पटकपटक विवादमा आइरहेका अधिकृत यमबहादुर कुँवरका कारण यसपटक फेरि रुपन्देहीको मायादेवी गाउँपालिका विवादमा आएको छ।
यसअघि अर्घाखाँचीको सितगंगा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत कुँवर सरुवा भएर आउँदै गर्दा मायादेवी गाउँपालिकामा तालाबन्दी भएको छ।
भैरहवा स्थायी घर भएका कुँवर कुनै पनि ठाउँमा एक वर्षभन्दा बढी टिकेर काम गर्न नसकेको सहकर्मीहरू बताउँछन्। यसरी महिनेपिच्छे कार्यालय फेरिरहेका कारण पनि उनलाई मायादेवी गाउँपालिमामा हाजिरी गर्न दिन जनप्रतिनिधि नै असमर्थ भएको गाउँपालिकाले जनाएको छ।
केही दिनअघि सरुवा भइ आएका प्रशासकीय अधिकृत यमबहादुर कुँवरलाई हाजिरी गर्न नदिने भन्दै गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडाअध्यक्षले अडान लिएपछि राजनीतिक दलका नेताहरूले त्यसको विरोधमा तालाबन्दी गरेका हुन्।
कांग्रेस नेता देवीप्रसाद चौधरी, राष्ट्रिय जनता पार्टीका देवमणि पाण्डे, फोरमका मोहवलाल यादव लगायतका नेताहरूले सोमबार तालाबन्दी गरेका हुन्। ३ दिनअघि वडा नम्बर २ का अध्यक्ष रफिक खानले पनि कुँवरलाई गाउँपालिकामा हाजिरी गर्न नदिने भन्दै तालाबन्दी गरेका थिए।
तालाबन्दी गरेको दिनसम्म पनि खोल्ने प्रयास नगरेको र प्रशासकीय अधिकृतलाई हाजिरी गर्न समेत नदिएको भन्दै तालाबन्दी गरिएको राजपा नेता देवमणि पाण्डेले बताए।
चालू आर्थिक वर्षमा मात्रै लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेका कुँवर अहिले फेरि मायादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउन लागेका हुन्।
गाउँपालिकामा यसअघि प्रशासकीय अधिकृतमा रोमनाथ न्यौपाने कार्यरत रहेका थिए। न्यौपानेभन्दा सिनियर रहेका कुँवर प्रशासकीय अधिकृत भएर आएपछि हाजिरी गर्न दिने र नदिने समूहबीच विवाद चुलिँदा सेवाग्राही मर्कामा परेका छन्।
गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले राज्यले मायादेवी गाउँपालिकालाई मात्रै हेपेको आरोप लगाए। उनले कर्मचारी समायोजन गर्ने भए सबै गाउँपालिकामा गर्नुपर्ने माग गर्दै मायादेवीमा मात्रै समायोजन गरे आफूहरूले नमान्ने बताए।
आर्थिक वर्ष सकिन लागेको बेला सबै योजनाहरूलाई सार्थकता दिन आफूहरू खटिएको र यस्तो बेलामा प्रशासकीय अधिकृत फेर्दा त्यसको नराम्रो असर पर्दा योजनाहरू अपुरै हुने भएकोले हाजिरी गर्न नदिने निर्णय गरेको बताए।
चौधरीले कुँवर ठेगान नभएको अधिकृत भएको समेत आरोप लगाए। उनले एक वर्ष नहुँदै ४र५ वटा कार्यालयमा सरुवा हुँदै हिँड्ने कर्मचारीबाट गाउँपालिकाको विकास गर्न समेत कठिन हुने तर्क गरे।
अध्यक्ष चौधरीले कुँवर दीर्घकालीन योजना ल्याउन नसक्ने कर्मचारी भएको बताउँदै उनीभन्दा सक्षम न्यौपाने भएकाले हाजिरी गर्न नदिने अडान लिए।
गाउँपालिकामा तालाबन्दी हुँदा गाउँपालिकामा सञ्चालित विभिन्न योजनाहरूको भुक्तानी लिनदिन र स्टीमेट लगायतका काम रोकिएका छन्।