तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ। निर्वाचन आयोगमा यसअघि नामको तल अण्डरलाइन गरेर दर्ताका लागि निवेदन दिएको थियो।
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी पहिला नै दर्ता रहेको र अण्डरलाइन गर्दा गलत नजिर बस्ने भन्दै सच्याउन आग्रह गरेको थियो। आयोगको सुझावपछि नेकपाले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएर आयोगको दर्ता गर्न लागेको हो।
आयोगमा दल दर्ताको जिम्मेवारी पाएका देव गुरुङले आयोगले अहसज हुने बताएपछि कोष्ठ भित्र नेकपा राख्न लागिएको बताए। नेपाल कम्युनिष्ट पार्टीले पार्टी केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको फोटोकपि, विधान लगायतका कागजात आयोगमा बुझाइसकेको छ।
आयोगले दर्ताका लागि अध्ययन गरिरहेको जनाएको छ। दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा दर्ता भैसक्नुपर्ने प्रावधान राजनीतिक दलसम्बन्धि ऐनमा छ। जेठ ३ गते एकीकृत पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए।
निर्वाचन आयोगमा ऋषिराम कट्टेल अध्यक्षताको नेपाल कम्युनिष्ट पार्टी पहिला देखि नै दर्ता रहेको छ।