चिनियाँ विदेश मन्त्री वाङ यी र उत्तर कोरियाली नेता किम जोङ उनबीच बिहीबार भेटवार्ता भएको छ।
उत्तर कोरियाली राजधानी प्योङयाङमा दुई नेताबीच भेट भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। भेटमा भएको कुराकानीबारे भने मन्त्रालयले केही खुलाएको छैन।
समकक्षी री योङ होको निमन्त्रणामा यी दुई दिने भ्रमणका लागि यी बुधबार प्योङयाङ पुगेका थिए।
सत्ता सम्हालेको ६ वर्षपछि गत महिना किमले चीन आएर पहिलो विदेश भ्रमण गरेका थिए।
शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको शिखर वार्तामा ६५ वर्षदेखि युद्धविरामको अवस्थामा रहेको कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दुबै देश सहमत भएका थिए।
सोही वार्तामा किम अनआणविकीकरणलाई साझा लक्ष्य बनाउन तयार भएका थिए। उनले आगामी मेमा सम्पूर्ण आणविक कार्यक्रम बन्द गर्ने पनि बताएको दक्षिण कोरियाले जनाएको छ।
उत्तर र दक्षिणबीच भएको यो सहमतिलाई जापान, चीन र अमेरिकाले स्वागत गरेका थिए।
किम र अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पबीच केही हप्तामा भेटवार्ता गर्ने तयारी भइरहेको छ।
दक्षिणसँगको वार्ताअघि आफू नै रेल ल्याएर बेइजिङ आएका किमले अमेरिकी राष्ट्रपतिसँगको भेटअघि चीनका विदेश मन्त्रीलाई प्योङयाङ बोलाएका हुन्।