाई आत्मसाथ गर्दै उनीहरूबाट प्राप्त सहयोग, सदभाव, मार्गदर्शन र प्रेरणाले आउँदा दिनमा संगठनले थप उपलब्धी हासिल गर्ने बताए।
उनले सुरक्षा चुनौती र अवसरहरुलाई दृष्टिगत गर्दै अपेक्षाकृत कार्यसम्पादनमा योजनाबद्ध तरिकाले अझै प्रभावकारी ढंगले सक्रिय रहने चर्चा गर्दै उच्चस्तरीय व्यवस्थापकीय क्षमता र सुझबुझकासाथ व्यावसायिक कामकारबाहीमा अझै सशक्त तवरले कटिवद्ध रहने उल्लेख गरे।
संगठनको लक्षित उद्देश्य र प्राप्त कार्यादेशलाई पुरागर्नेतर्फ दत्तचित्त भएर लागिरहने बताउँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रतिकुलतालाई अनुकुलतामा बदल्दै नीतिगत एवं व्यवहारगत रूपमा आफ्ना क्रियाकलापहरुलाई परिमार्जित एवं परिस्कृत गर्दै अगाडि बढ्ने कुरा समेत उल्लेख गरे।
आजैबाट अवकाश ग्रहण गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीले सेवा प्रवेश, सरूवा, बढुवा र अवकाश नियमित प्रक्रिया भएको उल्लेख गर्दै अवकाश पश्चात पनि सशस्त्र प्रहरी बल नेपालको निकट रहेर सदैव सहयोग पुर्याईरहने बताए।
समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनत कुमार बस्नेत र दुर्जकुमार राई लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिति थियो।