नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकी अर्को साता नेपाल आउने भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आउन लागेकी हुन्।
उनी काठमाडौं हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ।
‘प्रधानमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आउन लाग्नुभएको हो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एसिया प्यासेफिक समिटमा पनि सहभागी भएर फर्किन्नु हुन्छ।’
उनको भ्रमणको विस्तृत कार्यतालिका खुलाइएको छैन।
यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन्।
२०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन्।
पछिल्लो समय म्यानमारका रोहिंग्या समुदायमाथि भएको सरकारी दमनको विरोध नगरेको भन्दै सुकीको आलोचना भइरहेको छ।