अर्थमन्त्री युवराज खतिवडाले अबको विकास अंकमा होइन जनताको जीवनमा देखिनु पर्ने बताएका छन्।
विनियोजन विधयेक २०७५ का सिद्धान्त र कार्यक्रमा उठेका प्रश्नको राष्ट्रिय सभा बैठकमा जवाफ दिँदै मन्त्री खतिवडाले आगामी बजेटका कार्यक्रम जनतालाई खुसी दिने गरी आउने प्रतिवद्धता व्यक्त गरे।
संघीय संरचनाअनुसारको सबै क्षेत्रलाई न्याय हुनेगरी सन्तुलित बजेट निर्माण हुने उनको भनाइ छ।
‘जनसंख्या र भूगोल, सक्षमता, अभाव, गरीबी सबैलाई कार्यक्रम तय हुन्छन्’ खतिवडाले भने,‘कुनै एक मापदण्ड होइन जीवनस्तरमा प्रभाव पार्ने हरेक पक्षलाई केलाएर मात्र स्रोतको वितरण हुने व्यवस्था मिलाउछौं।’
सन्तुलित विकासले मात्र सुखी जनता र समृद्धि मुलुक निर्माण हुने भन्दै खतिवडाले गर्न सकिने जति काम सँगसँगै गर्दै अगाडि बढ्नु पर्ने बताए।
‘हामीलाई रेलमात्र होइन, मेलमात्र होइन खेल पनि चाहिन्छ। सन्तुलित विकासले मात्र समृद्धि प्राप्त हुन्छ’ उनले संसदमा भने,‘सबैको जोडकोण मिलाएर मात्र जान सकिन्छ।’
सबैलाई एकैपटक लिएर अगाडि बढाउन नसकिए पनि सक्नेजतिलाई लिनु पर्ने उनको भनाइ छ।
बजेटको सिद्धान्त र प्राथमिकतामा कृषि नपरेको भन्ने सांसदहरूको प्रश्नमा अर्थमन्त्री खतिवडाले विगतको जस्तो कर्मकाण्डी प्राथमिकतामा राख्ने तरिकाले अब अगाडि बढ्न नसकिने बताए।
संविधानले तय गरेका मौलिक हक र अधिकारलाई पूरा गर्न राज्यले गर्नुपर्ने जति कार्यक्रम बजेटको माध्यमबाट आउने तर सिद्धान्त र प्राथमिकता हिजोका जस्तै नहुने उनले प्रष्ट पारे।
आफू जहिले पनि संख्या र सिद्धान्तभन्दा पनि मान्छेमा बढी विश्वास गर्ने भएकोले बजेटका कार्यक्रम पनि त्यहीअनुसार आउने खतिवडाले बताए।
विकासका सिद्धान्तमा धेरै बहस र छलफल गर्न सकिने भए पनि जे गर्दा विकास हुन्छ र जनताको जीवनमा प्रभाव पर्छ त्यसैलाई प्राथमिकता बनाएर बजेट ल्याउने उनले बताए।
‘सम्भवाना भएका ठाउँमा नयाँ प्रकारले सोच्न पर्नेछ। मुलत: छफलफल गर्दै जाने हो हिजोको जस्तो विकासको मोडलले अब चल्नेवाला छेन,’ उनले भने,‘विश्वव्यापी रूपमा नयाँ मोडलमा छलफल भइरहेको छ। अब साम्यवादी र पूँजीवादी भनेर चल्नेवाला छैन।’
बजेटका प्राथमिकतालाई परम्परागत रूपले हेर्न नहुने मन्त्री खतिवडाको तर्क छ। संविधानको मर्म, मौलिक हक र अधिकारले गरेका व्यवस्थाअनुसार नै प्राथकिता तय भएको उनले बताए।
‘हाम्रो संविधानले के भनेको छ? नागरिकका मौलिक हक र हाम्रा प्रथामिकता हुन् कि क्षेत्रगत लिएर जाने हो?,’ उनले प्रश्न गरे,‘सुखी नेपाली समृद्ध नेपाल हाम्रो संविधानको प्राथमिकता हो त्यो कसरी प्राप्त हुन्छ? कृषि, पर्यटन कहाँबाट हुन्छ भन्ने कार्यक्रमको कुरा हो जुन बजेटमा मुखरित हुन्छन्।’
त्यस्तै उनले विगत कोट्याएर बस्न नहुने बताएका छन्। विगतमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने र राम्रालाई आत्मसात गरेर अगाडि जानुपर्ने उनको भनाइ छ।
‘हामीले विगतका कुरा नकोट्याउ, छाला जुत्ता के भए, अरूण के भयो भनेर बस्ने बेला होइन’ मन्त्री खतिवडाले भने,‘हामीले मिलेर संविधान बनायौं। समानता, विकासका साझा एजेन्डा कोरेका छौं। यसमा सबै दल र समुदाय सँगै जाने अठोट गरेका छौं। त्यसैले विगतका गल्तीबाट सिकौं र राम्रा कुरा लिऔं, नराम्रा कुरा त्यागौ।’
विकास र समृद्धिका लागि सरकार प्रतीपक्ष र अन्य सबै समुदायसँग मिलेर जान तयार रहेको खतिवडाको भनाइ छ। सांसदहरूले उठाएका सवालहरूलाई बजेटमा यथोचित सम्बोधन गरिने खतिवडाको प्रतिवद्धता पनि व्यक्त गरे।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्दैछ। बजेट सार्वजनिक हुनुअघि सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गरिन्छ।