प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा सदस्यलाई जनताप्रति उत्तरदायी हुन सुझाव दिएका छन्।
प्रदेश ३ को प्रदेश सभा बैठकलाई सोमबार हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नमस्ते गरेर भोट मागेका जनताले मन नपराउने आनीबानी नगर्न समेत सांसदलाई सुझाए।
‘हिजो नमस्ते गरेर भोट लिनुभएको छ’, ओलीले भने, ‘उसले सोध्दा गलत जवाफ दिन, रुखो जवाफ दिन पाउनुहुन्न। तपाईंले कुनै गलत काम गर्नुभयो भने सोध्न सक्छ। गाह्रो, अप्ठेरो नमानी जवाफ दिनुपर्छ, गल्ती गर्न हुँदैन।'
प्रधानमन्त्रीले सांसद र सरकारलाई मातहतका मान्छेको नजरमा नगिर्न पनि सुझाव दिए।
‘कोही न कोही साथ नलिई भ्रष्टाचार हुँदैन’, ओलीले भने, ‘मातहतका मान्छेको नजरमा नगिर्नुस्।'
सम्बोधनका क्रममा उनले कवि हरिभक्त कटुवालको कवितासमेत सुनाए।
‘जुनलाई टाढैबाट हेर प्रिय, नजिबाट हेर्दा दागी देखिन्छ, भन्ने कविता छ। ‘हामी कवि होइनौं। जनप्रतिनिधि हौं, ओलीले भने,'हामीले टाढाबाट होइन साथी नजिकबारे हेर, फेला पार्छौ कतै भने धब्बाहरू खोज भन्नुपर्छ।'
ओलीले हरिभक्त कटुवालको कविता उल्ट्याउनुपर्ने बताए। ‘नजिकबाट हेर्दा दाग रहित धब्बा रहित देखिनुपर्छ’, ओलीले भने, ‘टाढाबाट हेर्दा स्फटिक जस्तो हुने भएर मात्र हुन्न। हामी दाग धब्बारहित हुनुपर्छ। हामी जनताको मान्छे हो।'
दुई घन्टा लामो सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र कसैले गरे नसहने बताए।
'हामीले रोजेको शासन जनताले काम गर्ने प्रणाली हो, देश विकास गर्न सुशासन पहिलो सर्त हो। शान्ति सुरक्षा कायम गर्ने हो भ्रष्टाचार निर्मुल गर्ने हो,' प्रधानमन्त्रीले भने, 'म आफू भ्रष्टाचार गर्दिनँ। गर्न पनि दिन्नँ। गरेको थाहा भयो भने अनुहार हेर्दिनँ। मेरो पार्टीको हो कि, अर्को पार्टीको हो कि। ह्याण्डसम होस् कि ब्युटिफूल होस्। नो कम्परमाइज।'
प्रदेश ३ को संसदमा प्रधानमन्त्री ओलीले प्रदेशमा बजेट कम भएको स्वीकार गरे।
अहिले कतिपय जारी आयोजनामा केन्द्रबाट बजेट दिइएको र हस्तान्तरण हुन बाँकी रहेको उल्लेख गरे। उनले अधिकार तल दिन सरकारलाई अप्ठेरो नरहेको तर संरचनाहरू अभाव रहेकाले बजेट विनियोजन नगरेको बताए।
उनले अधिकार केन्द्रले थुपारेको भन्ने आरोप सही नभएको दाबी गरे।
उनले असार मसान्तसम्म सबै अधिकार स्थानीय तहलाई नै दिइने बताए।
'हामीमाथि अधिकारको थ्रुपो लगायो भन्ने आरोप छ। अधिकार सिरानी हो र, म लगाएर सुत्छु? सिरक हो म ओडेर सुत्छु? डस्ना हो म सुत्छु?,’ प्रधानमन्त्रीले भने, 'जहाँ जसलाई अधिकार दिदाँ विकास हुन्छ त्यहाँ अधिकार दिने हो।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा केन्द्रले अधिकार राख्न नखोजिएको बताए।
'केन्द्रले किन गर्नुपरेको छ। म प्रधानमन्त्रीको हिसाबले देश विकास गर्ने हो,' प्रधानमन्त्रीले भने, 'भारी बोक्न म सक्दिनँ भने उहाँलाई दिनुपर्यो। यो लडाइँको विषय होइन, राष्ट्र निर्माणलाई कसरी योगदान दिन सक्छौं भन्ने विषय हो।’
संविधानका अनुसूचीमा अधिकार र स्रोत बाँडफाँट गर्दा न्युरोडमा पिँजडामा राखेको सुगाले खाम टिपे जसरी राखिएको बताए।