नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रबुद्ध समूहका नेपाल तर्फका सदस्य राजन भट्टराईले काठमाडौंमा मात्रै नभएर अब दिल्ली र बेइजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरू भएको बताएका छन्।
बुधबार राजधानीमा आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने भनिएको नेपाल भ्रमणबारे आयोजना गरेको विशेष साक्षात्कारमा नेता भट्टराईले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने,‘नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी हुनुपर्छ भनेर अब नेपालको राजधानी काठमाडौंमा मात्रै नभएर दिल्ली र बेइजिङमा पनि छलफल हुने भएको छ, भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै हुनुहुन्छ, चीनमा रहँदा मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच नेपालको बारेमा पनि चर्चा हुन्छ।’
भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमण आकस्मिक रूपमा तय भएको उल्लेख गर्दै उनले भने,‘मोदीजीको चीन भ्रमण ७/८ दिनको छोटो समयमा एक्कासी तय भएको हो, मोदीजी एक किसिमले भन्ने हो भने नाटकीय किसिममा चीन जाँदै हुनुहुन्छ, हुन त यसअघि उहाँ आउने जुनमा चीन जाने तयारी भएको थियो, तर आफ्नो राष्ट्रलाई हितमा राखेर उहाँ एक्कासी चीन जाँदै हुनुहुन्छ।’
उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र साँस्कृतिक नभएर राजकीय भ्रमण हुने स्पष्ट पारे । उनले थपे,‘उहाँ प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ, नेपाल–भारतबीच रहेका सबै खाले अविश्वास अब पूर्ण रूपमा हट्ने मैले विश्वास लिएको छु, यसअघि हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा द्विपक्षीय सम्बन्धमा देखिएका अविश्वास हटेका छन्, अब मोदीजी आउँदा अविश्वास पूर्ण रूपमा हट्छ।’
नेपाल र भारतबीच यसअघि थुप्रै सन्धि तथा सम्झौता भएको उल्लेख गर्दै उनले अब ती सम्झौताहरू कार्यान्वयनको चरणमा अघि बढाउनु पर्नेमा जोड दिए। भट्टराईले भने,‘दुई देशबीच भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्नुपर्छ, सानातिना कुराहरूमा पनि हामीले ध्यान दिनुपर्छ।’
त्यस्तै, ग्यास बुलेटहरू नेपाल ल्याउन नदिइएको उनको गुनासो थियो। उनले भने,‘यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ, त्यस्तै नेपालमा एउटा मात्रै एयर रुट छ, हामी हवाई क्षेत्रमा सेवा विस्तार गरिरहेका छौं, हामीलाई अझै दुईदेखि तीन वटा हवाई रुट चाहिएको छ, भारतले अनुमति दिनुपर्छ, सन् २०१४ मा नै भएको विद्युत व्यापार सम्झौता (पिटीए) भएको छ, त्यसमा पनि ध्यान दिनुपर्छ।’ हुलाकी राजमार्गदेखि अन्य महत्वपूर्ण सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै, उनले नेपाल–भारतबीच रहेका असमान सन्धि तथा सम्झौतालाई समयसापेक्ष बनाउनेबारे द्विपक्षीय रूपमा उच्च तहमा छलफल भैरहेकोले सोही छलफललाई सहयोग पुग्ने गरी प्रबुद्ध व्यक्ति समूहले काम गरिरहेको जनाए।
नेपालको विदेश नीतिमा नयाँ आयाम सुरू भएको भट्टराईको विश्वास छ। उनले भने,‘बदलिँदो विश्व परिस्थिति अनुसार नेपालले पनि आफूलाई कसरी अगाडि बढाउने? भन्नेबारे लागिपरेको छ, अहिलेको कुटनीति परम्परागत कुटनीतिभन्दा पृथक छ, बदलिँदो र गतिशील विश्वसामू नेपालले आफ्नो देशको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरू चाल्छ, हामी अहिले कुटनीतिको नयाँ चरणमा छौं।’