तथ्यांक विभागले अहिले देशको अर्थतन्त्र राम्रो लयमा रहेको बताएको छ।
अघिल्लो वर्ष उच्च वृद्धिदर भएको र त्यसैको धरातलमा चालु वर्षको आर्थिक वृद्धिदर बढ्ने भएकाले अर्थतन्त्रले लय समातेको विभागको निष्कर्ष छ।
बुधबार राजधानीमा राष्ट्रिय लेखाको विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक सुमनराज अर्यालले तथ्यहरूले नेपालको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताए।
‘देशमा आर्थिक गतिविधि बढेको छ, लगातारको उच्चदरको आर्थिक वृद्धि आफैंमा नेपालको लागि ठूलो उपलब्धि पनि हो’ अर्यालले भने,‘विभागले व्यावसायिक रूपमा तथ्यमा आधारित प्रक्षेपण गरेको छ।’
अघिल्लो वर्ष ६.९ प्रतिशतको वृद्धिदर हुने अनुमान थियो। तर अहिले हेर्दा गत वर्ष ७.३ प्रतिशत भएको देखिएको विभागका निर्देशक ईश्वरी भण्डारीले जानकारी दिए।
विभागका अनुसार आर्थिक वर्षको अन्त्यसम्म नेपालको अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ। अघिल्लो वर्ष नेपालको अर्थतन्त्र २५ खर्ब ९९ अर्बको थियो।
लगातार ठूलो अंकको आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको कृषि तथा वन २.७, उत्पादनमूलक ८, निर्माण १०.६, होटल तथा रेष्टुरेन्ट ९.१ र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको ९.६ प्रतिशतको वृद्धि हुने विभागको प्रक्षेपण छ।
महानिर्देशक अर्यालले निर्माणजन्य औद्योगिक उत्पादन बढेको र सरकारी तथा निजी क्षेत्रबाट निर्माणमा गति बढेकोले अनुमानित वृद्धिदर भेट्टाउन सकिने बताए।
‘हामी उत्पादन र उत्पादकत्वको तथ्यांकमा बढी केन्द्रित हुन्छौं, राजश्व संकलन तथा करको पनि तथ्यांक त राख्छौं त्यसमा बढी केन्द्रित हुँदैनौ’ अर्यालले भने,‘हाम्रो डाटाबेसअनुसार अर्थतन्त्र राम्रो अवस्थामा छ।’
कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सा यो वर्ष घट्ने विभागको प्रक्षेपण गरेको छ।
अघिल्लो वर्ष २८.२५ प्रतिशत रहेको कृषि तथा वन क्षेत्रको हिस्सा घटेर २७.९ प्रतिशतमा सीमित हुने विभागको आँकलन छ।
गैरकृषि क्षेत्रको वृद्धिदर ७.१ प्रतिशतले हुने अनुमान गरेको विभागका अनुसार कृषि क्षेत्रको वृद्धि भने २.७ प्रतिशतमा सीमित हुनेछ।
यो वर्ष होटल तथा रिसोर्ट क्षेत्रको २, यातायातको ७.९ र रियल स्टेटको वृद्धिदर ११.३७ प्रतिशत पुग्नेछ।
अर्थतन्त्रको अकार बढ्दा परम्परागत क्षेत्रको हिस्सा घट्नु स्वाभविक हुने अर्यालले बताए।
यो वर्ष नेपालीको प्रतिव्यक्ति आय ऐतिहासिक रूपले वृद्धि हुने विभागको प्रक्षेपण छ। अघिल्लो वर्ष ८६६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय यो वर्ष १५.९ प्रतिशतले बढेर १००४ अमेरिकी डलर पुग्ने विभागको अनुमान छ।
नेपालको उत्पादन र उत्पदकत्व बढ्दा अर्थतन्त्रको आकारमा वृद्धि भएकाले प्रतिव्यक्ति आय पनि बढेको हो।