जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाँउपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन्।
स्थानीय तहको निर्वाचन भएको ६ महिना बित्दासम्म केन्द्रको टुंगो नलागेपछि गत पुस १४ गते मतदान गरी फाल्गुनन्द ३ कोल्वुङका पक्षमा मत जाहेर गरेका जनप्रतिनिधिले गाँउपालिका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा घुर्विसे पञ्चमीमै केन्द्र सञ्चालन गरिरहेको भन्दै आन्दोलित भएका हुन्।
वडा नम्बर १ का अध्यक्ष होमप्रसाद आङदेम्वे,वडा नम्वर २ का अध्यक्ष बहादुरसिंह नेम्वाङ र वडा नम्बर ४ का अध्यक्ष मनबहादुर चेम्जोङले सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै बहुमतले निर्णय गरेको कोल्वुङमा गाँउपालिका केन्द्र नसारिए कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने उद्घोष गरे।
उनीहरूले जितेन रोशन आङदेम्वे संयोजक रहेको संघर्ष समिति पनि गठन गरेका छन्।
सोही समितिको ब्यानरमा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधिहरूले गाउँपालिका केन्द्र कोल्वुङ सार्न दबाबमुलक कार्यक्रमसँगै उच्च अदालत इलाममा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत र गाँउ कार्यपालिकालाई विपक्षी बनाएर मुद्दा हाल्ने तयारी भइरहेको दाबी गरे।
हाल फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा सञ्चालन भइरहेको छ।
घुर्विसे पञ्चमीमा केन्द्र उपर्युक्त नभएको भन्दै केही जनप्रतिनिधिले कोल्वुङमा सार्ने प्रस्ताव गरेपछि सहमति नहुँदा गत पुस १४ गते मतदान गरिएको थियो। मतदानमा घुर्विसेका पक्षमा १८ र कोल्वुङका पक्षमा १९ मत परेपछि मतदानमा बहुमतले गरिएको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन्।
गाँउपालिका अध्यक्ष अम्बर बहादुर नेम्वाङले भने गाउँपालिका केन्द्र घुर्विसेमै रहनुपर्छ भनेर आफूले कहिँकतै नबोलेको दाबी गरे । प्राविधिक कारणले केन्द्र सार्न ढिलाइ भइरहेको नेम्वाङको भनाइ छ ।