दुई कोरियाको शिखर वार्ता अहिले सीमा क्षेत्रमा जारी छ। शिखर वार्ताका लागि उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपल्ट दक्षिण कोरिया पुगेका छन्।
बिहान साढे ९ बजे किमलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले स्वागत गरेका थिए। दुई देशका प्रतिनिधि मण्डलबीच शान्ति भवनमा पहिलो चरणको वार्ता भएको थियो।
त्यसपछि किम दिउँसो खाना खान उत्तर कोरिया गएका थिए। लन्च ब्रेकपछि उनी फेरि दक्षिण कोरिया आएका थिए।
दुबै नेताले शान्तिको प्रतीकका रूपमा रहेको सल्लाको रूखमा दुबै देशको माटो र पानी हालेका थिए।
त्यसपछि किम र मुन हिँडेर नजिकै रहेको निलो रङको पुलमा गएका थिए। त्यहाँ राखिएको बेन्चमा बसेर उनीहरूले झन्डै आधा घन्टा कुरा गरेका थिए। जंगलको छेउमा दुई नेताबीच भएको कुराकानीको भिडियोको प्रत्यक्ष प्रसारण गरिएको थियो। तर उनीहरूबीच भएको कुराकानीको अडियो भने थिएन।
आधा घन्टा लामो कुराकानीपछि दुबै नेता हिँडेर शान्ति भवन पुगेका थिए।
शिखर वार्तापछि संयुक्त वक्तव्य जारी गरिने दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।
साँझ दुबै नेता र प्रतिनिधि मण्डलका लागि रात्रीभोज पनि आयोजना गरिएको छ।