सुन तस्करी तथा सनम शाक्य हत्याको आरोपमा जेल चलान भएका निलम्बित एसएसपी श्याम खत्रीलाई जिल्ला कारागार मोरङमा पठाइएको छ।
सोही कारागारमा यसअघि घटनाका मुख्य अभियुक्त मध्येका एक चुडामणि उप्रेती ‘गोरे’ लाई पनि राखिएको छ।
लामो समयदेखि फरार रहेका एसएसपी खत्री बिहिबार प्रहरीको डिफ्यूजन नोटिस जारी भएलगत्तै अदालतमा उपस्थित भएका थिए।
त्यसपछि जिल्ला अदालत मोरङले खत्रीको थुनछेक बयान सकाएर पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
उनको बयान र बहसपछि न्यायधीश नारायण प्रसाद शर्माले उनलाई पुर्पक्षका लागि मोरङ कारागार चलान गर्ने आदेश दिएका हुन्।
थुनेछेक बहसमा खत्रीका कानुन व्यवसायीले गोरेलाई राखिएको कारागारमा नराखेर झुम्का कारागारमा पठाउन निवेदन गरेका थिए । तर, न्यायधीश शर्माले खत्रीलाई मोरङ जिल्ला कारागार नै पठाउन आदेश जारी गरे।
खत्रीको पक्षमा अधिवक्ता हेमराज पन्तले बहस गरे भने सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए।
यसैबीच खत्रीलाई जिल्ला कारागार मोरङ पठाइएको मोरङका एसपी मनोज केसीले जानकारी दिए। उनले खत्रीलाई गोरेसँग भेट्न नमिल्ने गरी कारागारमा राख्ने व्यवस्था मिलाइएकोसमेत बताए।
बयानको क्रममा गोरेले एसएसपी खत्रीले आफैं विमानस्थलबाट सुन ओसार्ने गरेको बयान दिएका थिए।
सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ले खत्री विमानस्थलमा रहँदादेखि सम्पूर्ण सुन भित्र्याउने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुन पास गराउँदा ५० हजार रुपैयाँ लिने गरेको पनि गोरेले बयान दिएका थिए।
तर अदालतमा उनले गोरेले आफूलाई नटेर्ने र सुन काण्डमा आफ्नो संलग्नता नभएको बयान दिएका छन्।
‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, केको तस्कर?,’ उनले भने, ‘एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई थाहा छैन, मेरो संलग्नता पनि छैन मैले कमिसन लिएको कुरा पनि झुटो हो।’
सो प्रकरणमा जेल परेका अन्य २८ जनालाई भने सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ।