नेकपा कार्यदललाई नै थाहा नदिई सुटुक्क पार्टीका जिम्मेवार नेताका छोरी बुहारीलाई नगरपालिमा कर्मचारी नियुक्त गरेपछि शिवसताक्षीका मेयर चन्द्रकुमार शेर्मा आलोचित बनेका छन्।
पछिल्लो पटक ४ जनालाई शिवसताक्षी नगरमा दैनिक ज्यालादारी पदमा ठाडो नियुक्ति गरेपछि मेयर शेर्मा पार्टीको कार्यदलसँगै नगरबासीबाटै थप आलोचित बनेका हुन्।
‘मेयर शेर्माले करोडौं स्थायी सम्पत्ति भएका केही पार्टीका जिम्मेवार नेताका छोरी बुहारीलाई नियुक्ति गरे,’ पार्टी निकट स्रोतले सेतोपाटीसँग भन्यो,‘अहिले दैनिक ज्यालादारीमा काम लगाए पनि निकट भविष्यमा प्रकृया पुर्याउने नाटक गरेर उनीहरूलाई पछि नियुत्ति दिने तयारी मेयर शेर्माले गरेका छन्।’
स्थानीय सरकार गठन भएपछि शिवसताक्षी नगरमा यसरी नै कर्मचारी नियुक्ति हुँदै आएका छन्। अवसरमा किनारा लगाउने प्रवृद्धिले नगरका गरिब, असाहय, एकल, आदिवासी, जनजाति, मधेसी, मुस्लीम, पिछडिएका वर्ग र योग्यता भएका शैक्षिक वेरोजगारबाट मेयर शेर्मा आलोचित बन्न थालेका छन्।
मेयर शेर्माको कार्यप्रति गम्भीर असन्तुष्टी पोख्दै नेकपाका एक जिम्वेवार नेताले भने, ‘कार्यदललाई सुईको नदिई पार्टीका नेता कार्यकर्ताका छोरी बुहारीलाई नगरपालिकामा राखिनुभन्दा पनि अरुलाई नै अवसर दिएको भए निको हुने थियो,’ ती नेताले भने, ‘पार्टीकै मान्छे राखे पनि पारिवारिक अवस्था हेरेर राखिएको भए मेयर शेर्माले स्याब्बासी पाउने थिए। यो विषयमा नेकपाको कार्यदलमा थाहा छैन।’
धनाड्य परिवारका छोरी बुहारीलाई नगरपालिकामा दैनिक ज्यालादारी मा ठाडो निवेदनकै आधारमा नियुक्ति दिँदा गरिब तथा निम्न आय श्रोत भएका नगरवासीप्रति मेयर शेर्मा उदाशीन देखिएको नेकपाकै कार्यकर्ता भरत पोर्तेलले आरोप लगाए।
कर्मचारी थपिँदा खुल्ला विज्ञापन गर्नुपर्ने कानुनत व्यवस्था छ। स्थायी कर्मचारी नियुक्त गर्दा लोक सेवा आयोगले गर्ने गरेको छ भने अस्थायी, करार कर्मचारी नियुक्त गर्दा पदपूर्ति समितिले गर्नुपर्नेछ। तर, दैनिक ज्यालादारीमा कर्मचारी राखिँदा निवेदनका आधारमा ठाडो नियुक्ति गर्न सकिने कानुनि प्रावधान छ। स्थानीय भुवन दाहालले भने, ‘हामीले सुईको नपाउने नेताका छोरा छोरीलाई छानी छानि सूचना दिने? यो त भर्तिकेन्द्र बनाए भइगो नि,’ उनले भने, ‘मेयर शेर्माले नगरका नागरिक सवैलाई समान व्यवहार गर्न जानेनन्।’
मेयर शेर्माले पछिल्लो पटक दैनिक ज्यालादारीमा काम दिएका मध्ये दुई जनाको सम्पति करोड माथि छ। नेकपाका टंक ढुंगेलको सम्पत्ति नगरपालिकाकै मूल्यांकनमा पनि डेढ करोड माथि छ।
५ नम्वर वडाका ढुंगेल अवकास प्राप्त राष्ट्रसेवक कर्मचारीसमेत हुन्। उनी मासिक पेन्सन पनि बुझ्दै आएका छन्। दुई तला पक्की घरका मालिक ढुंगेलकी बुहारी अम्बिका निरौला (ढुंगेल) स्थानिय जनता प्राथमिक विद्यालयमा बाल शिक्षीकाको रुपमा कार्यरत अम्विकालाई मेयर शेर्माले नगरमा दैनिक ज्यालादारीमा काम दिए। अम्बिकाका श्रीमान पनि बैदेशिक रोजगारमा छन्।
नगरमा निवेदन दिएकै आधारमा बुहारीलाई काम दिईएको टंक ढुंगेलले सेतोपाटीग भने।
यस्तै तत्कालिन नेकपा एमालेबाट वडा नम्बर ११ को लागि वडा सदस्य पदमा निर्वाचित गिता खरेललकी छोरी पूजालाई पनि मेयर शेर्माले दैनिक ज्यालादारीमा काममा राखेका छन्।
दुई तले पक्की घर भएकी खरेलको सम्पत्ति मूल्यांकन पनि करोडौं छ।
यता चुनावताका सहयोग गरेको भन्दै मेयर शेर्माले ३ नम्बर वडाका तारा सिग्देलकी श्रीमती यसोदा चापागाईलाई पनि नगरमा जागिर दिएका छन्।
द्वन्द्व पीडितसमेत रहेका सिग्देलकी श्रीमतिलाई मेयर शेर्माले नगरमा काम दिएर वास्तवमै न्याय गरेको कतिपयको भनाई छ। उनीसँगै मेयर शेर्माले शिवसताक्षी नगरका नेकपाका अध्यक्ष धनवहादुर थेवेकी छोरी सुम्निमा थेवेलाई पनि जागिरमा राखेका छन्।
यसरी पार्टीका कार्यकर्ता र नाता गोता भर्ना गर्नुभन्दा अरूलाई अवसर दिएमा राम्रो हुने स्थानीयको गुनासो छ। मेयर सावले पार्टी, भुगोल र जातिलाई महत्व दिन नहुने उनीहरूको तर्क छ।
शिवसताक्षी नगरका प्रवत्ता नविन ईजमले कार्यपालिका कार्यालयमा जनशक्ति अभाव भएकाले दैनिक ज्यालादारीमा कर्मचारी राखिएको बताए।
राजनीतिक आस्थाका आधारमा उनीहरुलाई काम नदिएको भन्दै नगरका प्रमुख प्रसाशकिय अधिकृत कृष्णवहादुर अधिकारीले आफू नगरमा विल्कुल नयाँ भएकाले दैनिक ज्यालादारीमा काम दिएकाको पारिवारीक अवस्था कस्तो छ भन्ने आफुले नबुझेको बताए।